site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसपाको निष्कर्ष : देउवाभन्दा ओलीसँगै सहज !
Ghorahi CementGhorahi Cement

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँगै सहमति कार्यान्वयन सहज हुने निष्कर्ष निकालेको छ । 

पार्टीको बैठकबाट उच्च तहमा छलफल गर्ने निर्णय गरेको जसपा र प्रधानमन्त्रीसहित नेकपा एमाले अध्यक्ष रहेका ओलीसँग भएको समझदारीअनुसार कार्यदल बनेर काम भइरहेको छ भने नेपाली कांग्रेस र नेकपा(माओवादी–केन्द्र)सँग समान्य वार्तामात्र भइरहेको छ । 

जसपाको बुझाइमा कांग्रेस सभापति देउवाले सहमति गर्न र गठबन्धन बनाउन जाँगरसमेत देखाइरहेका छैनन् । त्यसैले जसपाले सहमति हुन्छ भने वर्तमान प्रधानमन्त्रीसँगै ‘क्यास’मा सहमति गर्न सहज हुने निष्कर्ष निकालेको छ ।

Agni Group

“हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइसकेका छौं, प्रचण्डजीलाई पनि प्रधानमन्त्री बनाएका हौं र वर्तमान प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिएर प्रधानमन्त्री बनाएका हौं, तर अहिलेसम्म कसैले पनि मधेसका मुद्दामा भएका सहमति कार्यान्वयन गरेका छैनन्,”जसपा अध्यक्ष महन्थ ठाकुराका विश्वास पात्रसमेत रहेका नेता डा. सुरेन्द्र झाले भने, “हामी विगतका उधारो सहमतिबाट हैरान भएका छौं, अब हामी हाताहातीमा सहमति गर्छौँ ।” 

उनले त्यो सहमति जहाँ हुन्छ त्यसैलाई जसपाको समर्थन रहने बताए ।

Global Ime bank

माग सम्बोधन भएपछि मात्र सहमति गर्ने हो भन्ने प्रश्नमा नेता झा विगतको अनुभवले त्यसो गर्न बाध्य पारेको बताउँछन् । 

प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरले बनाएका कार्यदलमा सकारात्मक परिणामउन्मुख भएको एमालेतर्फका कार्यदल संयोजक सुवास नेम्वाङको भनाइ छ । कार्यदलमै बसेर काम गरिरहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई भने सकारात्मक भए पनि वार्ता भने जारी रहेको बताउँछन् । 

भट्टराईले बाह्रखरीसँग भने, “परिणाममा पुगेर उपलब्धि सार्वजनिक गर्ने अवस्था बनिसकेको छैन । तर, जसपासँगको वार्ता जारी छ र अहिलेसम्म सकारात्मक छ ।” 

उनले संयोजक नेम्वाङले भनेजस्तो परिणाम आउने अवस्थामा नपुगेको संकेत गरे पनि जसपा भने प्रधानमन्त्री ओलीसँगै सहमति गर्दा तत्काल कार्यान्वयन हुने बुझाइमा छ ।
 
“सहमति कार्यान्वयन नै गर्ने हो भने भोलि आउने प्रधानमन्त्रीले उधारोमा गर्ने हो, वहालवालाले नै तत्काल कार्यान्वयन गरेर सहमतिको वातावरण बनाउन सक्छ,” जसपा नेता झाले भने, “हामीलाई सबैले धोका दिइसकेका छन् । त्यसैले विश्वासकै आधारमा समर्थन गर्ने अवस्था अब छैन ।” 

सहमति कार्यान्वयन भए पछि मात्र सहमति गर्ने जसपाको अडान कायम रहने हो भने वर्तमान प्रधानमन्त्री ओलीबाहेक सहमतिको आधार भेटिँदैन । 

तर, जनता समाजवादी पार्टीमा ओलीसँग सहकार्य गर्नु हुन्छ वा हुँदैन भन्ने दुई धार छन् । 

अध्यक्ष महन्थ ठाकुर तथा नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादवसहितका नेताहरु ओलीसँग सहकार्य गर्न हुने पक्षमा छन् । 

अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु भने ओली प्रतिगनकारी भएकाले उनीसँग सहकार्य गर्नै नहुने पक्षमा छन् । 

यसलाई ठाकुर पक्षका नेताहरु अध्यक्ष यादवको ओलीसँग व्यक्तिगत ‘इगो’ रहेको भन्दै व्यक्तिगत सम्बन्धले पार्टीगत सम्बन्ध प्रभावित नहुने बताउने गरेका छन् ।

राजनीति नै बहुधारमा छ  

विश्लेषक विजयकान्त कर्ण नेपालको राजनीतिमा सबै पार्टीमा दुईवटा धार देखिएकाले जसपमा देखिएको धारलाई स्वाभाविक मान्छन् । तर, उनी सहकार्यको सम्भावना भने ओलीसँग अथवा देउवा वा प्रचण्डसँग पनि उत्तिकै देख्छन् । 

“सबै राजनीतिक दलहरुमा बहुधार देखिएको छ । कांग्रेसमा स्पष्ट दुईधार छ भने एमालेमा तीनवटा र माओवादीमा दुईवटा धार छन्,” कर्णले भने, “जसपा त पार्टी बनिसकेकै छैन । एउटा पार्टी बन्दाबन्दै फुटिहाल्यो ।” 

उनले अहिले सबैलाई जनता समाजवादी पार्टी चाहिएको अवस्था भए पनि त्यो सिद्धान्तका आधारमा नभइ संख्याका लागिमात्र भएको बताए । संख्या पुर्‍याउनकै लागि गरिने सहयोगमा कसलाई गर्ने कसलाई नगर्ने भन्ने विषय अर्थहीन भएको उनको बुझाइ छ । 

“खड्गप्रसाद ओलीलाई १८–२० सिट सांसदको संख्या चाहिएको छ, अरुलाई पनि सांसदको संख्या चाहिएको हो, सिद्धान्तका आधारमा कोही पनि हिँडिरहेको छैन,” कर्णले भने ।

नैतिकताको प्रश्न

अहिले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभा पुनः स्थापित भइसक्दा पनि पदमा बसिरहनुलाई अनैतिकताको पराकाष्ठा भन्ने टिप्पणी भइरहेको छ । 

त्यसैले ओलीसँग सहकार्य गर्नेहरुले पनि नैतिकता भूलेपछि मात्र समर्थन हुने भनिने गरेको छ । तर, विश्लेषक कर्ण भने नेपालको राजनीतिमा  ‘मिक्याभेली’ पथमा हिँडिसकेकाले नैतिकताको बहस नै औचित्यहीन भएको बताउँछन् । 

“राजनीति शास्त्रका विज्ञ एवं इटालिएन दार्शनिक मिक्याभेलीले ‘राजनीतिमा धर्म र नैतिकता सत्ता प्राप्त गर्ने साधन मात्रै हो’ भनेका छन् । नेपालको राजनीतिमा पनि नैतिकता भन्ने कुरा मिक्याभेली पथमा लागिसकेको छ,” कर्णले भने, “नैतिक प्रश्न नेपालको राजनीतिक दलसँग केतै पनि बाँकी छैन ।”

उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीसँग मिलेर कांग्रेसले संवैधानिक निकायमा आफ्ना महासमिति र केन्द्रीय समितिका मान्छेलाई नियुक्ति गरिसकेको भन्दै माओवादीले समेत ओलीलाई दिएको समर्थन फिर्ता नलिएकाले नैतिकताको कुरा अव नसुहाउने उनले बताए ।

“अरु कुनै पनि राजनीतिक शक्तिले यो सरकारलाई अप्ठेरो पार्ने काम नगरेकाले जसपाले नैतिकताकै लागि त्यो काम गर्छ भनेर मलाई विश्वास छैन,” कर्णले भने ।
 
कांग्रेस सभापतिले इच्छा देखाएनन्

जसपा नेताहरु कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि छलफलमा खासै चासो नदेखाएको बताउँछन् । 

उनीहरु देउवालाई ओली प्रधानमन्त्री हुँदा नै सहज भएको भन्दै आफू प्रधानमन्त्री बन्ने, अरुका माग पूरा गर्नेसहितका काम गर्न उनले चासो नदेखाएको उनीहरुको ठहर छ । 

“कांग्रेस सभापतिले जसपा आफैंले गएर छलफल गरेपछि थप कुराकानी गर्नु भएकै छैन,” जसपा नेता झाले भने, “हामीले पहल गरे मात्र वार्ता हुन्छ भने उहाँले सहयोग खोज्नु भएको हो की हैन भन्ने कुराको जवाफ मिल्दैन र ?” 

उनले माओवादी केन्द्रले पनि प्रधानमन्त्रीलाई दिएको समर्थनसमेत फिर्ता नलिएको भन्दै अरु दलहरु ओलीकै पक्षमा लागिरहेको आरोप लगाएका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC