काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र उत्साहित भएको बताइएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले बजेटको स्वागत गरेका हुन् । तर, उनीहरुले बजेट कार्यान्वयनमा भने शंका व्यक्त गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको बजेटपछिको छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट निजी क्षेत्रमैत्री आएकाले उत्साहित भएको बताए । उनले महासंघले दिएको ६० प्रतिशत सुझाव कार्यान्वयन भएको पनि बताए । उनले कोभिडविरुद्धको खोपलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताए । पुनर्कर्जाको दायरा बढाउने भन्ने कुरा निकै सकारात्मक रहेको भन्दै उनले मौद्रिक नीतिमा विस्तृत रुपमा आओस् भन्ने चाहेको बताए ।
“एक प्रतिशत ब्यादरमा स्टार्टअप धितो राखेर ऋण पाउने व्यवस्था अति स्वागतयोग्य, निकै उत्साहित छौं,” उनले भने “डिजेलमा भ्याट फिर्ता स्वागतयोग्य छ ।”
उनले ह्लििङ चार्ज दिएर उद्योगका लागि विजुली उत्पादन गर्न पाउने व्यवस्थाले उद्योगलाई प्रतिस्पर्धी बनाउने उनले बताए । निजी क्षेत्रमैत्री बजेट आए पनि कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको उनले बताए । “चुनाव भएकाले कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा निजी क्षेत्र सशंकित नै छ,” उनले भने ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेट राम्रो रहेको तर कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । उनले काठमाडौं उपत्यकामा रहेको उद्योग मकवानपुरमा स्थानान्तरण स्वेक्षिक हुनुपर्ने बताए । उनले सबैलाई बाध्यकारी नबनाउन आग्रह गरे । मेक इन नेपाल अभियान बजेटमा समेटिएको भन्दै परिसंघले धन्यवाद दिएको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा महत्वपूर्ण रहेको बताए । बजेट स्वागतयोग्य भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण र शंका गर्ने खालेको रहेको बताए ।