site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झगडा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हिजो शनिबार । ऊ किन शनिबार सम्झिरहेछ ? सबैका जीवनमा एक–दुई वा बढी अविस्मणीय घटना हुन्छन् । ती सबै शनिबारमै घटित हुन्छन् भन्ने छैन । उसको जीवनमा पनि कुनै ठूलो घटना शनिबारका दिन घटित भएको हुनुपर्छ, नभए घटित हुन गइरहेछ । 

पछि उसलाई थाहा भयो, उसले शनिबारलाई नै सम्झनुको दरो कारण यो थियो— यसै दिन एकजनासँग उसको हात हालाहाल भयो । हात हालाहाल होइन, उसले चोटै लाग्ने धक्का खायो । तै, त्यो मान्छे एक्कासि भेट भएको होइन । 

शनिबारै भए पनि कोरोनाले गाँजेको समय, ऊ पहिलेझैँ धेरै टाढा डुल्न निस्कँदैनथ्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस शनिबार नजिकैको पसलसम्म गएर केही किन्ने विचारले ऊ घरबाट निस्क्यो । पिटाइ खाइन्छ भनेर सचेत गराउन बिरालोले बाटो काटेजस्तो अपशकुन मानिहाल्नुपर्ने केही भएको पनि थिएन । ऊ अन्धविश्वासी थिएन । यत्ति हो, बाटोमा एउटा थिङ्थिलो परेको मुसाको लास थियो, छेउमा फालिएको र किचिमिची र आन्द्राभुँडी बाहिर निस्केको । 

अगिपछि बाटो काट्ने बिरालाहरू त्यस दिन गायब थिए । मात्र कति भने, निस्कने बेलामा छोरोले सिसाकलमको फर्माइस गरेको हो । त्यसलाई अपशकुन मान्न सकिँदैनथ्यो । छोरोलाई माया गथ्र्यो ऊ र हाँस्दै भन्यो, ‘त्यो त म ल्याइदिइहाल्छु नि ।’ 

Royal Enfield Island Ad

प्रफुल्ल ऊ घरबाट निस्केको थियो । भविष्यको पालनकर्तालाई खुस राख्नु कर्तव्य बन्थ्यो ।  

भावीले लेखेको हुन्छ भन्ने हो वा के हो, त्यस दिन जुन किसिमले ऊ र अर्को मानिसको झगडा भयो, त्यो अनौठैको थियो । तर, भावीले यति डिटेलमा त्यो लेखेको हुन सक्दैनथ्यो । पसलसम्म पुग्दा उसलाई यो आशंका थिएन— आज उसको दिन खराब छ, पिटाइ खाइन्छ । अहिले सम्झँदा पिटाइ तिक्त लागेको हुनसक्छ— पहिरोले घर पुरिएजस्तो नभए उदास र शोकाकुल पार्ने नभए पनि  । 

ऊ त्यसलाई बडो अपमानित भएको तरिकाले सम्झिरहेछ । त्यस घटनामा अपमानित हुनुबाहेक केही अरू थिएन । पिट्ने भड्किनाले उसले पिटाइ खाएको चाहिँ हो । लडेको भए पनि उसले जित्न सक्ने थिएन । 

जित्न सक्ने नभएकाले हेपएिको हो कि ? हेपिएपछि अन्यायपूर्ण रूपमा मुलुकको सीमा मिचिएको पनि चुपचाप सहनुपर्छ ।  

त्यस दिन शनिबार हुनाले ऊ हल्काफुल्का मुडमा थियो । कर्मचारीहरूका निम्ति शनिबार मुक्तिदिवसजस्तो हुने गर्छ । स्पष्टै थियो, ऊ कर्मचारी वर्गमै पथ्र्यो, जसलाई शनिबार प्रिय हुन्छ । 

अरू दिनझैँ घाम मात्रै तापेर बसे, काम गरेनन् भन्ने पब्लिकको कटु भनाइ शनिबार आउँदैन । हल्काफुल्का मुडअनुसार ऊ मज्जैले सुस्त–सुस्त हिँडेर पसल पुग्यो । पसले पनि चिनिराखेको । हँसीमजाकमै किनमेल गथ्र्यो ऊ । पसलसम्म पुग्दा कुनै अनिष्टको आशंका पलाइसकेको थिएन । पहिले त ऊ सिसाकलम माग्ने सुरमा थियो ।  

पसल पुग्नुअगाडि त्यहाँ मानिसहरू थुप्रेका थिए । स–सानो भिड । भिड बढ्दै गइरहेको पनि थियो । पसलभित्रबाट एउटा मसिनिँदै गएको धुवाँको मुस्लो बाहिर निस्किरहेको थियो । आगलागी भएको हुनुपर्छ । आगो लागेको त हो रहेछ, तर मानिसहरूले समयमै निभाइसकेका रहेछन् । पसल जल्नबाट रोकिएछ, ठूलै नोक्सानी भएको रहेनछ । तर, आगो कसरी लाग्यो ?

