site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अम्बर दाइ तपाईंबाट धेरै प्रेरणा पाएको छु

निरञ्जन बराल


शुष्क छौ तिमी त तर शुष्क छैन जिन्दगी
चट्टानमै पनि फुल्नु परे फुल्छ फुल्ने कली

यी हरफहरू मेरा होइनन् । यी मिठा, गम्भीर तथा गहिरा हरफहरू अम्बर दाइका हुन्, अर्थात् सांगीतिक क्षेत्रका अग्रणी नायक अम्बर गुरुङका हुन् । मेरो अटोग्राफमा अंकित यी हरफहरू मैले धेरैपल्ट सम्झिएको छु । बेला–बेलामा साथीभाइहरूका माझ पटक–पटक उत्साहित हुँदै सुनाएको छु ।

Dabur Nepal

धेरै वर्षअघि भएको एउटा भेटघाटको अन्त्यमा म र मेरा मित्रको अटोग्राफमा हस्ताक्षरको क्रममा उहाँले अंकित गर्नुभएका यी उद्गार अहिले पढ्दा पनि उत्तिकै रोमाञ्चित हुन्छु, जति पहिलोपल्ट उहाँले अटोग्राफ सही गरेर दिँदाको बखत हतार–हतार हेर्दा रोमाञ्चित भएको थिएँ ।

म र मेरा साथी एक दिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान पुगेका थियौँ, अम्बर दाइलाई भेट्न । उहाँ एउटा गीतको रेकर्डिङअघि अन्तिम रिहर्सलको क्रममा व्यस्त हुनुहुन्थ्यो । उहाँ आफैँ संलग्न भई गायन रिहर्सल गरिरहेको हेर्न र सुन्ने सौभाग्य पनि मिल्यो हामीलाई ।

रिहर्सल सकिएपछि भेटघाटमा उहाँले हामीलाई आउने कारण, हाम्रो रुचिहरू सोध्नुभयो । हामीले उहाँका बारेमा सोध्यौँ । लामो कुराकानीपछि अटोग्राफमा उहाँको हस्ताक्षर लिएर फर्कियौँ, साह्रै खुसी भएर, साह्रै सन्तुष्ट भएर ।

समयको यत्रो अन्तराल्पछि पनि त्यो भेटघाट स्मृतिमा ताजै छ । सम्झँदा उत्तिकै मिठो लाग्छ, त्यो स्मृति ।

त्यस बेलाको आफूलाई सम्झन्छु । सानैदेखि अम्बर गुरुङका गम्भीर स्वरहरू सुनेर उहाँलाई भेट्ने रहर मनभरि थियो । त्यस बेलासम्म अम्बरप्रति नायकत्व भाव सिर्जना गर्ने ‘नौ लाख तारा उदाए...’ गीतको बोल कण्ठ मात्रै होइन, प्रत्येक हरफका सप्रसंग व्याख्या पनि पटक–पटक गर्न थालिसकिएको थियो ।

जीवनको यस क्रमसम्ममा पढेका, सुनेका संवेदनशील गीत र कविताहरूको माझ साह्रै गम्भीर मुटु नै छुने गीतमध्ये यसलाई पनि लिने गरेको छु । युवावस्थामा त झनै आकर्षित भएको महसुुस गरेको थिएँ ।

मलाई लाग्छ, राष्ट्रप्रति माया झल्काउने तथा राष्ट्रप्रेमले ओतप्रोत गराउने यो गीतले धेरै नै नेपालीहरूलाई बेला–बेला जुर्मुराउन प्रेरित गराएको होला ।

त्यस्तै, ‘म अम्बर हुँ, तिमी धर्ती...’ भन्ने गीतमा व्यक्त अम्बर र धर्तीबीचको फरक तथा यस फरकको बीचमा टुसाउने र फक्रिने मुटुको स्पन्दन र मायाप्रीतिको सुस्केरा पनि बुझ्न थालिसकेको मेरो उमेर थियो त्यस बेला ।

प्रत्येक शब्द कण्ठ पार्न मन लाग्ने बोल भएका र सुनेर कहिल्यै धीत नमर्ने संगीत र अम्बर दाइको सेरोफेरोमा घुमेको त्यस बेलाको सांगीतिक माहोलमा त्यस बेलाका परिकथाजस्ता लाग्ने प्रसंगहरूले साह्रै आकर्षणका पात्र बन्न पुगेका थिए, अम्बर दाइ ।

