विराटनगर । एक साताभित्र बिमा रकम भुक्तानी गराउन माग गर्दै मोरङका कोरोना पीडित पत्रकारले बिमा कम्पनी र प्रशासनको ध्यानाकर्षण गरेका छन् । भुक्तानी दाबी गरिएको लामो समयसम्म प्राप्त नभएपछि कोरोना पीडित पत्रकारहरूले शुक्रबार बिमा कम्पनी र जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापन पत्र बुझाएका छन् ।
विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रीसमक्ष बिमा भुक्तानी पाउन बाँकी १९ जना पत्रकारहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले संक्रमित भई बिमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको भन्दै प्रशासनको समेत ध्यानाकर्षण गरेका छन् ।
“तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरूले तोकेको प्रिमियम तिरेर बिमा गरेका हौँ। तपाईहरूले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,” ज्ञापन पत्रमा उल्लेख छ, “तर, हामीले पाउनु पर्ने भुक्तानी अझै पाएका छैनौँ । हामीले गरेको बिमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस्था छ ।”
पत्रकारहरूले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग समेत गरेका छन् । आफूहरूको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरूलाई संगठित गरेर संघर्ष गर्ने उनीहरूको चेतावनी छ ।
“तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्न अनुरोध गर्दछौंँ अन्यथा हामी सम्पूर्ण पीडित बिमितलाई संगठित गरी यस कम्पनीविरुद्धमा चरणबद्ध रुपमा कानुनी र अन्य खालका संघर्षमा उत्रने जानकारी गराउँदछौँ,” ज्ञापनपत्रमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङ, बिमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिलाई पनि बोधार्थ पठाएको बताइएको छ ।