‘कसरी लाग्यो आगो ?’ जबाफ दिन निश्चित व्यक्ति तोकिएको थिएन, सरकारले प्रवक्ता तोकेजस्तो । पसले स्वयम्ले चिउँडो कन्याउँदै भन्यो, ‘कसैले चुरोट खाएर बेसुरमा ठुटो फालेको हुनसक्छ ।’ 

प्लास्टिकका पुराना बोराको थुप्रोमाथि परेर आगो टिपेको रहेछ । झन्डै पसलै स्वाहा भएन । पसलेले विवरणमा ‘स्वाहा’ शब्दलाई ठूलै बल दिएर भन्यो । 

‘निभ्यो ?’ उसले उत्साहसाथ सोध्यो । निभेको प्रत्यक्ष छँदै थियो । 

‘निभाइयो नि । आफैँ त के निभ्थ्यो ?’ उसलाई लाग्यो, आगोको प्रसंग आवश्यक थिएन, तर भनिसकियो, झन्डै स्वाहा पारेको रहेनछ । कुनै अनिष्ट हुनका लागि आगो लाग्न खोजेको रहेछ कि ?  

भित्र आगो त थिएन, निभिसकेको थियो । पुत्ताइरहेको धुवाँको पातलो धर्से मुस्लो बाहिर निस्कँदै गरेको रहेछ । आगो निभे पनि भित्र अर्के खैलाबैला सुनिँदै थियो । 

एकजना मानिस जसले पछि उसलाई पिट्ने थियो, करेक्टलीभन्दा पिटेको होइन, धक्क्याएको थियो, थुकका छिटा उडाउँदै जोडजोडले कराउँदै थियो । हात हल्लाइहल्लाइ पसलेलाई केही भनिरहेको पनि थियो, मानौँ मञ्चबाट नेताले उत्तेजक भाषण गरिरहेछ ।  

‘होइन केको बाझाबाझ हो यो ?’ उसले यसपटक पनि कसैलाई लक्षित गरेर सोधेको थिएन । जबाफ पनि आएन । बाझाबाझ भन्नाले व्यक्ति एकतर्फी कराइरहेको थियो, अर्को पक्ष पसलेले खासमा केही भनिरहेको थिएन । अर्डर गर्नेहरूको सामान टिप्दै थियो । 

तर, भिड त्यो कराइरहेको मानिसको कुरा सुन्नैमा मग्न थियो, यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर जीवनका अभावहरू परिपूर्ति गर्ने भाषण मक्ख परेर सुनेझैँ । सुन्नेहरूलाई थाहा हुन्थ्योे, नेताले ठगिरहेछ, गर्ने केही होइन । तर, भाषणकलामा निपुण नेतालाई जनता सम्मोहित भएर सुन्ने गर्छ । 

कोही–कोही किनमेल गरेर फर्कने तर्खरमा पनि थिए । हातमा प्लास्टिकका थैला थिए, जसभित्र केही न केही सामान हुन्थे । शनिबारको मुड अर्कै हुन्थ्यो सबैको । फुर्सतिलो । 

‘आज मुखै नधोइ किनमेलमा निस्केको यी यस्तो भयो ?’ कसैले भनिरहेको थियो । कति अबेरसम्म सुत्ने रहेछ ! शनिबारका लागि साँचेको बक्यौता निद्रा पूरा गर्दो रहेछ । तर, उसले मुख धोएको भए यस्तो हुने थिएन, भनाइको आशय यस्तो थियो । मुख नधोई आएको हुँ भन्नेले उसलाई त के, कसैलाई सम्बोधन गरेको थिएन । मुख नधुनुले उसको महत्व बढाइदिन्छ भन्ने लागेको थियो होला उसलाई । तर, उसको अलग्गै के महत्व, ऊ पनि त रासन किन्न्नेहरूको भिडमा मिसिएर उभिएको छ ।

