बाँके । जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।
बर्दिया जिल्ला अदालतबाट वि.सं. २०७२ चैत ९ गते केही सार्वजनिक अपराध मुद्दामा जनही पाँच हजार रुपैयाँ जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
त्यस्तै, जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले सवारी ज्यान मुद्दामा दुई महिना चार दिन कैद सजाय तोकिएपछि फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीया सुमन चौधरीलाई पक्राउ गरिएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । रासस