काठमाडौं । गएको जेठ २३ गते विज्ञापन बोर्डले एउटा विज्ञप्ति जारी गर्यो । उक्त विज्ञप्तिमा लेखिएको थियो, “नेपालमा केही समययता वान एक्स बेटको नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार भइरहेको जानकारी बोर्डमा प्राप्त हुन आएको छ । यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोसनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ । अन्यथा, कानुनबमोजिम कारबाही हुनेछ ।”
बोर्डको विज्ञप्तिपछि केही प्लेटफर्मबाट विज्ञापन हटाइए । तर, भोलिपल्टै सबै ठाउँहरुमा त्यसको विज्ञापन देखिन थाल्यो । नेपालमा सट्टेबाजी (बेटिङ) पूर्ण रूपमा प्रतिबन्ध छ । यहाँ सट्टेबाजीसम्बन्धी कुनै पनि गतिविधि, प्रमोसन गर्न पाइँदैन । तर, नियमन गर्ने निकायहरुले यस विषयमा कुनै ध्यान दिएका छैनन् ।
वान एक्स बेटले लामो समयदेखि नेपालमा अवैध धन्दा चलाइरहेको छ । नेपालका धेरै युट्युब प्लेटफर्ममार्फत यसको प्रचार गरिन्छ । जसमा ठूला क्लबहरुको स्वामित्व रहेको र यसमा लगानी गर्दा कुनै किसिमको घाटा नहुने लोभ देखाइन्छ । युट्युब मात्र होइन, नेपालमा केही सञ्चारमाध्यमले पनि यसको प्रचार गरिरहेका छन् ।
कसरी मिल्छ अवैध जुवालाई बैंकिङ सेक्टरको साथ ?
नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रचलन बढ्दो छ । हरेक बैंकको मोबाइल बैंकिङ, खल्ती, ई–सेवाजस्ता मोबाइल एप्लिकेसन छन् ।
वान एक्स बेटका नेपालस्थित एजेन्टहरुले आफ्नो खल्ती मोबाइल नम्बर पठाएर वान एक्स बेटको एकाउन्टमा डिपोजिट गर्न लगाउँछन् । खल्ती नेपालमा वान एक्स बेटका लागि धेरै प्रयोग हुने मोबाइल एप्लिकेसन हो ।
त्यसबाहेक वान एक्स बेटका एजेन्ट र प्रयोगकर्ताले ई–सेवा, प्रत्यक्ष मोबाइल बैंकिका मोबाइल एप्लिकेसनहरु प्रयोग गर्ने गर्छन् । जसमा पहिले प्रयोगकर्ताले एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ । उक्त सुरुको डिपोजिट रकममा एजेन्टले २७ प्रतिशत रकम पाउँछ । तर, एजेन्टले ‘म्याक्सिमम’ रिफन्ड १२ सय उक्त वान एक्स बेटको एकाउन्टमा पठाइदिन्छ । त्यसपछि सुरु हुन्छ अवैध धन्दाको पाटो ।
कसरी पुग्छ बेटिङ कम्पनी एजेन्टसम्म र एजेन्ट प्रयोगकर्तासम्म ?
बेटिङ कम्पनी कुनै इमेलमार्फत एजेन्टसम्म पुग्ने माध्यम बनाउँछ । उक्त इमेलमा आफूले दिने सेवा–सुविधा तथा एजेन्टले पाउने सेवा–सुविधाको बारेमा जानकारी दिइन्छ ।
एजेन्ट बन्नका लागि सुरुमा तीनदेखि चार हजार डलरसम्म जम्मा गर्नुपर्छ । जम्मा गरेको रकम बराबरको एजेन्टले प्वाइन्ट पाउँछ । उक्त प्वाइन्ट डिपोजिट तथा विलड्र गर्न एजेन्टले पाउनेछ । उक्त प्वाइन्ट प्रयोगकर्ताले किन्ने र राख्ने गर्न सक्छन् ।
वान एक्स बेटका प्रयोगकर्ताले पहिले नागरिकतालगायत डकुमेन्ट दिएर एकाउन्ट बनाउनुपर्छ । उक्त एकाउन्ट बनिसकेपछि एजेन्टले आफ्नो खल्ती एकाउन्ट नम्बर दिन्छ । त्यसमा एजेन्टले कुन मोबाइल बैंकिङ प्रयोग गर्छ भन्ने हुन्छ । तर, नेपालमा बेटिङ कम्पनीहरुले खल्तीलाई मुख्य माध्यम बनाएको पाइन्छ ।
पहिले प्रयोगकर्ताले एजेन्टले दिएको नम्बरमा खल्तीमार्फत पैसा जम्मा गर्छन् । त्यसमा एजेन्टले विलड्र गर्न नमिल्ने गरेर ‘म्याक्सिमम’ रिफन्ड १२ सय उक्त वान एक्स बेटको अकाउन्टमा पठाइदिन्छ ।
प्रयोगकर्ताले जम्मा गर्नेबित्तिकै एजेन्टलाई २७ प्रतिशत बोनस जान्छ । नेपालमा धेरैले एजेन्ट बनेर यसको कारोबार गर्छन् । नेपालमा धेरै प्रयोगकर्ता छन्, जसले बेट गरेर पैसा कमाउँछन् अनि गुमाउँछन् पनि ।
पैसा नै नडुब्ने लोभ देखाई आकर्षित गर्छन् बेटिङ कम्पनी
वान एक्स बेटको प्रमोसनमा लगानी नडुब्ने आश्वासन दिइन्छ । यो एउटा ‘ट्रस्टेड’ बेटिङ कम्पनी भएको तथा ला लिगा, सिरी ए, प्रिमियर लिग क्लब, एफसी बार्सिलोनाजस्ता ठूला क्लब र लिगहरुसँग पार्टनर रहेको बताइन्छ ।
विज्ञापनमा थपिन्छ अर्काे झुटो आश्वासन, “हजुरहरुले बेट लगाउनुभयो र बेट लगाएको टिमले हार्यो भने पनि पैसा रिफन्ड हुन्छ । त्यही भएर पैसा हार्ने कुनै चान्स नै छैन ।” यो लाइनले मानिसलाई लोभ्याउँछ । ‘म्याक्सिमम’ रिफन्डचाहिँ एक हजार २०० को मात्रै हुने बताइन्छ ।
वान एक्स बेटको प्रमोसन गर्ने तरिका सबै प्लेटफर्ममा एउटै र मानिसलाई लोभ्याउने तरिका पनि उस्तै हुन्छ ।
के भन्छ नियामक निकाय ?
विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यको अनुगमन तथा नियमन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको विज्ञापन बोर्डले गर्छ । त्यसो त बोर्डले वान एक्स बेटको प्रमोसन बन्द गर्न एकपटक विज्ञप्ति जारी गरिसकेको छ । तर पनि यसको प्रमोसन भइरहेको छ ।
अझै पनि नेपालमा प्रयोग हुने युट्युब, अनलाइनहरुमा यसको विज्ञापन देखिन्छ । ठूला खेलकुद प्रतियोगिता चलेको बेला यसको चर्चा धेरै हुन्छ ।
बोर्डले यही असार ८ गते नेपालमा हुने सबै खाले अवैध बेटिङहरुलाई रोक्न निर्देशन दिएको छ । त्यसको लागि बोर्डले प्रहरीलाई पत्र पनि पठाइसकेको छ ।
राष्ट्र बैंक भन्छ–कारबाही गर्छौँ
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भने भुक्तानी प्रदायक अथवा बैंक तथा वित्तीय संस्थाका माध्यमबाट ‘ब्याटिङ’ सट्टेबाजी लगाउन नपाउने बताउँछन् । “कुनै पनि संस्थाले त्यसरी सट्टेबाजी गर्छ भने उनीहरुलाई राष्ट्र बैंकले कारबाही गर्छ,” उनले भने ।
राष्ट्र बैंकको विद्युतीय कारोबार हेर्ने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल पनि अनलाइन सट्टेबाजी गैरकानुनी भएको बताउँछन् ।
“नेपालमा कुनै पनि कानुनले ‘सट्टेबाजी’ गर्न छुट दिएको छैन, यदि कुनैल गरेको छ भने कानु बमोजीम कारवाही हुन्छ,” उनले भने ।
राष्ट्र बैंकले खल्ती डिजिटल वालेटलाई यसअघि पनि यस विषयमा लिखित र मौखिक स्पष्टीकरण सोधिसकेको उनले बताए ।
तर खल्तीले भने कुनै पनि गैरकानुनी कार्य नगरेको जवाफ दिए पनि राष्ट्र बैंले अध्ययन गरिरहेको उनले बताए ।