काठमाडौं । आठ घण्टादेखि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । बिहानै सहमतिमा हस्ताक्षर गरेर सहमति पत्र सार्वजनिक गर्ने दाबी गरेको कार्यदल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।
यसैबीच, बैठक चलिरहेका बेला कार्यदल सदस्य घनश्याम भुसाल एमाले नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । उनले नयाँ वानेश्वरस्थित अर्याल होटलमा पुगेर नेता माधवकुमार नेपाललाई भेटेर पुनः बैठकमा फर्र्किएका हुन् ।
कार्यदल बैठकमा भएको छलफलबारे नेता नेपाललाई ब्रिफिङ गर्न उनी अर्याल होटल पुगेका हुन् । उनी पत्रकारलाई छल्दै बैठकस्थलको पछाडिको ढोकाबाट बाहिरिएर अर्याल होटल पुगेका थिए ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहानबाट कार्यदल बैठक बसिरहेको छ ।
कार्यदल सदस्यहरुले आजको बैठकले सहमतिलाई अन्तिमरुप दिने र सार्वजनिक गर्ने दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर सार्वजनिक गरिने बताएका थिए ।