भौतिक दूरी कायम गर्न कसैलाइै होस थिएन । उसलाई लाग्यो– टोलछिमेकमा बस्ने भएपछि मुख नधोई रासन किन्न निस्कनुको पनि केही न केही टिप्पणी दिन सकिन्छ, सौजन्यवश । 

‘किन आज शनिबार पनि यस्तो झगडा भइरहेछ ?’ उसले अलि तत्परै भएर प्रश्न गर्याे । मानौँ, आजको शनिबारलाई राष्ट्रसंघले विश्व शान्ति दिवस घोषणा गरेको छ ।  

‘शनिबारका दिन शनि लागेको नि ।’ उता कतैबाट ग्रहदशामा आधारित जबाफ आयो । 

अरूको म्याटरमा राय व्यक्त गरिहाल्ने उसको बानी थिएन । अझ यो झगडामा ! झगडा पसले र ग्राहकबीच भइरहेको छ । पसले झगडिएको छैन । ग्राहक मात्र चर्को स्वरमा बोलिरहेछ । ग्राहक चर्को स्वरमा बोलिरहे पनि पसले कहाँ जालास् मछली मेरै ढडिया भनेझैँ चुपचाप अन्य ग्राहकको खुरुखुरु मालसामान टिप्नमा लागिरहेछ । 

मानिसहरू पसलेलाई सोझो र सज्जन नै मान्थे । तर, उसको मान्यतामा मानिसको मनभित्र के छ, कसैलाई थाहा हुँदैन । सज्जन मान्नु बाध्यता थियो । भित्रको व्यक्ति उसको कस्तो छ त्यो टोलछिमेकमा कसैले परीक्षण गरेका थिएनन् । तर, सम्प्रति उसको पसलेप्रति यस्तो धारणा थियो— पसले सज्जन छ । ऊ भन्थ्यो, आफूसँग भएको ज्ञान सेयर गर्नुपर्छ । तर, यहाँ उसको ज्ञानको परिपाकपूर्ण जबाफ चाहिएको थिएन । पसले सज्जन नै भए पनि अन्ततः पैसा असुल गरेरै छाड्छ । 

बाहिर उभिएको उसमा एउटा जिज्ञासा मात्र देखियो— भित्र कराइरहेको मानिस को हो ? भविष्यमा उसैबाट धक्क्याइन पुग्नेतिर उसको अन्तज्र्ञानले देख्न सकेन । 

पसलभित्र उठिरहेको धुवाँको पातलो मुस्लो जुन बाहिर लहराउँदै निस्किरहेको थियो, मानिसको भिड, नबुझिने असन्तुष्टि र जिज्ञासाको कल्याङमल्याङ । यी सबैलाई समेट्दै उसले शनिबार भनिने डालोमा हालेर विश्लेषण गरिरहेको थियो र तिनलाई पुग्ने निष्कर्ष झिकेझैँ ‘आज शनिबार पनि किन यस्तो भयो’ भनेको थियो । शनिबार मानिसहरू झगडा गर्ने मुडमा पनि हुँदा रहेछन् । 

शनि ग्रहले यस्तो भएको भन्ने जबाफ सोचनीय थियो । वास्तवमै शनि लागेकै हो त ? मुलुकलाई पनि ? भित्र पसलको साहु काउन्टरपछाडि बसेर कराइरहेको मानिसलाई बेलाबेला जबाफमा केही भनिरहेको ह्न्थ्यो । ऊ रिसाउन खोजेजस्तो थियो । पसले भएपछि रिसाउनु मनासिब देख्दैनथ्यो । 

पसल आगलागीबाट बचेको भए पनि अशुभ भयो भन्ने चिन्ताले ऊ पिरोलिएको देखियो । अग्निशमन बोलाउनुपर्ने भएन । प्रहरी र सेना जम्मा भएर दनदनी दन्केको आगो निभाउनुपर्ने थियो । 

उसले अलि छिटछिटो मालसामान टिपिरह्यो । पसलबाहिर ग्राहक किनमेलका लागि लाममा उभिएका छन् । भित्र यो मानिस बित्थामा कराइरहेछ । उधारो खाएपछि तिर्नु पर्दैन ? कसैले भन्यो, ‘यसैले पो हो कि आगो झोसेको ? उधारो खायोखायो तिर्ने बेलामा झोसिदियो— ला तेरो पैसा भनेर !’ 

आरोप गम्भीर हुन सक्थ्यो, कसैले सुनेनन् । सुने पनि नसुनेझैँ गरिदिए । हो–हो गरिदिए अर्को बबन्डर थपिने पक्कै थियो । 

त्यो मानिस आपूmले खाएको उधारोको हिसाब बढी भयो भनेर कराइरहेको थियो । ऊ ठूलो चर्को स्वरमा भनिरहेथ्यो, ‘मलार्ई थाहा छ, उधारो खाने भन्दैमा जथाभावी हिसाब लेखेर बढी पैसा असुल्ने गर्नुहुन्छ ! यस्ता पसले हामीले धेरै देख्या छ ।’ 

यो अचम्मको आरोप त थिएन, तर त्यो मानिसको विचारमा यो थियो— मैले अरू बाँकी उधारो खाने सबैको प्रतिनिधित्व गर्दै भनिदिएको छु— झुट्टो हिसाब लेखेर उधारोमा लगेको भन्दै बढी पैसा असुल्ने काम गर्छौ ।

पसलेमाथि प्रभाव शून्य देखियो । चोट नपुगेको मानेर थप्यो, ‘जनता महँगीले पिल्सिरहेछ । हेर्ने कसले हो ?’ यसको जबाफ कोसित छ ? कसैसित थिएन । तर, कुरो शतप्रतिशत सही थियो, ‘महँगीमुनि जनता पिल्सिरहेका छन् र जनताको ढाड सेकिरेहछ महँगीले ।’ 

तर, उसको विचारमा सही कुरो गलत मान्छेको मुखबाट आइरहेछ । गलत मान्छेले सही कुरा भन्दा सही कुराको महत्ता कम हुने गर्छ । तैपनि, उसले एउटा ठाउँ निकाल्यो— यो कराउने मानिसलाई उसले चिन्दछ ? के ऊ कुनै राजनीतिक पार्टीको सदस्य हो, जसले उधारोको खातामा ठगी भो भनेर चुनावमा पराजयको तुस निकालिरहेछ ।

विरोधाभास यो थियो, पसले जनपक्षीय पार्टीसँग आबद्ध छ भन्ने हल्ला थियो । हल्ला होइन, थियो नै । उपभोक्ताहरूलाई दक्षिणपन्थी मान्थ्यो त पसले ? कराउने दक्षिणपन्थी प्रतिपक्ष थियो त ? भन्नलाई त प्रतिपक्षले वर्तमानमा सशक्त भूमिका निर्वाह गर्न सकेन भन्ने आरोप थियो ।  

पसले उज्यालो देखियो, उसले सुस्त बोल, तर सत्य बोल भन्ने नीति अँगालेको देखियो । भन्यो, ‘लौ, यो पनि सुन्न बाँकी थियो । उधारो लाने बेलामा साहुजी लेखिराख्नोस् है भनेर जी लगाएर भन्ने । पछि लेखेको हिसाब जोड्दा हेपेर बढी जोडिस् भन्ने । यस्ताले त उधारो खानु नै किन ? आफैँ पसल खोले पनि भो नि, नभए नगद तिर्ने लेनदेन गर्दा पनि हुने ! रडाको गर्नै परेन ।’ 

पसलेको यो आरोपको उत्तर त्यो कराउने मानिससँग थिएन । तैपनि, उसले कराएरै भन्यो, ‘यस्तो झुट्टो हिसाब कसरी मान्न सकिन्छ । नलगेको सामान चढेको छ यसमा । यो सरासर बेइमानी हो । अझ यिनको पसलमा त दालमा मुसाको मुतको गन्ध पनि हुन्छ । उधारो खाने भनेर धेरै हेप्छ है यो पसले !’ 

कराउनेले भिडलाई आफ्नो पक्षमा पार्ने गरी आफ्नो भनाइ राख्यो । बीचमा मुसो पनि आयो ।

मुसाको मुत मुछिएको दाल धोइपखाली खान सकिन्थ्यो होला । तर, दालमा मुसालले नै मुतेको हुन्छ भनेर यो कराउने मानिसले कताबाट कसरी थाहा पायो ?  

‘होइन, त्यस्ताले त नगदै किनेर खानू नि । एउटा खाता आफैँ राख्नोस् भनेकै थिएँ त ।’ पसलेले गनगन स्वरमा भन्यो । 

‘ए साहु, नगद किनेर खाऊँ कि उधारो, त्यो तिमीलाई के सरोकार ? मलाई यसो गर् उसो गर् भनेर तोकिदिने तिमी को ? अहिले छैन भने पछि दिँदा हुन्छ भनेर गुलियो चटाईचटाई उधारो लैजान उक्साउने तिमी नै हैनौ ?’ 

मानिस रिसले उत्तेजित भयो । उधारो खानेहरू पसलमा बिहानैदेखि लाम लाग्थे । तर, उधारो खानेहरूमध्येका कसैलाई ‘उधारो खाने’ भनेर तोकेर भन्दा रिसाउनु मिल्थ्यो । पसले यही सोचेर चुप बस्यो । 

साहु चुपचाप थियो । उसले धेरै किचलो झिक्नु ठिक ठानेन । भन्यो, ‘त तपाईं दिउँस आउनोस् न । ठन्डा दिमागले हिसाब गरौँला । हिसाब मिलान हुन नसक्ने त होइन । यसमा रिसाएर कराइराख्ने कुरो के छ र ? खाएको तपाईंले नै हो, सामान दिने मै हुँ । तपाईं पनि कहीँ जाने होइन म त झन् पसल छाडेर जाने कुरै भएन ।’ 

‘दिउँस किन ? अहिलेको अहिल्यै हिसाब मिलान गर्न सकिन्छ ।’ मानिस साइको रहेछ । मनमा छोराका लागि सिसाकलम सम्झँदै उसले निचोड झिक्यो । ‘बाँकी ग्राहकलाई के भनूँ त ? पसल छेकेर नबाझ्नुस् न । अलि बाटो छाडिदिनोस् ।’ 

कराउने मान्छेले निहुँ पाएझैँ झन् कड्कियो, ‘आज हिसाब वारपार गर्नु छ । धेरै ठगियौँ । अब सहिँदैन । ल्यानोस् खाता । ढकतराजु पनि ठिक छन् वा छैनन् ? नौ सय ग्रामको एक किलो छ कि के थाहा ? सरकार कता हरायो ? मिसावट पनि अचाक्ली छ ।’ के ऊ पसलमा आगो झोस्न उद्यत हुने हो । उसको सिर बलेको देख्दा डर भयो । 

‘नौ सय ग्रामको नभए नौ सय पचासी त पक्का ।’ अर्को कुनै छुल्याइँ गर्नेले घिउको एक तुर्को थप्यो ।  

‘सरकारले के गर्ने ? कतिजनाको दुख सुन्ने ? सबै थोक सरकारले गरेर हुन्छ ? तपाईंले उधारो खाने अनि सरकार गुहार्र्ने ? मसित पनि कुबेरको खजाना छैन, उधारो खानेजतिको रकम मिनाहा गरिदिने ? जतिमा किनेर ल्याइन्छ त्यसमा मुनाफा राखेर बेच्ने त हो । झन् आज कसो पसल स्वाहा भएन । त्यसमाथि तपाईं झगडिँदै हुनुहुन्छ । मलाई दोहोरो मानसिक यातना परिरहेछ । कृपया तपाईं बाहिर गइदिनोस् ।’ पसलेले बाहिर जाने बाटो देखाउँदै भन्यो । 

पसलेले कम्मर कसेदेखि त्यो कराउनेलाई बाहिर उँधमुन्ट्याउन सक्ने थियो । यो ग्राहकसित लडाइँ गरे बाँकी भड्किने सम्भावना थियो । ग्राहक पिट्ने पसलमा उधारै भए पनि किन किन्ने ? पछि उधारो तिर्न सकिन्छ सकिन्न, तर पसलेको हातको पिटाइ खान सकिन्थ्यो । कोरोनाको कहर यस्तो छ । उधारो खाने विवशता छ टोलमा । 

जता हेर्याे रासनको पसल खोल्नेतिर उद्यत छन् । सत्तामा जान हतार भएझैँ । एउटा धारणा यो थियो— उधारो त निचोरेरै असुल्न सकिन्छ । 

यति बेलै ऊ नेपथ्यमा उभिएको पात्रझैँ आफ्नो भूमिका निर्वाह गर्र्न प्रवेश गर्याे— केही न्यायपूर्ण भन्छु भनेझैँ भन्यो, ‘साहुजीले ठिक भन्दै हुनुहुन्छ । तपाईं चाहिएको सामान लिएर जानोस् खातामा लेखाएर ।’

‘यिनले खातैमा लेखाउने त हुन् जति झगडिए पनि ।’ पसलेले बीचमा तर्क दियो ।   

‘...अनि दिउँस आएर हिसाब मिलान गर्नोस् । साहुलाई एकतर्फी पेलेको पेल्यै हुनुहुन्छ बा । अलिकति शान्त त हुनोस् र साहुजीका कुरा सुन्नोस् । मलाई त उहाँले सही तर्क गरिरहनुभा’छ भन्ने लाग्छ ।’

त्यो मानिसले उसलाई एकपटक रिसाएका आँखाले हेर्याे । आँखामा राता डोरा परिसेका थिए । हर्टको बिरामी पनि हुनसक्छ । हरर फिलिमको सैतानझैँ देखियो । अप्रत्याशित नै भनूँ, एकैपटक रन्फनिँदै उसलाई धक्क्याउन आइपुग्यो । धक्का ठूलै थियो । ऊ धक्कालाई मत्थर गर्न तयार थिएन । उसको धक्काले ऊ सडकमै पछारिन पुग्यो । भिडले पनि ऊ सडकमा पछारिन सहुलियत होस् भनेर बीचमा दरार पारेर ठाउँ छाडिदिएको थियो । भिरबाट खस्ने गाईलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न । फाइट चल्ने भो भनेर भिड रमाइलो मानिरहेको थियो ।  

‘तिमी को ? बीचमा बोल्ने । पैसा मेरो बढी गइरहेछ । तिमीले तिरिदिने हो ? जान्नुसुन्नु केही छैन, सेटिङ मिलाउन आएका हौ ?’

‘हैन, तिमीले यसरी एक्कासि धम्क्याएको किन ? दिमाग त ठिक छ ?’ उसले यत्ति मात्र भन्न भ्यायो । भुइँमा लछारिँदै लड्दा उसको कमेज कुमबाट च्यातियो र टाउकोदेखि गालासम्म भुुइँको खस्रोले तछारिएको पनि देखियो । रगत चुहुन सकेको छैन । उसलाई पनि झनक्क रिस उठ्यो, उठेर त्यो मानिसमाथि जाइलाग्न तम्सियो । 

उसको अवस्था देखेर भिडले उसलाई एकाएक तानेर अलग्गै ठाउँमा लग्यो । भनियो, ‘यो मानिस यस्तै सन्की छ । मेन्टल हुन्छ कतिकति बेला । तपाईं त सज्जन हो, भलादमी ! भिड्न सुहाउँदैन ।’ भिड्नु ठिक छैन ।’ उसले यो ठम्यायो । मान्छे बलियो पनि देखियो । झगडा गर्न कराएर बोल्दाखेरि घाँटीका नसा फुल्थे ।  

उसले भन्न चाह्यो, ‘बिनाकारण धक्काएको सहनु कहाँ ठिक हुन्छ त ?’ तर, पछि सोच्यो, ‘धक्का त खाइसकिएको छ अब झन् भिडन्तमा ओर्लनु ठिक छैन । जितिएन भने ठूलै फजिति हुने हो । मान्छे हाँस्लान् ।’ 

हार्ने गरी लडेर के गर्ने ? दक्षिणकाले जग्गा त मिच्योमिच्यिो कतै सबै हडप्ने पो हो कि ? मुलुकमा यो भय पनि छ र आक्रोश पनि । उसलाई पनि त्यस्तैत्यस्तै भयो । तर, भन्यो, ‘सहने खण्ड छैन । यसरी जथाभावी गर्न पाइन्छ ?’ उसको कुरामा कसैले समर्थन गरेन । 

त्यो सन्की भनिएको मानिस ऊ लडेपछि पनि मुड्की कसेर उसलाई रिसाएर हेरिरहेको थियो । उसले लुगा टक्टाएर भिडको छेउमा छेलिएर उभिएको देखेपछि केही नभएझैँ र मुसुमुसु हाँस्दै लमकलमक विजेताको पोजमा अर्कोतिर लागिसकेको थियो । 

उसले केही नभएझैँ आजको एउटा चिनोझैँ सिसाकलम मागेर खातामा लेख्न भन्यो । पसलेले पनि उसलाई कुनै सान्त्वना दिएन । ऊ अपमानित फर्कियो । मनभित्र ऊ भक्कानिएर रोइरहेको थियो । भिडले ताली बजाएन । 

कसैले भन्यो, ‘तपाईंले ठीक गर्नुभो ।’ तर, के ठिक गर्नुभो ? उसलाई बाहिरै सबैले देख्ने गरी एक्कासि क्वाँक्वाँ रुन मन लाग्यो । भित्र अपमानको तोड उम्लँदै थियो ।        
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १२, २०७८  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro