नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधवार उनकै गृह जिल्लमा प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेछ । बुल्दी खोलामा बनेको एउटा पुल उद्घाटन गर्न जान लाग्दा सत्तारुढ दलका स्थानीय नेता कार्यकर्ताले विरोध गरेकाले शान्ति व्यवस्था कायम राख्न नेता पौडेलको सुरक्षाका लागि उनलाई नियन्त्रणमा राख्नुपरेको स्थानीय प्रहरीले बताएको छ । पूर्वनिर्धारित उद्घाटन कार्यक्रम बिथोलेर अशान्ति मच्चाउने कम्युनिस्ट कार्यकर्ताहरू भने पक्कै पनि पक्राउ परेका छैनन् । कांग्रेसका नेता पौडेलको कार्यक्रम बिथोल्नेहरूको साटो उनैलाई पक्रेर शान्ति सुरक्षा कायम राख्ने प्रहरी प्रशासनको व्यवहारले पञ्चायतकालको एउटा यस्तै घटना सम्झायो ।
त्यस्तै २०४० /४१ सालतिरको कुरा हो । तनहुँमा कांग्रेस समर्थकले जिल्ला पञ्चायतमा मात्र होइन गाउँ पञ्चायत पनि थुपै्रमा जितेका थिए । उनीहरू जिल्ला पञ्चायतका पदाधिकारीहरू गाउँमा आऊन् भन्ने चाहन्थे । हामी पनि गाउँमा जान उत्साहित हुन्थ्यौँ । ( म तनहुँ जिल्ला पञ्चायतको उपसभापति निर्वाचित भएको थिएँ ।) गाउँ सभा, विद्यालयको वार्षिकोत्सव, योजनाहरू उद्घाटन र शिलान्यास जस्ता अनेकौं निहुँमा हामी गाउँमा जान्थ्यौँ । यसले एकातिर अप्रत्यक्षरूपमा पार्टीको संगठन विस्तार हुन्थ्यो भने प्रशासन र मण्डलेहरूबाट सताइएका स्थानीय शिक्षक, पञ्चहरूको मनोबल बलियो हुन्थ्यो । हामी गाउँ गाउँमा जान्थ्यौं । धेरैजसो युवक संगठनका जिल्ला सभापति ध्रुवलाल प्रधान र मजदुर संगठनका सभापति काशीराम श्रेष्ठ र मसँगै हुन्थ्यौँ । जिल्ला पञ्चायतका क्षेत्रगत सदस्यहरू पनि साथमा हुने नै भए । सभापति विष्णुवीर आले प्रायः दक्षिण भेगमा र म बीचको तथा उत्तरी भेगमा जाने गर्थ्यौँ । धेरै ठाउँमा त मिलेसम्म सँगै पनि जान्थ्यौँ । यो लामो गन्थन पृष्ठभूमि बुझाउनका लागि हो ।
हाम्रो गाउँ भ्रमण प्रशासनका लागि निल्नु न ओकल्नु भएको थियो । पञ्चायतका कार्यक्रममा जान रोक्न पनि नमिल्ने तर हामी यसरी गाउँ गाउँ गएर भाषण दिँदै हिँडेको मण्डलेहरूलाई सह्य पनि नहुने । यही क्रममा केशवटार र घाँसीकुवा गाउँ पञ्चायतका वार्षिक गाउँ सभाहरू दिन मिलाएर हामी जानेगरी तय गरियो । ध्रुव र काशीका साथै क्षेत्र नम्बर १ का जिल्ला पञ्चायत सदस्य कृष्ण गिरी पनि सँगै जाने भइयो । अरू साथीहरू पनि गएका थिए तर तिनको नाम अहिले सम्झन सकिन ।
केशवटारको कार्यक्रम शान्तिपूर्वक सम्पन्न भयो । भोलिपल्ट बिहान घाँसीकुवाको पञ्चायत भवन भएको ठाउँमा आइयो । घाँसीकुवामा हामी सबैका अग्रज कांग्रेसका नेता मेघनाथ कैनी प्रधानपञ्च थिए । प्रशासनले उनका विरुद्ध स्थानीय मण्डलेहरूलाई उक्साउँदै आएको थियो । गाउँ सभा हुन नदिने र कैनीलाई कम्तीमा पनि निलम्वन गर्ने षड्यन्त्र प्रशासनले गरेको थियो ।
श्रीभगवान सिंह नामका दबंग प्रशासक प्रमुख जिल्ला अधिकारी थिए । उनीहरूले सबै तारतम्य मिलाएका रहेछन् क्यारे हामी पञ्चायत भवन भएको ठाउँमा पुग्नेबित्तिकै पसलहरूबाट एक हुल मानिस निस्के । केहीले मसँग राम्रै मुखले भलाकुसारी गरे । म विपक्षीहरूको समूहमा उनीहरूसँग कुरा गर्दै बसेँ । गाउँ सभामा गणपूरक संख्या नपुग्ने आकलन मण्डलेहरूले गरेका रहेछन् तर हामीले सम्झाउन थालेपछि राजनीतिक आग्रह नभएका सोझा सदस्यहरू २–४ जना गाउँ सभामा भाग लिन तयार भए । मैले उनीहरूलाई कोरम नपुगे गाउँ सभा उद्घाटन नगर्ने वचन दिएँ । साथै कोरम पुगेमा उनीहरूले पनि बखेडा गर्न नपाउने सर्त राखेँ ।
प्रशासन र उनले खटाएका मण्डलेहरूका लागि यो अप्रत्याशित भएछ । उनीहरू गणपूरक संख्या नै पुग्दैन भनेर ढुक्क रहेछन् । अनि त दमौलीमा सधैँ प्रमुख जिल्ला अधिकारीको बैठकमा भेटिने केही पञ्चहरू र उर्बौला मण्डले केटाहरू उत्तेजित भए । मलाई केही भलाद्मीजस्ताले अलमल्याएर राखे भने ध्रुव, काशी, गिरीहरूलाई उग्र भिडले घेरेछ । मसँग छुट्ट्याएर अरू साथीहरूमाथि आक्रमण गर्ने उनीहरूको रणनीति रहेछ । सायद, सीडीओकै निर्देशनमा उनीहरूले त्यसो गरेका थिए । यस्तैमा चर्काचर्की भएपछि ध्रुवलाल प्रधान स्थानीय एक जनालाई घचेटेर बाहिर निस्कन खोजेछन् । अनि त के चाहियो र उपसभापतिले पञ्चलाई कुटायो भनेर दमौलीमा खबर पुगिसकेछ । मण्डलेहरूले प्रहरीको आडमा कुटपिट, लछारपछार गर्न थाले । मलाई घेरेर अलि पर लगी एउटा घरमा थुनिदिए । प्रधानपञ्च मेघनाथ कैनीलगायत साथीहरूलाई दमौली लगेछन् । करिब दुई घण्टा जतिपछि मलाई ल अब जानुस् भनेर छाडिदिए ।
कांग्रेस नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनमा जानबाट रोक्दै प्रहरी । तस्बिर : प्रकाश अधिकारी
कमलाबारी ओर्लेर बसबाट म दमौली पुगेँ । सभापति जिल्ला पञ्चायतमा थिएनन् । दमौली पुगेपछि ध्रुव, काशी, गिरी, कैनीलगायतका साथीहरूलाई प्रहरीले पक्रेको थाहा भयो । मैले सीडीओलाई जिल्ला पञ्चायतका सदस्यहरू र प्रधानपञ्च कैनीलाई घाँसीकुवामा कुटपिट र अभद्र व्यवहार गरिएकाले कुटपिट गर्नेहरूमाथि कारबाही गरियोस् भन्ने बेहोराको पत्र लेखेर पठाएँ । तर, सीडीओले पहिले नै कैनीहरूविरुद्ध उजुरी परेको र उनीहरूमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको खबर पठाए । मैले त्यहाँ हाम्रो समूहले कुटपिट गरेको छैन । मसँग गएका साथीहरूमाथि मुद्दा चलाइन्छ भने मलाई पनि प्रहरीले पक्राउ गरोस् भने । सीडीओले कुन्नि के कारणले हो उजुरीबाट मेरो नामै मेटिदिएछन् । साथीहरू २४ दिन प्रहरी हिरासतमा राखिए ।
सरकार समर्थकहरूलाई बिज्याइँ गर्न उक्साएर अनि शान्ति सुरक्षाका नाममा सरकार विरोधीलाई निषेध र प्रतिबन्ध लगाउने नेपालको प्रशासनको पुरानै प्रवृत्ति हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनमा पञ्चायतको यही प्रवृत्ति दोहोरिँदै गएको छ । कांग्रेसका नेताहरूले पनि सत्तामा छँदा यस्ता अभ्यास गरेकै थिए । यसैले उनीहरूले केही दिनपछि यो घटना नै बिर्सन सक्छन् । तर, लोकतान्त्रिक मूल्य मान्यता जोगाउन भने नागरिकहरू नै अलि सावधान हुनुपर्ने हो कि ?