site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मास्कमै नाम लेखौँ चिन्न सजिलो हुन्छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सोमराज पोखरेल ‘लुनाटिक’


‘मुख देखाउन पनि लाज लाग्ने गराइस् । अझ मुख छोप्चस् । हाम्लाई कहीँको नरहनि बनाइस् । दिउँसै कालोमोसो दलिस् । तलार्इं जन्माएर मैले ठूलो भूल गरिछु । कोख रित्तो भए पनि चित्त बुझाउँदी हुम् । यो के दिन देख्न परो ! लौन अब काँ जाम् ?’

आजभन्दा तीन दशकअगाडि गाउँमा एकजना दाजुले केचाहिँ बिराम गरेछन् कुन्नि, ती दाजुकी आमैले यसरी गाली गरेको सुनेको थिएँ । जब कुनै ठूलै बिराम गरिन्छ, तब मुख छोप्नुपर्ने रहेछ ! समाजलाई नपच्ने काम गरेपछि मुख छोप्नुपर्ने रहेछ । यो त नराम्रो चिज पो रैछ भन्ने त्यतिबेला बाल मानसपटमा छोएको थियो । वर्षौँसम्म पनि मलाई लाजले मुख छोप्न कहिल्यै नपरोस् जस्तो लाग्थ्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौंको खाल्डोमा आएपछि भने धुलो र धुवाँले मलाई मुख छोप्न बाध्य बनायो । फेरि सवारी–साधनको धुवाँले जतिबेला पनि आफूलाई बान्ता नै गराउन खोज्ने । लामो रुटमा हिँड्यो कि छाद आउने, गाडीको धुवाँले । कतिपय मेरा अग्रज दाजु–दिदीहरू त मलाई काठमाडौंबाट घर गुल्मीसम्म लैजान र ल्याउन पनि अप्ठेरो नै मान्नुहुन्थ्यो । उहाँहरूको काँधमा टाउको अड्याएर सुत्नुपर्ने, नसुते फेरि बान्ता भइहाल्ने ! लामो यात्राको कष्टले उहाँहरूलाई पनि कम्ती कष्ट हुन्थेन । 

धुलो र धुवाँले बनाउने एलर्जी रोक्नै पनि मुख छोप्नुपर्ने बनायो । तर, समयले अहिले सबैलाई मुख छोप्ने बनाएको छ । इज्जत गुमाएपछिको मुख छोप्ने नभई रोगबाट मुक्त हुनका लागि मास्क लगाउनै पर्ने । 

Royal Enfield Island Ad

मास्क अर्थात् मुखौटो । अहिले विश्वभर सबैभन्दा बढी प्रयोग कुनै पहिरन भएको छ भने त्यो मास्क नै होला । विश्व स्वास्थ्य संगठनले भनिरहेछ, ‘अरू जेसुकै गर, तर मास्क अनिवार्य लगाऊ’ । किनकि, कोरोना भाइरसको महामारी हुनबाट जोगाउने सबैभन्दा सशक्त अस्त्र मास्क नै भएको छ, यतिबेला । 

मास्कले कोरोना मात्र हैन, धेरै रोग सर्नबाट रोक्न मद्दत गर्छ । स्वास्थ्यका लागि मास्कको प्रयोग वरदान सावित भए पनि यसले सामाजिक कार्यमा भने निकै नै अप्ठेरो पार्दै आएको छ । सबै ठाउँमा मास्क सही भन्ने पनि नहुँदो रहेछ ! 

एकजना दाजुले केही दिनअघि आर्यघाटमा भोग्नुपरेको तितो अनुभव सुनाउँदा यसले पु¥याएको अप्ठेरो छर्लंगै भयो । आर्यघाटमा आफन्त, नातेदार, साथीभाइ र शुभेच्छुक को–को आयो भन्ने चर्चा निकै हुने गर्छ । त्यसको महत्त्व पनि छ । त्यो गम्भीर घडीका बेलामा सबैले पढ्ने भनेकै अनुहारको हाउभाउ नै हो । 

आर्यघाटमा खासखुस बोलिँदैन । कतिपय भाषा मुखले बोल्छ । कतिपय इसाराले बोलिन्छ र कतिपय त देखेरै पनि पुग्छ । तर, मुखै देख्न नपाएपछि कसरी गर्ने त्यो इसाराको संवाद ! निकै अप्ठेरो । ती दाजुलाई पर्नुसम्म अप्ठेरो परेछ । एउटा साथी भनेर इसारा गर्यो, अर्को परिदिन्छ र अरू पनि आफूसँग आएर झुक्किने । बित्ने त बितेर गइहाले । परिवारलाई सान्त्वना दिन भेला हुँदासमेत अप्ठेरो । 

कतिपयले आफूलाई कोट्याएरै फलानो हैन भनेर सोधेका घटना सुनाउनुभयो दाजुले । एक त कोरोनाबाट बच्नका लागि भौतिक दूरी अपनाउनै पर्नेछ, अर्कातिर आफू चिनिनु पनि पर्नेछ । फेरि, भोलि फलानो मलाई विपत् परेका बेलामा सहभागी भएको थिएन म किन जाने ? भन्ने मानसिकता नेपाली सोच छँदै छ । 

हुन पनि ‘बिहेका जन्ती र मर्दाका मलामी’को महत्त्व धेरै हुन्छ । जतिसुकै मापदण्ड भनिए पनि मलामी हुन नेपाली परिवेश बाध्यकारी हुन्छ । त्यसरी नै जन्ती जान पनि ऊ तयार हुनैपर्छ । 

नेपाली समाजमा मिलेर एकापसमा मैत्रीभाव दर्शाउने चलन राख्छ । तर, मास्कले स्वार्थी पो बनाइदियो कि ! कोरोनाले गर्दा यसै त भौतिक दूरी टाढा गराइदिएको छ, त्यसमा अझ मास्क लगाउँदा आँखामा आँखा जुधाउने र काँधमा काँध मिलाउने माहोललाई टाढा पारिदिएको छ ।

एकजना भाइ गत मंसिरमा तराईतिरको बिहेमा गएका थिए । सबैले एउटै पोसाक लगाएर मास्कसहित जाँदा बेहुला चिन्न कठिन भएर निकै समय ख्यालठट्टामा बितेको प्रसंग सुनाउँदै थिए । हाँसोको फोहरा छुटेपछि अब बेहुली नै अर्कैले उडाउने हो कि भन्ने डरले बेहुलाले ‘म यहाँ छु’ भनेर मास्क नै निकालेर चिच्याएका थिए रे ! 

मठ–मन्दिरमा पनि त्यस्तै समस्या परेको छ । एकातिर कोरोना छ, अर्कातिर हाम्रो दैनिक जीवन । दुवैलाई सँगसँगै अगाडि बढाउनु परेको छ । कोरोनासँग निरन्तर भागेर जीवन चल्दैन । जिउन कोरोनाको भयबाट डराउनु पनि परेको छ ।

एक मित्र भन्दै थिए, अब मास्कमा आफ्नो नाम लेखौँ टन्टै साफ ! मास्क लगाउनै परेपछि त्यसका विकल्प पनि खोज्ने पो हो कि ? एकजना दाजुका छोरालाई १७ वर्षपछि देखेकी एक महिलाले तिमी फलानो हैनौं ? भनेर सोधेपछि त्यहाँ सबै जिल खाएका थिए रे । १७ वर्षअघि गाईजात्राको दिन कृष्ण बनेका एक वर्षे बालक अहिले १८ वर्षका तन्नेरी भएका थिए । तर, ती महिलाले मास्कमा देखिएका ती तन्नेरीका आँखा हेरेरै चिनिछन् । त्यस्तो शक्ति सबैमा कहाँ हुन्छ र ! 

मास्कले अनेक बेथा त निम्त्याएको छ । समस्या छ । समस्यासँगै समाधान पनि आउँछ नि ! बेलायतमा कोरोनाको दोस्रो स्ट्रेन देखिएको छ । यसले हालै लगाउन थालिएका कोरोनाविरुद्धका खोपले समेत नभ्याउने वैज्ञानिकहरूले बताइरहँदा अझ सशक्त खोपको जरुरी देखिइसकेको छ । 

यस्तो बेलामा नेपालमा खोप आउने त कहिले हो पत्तो छैन, मास्क भने लगाइरहनुपर्ने निश्चितजस्तै भएको छ । यो निश्चितताले पर्मानेन्ट मास्कको व्यवस्था गर्नेतर्फ लाग्नुपर्ने हो कि ? सर्जिकल मास्क एक दिन ज्यादा लगाउन हुन्न रे । हरेक दिन १० रुप्पे तिर्न सकिएला र ! सर्जिकल मास्क त धुन पनि मिल्दैन । धुन मिल्ने भए त दुई–चार दिन तन्काउन सकिन्थ्यो कि ! तर, त्यो पनि भएन । हैट ! जहाँ गाह्रो त्यहीँ सारो भनेको त्यसै हैन रैछ ।

यसरी मास्क लगाइरहन परेपछि यसको विकल्प पनि खोजेर अगाडि बढ्ने पो हो कि ! लुनाटिकलाई यस्तो पो लागिरहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro