काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा आफूहरु पनि रहेको भन्दै निर्वाचन आयोग पुगेका चार सांसदले सनाखत प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।
नेकपा एमालेमै रहेका नेताहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, राजन राई र शारदादेवी भट्ट मंगलबार निर्वाचन आयोग पुगेका थिए ।
उनीहरुले ‘हामी माधव नेपालकै हौँ’ भन्दै आयोग पुगेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार उनीहरुले दल दर्ताका क्रममा हस्ताक्षर नगरेकाले अब सनाखतमा भाग लिन पाउने छैनन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि दिइएको निवेदनमा नै हस्ताक्षर गर्नुपर्ने भएकाले मंगलबार आएका सदस्यको सनाखत गर्न नसकिने बताए ।
त्यस्तै भारतमा उपचारका क्रममा रहेका नेता झलनाथ खनालले आयोगसमक्ष भारतबाटै सनाखतमा भाग लिन पाउनुपर्ने भन्दै आग्रह गरेको भए पनि आयोगले अस्वीकार गरेको छ ।
स्रोतका अनुसार स्वयम् उपस्थित हुनुपर्ने आयोगले निर्णय गरेको र बाहिरबाट सनाखत गर्ने कानुन पनि नरहेकाले आयोगमा अनुपस्थित हुनेले सनाखतमा भाग लिन पाउने छैनन् ।