पोखरा । गण्डकी प्रदेशका प्रमुख तीन ओटा दलले हालै पदधार सम्हालेकी प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । बुधबार साँझ नेपाली कांग्रेस, नेकप माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले संयुक्त रूपमा एक विज्ञप्ति जारी गरेर प्रदेश प्रमुख पोडेलले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका हुन् ।
पदबहालीका क्रममा प्रदेश प्रमुख पौडेलले विवादास्पद टिप्पणी गरेकी थिइन् । उनले गण्डकी प्रदेश सभा प्रतिपक्षका कारणले अवरुद्ध भएको अभिव्यक्ति दिएकी थिइन् । साथै उनले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्ने बेला भएको समेत बताएकी थिइन् ।
सोही अभिव्यक्तिलाई लिएर मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका तीन दलले आपत्ति जनाएका हुन् । उनीहरूले पदको मर्यादा राख्न समेत प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।
“पदबहालीको क्रममा माननीय प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भनी दिनुभएको प्रतिक्रिया सर्वथा गलत, भ्रामक र आपत्तिजनक छ,” विज्ञप्तिमा भनिएको छ, “माननीय प्रदेश प्रमुखज्यूले नियम, कानून, ऐनको परिधिभित्र अविश्वासको प्रश्ताव निस्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक र प्रदेश प्रमुख जस्तो पदको मर्यादा विपरीत छ ।”
उनीहरूले सत्ताको पक्षपोषण हुनेगरी प्रदेश प्रमुख आएको अभिव्यक्ति अस्वभाविक र चिन्ताजन रहेको बताएका छन् ।
“प्रतिपक्षको संवैधानिक कार्र्यबाट अत्तालिएर सत्ता पक्षको पक्षपोषण हुने गरी आएको अभिव्यक्ति अस्वभाविक र चिन्ताजनक छ । संविधानको कुन धारा/उपधाराले, ऐनको कुन दफा/उपदफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रश्ताव निष्क्रिय हुने हो माननिय प्रदेश प्रमुखज्यूबाट अविश्वास प्रश्तावको प्रश्तावकहरूलाई मार्गदर्शन हुने नै छ,” विज्ञप्तिमा भनिएको छ ।