site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन दर्ता हुने सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ?

काठमाडौं । नेपालमा प्रतिवर्ष प्रत्येक ६ परिवारमध्ये एक परिवार स्वास्थ्य उपचारमा लाग्ने खर्चका कारण विपन्न हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

यही तथ्यांकलाई मध्यनजर गर्दै सरकारले विपन्न र न्यून आय भएका नागरिकका लागि विभिन्न स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैमध्ये विगत ५ वर्षदेखि सञ्चालनरत एउटा कार्यक्रम हो स्वास्थ्य बिमा कार्यक्रम । 

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन आगामी साउनदेखि बिमितका लागि अस्पतालहरुमा विशेष सेवा विस्तार गरिने भएको छ ।

पाँचवर्षको अवधिमा स्वास्थ्य बिमा कार्यक्रम लक्ष्यअनुरुप प्रभावकारी नभएपछि बिमितहरुका लागि परामर्शलगायतका सेवा विस्तार गर्न लागिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । 

पाँचौँ स्वास्थ्य दिवसको अवसर पारेर आजैदेखि ६ वटा जिल्लामा बिमा दर्ताको भर्चुअल उद्घाटन पनि गरिँदैछ । 

नागरिकका लागि स्वास्थ्य सेवाको सहज पहुँच र गुणस्तर वृद्धि गर्ने उद्देश्यले ०७२ सालमा सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम ६९ जिल्लामा पुगिसकेको छ । 

किन दर्ता हुने सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ?

स्वास्थ्य बिमा कार्यक्रम सरकारले न्यून आर्थिक स्तर भएका नागरिकका लागि लक्षित गरेर सञ्चालन गरेको कार्यक्रम हो । यो कार्यक्रममा सहभागी हुन पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ वार्षिकरुपमा जम्मा गर्नुपर्ने हुन्छ । 

अति गरिब, एचआईभी संक्रमित, कुष्ठरोगी एम.डी आरटीडी, अति असक्त, अपांगता भएका परिवारको हकमा भने यो रकम सरकारले नै बेहोर्छ ।

त्यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाहरुले पनि यो रकम आधामात्रै तिर्नुपर्ने हुन्छ । त्यस्तै ७० वर्षमाथिका नागरिकहरुले पनि यो रकम तिर्नुपर्ने छैन ।  त्योभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य सातसय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्छ । 

यसरी एकपटक जम्मा गरेको रकमले १ वर्षसम्म एक लाखसम्मको आकस्मिक, तथा बहिरंग सेवा निःशुल्क पाउन सकिन्छ । त्यसका लागि तोकिएको अस्पतालले बिमा कार्डमार्फत् सेवा प्रदान गर्नेछन् ।

बिमा दर्ता गर्दा सूचीकृत भएका परिवारका जुनसुकै सदस्यले यो सुविधा लिन पाउँछन् । तर बिमा सुविधामा रहन प्रत्येक वर्ष सोही रकम तिरेर नवीकरण गर्नुपर्ने हुन्छ । 

स्वास्थ्य बिमा गरेपछि कस्ता सेवाहरु पाइन्छ ?

सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएकाहरुले ११३३ प्रकारका औषधि तोकिएका अस्पतालहरुबाट निःशुल्क पाउँछन् । 

अस्पताल भर्ना भइ अन्तरंग सेवा लिनुपरेमा पनि बिमामार्फत् प्रदान गरिन्छ । त्यस्तै एक्सरे, इसीजी, अल्ट्रासाउन्ड, एमआरआई, सिटीस्क्यान, रगत, पिसाब आदिको जाँच पनि यही बिमा सेवाअन्तरगत नै पर्दछन् । 

आकस्मिक तथा ओपीडी सेवासँगै सानाठूला शल्यक्रियाहरु पनि यही सेवाअन्तर्गत प्रदान गरिन्छ । जसमा, एपेन्डिक्स, पत्थरीजस्ता शल्यक्रिया पर्दछन् । त्यस्तै बिमितहरुलाई निश्चित मूल्य बराबरको चस्मा, श्रवणयन्त्र, सेतो छडी, बैशाखी आदिपनि यही सेवाअन्तर्गत प्रदान गरिन्छ । 

पाँच जनासम्मको परिवारमा एकलाख रुपैयाँसम्मका सेवा एक वर्षमा उपलब्ध हुनेछ । यो सुविधा पटक–पटक गरी या एकैपटक उपभोग गर्न सकिन्छ । नियमित नवीकरण गर्दा यो सेवा वर्षेपिच्छे लिन सकिन्छ । पाँचजनाभन्दा बढी सदस्य भएका परिवारमा एक सदस्य बराबर २० हजारका दरले सेवा लिन सकिन्छ । 

कहाँ कहाँ पाइन्छ बिमावापत्को सेवा ?

सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि स्वास्थ्य बिमा बोर्ड गठन गरी ३७५ वटा अस्पतालसँग सम्झौता गरेको छ ।

बिमितहरुले स्वास्थ्य सेवाका लागि नजिकैको स्वास्थ्य संस्थालाई रोज्न सक्छन् । बिमा परिचयपत्रको आधारमा स्वास्थ्य संस्थाले सेवा प्रदान गर्नेछन् । यदी बिमितको उपचार सेवा सो संस्थामा उपलब्ध नभएमा स्वास्थ्य संस्थाले नै बिमा कार्यक्रम लागु भएको अर्को अस्पतालमा रिफर गर्न सक्छन् । 

तर आकस्मिक सेवाको हकमा भने जुनसुकै (बिमा बोर्डमा सूचीकृत) स्वास्थ्य संस्थामा बिमा कार्ड लागु हुनेछ । 

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रत्येक स्थानीय तहमा बिमा  दर्ता अधिकारीको व्यवस्था गरिएको छ । उनीहरुमार्फत् परामर्श र सेवाबारे जानकारी लिई यो कार्यक्रममा आवद्ध हुन सकिनेछ । 

अहिलेसम्म कति नागरिक लाभान्वित भए ?

०७२ चैत २५ गते सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुरु भएको सरकारको स्वास्थ्य बिमा कार्यक्रम अहिले ६९ जिल्लामा पुगिसकेको छ । 

ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा आजदेखि भर्चुअल रुपमा दर्ता गरी आजैदेखि यो कार्यक्रम सुरु गरिँदैछ । 

स्वास्थ्य बिमा बोर्डका अनुसार अहिलेसम्म ३७ लाख ४२ हजार ६५६ जना यो कार्यक्रममा आवद्ध भइसकेका छन् ।  बिमितमध्ये १४ लाख ४५ हजार ५३३ जनाले बिमा कार्यक्रममार्फत् सेवा लिइसकेका छन् । 

जसमध्ये ७० प्रतिशतले नियमित नवीकरण गर्ने गरेको बोर्डको तथ्यांक छ ।  सन् २०३० सम्ममा युनिभर्सल हेल्थ कभरेज भेट्ने सरकारको लक्ष्य रहेको छ । 

त्यसका लागि अहिले १५ प्रतिशत जनसंख्यालाई समेटिएको स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरी ६० प्रतिशतमा पुर्‍याइने स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सनेन्द्रराज उप्रेती बताउँछन् । आगामी आर्थिक वर्षभित्र काठमाडौं र ललितपुर जिल्लामा पनि यो कार्यक्रम विस्तार गर्ने योजना रहेको उप्रेतीको भनाइ छ । 

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएकाले र घातक रोग उपचारका लागि एकलाख रकम पाउँछन् कि पाउँदैनन् ?

स्वास्थ्य बिमा कार्यक्रम र घातक रोगको उपचार सेवा सरकारका दुई फरक कार्यक्रम हुन् । 

बिमा कार्यक्रममा समेटिएकाहरुले तीनहजार ५०० रुपैयाँ वार्षिक योगदान गरेबापत् १ लाखसम्मको सेवा लिन पाउनेछन् भने घातक रोगहरुका लागि सरकारको छुट्टै कार्यक्रम छ । क्यान्सरलगायतका विभिन्न ८ वटा रोगहरुका लागि सरकारले सम्बन्धित वडा कार्यालयको सिफारिसमा एकलाखसम्मको उपचार सेवा तोकिएका अस्पतालबाट छुट पाउन सक्छन् । 

स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका नागरिकले यो दुवै सुबिधा लिन पाउनेछन् । तर घातक रोगका लागि एकपटक एकलाखमात्रै सुविधा उपलब्ध छ भने बिमा कार्यक्रममा नवीकरण गरेको आधारमा वर्षैपिच्छे सेवा लिन सकिन्छ । 

स्वास्थ्य बिमा सेवामा समेटिएका नागरिकहरुलाई सबै औषधि अस्पतालबाटै उपलब्ध गराउन आगामी आर्थिक वर्षदेखि औषधि थप गर्ने लक्ष्यसमेत रहेको बोर्डका अध्यक्ष डा. उप्रेतीले बताए । 

त्यस्तै अहिले ऐच्छिक रुपमा सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम छिट्टै सबै नागरिकमा लागु गरिने उनको भनाइ छ । 

 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro