विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न अस्पताल सञ्चालन गरेको छ ।
गाउँपालिकाले अक्सिजन, चिकित्सक र औषधि सेवासहितको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको हो । ठूला अस्पतालमा समेत बेड पाइन छाडेपछि १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए । “बाँसबारी भन्ने ठाउँमा हामीले १० बेडको अस्पताल सुरु गरेका छौँ । १० बेड थप्ने योजना छ,” उनले भने ।
विराटनगर महानगरपालिकाको छिमेकी बूढीगंगा गाउँपालिकामा पछिल्लो समय संक्रमितको संख्या थपिँदो छ ।
गाउँपालिकाले अस्पताल सञ्चालन गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अस्पतालमा एक्सरे, ईसीजीलगायत सेवा उपलब्ध छ ।
गाउँमा सञ्चालित अस्पतालका लागि थप स्वास्थ्य सामग्री आवश्यक रहेकोले प्रदेश नम्बर–१ सामाजिक विकास मन्त्रालयसँग माग गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।