काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ । उक्त मापदण्ड अनुसार आयोगले मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गर्ने व्यवस्था गरेको छ ।
त्यस्तै मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपाेर्ट देखाउनुपर्ने, साबुन पानिले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने आयोगले जनाएको छ ।
त्यस्तै आयोगले कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदानकेन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरु सबैले अनिवार्य रुपमा पिपिइको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रूपमा फेस सिल्ड, पञ्जा र मास्क लगाउनुपर्नेछ ।
त्यस्तै मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरु र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्न अघि अनिवार्य रूपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्था समेत गरिएको जनाएको छ । मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधानहरु उक्त स्वास्थ्य सुरक्षा मापदण्डमा रहेका छन्
वाग्मती प्रदेशमा जेठ ६ र लुम्बिनी प्रदेशमा जेठ १७ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहबाट प्रमुख, उपप्रमुख हुन् ।