विराटनगर । कोरोना महामारीका बेला नगरवासीको सहजताको लागि सुनसरीको इटहरी उपमहानरपालिकाले टेलिमेडिसिन सेवा सुरु गरेको छ । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।
उपमहानगर क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उद्देश्यले यस्तो सेवा सुरु गरिएको अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन बिहान १० देखि दिउँसो २ बजे्सम्ममा मोबाइल नम्बर ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने व्यवस्था गरिएको धमलाले बताए ।
हालसम्मको ओपीडी पुर्जा, रिपोर्ट तथा अस्पतालको अन्य कागजपत्रहरु सोही नम्बरको वाट्सएप वा अस्पतालको फेसबुक पेजमा पठाउनुपर्ने जनाइएको छ । त्यसपछि सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य समस्याअनुसार सल्लाह र परामर्श दिइने बताइएको छ ।