काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने भएको छ । आज च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले सभामुख अग्नि सापकोटाको पनि विरोध गर्ने निर्णय गरेको छ ।
“निर्वाचन आयोगबाट विवादास्पद क्रियाकलाप भएका छन् । त्यहाँबाट पार्टीले कारबाही गरेका, उपस्थित नै नभएकालाई सनाखत गराउने भएको छ । अर्कोतिर सभामुखले पार्टीको पत्र अनुसार कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ । त्यसविरुद्ध पनि हामी कानुनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौँ,” उनले भने ।
बैठकले एमाले छोडेर नयाँ दर्ता दल गरेकाहरूलाई निष्कासन गर्ने पनि निर्णय गरेको छ । तर, भुल सुधार गरेर आउनेलाई स्वागत गरिने ज्ञवालीले बताए ।
बैठकले १० बुँदेलाई तत्कालाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।