साहित्य
.jpg.jpeg)
सन्तोष रिमाल
‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर...’
नेपाल टेलिभिजनको स्टुडियोमा यस्ता गीत घन्किरहन्थे । खासै वास्ता हुँदैनथ्यो ।
करिब ५ वर्षअघि नेपाल टेलिभिजनका निर्देशक दीपा गौतम डान्स रियालिटी सो ‘छमछमी’लाई उत्कृष्ट बनाउन लागिपरेकी थिइन् । निजी च्यानलका अगाडि सुविधासम्पन्न पूर्वाधार भएर पनि उपयोग गर्न नसकेको लघुताभासका साथ पुराना र अनुभवी टेलिभिजनकर्मीले बढो जोशका साथ बनाएको कार्यक्रम थियो त्यो ।
मैले यसो एमसीआर (मास्टर कन्ट्रोल रुम) तिर चिहाएँ ।
गीतमा एउटी प्रतियोगी नर्तकी बेजोड नाचिरहेकी थिइन् । कार्यक्रमका सहभागी दर्शक मग्न थिए । प्रिभ्यु मनिटरमा एकजना वयोवृद्धको ‘एक्सप्रेसन’ सबैभन्दा विपरीत थियो । बेलाबेला उनको ‘इन्सर्ट’ राख्न कार्यक्रम निर्माता अनुरोध गरिरहन्थे ।
“नातिनीको नाच देखेर बूढा भावुक भा’का होलान्, यिनीहरूलाई पुगिहाल्यो नि,” मैले मनमनै अड्कल लगाएँ ।
जब उनको आँशुले आँखाका डिल नाघे, निर्माता थप ‘एक्साइडेड’ हुँदै क्यामेरा पर्सनलाई भन्न थाले, “शिव, अझै क्लोजअप ।”
“यी को हुन् र दिदी ? किन यस्तो महत्व दिएको ?” अबचाहिँ केही विशेष नै छ कि जस्तो लागेर गौतमलाई सोधें ।
“ल ! फिल्म पत्रकार भएर पनि पनि उहाँलाई चिन्नुहुन्न ? बीएस थापा हो उहाँ । कार्यक्रमकै लागि हामीले बोलाएको ।”
कस्ता–कस्ता आउँदा कत्रो हल्ला हुन्छ । नेपाली फिल्मको इतिहास रच्ने निर्देशक आउँदा केही पत्तो छैन ।
“अनि किन गोप्य राखेको त ?”
“छमछमीमा एक्सक्लुसिभ गर्न ।”
मैले हात जोडें, “लौन दिदी ! कार्यक्रमपछि मलाई ५ मिनेट कुरा गर्न समय मिलाइदिनू ।”
उनले हात उठाइन्, “उहाँलाई हतार छ, म सक्दिनँ ।”
म छेकारो काटेरै भए पनि थापासँग कुरा गर्ने निष्कर्षमा पुगें, सोधेसि कसो नबताउलान् ! तर, सोध्ने के ? खोज्ने समय छैन । त्यो संकटमा मैले सम्झिएँ– फिल्म र संगीतका ‘इन्साइक्लोपेडिया’ प्रकाश साय्मिलाई । धेरैले उनको तथ्यलाई लिएर उडाएको सुनेको हुँ तर मलाई तथ्यभन्दा पनि कथ्यसँग मतलब थियो । सहृदयी साय्मिले टेलिफोनबाटै ‘शक्ति’ भरिदिए ।
त्यसपछि झन् ‘शक्ति’ भरियो, जब थापालाई आफ्नो घर लैजान ढोकैमा बसेकी भेटिइन्, अभिनेत्री शर्मिला मल्ल । उनले पनि समय अभाव त सुनाइन् तर मैले जिद्दी गरें, “एकचोटि कुरा गर्न दिनू, उहाँले हतार गर्नुभयो भने त्यतिबेलै छोडौंला ।”
सर्तसहितको सहमतिमा सुरु भएको संवादभर थापाले एकपटक पनि घडी हेरेनन् ।
“त्यो बेलाको गीतमा पनि अहिलेका कलाकारले कति राम्ररी नाचेका । आजसम्म गीत बचाइदिने तपाईंहरूलाई धन्यवाद,” निजी लगानीको पहिलो नेपाली फिल्म ‘माइतीघर’का निर्देशक थापाले बाहिर निस्किदा पनि आँशु थाम्न सकेका थिएनन् । ५० वर्षअघिको ‘माइतीघर कथा’मा उनी निकैबेर हराए ।
