काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अतहरकमाल मुलसमानले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले ‘बालुवाटार र भैँसेपाटीका सुकुम्बासी’लाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै नेपाली कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाई लालपुर्जा वितरण गर्नुपर्ने बताए ।
सांसद आशाकुमारी विकले जनप्रतिनिधिको आर्थिक अवस्थामा दिन प्रतिदिन परिवर्तन हुन थालेको भन्दै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग गरिन् ।
सांसद उमा रेग्मीले असार लागेपछि मात्रै विकास निर्माणको काम गर्ने र बाढीले बगाउने गरेको भन्दै समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने बताइन् । जेठ १५ गते बजेट घोषणा भएपछि चालु आर्थिक वर्षको काम गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
सांसद कल्याणीकुमारी खड्काले रौतहटको श्रीराम सुगर मिलले ३०३ जना मजदुरलाई कानुनबमोजिम तलब नदिएको भन्दै तलब दिलाउन सरकारसँग माग गरिन् ।
सांसद कृष्णभक्त पोखरेलले नागरिकतासम्बन्धी विधेयक तत्काल ल्याउन माग गरे ।
सांसद केदार सिग्देलले यही आर्थिक वर्षभित्र भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सरकारसँग माग गरे ।
सांसद खगराज अधिकारीले अफगानिस्तानमा नेपाली अलपत्र परेको भन्दै उनीहरुलाई सुरक्षित रूपमा नेपाल ल्याउन सरकारसँग माग गरे । नेपालीलाई नफर्काएसम्म सरकारलाई काम गर्न नदिने चेतावनी पनि उनले दिए ।
सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाका डुबान प्रभावितहरुलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।
सांसद गजेन्द्रबहादुर महतले वर्तमान सरकारले ‘कुलमान मात्रै देखेको’ टिप्पणी गरे । कुलमान घिसिङबाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै ‘कुलमान बूढो भएपछि सरकारले के गर्छ ?’ भन्ने प्रश्न गरे । उनले घाटामा गएको नेपाल एयरलाइन्सलगायत संस्थानतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद गणेशकुमार पहाडीले वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको भन्न नसकेर समस्याको रूपमा उल्लेख गरेको भन्दै सरकारले कूटनीतिक पहल गर्न खुट्टा कमाएको बताए ।
सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा महाकाली नदीमा खसेर बेपत्ता जयसिंह धामी प्रकरणको प्रतिवेदन छिट्टै सार्वजनिक गर्न सरकारसँग माग गरे ।
सांसद गोपालबहादुर बमले मुगुमा जिल्ला कारागार सञ्चालनमा ल्याउन माग गरे ।
सांसद जीवनराम श्रेष्ठले मेलम्ची खानेपानी आयोजना अवरुद्ध भएपछि काठमाडौंमा खानेपानी समस्या भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।