काठमाडौं । अहिलेको समयमा नाटकमा मिहिनेत गर्न सके दर्शक आकर्षित हुने रंगकर्मीहरू बताउँछन् । सिनेमा हलमा अपेक्षित नयाँ चलचित्र रिलिज हुन नसकेको समयमा राम्रा नाटक मञ्चन गर्न सके त्यसले दर्शकको ध्यान आफूतिर खिच्न सक्ने रंगकर्मीहरूको धारणा छ ।
रंगकर्मी सुनील पोखरेल अफ्ठ्यारो समयमै नाटक मौलाउने बताउँछन् । अफ्ठ्यारो समयमै नेपाली नाटक अरु समयमा भन्दा सहज ढंगले अगाडि बढेको उनको भनाइ छ । “कम्तीमा नेपाली नाटकको इतिहासले हरेक अफ्ठ्यारो समयमा नेपाली नाटक मौलाएको मैले पढेको देखेको छु,” सुनील भन्छन्, “तर, यो सहज भने छैन । हरेक व्यक्तिले पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्छ । तर, राम्रो गर्न सक्यो भने यही गाह्रो समयमा नाटक फस्टाउँछ ।”
नाटकघरहरू आधुनिक सिनेमा घरजस्ता सुविधासम्पन्न नभएकाले दर्शक नाटक हेर्न कत्तिको आउँछन् वा आउँदैनन् त्यो अहिले नै भन्न नसकिने र यही नै मुख्य चुनौती रहेको उनको बुझाइ छ ।
दर्शकले खोजेजस्तो नाटक बनेको अवस्थामा यसतर्फ धेरैको ध्यान खिचिने रंगकर्मी दयाहाङ राई बताउँछन् । यसमा कलाकारको पफर्मेन्सले निर्भर गर्ने उनको धारणा छ ।
“नाटक राम्रो बन्यो भने पक्कै पनि दर्शक थिएटरसम्म डोरिएर आउँनुहुन्छ । तर, मुख्य कुरा नाटक कस्तो बन्छ भन्ने हो । हामी कस्तो मनस्थितिमा छौँ भन्ने कुराले अर्थ राख्छ,” दयाहाङ भन्छन्, “हामी कलाकारमा दर्शकले खोजेजस्तो नाटक गर्ने हुटहुटी छ । राम्रो काम गर्छौँ भन्ने विश्वासमा छौँ ।”
करिब १० महिनादेखि दर्शक सिनेमा हल र नाटकघरमा गएर प्रत्यक्ष मनोरञ्जन लिन नपाइरहेको अवस्थामा दर्शकलाई थिएटरसमक्ष डो¥याउन सकिने गरी काम गर्नुपर्नेमा उनी जोड दिन्छन् । यद्यपि, अझै पनि कोरोनाको त्रास पूर्ण रुपमा अन्त्य भइनसकेको र भौतिक दूरी कायम गर्नुपर्ने भएकाले यो चुनौतीको सामना गर्नुपर्नेमा उनी सचेत देखिन्छन् । थोरै सिट क्षमता भएका थिएटरले भौतिक दूरी कायम गर्दा थप मार बेहोर्नुपर्नेछ ।
नेपाली समाजमा आएका हरेक रूपान्तरणमा नाटकको ठूलो भूमिका रहेको इतिहास सुरक्षित रहेका रंगकर्मी प्रवीण खतिवडा स्मरण गर्छन् । कोरोनाको कहरबाट बाहिर निस्किन प्रयास गरिरहेको समाजलाई सहज रूपान्तरणका लागि नाटक एउटा प्रभावकारी माध्यम बन्न सक्ने उनी बताउँछन् । यद्यपि, यसका लागि कुनै निकाय वा सर्वमान्य व्यक्तिले अहम् पहलकदमी गर्नुपर्ने अन्यथा यो सम्भव नरहेको उनको ठहर छ ।
“अहिले सबै रंगकर्मीहरू एकीकृत भएर काम गर्न सक्ने वातावरण म देखिरहेको छैन । साथीहरू भड्किरहेको पाएको छु । कतिमा इगो छ, कतिमा कुण्ठा छ । जबसम्म हामीमा यो रहिरहन्छ, सबै कुरा बिर्सिएर काम गर्न सक्दैनौँ, त्यो समयसम्म हामीले हाम्रो इतिहासको तहमा पुगेर काम गर्न सक्तैनौँ,” प्रवीण शंका व्यक्त गर्छन् ।
परिवर्तित सन्दर्भमा जीवन र जगतसँग जोडिएका विषयलाई उठान गरेर प्रभावकारी नाटक बनाउन सके इतिहास फर्काउन सकिने अन्यथा बीचमै हराउने सम्भावना रहेको प्रवीण बताउँछन् ।
“हामी कस्तो काम गर्छौँ, दर्शकलाई आकर्षित गर्न सक्छौँ कि सक्दैनौँ । समाज रूपान्तरणको यो प्रभावकारी माध्यमलाई सही सदुपयोग गर्न सक्छौँ कि सक्दैनौँ, त्यो त भोलिका दिनमा तपाईंहरूले समीक्षा गर्नु नै हुनेछ,” उनी भन्छन्, “तर, हामीले बलियो इतिहासको जगमा टेकेर पुनः आफूलाई प्रमाणित गर्न सक्नुपर्छ । तर, यो त्यति सजिलो छैन ।” परिवर्तित अवस्थामा जनताको चाहना र भावनालाई समेट्नुपर्नेमा उनले जोड दिए ।
रंगकर्मी सुनील पोखरेल कोरोनाका कारण बदलिएको सन्दर्भमा नेपाली नाटक पनि परिमार्जित हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् । कोरोनाअगाडि र पछाडिको कालखण्ड छुट्ट्याउँदा नाटकको स्वरूप र प्रस्तुतिमा फरकपन आउनुपर्ने भन्दै उनी भन्छन्, “कोरोनाको कालखण्डमा अध्ययन् गर्दा नेपाली नाटक परिमार्जित भएर अगाडि बढ्नुपर्ने मैले धेरै ठाउँहरू देखेँ । र, अब त्यो अपेक्षा पनि मैले गरेको छु । तर, मैले अपेक्षा गरेजस्तो हुन्छ वा हुँदैन मलाई पनि थाहा छैन ।”
दर्शकको मनोविज्ञानलाई बुझेर सान्दर्भिक नाटक निर्माण गरेको अवस्थामा दर्शकले नाटक रुचाउने रंगकर्मी हरिहर शर्मा बताउँछन् । “मान्छेको मनोविज्ञानको कुरा हो, त्यसैले दर्शक थिएटरसम्म कत्तिको संख्यामा जानु हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । घरपरिवारले कत्तिको प्रोत्साहन गर्नुहुन्छ भन्ने कुराले पनि अर्थ राख्छ,” शर्मा भन्छन्, “तर, मान्छेमा नाटक हेर्ने बानी बसिसकेको छ । यो बेला मनोरञ्जनको खाँचो पनि छ, त्यसैले राम्रो नाटक मञ्चन गर्न सके अवश्य पनि नाटकले दर्शक खिच्न सक्छ ।”
करिब १० महिना नाटकघर तथा सिनेमाघर बन्द रहे । अन्य पेसा तथा व्यवसाय केही समयअगाडि नै सञ्चालनमा आए पनि सरकारले यो क्षेत्रलाई त्यति सहजै सञ्चालनको अनुमति दिएन । त्यसैले अन्य क्षेत्रभन्दा चलचित्र र नाटकले धेरै मार बेहोर्नुपरेको रंगकर्मी तथा चलचित्रकर्मीहरूले गुनासो गरे ।
कोरोनाले कामविहीन हुनुपर्दा समस्यामा परेका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डले केही राहत प्रदान ग¥यो । तर, रंगकर्मीहरूले कतैबाट त्यस्तो सहयोग पाएनन् । नाट्य क्षेत्रको नियामक निकाय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आफूहरूलाई हेरेन भन्ने नाटकघर सञ्चालक तथा रंगकर्मीहरूको गुनासो रह्यो । प्रतिष्ठानले बजेट अभावमा सहयोग गर्ने मन हुँदाहुँदै पनि नसकेको बतायो ।
बिहीबारबाट केही नाटकघरको चाबी खुल्यो । पुरानै अवस्थामा नाटकघरलाई कहिले फर्काउन सकिने हो, निश्चित छैन । तर, नाटकको काम अब सुरु गर्ने तयारी नाटकघरहरूले गरिरहेका छन् ।
अहिले भने नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नाटकघरहरूलाई सहयोग गर्ने तयारी गरिरहेको प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा बताउँछन् । नाटकघरहरूले ल्याउने कार्यक्रमको खाका र त्यसको प्रभावकारिता अध्ययन गरेर प्रतिष्ठाले सहयोग गर्ने तयारी गरिरहेको हरिहरले जानकारी दिए ।
“कोरोना संक्रमणको उच्च जोखिम रहेर थिएटरहरू बन्द रहेको अवस्थामा हामीले चाहेर पनि सहयोग गर्न सकेनौँ । कारण, हाम्रो आम्दानीको स्रोत छैन । अनुदानबाटै चल्ने हो,” उपकुलपति हरिहर भन्छन्, “अहिले भने हामीले केही सहयोगको तयारी गरिरहेका छौँ । थिएटरहरूलाई कार्यक्रमको खाकासहित आउन भनेका छौँ । सायद, चाँडै उहाँहरू आउनु पनि हुन्छ होला । उहाँहरूले ल्याएको कार्यक्रमको प्रभावकारिता, प्रभाव र औचित्य मूल्यांकन गरेर सहयोग गर्नेछौँ ।”
ठूलो परिमाणमा नसके पनि प्रतिष्ठानले सकेको सहयोग गर्ने उनी बताउँछन् । अहिलेको समय सुहाउँदो नाटकलाई सहयोग गर्ने उनले स्पष्ट पारे । थिएटरहरूलाई कति सहयोग गर्ने त्यो भने कार्यक्रम हेरेर निर्धारण हुने उनको भनाइ छ । अहिले प्रतिष्ठानको आग्रहअनुसार नाटकघरहरूले कार्यक्रमको खाका तयार पारिरहेका छन् ।