“फिल्मकी हिरोइन माला सिन्हा नाच्न एकदमै डराउँथिन् । यो गीत यहाँ अझै यति लोकप्रिय छ भन्ने थाहा पाए रिटायर्ड हिरोइन माला पनि निकै खुसी हुन्छिन् होला,” मुम्बई निवासी निर्देशक नृत्यमा करिअर बनाउने नेपालीले कम्तिमा एकपल्ट यो गीतमा नाचेकै छन् भन्ने थाहा पाउँदा औधी खुसी भए उनी ।
त्यतिबेलै ८३ वर्ष पुगेको बताउने थापाले आफ्नो कामको मूल्यांकनले फुर्किएर भनेका थिए, “फेरि पो फिल्म बनाउन मन लाग्यो त ।”
आफूले सके पनि नसके पनि अहिलेको सहज प्रविधि देख्दा उनी चुकचुकाएका थिए । अनि आफूले निर्वाह गरेको कठिनाइ सम्झेर आफैं अनौठो मानेका थिए ।
“हिरोइन नेपालमा पाइएन, मुम्बईकै प्राविधिकको सहयोगमा फिल्म बनाउनु प¥यो । अहिले त नेपालका कलाकार, प्राविधिक, लेखक, विचारक कहीँका भन्दा कम छैनन् । अलिकति प्रोत्साहन पाए दुनियाँलाई देखाइदिन्छन्,” उनले भनेका थिए ।
‘माइतीघर’मा मुम्बईको सहयोग लिनु उनको बाध्यता थियो । हरेक कुरा कथाजस्तो । व्यावसायिक फिल्मको कोसेढुंगाका रूपमा चर्चा हुने ‘माइतीघर’सँग जोडिने धेरै प्रसंग थापा स्वयंलाई अनौठो इतिहासजस्तो लाग्थ्यो ।
हिरो हुन निवेदन दिएका प्रेमध्वज प्रधानलाई फिल्ममा नछान्ने निर्देशक उनै हुन् । जो ख्यातिप्राप्त गायकको परिचयका साथ बाँचिरहेका छन् । स्वरसम्राट नारायणगोपालको स्वरलाई अस्वीकार गर्ने निर्देशक पनि उनै थिए ।
“उताका चर्चित गायक–गायिकाले गाउने भएकाले नारायण गोपाललाई नराखेको हुँला,” ‘माइतीघर’मा नारायणगोपालले किन गाउन पाएनन्, उनैले बिर्सिसकेका थिए ।
‘ब्ल्याक एन्ड ह्वाइट’ फिल्म ‘माइतीघर’ उनकै स्मृतिमा पनि धमिलो भइसकेको छ ।
“सबै कुरा त म पनि बताउन सक्दिनँ । त्यो एउटा जोशमा बनाइएको थियो,” यो काममा तत्कालीन जनरल नरशमशेरको सक्रियताको खुलेर तारिफ गरे उनले ।
“उनको ब्रेभ हार्ट नै फिल्म निर्माणको पहिलो चरण थियो,” मुम्बईमै संघर्षरत किशोर तिमिल्सिना र आफूले राखेको प्रस्तावमा सिधै सहमति जनाएका नरशमशेरबारे उनले यसो भनेका थिए ।
कसैले नगरेको काम थाल्दा सुरुमै उनलाई डर थियो पैसाको । जब पैसाको जिम्मा नरशमशेरले लिए, उनी कलाकारको खोजीमा लागे ।
त्यसबेला मुम्बईमा चलेकी थिइन् नेपालीभाषी हिरोइन माला सिन्हा । थापा र तिमिल्सिना मालालाई खेलाउन चाहन्थे तर उनीसामु प्रस्ताव राख्ने हिम्मत दुवैमा थिएन ।
“बडो नम्र भएर मैले मालालाई नेपाली फिल्म बनाउन लागेको जानकारी गराएँ । उनले निकै चासो दिइन्,” यसले हौसिएका थापाले आँट गरेर सोधे, “तपाईंलाई खेलाउन पाए हुन्थ्यो भन्ने धेरैको इच्छा छ । के तयार हुनुहुन्छ ?”
“कथा हेरौं न त,” मालाबाट नसोचेको प्रतिक्रिया पाए पनि देखाउनका लागि उनीसँग कथा थिएन ।
“त्यति ठूलो कलाकारले कथा मन परे खेल्ने बताएपछि सब काम छाडेँ । र, कथा लेख्न तम्सिएँ । चार दिनमा काम सकियो,” नेपाली फिल्ममा लगानी मिल्ने आश्वासन पाएका थापाका लागि यो दोस्रो आश्चर्य थियो कि मालाले कथा मन पराइन् । र, नेपाली फिल्म भएकाले थोरै पारिश्रमिकमै अभिनय गर्न तयार भइन् ।
“सायद भाषाप्रेमले उनी हाम्रो साथ दिन तयार थिइन् । निर्मातालाई अप्ठ्यारो पर्ने कुनै माग थिएन,” थापाले सुनाए ।
ख्यालख्यालमै देखेको नेपाली फिल्म बनाउने सपना यथार्थको नजिक पुग्यो । पैसा, कथा र हिरोइन फाइनल । अब चाहियो हिरो । थापाले यो काममा त्यति तनाव लिएनन् । कसैको सिफारिसका सुन्दर युवक काम गर्न तयार थिए । खोजेको हिरोइन भेटेपछि हिरोका बारेमा उनी त्यति गम्भीर बनेनन् । तर, त्यतिबेला निर्देशकको टाउको दुख्यो, जब अनुबन्धित हिरोले संवाद बोल्नै सकेनन् ।
हिरो हट्ने भए । छिट्टै अर्को पात्र तय गर्नु थियो । झट्ट उनको नजर प¥यो ‘माइतीघर’को गीत गाउन मुम्बई पुगेको नेपाली ठिटोमाथि ।
‘हेर्दा राम्रो । हाँस्न, बोल्न र हिँड्न फिट । तुरुन्तै नरशमशेरको स्वीकृति लिएर गायकलाई नै खेलाएँ,” फिल्ममा हिरोको संकट यसरी टरेछ ।
गायक बन्न गएका सीपी लोहनी हिरो बनेर फर्किए । साइनो फिल्मसँग मात्र सीमित रहेन ।
“उसको त मालासँग अफेयर पनि सुरु भएछ । फिल्म बन्दाबन्दै बिहेसमेत गरे,” यो सम्बन्ध सम्झँदा थापा रमाएका थिए ।
फिल्मको इन्डोर सुटिङ सेट लगाएर मुम्बईमै सकाइएको उनले बताए । ‘आउटडोर’ सुटिङ गर्न काठमाडौं आएका थापालाई पोखराको सौन्दर्यले त्यतिबेलै लोभ्याएछ ।
“एकान्त ठाउँमा ठूलो ताल देखेपछि त्यहीँ सुटिङ गर्न मन लाग्यो,” उनले सुनाए ।
अहिले ‘नेचुरल स्टुडियो’को उपमा पाएको पोखरा धेरैको रोजाइ हो । फिल्म निर्माणका सरसामान समेत सहजै उपलब्ध हुन थालेको यो सहरको असहजता झेलेका निर्देशक थिए थापा ।
“न राम्रो बाटो, न होटल, न त पसल नै थियो । माला त सबैले चिन्ने हिरोइन थिइन् । त्यसैले त्यहाँको दरबारमै बासको व्यवस्था मिल्यो । हामीले त टिनले बारेको ब्यारेकमा बसेर काम सकायौं,” ४० दिनमा सुटिङ सकाइएको यो फिल्मको सबै काम सकिन एक वर्ष लागेको उनले बताए ।
थापाले फिल्म प्रिमियरको भव्यता भुलेका थिएनन् । फिल्म निर्माणदेखि नै चासो देखाएका तत्कालीन राजा महेन्द्रले फिल्म युनिटलाई दरबारमा पार्टी दिएको क्षण उनलाई ‘अविस्मरणीय’ लागेको थियो ।
फिल्मप्रति ठूलो चासो भएरै गीतसमेत लेखेका थिए महेन्द्रले ।
नेपाली फिल्म भएकाले निःशुल्क स्वर दिने आशा भोसले र लता मंगेशकरप्रति उनी आभारी थिए ।
“नेपाली फिल्म बन्दैछ भन्ने खुसी नेपालीलाई मात्र थिएन । भारतीय सहकर्मीले समेत यसलाई सुखद रूपमा लिए र सक्दो सहयोग गरे,” फिल्मलाई व्यावसायिक सफलता दिलाउन भारतीय दर्शकले दिएको साथ उनले बिर्सिएका थिएनन् ।
“नेपालमा जम्मा दुइटा हल थिए । मलाई लाग्छ– फिल्मले नेपालमा भन्दा धेरै कलेक्सन भारतमा गरेको हुनुपर्छ,” ७ लाखमा सकाउने भनेर सुरु गरेको फिल्मको बजेट १० लाख पु¥याएकोमा आलोचनासमेत खेपेका निर्देशकले भनेका थिए, “फिल्मले व्यापार गर्छ । पैसा कमाउँछ भनेर यो काम थालेकै थिइएन । एउटा प्रयोग थियो र यो प्रयोगमा ठूलो धनराशि खर्च भएको थियो ।”
नेपाली फिल्म क्षेत्रमा यो व्यवसायको बीउ रोप्ने व्यक्तिको रूपमा आफ्नो चर्चा हुने गरेको सुन्दा उनी खुसी थिए । तर, त्यो बीउ अझै टुसाउन नसकेको खबर पाउँदा दुःखी पनि । “५० वटा फिल्म बन्छ रे । यो त राम्रो हो । फेरि ५ वटाले मात्र लगानी उठाउँछन् रे ! यो त फेरि साह्रै दयनीय पक्ष हो नि,” तत्कालीन परिस्थितिको टिप्पणी गर्दै उनले भनेका थिए ।
“फिल्म माध्यम नबुझ्नेले निर्देशन गरेर पनि कहीँ हुन्छ ? पहिला निर्देशकको कर्तव्य बुझ्नुप¥यो,” ‘कान्छी’ र ‘मायाप्रीति’ समेतका निर्देशक थापाले निर्देशकले गर्ने कथा चयनप्रति असन्तुष्ट थिए ।
थापाहरू कच्ची बाटो पार गर्दै पार गर्दै पोखरा पुगेका थिए । अहिले पक्की बनेको छ । टहरोमा बसेर सुटिङ गरेका थिए, अहिले विलासी होटलहरू छन् । कलाकार र प्राविधिक थिएनन्, अहिले बग्रेल्ती छन् । फिल्म प्रविधि साह्रै महँगो थियो, अहिले सस्तो छ ।
सबै कुरा छन् तर राम्रा फिल्म बनिरहेका छैनन् ।
‘माइतीघर’ नेपाली फिल्मको बीउ थियो, बीएस थापाले रोपेको । त्यो बीउ ५० वर्षमा ठूलो वृक्ष त बनेको छ तर असल फलले भरिपूर्ण हुन सकेको छैन । जब हितकारी फल फल्न थाल्छन्, सही श्रद्धाञ्जली त्यही हुनेछ ।
हाल : अमेरिका
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३ ०९:०६
प्रतिक्रिया दिनुहोस्