site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार वाग्मती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गरे । “राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ,” महासचिव पोखरेलले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेले आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

उनले विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन आग्रह गरे । महासचिव पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताए ।

बैठकमा वाग्मती प्रदेशका जिल्ला अध्यक्षहरूले सदस्यता नवीकरण, नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा ‘रिपोर्टिङ’ गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्