site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
नारायणहिटीमा बम !

राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी (२०१७ साल पुस १) प्रथम जननिर्वाचित बीपी कोइरालालाई जेल हाले पछिको कुरा हो । वेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण फागुन १५ हुने तय भइसकेको थियो । कांग्रेसका सबै जसो शीर्ष नेता कि त जेलमा थिए कि प्रवासमा । कुअघि कलकत्ता पुगेका उपप्रधानमन्त्री सुवर्णशमशेर राणाले प्रजातन्त्र माथि कु भएका बेला प्रजातन्त्रको जननी मानिने बेलायतकी महारानीको भ्रमण स्थगित गर्दा उचित हुने सुझावसहित बेलायत सरकारलाई ज्ञापनपत्र बुझाउने व्यवस्था मिलाए । 
पत्रमा नेपालमा प्रजातन्त्र फर्काउनका लागि दबाब दिनसमेत आग्रह गरिएको थियो । तर, बेलायती परराष्ट्रमन्त्री लर्ड ह्युमले अशान्तिको अवस्था नभएकाले भ्रमण स्थगित नहुने आशयको वक्तव्य दिए । 
राजाविरुद्ध कांग्रेसजनमा आक्रोश चुलिएको थियो । महारानीको भ्रमणको पूर्व सन्ध्यामा ‘एक्सन’ गर्ने कार्यक्रम बनाइए । पूर्वसभामुख तारानाथ रानाभाटले आफ्ना बाबु नारायणदत्तले त्यहीताका कलकत्ता पुगेर सुवर्णशमशेरलाई भेटेको प्रसंग सुनाउँदै लेखकसँग भनेका छन् – ‘मेरो बुबाले जोसिएर भन्नु भएछ । अब मलाई बन्दुक दिनुहोस्, सारालाई खत्तम गरेर म मर्न पनि सक्छु । प्रजातन्त्र ल्याउनुपर्छ । जेलका साथीहरुलाई मुक्त गर्नुपर्छ ।’

तिनैताकाको कुरा हो सुवर्णका विश्वासपात्र पाटनका तेजनन्दन जोशी र विश्वनाथ उपाध्यायसहितका मानिस मिसनका लागि कलकत्ताबाट काठमाडौं आए । ‘सुन्दरीजल पावर हाउस उडाउने तयारी गरिरहँदा करेन्ट लागेर रामबहादुर क्षेत्रीको मृत्यु भयो । अनि योजना कार्यान्वयनमा आउन सकेन ।

त्यही टोलीले सिनामंगल र पुरानो वानेश्वर जोड्ने वाग्मतीको पुल उडाउने अर्को योजना बनायो । पुलमुनि बालुवामा डाइनामाइट बिछाएर बम पड्काइयो तर त्यसले खासै असर गरेन । अन्यत्र पनि पडकाउने तयारी भइरहेको थियो । तर, आफूभित्रबाट सूचना चुहिएपछि त्यो योजना सफल भएन । बम पड्काउन खटिएका पूर्व सांसद लेखनाथ न्यौपाने लेख्छन् – ‘पछि हाम्रै समूहका सदस्य बलराम प्याकुरेलले गद्दारी गरेकाले धेरै साथीहरु पक्राउ परे । हाम्रो जिम्मेवारी पूरा हुन पाएन ।’

महारानीको भ्रमणपछि पनि एक्सनका कार्यक्रम भए । पुस १ को कदमपछि जेल परेका कांग्रेस नेता श्यामलाल श्रेष्ठ छुटेपछि सुवर्णलाई भेट्न कलकत्ता पुगे । उनीसँग सुवर्णले भनेका थिए – ‘राजधानीमा कुनै एक्सन गर्नु पर्‍यो । अन्यत्र भएका एक्सनले अन्तर्राष्ट्रिय जगतमा खासै असर गर्दैन । यो तपाईँहरुका लागि अन्तिम मिसन हुनेछ । सफल भयो भने देशमा प्रजातन्त्र पुनःस्थापना हुन्छ ।’ सुवर्णलाई भेट्ने युवा आफूले त्याग गरेर प्रजातन्त्र आउँछ भने जस्तोसुकै बलिदान दिन तयार रहने वचन दिँदै भन्थे – ‘तर पड्काउने समान चाहीँ सक्कली हुनुपर्छ ।’  सुवर्ण उनीहरुलाई भन्थे – ‘सामान बारे तपार्इँहरुले चिन्ता लिनु पर्दैन ।’ श्यामलाल कलकत्ता पुगेको केही दिनमै विस्फोटक पदार्थ आइपुग्यो । डाबर कारखानाको कम्पाउन्डभित्र जमिनमुनि लुकाएर त्यसलाई राखियो । अनि कसैले थाहा नपाउने गरी परीक्षण गर्दा ठूलो आवाजमा विस्फोट भयो । अब कांग्रेसका तरुणहरु विस्फोटक पदार्थ लिएर नेपाल फर्कन तयार भए । त्यसअघि सुवर्णको सिफारिसमा उनीहरु एउटा अंग्रेजी फिल्म हेर्न गए । उत्साहित भएर फर्किए । 
कलकत्ताबाट फर्किएपछि नारायणहिटी दरबारको दक्षिण ढोका, सिंहदरबार, रेडियो स्टेसन, वाग्मती पुल, गोरखापत्र संस्थान, प्रहरी हेडक्वाटरलगायत राजधानीका २६ स्थानमा एकै पटक विस्फोट गराउने मिसनमा खटिएका श्यामलाल श्रेष्ठले भनेका छन् – ‘माथिबाट ‘ओके’ भएपछि सुवर्णजीले भन्नुभयो । तपार्इँहरु जानुस् । विस्फोटक पदार्थ विश्वासिलो च्यानलबाट पठाइनेछ ।’

पटनाबाट उडेको शाही नेपाल वायु सेवा निगमको जहाजबाट फलफूलको टोकरीमा लुकाएर रुपचन्द्र नाहटाले काठमाडौंमा बम  भित्र्याए । त्यही दिन उनी विस्फोटक पदार्थसहित पक्राउ परे । लगत्तै मुकुन्द शर्मा, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र श्रीकृष्ण वैद्य पनि पक्राउ परे । उनीहरुमाथि चलाइएको राजकाज अपराधअन्तर्गतको मुद्दामा २०१९ साल कात्तिक १९ गते विशेष अदालतले जन्मकैदको सजाय सुनायो । अराष्ट्रिय तत्त्वसँग सम्पर्क राखी राजदरबार, पावर हाउस, सिंहदरबारलगायतका घरहरुमा बम पड्काई ध्वस्त पार्ने मनसायले टाइमिङ घडी तारसमेतका सामान ल्याएको अभियोग उनीहरुमाथि थियो । मुद्दामा भनिएको थियो – ‘सुवर्णशमशेरका छोरा कञ्चनशमशेरले फलफूलको टोकरीभित्र हाली काठमाडौं पठाएका बमहरु ल्याई लुकाई राख्न लगाएको अवस्थामा रुपचन्द्र पक्राउ परेका थिए ।
यसरी ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, सुन्दरीजलस्थित विद्युत् गृहसहित काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटन गराउने योजना तय भयो । तर सफल भएन ।’ पञ्चायती सरकारले सेना, प्रहरी र गुप्तचर परिचालन गरी कांग्रेसको योजना विफल बनायो । 

सशस्त्र क्रान्तिमा सहभागी पूर्वप्रधानमन्त्री सुशील कोइरालाले बम बोकेर आफू विमानस्थल हुँदै काठमाडौं आएको घटना २०७० साल मंसिर दोस्रो साता लेखकलाई सुनाएका थिए । पहिलो संविधान भसभामा पराजित भएका उनी मैले भेट्दा बा“के र चितवनबाट निर्वाचित भई संविधान सभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री हुने पक्का भइसकेको थियो । कोइरालाले सुनाए – ‘एकपटक म आफैँ टाइम बमसहित त्रिभुवन विमानस्थलबाट काठमाडौं उत्रिए । झोलाको तल्लो भागमा टाइम बम थियो । बारुदले भरिएको हर्लिक्सको सिसा पनि ल्याएको थिएँ ।’

त्यस बेलासम्म विमानस्थलमा एक्सरे मेसिनले चेक जा“च गर्ने चलन थिएन । झोला छामछुम गरेपछि सुरक्षाकर्मीले हर्लिक्सको सिसा खोल्यो र सोध्यो – ‘यो के हो’ ? हर्लिक्स हो, बिरामी छु । खानल्याएको ।’ भने सुशीलले । ‘धन्न झोला खोलेन र म बाचेँ । त्यसपछि जहाजबाट कहिल्यै त्यसरी यात्रा गरिन ।’ त्यस दिन कोइराला एकदमै हर्षित मुडमा थिए । कार्यवाहक सभापति हुँदा पहिलो संविधान सभा (२०६४) मा आफैँ पराजित भएका थिए । पार्टीको साइज खुम्चिएको थियो तर २०७० सालमा आफ्नै नेतृत्वमा कांग्रेस पहिलो दल बनेको थियो । त्यही कारण उनी हर्षित मुद्रामा हुने नै भए । 

उनले सशस्त्र क्रान्तिका कथा सुनाउँदै गर्दा लेखकका साथ कांग्रेसका तत्कालीन प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, उनका छोरा र पत्रकार हरहरी उपाध्याय पनि थिए । कोइराला कथा सुनाउँदै थिए । त्यहीबीच एक जना चर्चित पत्रकार – ‘सुशील दाइ जय नेपाल !  धेरै धेरै बधाई छ । तपाईको नेतृत्वले कांग्रेस पहिलो दल भएको छ ।’ भन्दै आइपुगे । त्यसपछि सुशीलले त्यस विषयमा मुख खोलेनन् । उनको मुखबाट सशस्त्र क्रान्तिका कथा सुन्ने अवसर मलाई मिलेन । 
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro