नाटक मौलाउने अफ्ठ्यारो समयमै हो

नाटक मौलाउने अफ्ठ्यारो समयमै हो

सुनील पोखरेल नेपाली नाट्य क्षेत्रका धरोहर हुन् । १३ वर्षको उमेरदेखि नाटक खेल्न थालेका उनले कालन्तरमा नाटकलाई नै करियर बनाए । सयौँ नाटकमा अभिनय गरिसकेका पोखरेलले दर्जनौँ नाटक निर्देशन गरेका छन् । उनले पढाएका सयौँ रंगकर्मीहरू अहिले रंगकर्ममा सक्रिय रहँदा पनि सुनील नाट्य कर्ममा अनवरत् क्रियाशील छँदै छन् । नाटकसँगै उनले चलचित्रमा पनि अभिनय गरेका छन् । तर, उनको मुख्य कर्मक्षेत्र नाटक नै हो । उनीसँगै नाटक सुरु गरेका सहयात्रीहरू पेसा परिवर्तन गरेर अलग–अलग बाटो लागे पनि सुनीलले नाटकलाई छोडेनन् । उनै नाट्यकर्मी सुनील पोखरेलसँग बाह्रखरीका नरेश फुयाँलले कोरोनाका कारण प्राप्त फुर्सदिलो समयमा नाट्यकर्मीको दैनिकी, नाटकघरहरू खुलेपछिका चुनौती र त्यसलाई सामना गर्ने उपाय, सम्भावित अफ्ठ्याराबारे केही प्रश्न गरेका छन् । तर, कम बोल्ने उनले यसपटक पनि धेरै बोलेनन् । प्रायः ‘एस’ ‘नो’मा जवाफ दिन रुचाउने उनले आफ्नो पुरानै स्वभाव दोहो¥याए । जवाफ साह्रै नै छोटो भएन र ? भन्ने प्रश्नकर्ताको जवाफमा उनले भने– ‘‘यही त मेरो दुर्भाग्य हो ।’’ प्रस्तुत छ, सुनीलसँग गरेको प्रश्नोत्तर जस्ताको तस्तै । 

० ० ०

कोरोना संक्रमणको त्रासका कारण १० महिनादेखि नाटक मञ्चनसम्बन्धी कुनै काम हुन सकेन । नाटकमा रमाइरहने मान्छे त्यसबाट लामो समय टाढिनुपर्दाको समय कस्तो रह्यो ?
यसमा धेरै बोल्नुपर्छ भन्ने लाग्दैन । एकै वाक्यमा भन्दा धेरै कारणले निकै गाह्रो रह्यो । 

नाटक मञ्चन मात्रै हुन नसकेको हो कि तपाईंजस्ता रंगकर्मीहरू पर्दापछाडिका काम गरिरहनुभयो ?
हो, पर्दापछाडिचाहिँ काम गरिरह्यौँ । 

के–कस्ता काम गर्नुभयो ?
पढ्ने, लेख्ने, आफ्नोबारे सोच्ने । आफ्नो कामको बारे सोच्ने काम गरिरहेका छौँ हामीले । 

अध्ययनमा नाटक नै प्राथमिकता पर्‍यो ?
जरुरी छैन । नाटक मात्रै होइन, अरू पनि पढ्ने काम भयो । 

नाटक लेखन अथवा कुनै नाटक वा चरित्र निर्माणमा काम गर्न सक्ने अवस्था रहेन ? 
धेरै साथीहरूले गर्नुभयो होला । तर, मैलेचाहिँ त्यसो गरिनँ । 

फुर्सदिलो समयलाई आफूलाई लेखन वा चरित्र निर्माणका काम गरेर सहज अवस्थाका लागि तयारी अवस्थामा राख्न सकिँदैन थियो ?
तपाईंले भनेकोभन्दा पर पनि दुनियाँ छजस्तो लाग्छ मलाई । मैले त्यो दुनियाँका लागि तयारी गरेँ । 

नाटकघरहरू अझै खुलेका छैनन् । कहिलेबाट खोल्ने र दर्शकले कहिलेदेखि नाटक हेर्न पाउलान् ?
मलाई के थाहा, कारण म सरकार होइन । 

नाटकघरहरू १० महिना बन्द हुँदा ठूलै व्ययभार बेहोर्नुपर्‍यो होला । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको केही आडभरोसा त रह्यो ? 
त्यो मलाई थाहा भएन, कारण यो मेरो चासोको विषय नै होइन । 

सहयोग गर्नुपर्ने निकायले नै सहयोग नगर्नुका पछाडि नाटकघर तथा नाट्यकर्मीहरूको पहल पुगेन कि सामान्य अवस्थामा नेपाली कला–साहित्य र संस्कृतिका क्षेत्रमा काम नगरेकाले बेवास्ता गरेको हो ?
यो मेरो चासोको विषय होइन । किनभने, म मेरो काम गर्ने मान्छे हुँ । 

परिवर्तित अवस्थामा नाटकहरूले पनि भौतिक दूरी कायम गर्दै ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन हुनुपर्ने होला । यो अवस्थामा नाटकघरहरू चल्न सक्लान् ?
गाह्रो छ । यो हाम्रो समस्या हो । 

शत्प्रतिशत क्षमतामा नाटकघर सञ्चालन हुँदा पनि अक्सर दर्शकको अभावमा एकाधबाहेक घाटामै गएका खबरहरू आउँथे । अब त झन् कठिन होला । खुलेर फेरि बन्द पो हुने हुन् कि ?
अहिले सबै थिएटरहरूलाई गाह्रो छ । यो मैले देखिरहेको छु । खुले भने पनि कति मान्छेहरू आउँछन् वा आउँदैनन् हामी ग्यारेन्टी गरेर भन्न सक्तैनौँ । नाटकघरहरू आधुनिक फिल्म घरहरूजस्तो सुविधा–सम्पन्न छैनन् । त्यसैले केही समयसम्म म गाह्र्रै देख्छु । तर, कामचाहिँ गर्ने सोचिरहेका छौँ । 

लामो समयपछि पुरानो कर्ममा फर्किनुपर्नेछ । पर्फमेन्सका हिसाबले कत्तिको सहज होला ? 
थाहा छैन, यो भन्न सकिँदैन । किनभने, सरकारले फिल्म हल त खोल्यो । तर, नाटकघर पनि खोलेको हो कि होइन थाहा छैन । होइन भने पनि अब त हामी सुरु गर्छौँ विस्तारै । सबैले आफ्नो स्वास्थ्यबारे सोच्छन् होला । तर, यही गाह्रो समयमा नाटक फस्टाउने हो । 

नाटकको इतिहास हो यो ? 
मैले नेपालको इतिहास पढ्दा यही भन्छ । हरेक अफ्ठ्यारो समयमा नाटक मौलाएको छ । 

परिवर्तित समयमा नाटकको स्वरूप र प्रस्तुतिमा पनि केही फरकपन आउने सम्भावना छ ? यो अपेक्षा गर्न सकिन्छ ?
म यो अपेक्षा गर्छु । आउँछ कि आउँदैन मलाई थाहा छैन । तर, जनजीवनसँग जोडिएका नाटक आउने मैले अपेक्षा गरेको छु । 

कोभिडले उपलब्ध गराएको फुर्सदमा विश्वबजारका चलचित्र हेरेर चलचित्रकर्मीहरूले नेपाली चलचित्रले परिमार्जित हुनुपर्ने थुप्रै ठाउँ रहेछ भन्ने महसुस गरियो भनिरहनुभएको छ । रंगकर्मीहरूले पनि आफूलाई परिमार्जित गर्ने ठाउँ भेट्नुभयो कि ?
हो, मैले परिमार्जित हुने ठाउँ भेटेँ । 

सामान्य अवस्थामा नाटक गरेर जेनतेन मुस्किलले जीविकोपार्जन गर्नुपर्ने अवस्थामा रहनुपर्ने धेरै रंगकर्मीहरूले योबीचमा वैकल्पिक पेसा पनि अपरिहार्य रहेछ भन्नुभयो । हो, अन्य पेसा नगरी यो क्षेत्रमा टिक्न गाह्रो नै रहेछ ? 
बडो गाह्रो कुरो सोध्नुभयो । मैले पनि योबारे सोचिरहेको छु, मलाई पनि वैकल्पिक पेसा चाहिन्थ्यो कि भनेर । 

प्रायः आफू क्रियाशील रहेको क्षेत्र किनारा लाग्दै गएको समय उक्त क्षेत्रलाई जोगाएर मजबुत बनाउने अग्रज तथा अनुभवीहरूले नै हो । यो भूमिका तपाईंले यसअघि आवश्यक परेका बेला खेल्नुभएको पनि छ । कोभिडले थलिएको नाट्य क्षेत्रलाई उठाउन यो समय केही त्यस्ता योजना छन् ?
छैनन् । किनभने, मैले यो क्षेत्रको ठेक्का लिएको छैन । मलाई कसैले ठेक्का दिएको छैन ।

तस्बिर : सुनीलको फेसबुकबाट

प्रतिकृया दिनुहोस
ad