काठमाडौं । नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएको छ । बक्सिङ संघको साधारणसभा यही जेठ २० गतेका लागि डाकिएको थियो ।
राखेपले आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न पत्र पठाएको हो । नेपाल बक्सिङ संघले कोरोना महामारीबीच पनि आफ्नो स्वीकृति नलिई साधारणसभा गर्न लागेको हुनाले स्थगित गर्न संघ तथा समन्वय इकाइका प्रमुख सरोजकुमार पाखे्रलद्धारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ङ) बमोजिम परिषद्बाट अर्काे निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरी सोको जानकारी राखेपलाई गराउन पत्रमा निर्देशन दिइएको छ ।
यसअघि, बक्सिङ संघले खेलकुद विकास ऐन ०७७ संघको अधिनमा रही संघको विधान २०६४ को परिच्छेद ३ को धारा ११ को उपधारा १ बमोजिम संघको र विधान संशोधनअन्तर्गत परिच्छेद ९ को धारा २४ को उपधारा १ बमोजिम साधारणसभा गर्ने निर्णय गरेको छ । तर, बक्सिङ संघले भने कोरोनालाई मध्यनजर गर्दै जुममार्फत साधारणसभा गर्ने निर्णय गरी सूचना प्रकाशित गरेको थियो ।