त्यसमाथि पनि शंकर लामिछानेका निबन्धमा उल्लेख गरेका हेमन्त कुमारले गाएको ‘प्यासा’ नामक हिन्दी फिल्मको ‘जाने वो कैसे लोग थे जिनकी प्यारको प्यार मिला...’ भन्ने गीत अम्बर दाइले बडो भावुक भएर गाउनुहुन्थ्यो भन्ने प्रसंग पढेपछि अहिले पनि मलाई ‘त्यो मौका मैले पनि पाउन सके’ भन्ने असम्भवप्रायः कल्पना भने मनमा आइरहन्छ ।

अटोग्राफमा अंकित यी हरफहरूका बारेमा सोच्दछु । कलेज पढ्ने विद्यार्थीलाई ‘चट्टानमा फुल्नु परे पनि फुल्छ फुल्ने कली’ भनेर कति गम्भीर सन्देश दिनुभएको रहेछ । उहाँको यस अभिव्यक्तिप्रति जतिसुकै दृढ समर्थन जनाउनु परे पनि जनाउन सक्ने स्थितिमा आइपुगेको छु ।

ढुंगामा उम्रिएका उन्यू र कठोर चट्टानमा उम्रिएका थुप्रै सुनगाभा मैले प्रकृतिमा अनुभव गर्न पाएको छु । जीवनमा त झन् कुरै भएन, कैयौँ अप्ठेराहरू माझ, थुप्रै हुरीहरूको माझ, फूलहरू जोगाउन खोजिएको तथा फूलहरू जोगिएको देखेको छु, भोगेको छु ।

विद्यार्थी अवस्थाका ठूला–ठूला इच्छा, आकांक्षाहरू कालान्तरमा संघर्षका कति कसीहरूबाट पार भएर जानुपर्ने हो भन्ने कुरा अम्बर दाइका अनुभवजन्य अभिव्यक्तिको रूपमा अटोग्राफमा अंकित भएका शब्दहरू सम्झँदा मलाई अहिले भावुक बनाइरहेको छ । उहाँप्रति श्रद्धाले शिर झुकाउन मन लागिरहेछ ।

अचेल केही दिनदेखि उक्त हरफमा उल्लिखित शुष्क शब्दले भने सोचाइ र कल्पनाका थुप्रै विषयहरूमा मन रुमल्लिरहेछ । सबै धर्मका शास्त्रहरूले भन्ने गरेका छन्, मानिसको जुनी बडो दुर्लभले पाइन्छ । मानिसलाई विवेक दिएर यस संसारमा पठाइएको छ । मानिसलाई मनपर्ने थुप्रै वस्तु ईश्वरद्वारा प्रकृत्तिमार्फत् सिर्जना भएको छ । तसर्थ, मान्छेको जिन्दगी शुष्क हुने त कुरै आएन ।

त्यसमाथि पनि मलाई लाग्दछ, प्रकृतिले सिर्जना गरेको सबैभन्दा मोहक विषय त माया नै हो । विश्व सञ्चालन नै यही मायाबाटै हुनुपर्दछ । अनि, यो सर्वव्यापी मायालाई जसरी अम्बर दाइले गीत, संगीत र स्वरमा उद्घोष गर्नुभएको छ, त्यसबाट उहाँको जीवनप्रतिको दृष्टिकोण स्पष्ट हुन आउँछ । तसर्थ, जीवन शुष्क मात्रै त छँदै छैन ।

त्यस्तै, ‘नेपाल आमा कहीँ छ घाम कहीँ त छाया रे, परन्तु हामी सबैमा उही माया र ममता रे...’ भन्ने गीतमा व्यक्त भएको राष्ट्रप्रतिको माया र ममताको अनुभूति सम्झिएर म धेरैपटक रमाएको छु । विशेषगरी देशका विभिन्न भागमा कार्यरत हुँदा वा कामको सिलसिलामा देशको विभिन्न भागमा भ्रमण गर्ने क्रममा यो गीत धेरैपटक सम्झिएको छु ।

भाका फुकाएर गीत गाउन नसके पनि कविताकै रूपमा धेरैपटक सुनाएको छु । ‘चोखो फूल चाहिन्छ, ढुंगाको देउतालाई’ भनेर गुनासो अभिव्यक्त गर्ने अम्बर दाइका प्रत्येक गीतमा जीवनको गहिरो अनुभवलाई साह्रै मिठो ढंगले अभिव्यक्त गरेको पाउने गर्दछु ।

अघि, मैले अम्बर दाइहरूको सेरोफेरोमा घुमेको सांगीतिक क्षेत्रको कुरा उल्लेख गरेको थिएँ । वास्तवमा, अम्बर दाइले नेपाली सांगीतिक क्षेत्रमा धेरै थरीको प्रयोग गर्नुभएको छ । संगीतमा नयाँ आयामहरू थप्नुभएको छ । ‘सोलो’ र ‘सिम्फोनी’हरूको प्रयोगबाट नेपाली सांगीतिक क्षेत्र पनि अन्तर्राष्ट्रिय अनुभवहरूबाट टाढा छैन भन्ने प्रमाणित गरिदिनुभएको छ ।

अम्बर दाइका बारेमा सोच्दा, उहाँका गीतहरू सुन्दा, कताकता मन भावुक भएर आउँछ । बेला–बेलामा उहाँका अन्तर्वार्ता तथा उहाँका  विषयमा लेखहरू छापिएको पढ्न पाउँदा साह्रै खुसी लाग्दछ । तर, कतिपय लेखहरूले उहाँको बहुआयामिक प्रतिभाको स–सानो पाटोलाई मात्र छोएको अनुभव हुन्छ ।

प्रत्येकपटक उहाँलाई सम्झँदा सांगीतिक क्षेत्रमा उहाँको बहुआयामिक प्रतिभाको विश्लेषण गरी लेखिएको ग्रन्थ नै पढ्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । संगीत सुन्नेभन्दा बढी यस क्षेत्रमा आफ्नो ज्ञान र सीप नभएको हुँदा आफूले आँट्ने कुरो भएन । यस क्षेत्रका विज्ञ र पारखीहरूले हात हालिदिनुभए सांगीतिक क्षेत्रका लागि ठूलो गुन हुने थियो भन्ने लागिरहेछ ।

अम्बर दाइका जीवनमा दुःख, सुख र ओराली, उकालीहरू के कस्ता रहे होलान् ! कुन वेदनामा उहाँ सुसाउनुभयो होला । कुन खुसीमा उहाँका अनुहारमा मुस्कान तैरिए होलान् ! अझै थुप्रै कुरा जान्ने जिज्ञासा मनमा छ । कुनै स्रष्टाले यस क्षेत्रमा पहल गरिदिए कति सुन्दर हुन्थ्यो होला ।

बेला–बेलामा यस हरफमा उल्लेख भएका ‘तिमी त शुष्क छौ...’ भन्ने शब्दको अर्थ खोज्न मन लाग्छ । थोरै समयको भेटमा भएको कुराकानीबाट पनि उहाँले स्वभाव बुझेर भन्नुभएको हो वा त्यस बेलाको म र मसँगै जाने मित्रको उमेर, पृष्ठभूमि र कुराकानीमा उल्लेख भएका  विषयहरूको आधारमा हाम्रो वर्गलाई नै शुष्क भन्नुभएको थियो, अहिलेसम्म भेउ पाउन सकेको छैन ।

लामो–लामो कपाल पाल्ने परम्परा र संस्थागत प्रवृत्तिसित असहमति राख्ने र त्यस बेलाका विभिन्न वातावरणमा उकुसमुकुस भएको पृष्ठभूमि बुझेर हाम्रो वर्ग विशेषलाई पो भन्नुभएको हो कि जस्तो पनि लाग्दछ ।

जे भए पनि अझसम्म थुप्रैपटक उहाँकै भनाइमा ‘अँध्यारोमा धेरै बेर बसे...’ भनेजस्तै धेरैपटक अँध्यारा, उज्याला पार गरिसकेको छु । प्रत्येक अँध्यारोपछि उज्यालो आउँछ भन्ने सत्यलाई आत्मसात् गर्न खोजेको धेरै भइसक्यो ।

प्रत्येक अँध्यारा र उज्यालामा अम्बर दाइले स्वरबद्ध गर्नुभएका गीतका थुप्रै भाका र उहाँको स्वरले आफूलाई संयमित पार्न धेरैपटक धेरै मद्दत पाएको महसुस गरेको छु । उहाँले इंगित गर्नुभएको ‘शुष्कता’लाई चट्टानमा फूल फुलाउने धेरै प्रयोग गर्ने जमर्को गरेको छु । कहिले फूल फुलेका छन्, कहिले हात काटिएर प्रयास छोेडेको पनि छु । तर, एउटा सत्य हो, अम्बर दाइ तपाईंबाट धेरै प्रेरणा पाएको छु ।

(‘पछि फेरि’ निबन्धसंग्रह)    
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro