माधव सयपत्री
‘अन्ततः यसपटकका लागि अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयमा आफ्नो जिम्मेवारी पूरा गरी फर्कने क्षण आइपुगेको छ । हार्वर्ड आउनुपूर्व जुन उत्साह थियो, कोरोनालाई बिर्सने हो भने हार्वर्डमा आएपछि पनि त्यो उत्साह र उमंगमा रत्तिभर कमी आएन । मिलनसार तथा सहयोगी कर्मचारी, सहकर्मी तथा साथीहरूको व्यवहारले हार्वर्डको बसाइ नसकिए हुन्थ्यो झैं लागिरह्यो । कोभिड–१९ र अनेक राजनीतिक उतारचढावबीच पनि अध्ययन अध्यापन अनि अनुसन्धानलाई प्रभावित हुन नदिन हार्वर्डले गरेको मिहिनेत सिक्नयोग्य देखियो । यहाँ बस्दा अमेरिकाबारे जे अनुभूति भयो, त्यो केही महिनापहिले एउटा दैनिकमा लेखिसकेकै छु । अहिलेका लागि यत्ति मात्रै भनौँ, झन्डै यो सोह्रमहिने बसाइ व्यक्तिगत रूपमा मेरा लागि उपलब्धिले भरिएको र यादगार अविस्मरणीय क्षण बनेर रहिरहनेछ ।’
अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा सोह्रमहिने भिजिटिङ स्कलरको कार्यकाल सकेर अमेरिका छाड्नुअघि डा. कमल लामिछानेले आप्mनो फेसबुक पेजमा व्यक्त गरेको छोटो अनुभूति हो यो ।
०००
पत्रिकामा आएको दृष्टिविहीन विद्यावारिधिवाला एकजना डाक्टरको पुस्तक अंशले मलाई झड्का हानेको थियो । जन्मजात एक दृष्टिविहीन मानिसको कतिविधि अग्लो उचाइ ! उसले जिन्दगीको सगरमाथा आरोहण कसरी सकुशल पूरा गर्यो होला ! कसरी ‘समिट’ मा ‘मिट’ गर्यो होला ! असम्भव लाग्ने त्यो उन्नतिका पहाड चढाइ कसरी सम्भव भयो होला ! पुस्तक अंशले मेरो दिमाग बेस्मारी रन्थन्याएको थियो ।
उनी हुन् कमल लामिछाने । पीएचडीधारी पहिलो नेपाली दृष्टिविहीन । चितवनको जुटपानीबाट काठमाडौँ । काठमाडौँबाट जापानको चुकुबा विश्वविद्यालय । जापानबाट अमेरिकाको हार्वर्ड विश्वविद्यालयको भिजिटिङ स्कलर । वा ! सफलताको त्यो लोभलाग्दो शृङ्खला । छोटोमा उनको प्राज्ञिक यात्रा यत्ति हो । तर यो सफलताका लगि उनले कति पापड बेले, त्यो जान्नका लािग उनको संस्मरण पुस्तक ‘अन्तर्दृष्टि’ विचरण गर्नै पर्छ ।
पत्रिकामा छापिएको उनको पुस्तक ‘अन्तर्दृष्टि’ को सानो अंशले मेरो मन भित्रैसम्म कोतरेको थियो । मलाई त्यो अंश कथाजस्तो पनि लाग्यो । कथा हैन, जीवनकथा थियो त्यो । मैले उनको नाम सुनेकै रहेनछु । यत्तिको ‘ब्रिलियन्ट सेलिब्रिटी’ को नामै थाहा नपाउनु सायद मेरो कमजोरी थियो ।
०००
म ‘अन्तर्दृष्टि’ को प्रतीक्षामा बसेँ । कहिले किताब हात पार्नु र सुम्सुम्याउनु जस्तो लागिरह्यो । ‘अन्तर्दृष्टि’ को अंश पढेपछि म चालीस वर्षअगाडि पुग्छु, २०३५÷३६ तिर । उफ्, आँखा चिलाएर उखरमाउलो हुन्थ्यो । म आँखा मिच्न थाल्थेँ । मेरा आँखा यसरी चिलाउँथे, तातो झिरले रोपेर आँखाका गेडासेडा किचिलमिचिल पारूँ । दुवै हातले आँखा चिथोरेर रक्षानमा फालूँ ।
म दाह्रा किट्थेँ । मन बाँध्न खोज्थेँ । आँखामा हात लैजान्नँ भनेर कसम खान्थेँ । केही लाग्दैनथ्यो । दुवै हातले दुवै आँखामा भएरभरको बल लगाएर माड्न थालेपछि आनन्द आउँथ्यो । जति आँखा चिलाउँथ्यो, म उति रिसले मुर्मुरिएर दुवै हात मुड्की पारेर आँखामा हाल्थेँ । सिलौटामा जिरा पिनेभैmँ म आँखा पिन्थेँ । जति मिच्यो उति आनन्द । मिच्दामिच्दा चरमानन्द ।
म घण्टाँैसम्म आँखा मिचेको मिच्यै हुन्थेँ । मिच्न छाडेपछि आँखा पोल्न र घोच्न थाल्थ्यो । अघि माड्दा आएको आनन्दको पैँचो माडिसकेपछिको घोचाइ र बिझाइले तिथ्र्यो । आँखाको गेडै झिकेर फालिदिऊँ जस्तो लाग्थ्यो । ‘यस्ता बिझाउने गेडा हुनुभन्दा त आँखा नभएकै राम्रो ।’
मेरा आँखा खेर जाने नै भए । मेरै आँखाको विश्वास लाग्न छाड्यो । मिचिसकेपछि एक–दुई घण्टा म पूरै अन्धो हुन्थेँ । बिझाउन अलि कम भएका बेला यसो ऐनातिर चियाउँदा आँखा राता भएका हुन्थे । मानौँ, मेरा आँखा पाकेका गोलभेडा हुन् । दिनको आठ–दशचोटि आँखा चिलाउँथ्यो । म माडेको माड्यै हुन्थेँ ।
अरू कसैका आँखा नचिलाउने, मेरा मात्रै झम्टीझम्टी किन चिलाएका होलान् ! यसै खेर जाने आँखा, उसै जाने आँखा । जाबा आँखा ! एउटा साथीले भन्यो, ‘आँखामा पिसाब हाल् ।’ दिनकै दशपटक जति पिसाब हालेँ । अर्को साथीले भन्यो, ‘वनमारा र तितेपातीको झोल हाल् ।’ वनमारा र तितेपातीका मुन्टा माडीमाडी हालेँ । तेस्रो साथीले भन्यो, ‘पैँलेटी पिँधेर हाल् ।’
केचाहिँ मैले आँखामा हालिनँ ! आँखामा हाल्न बाँकी केही राखिनँ । किनभने मैले मेरा आँखाको माया मारिसकेको थिएँ । आँखामा झिर तताएर रोप्न मात्र बाँकी थियो । कहिलेकाँही वनमा अँगेरीका मुन्टा खाएर बाख्रा छिनको छिन ठहरै हुन्थे । म त्यै विषालु अँगेरीका मुन्टा मिचेर आँखामा हाल्थेँ । बिझाएका आँखा अँगेरीको झोलले भतभती पोल्थ्यो । बसिखानु हुँदैनथ्यो ।
लगभग आँखा गुम्ने नै भएपछि मनले गहिरो गरी सोच्यो । म अन्धो भएको कल्पना गर्न थालेँ– यदि मेरा आँखा बन्द भए भने, मेरो सारा संसार अँध्यारोमा घोप्टिनेछ । छामछुम गरेरै मैले जीवन भुत्क्याउनु पर्नेछ । मलाई सबैले ‘ए अन्धा’ भनेर हेपेर बोलाउनेछन् । मैले पढ्नलेख्न सक्ने छुइनँ । म हेपिनेछु । चेपिनेछु । मेरा कारणले आमाहरूले पनि अझै दुःखको खाडलमा भासिनु पर्नेछ । सोच्दासोच्दै मेरो मन कताकता पुग्थ्यो ।
पाँच वर्षसम्म मेरा आँखा चिलाए । पाँचै वर्ष मजाले आँखा माडियो । तर मेरा आँखा फुटेनन् । आँखा नफुटेकामा मलाई अचम्म लागेको थियो । कति बलिया आँखा रहेछन् मेरा ! चिलाउँदा चिलाउँदैका दुई टोड्का बोकेर म सहर पसेँ । भर्खरभर्खरै खुलेको शिक्षण अस्पताल, महाराजगन्जमा जँचाएर औषधि लगाउने÷खाने गरेपछि मेरा आँखा निको भए । मृत्यु शय्यामा पुगेका ‘मुर्दा आँखा’ सारसाउँदा भएर फरक्कै फर्कँदा मेरो मन कति रमायो होला !
०००
‘अन्तर्दृष्टि’ पढेपछि मलाई दृष्टिविहीनहरूको दिनचर्या नियाल्न मन लाग्यो । म निकै माथि भिउसिन दाइकोमा गएको छु । एकान्तमा उनको जीर्ण छाप्रो छ । छाप्रोमा चारवटा बाख्रा । खोरमै जोडिएको छ सुत्ने टाँड । टाँडमा कुन जमानाको थोत्रो गु्न्द्री । गुन्द्रीमा फरियाले मोरेको, मयलले कात्ती भएको धुजाधुजा एक टुक्रो ओछ्याउने । टाँडैमाथि डोरीमा झुन्ड्याएको अर्को टुक्रो ओढ्ने । चुलढुङ्गे चुलाभरि बाख्राको बड्कौँला । बाख्राकै मुतले भिजेको चुलो । मुस्किलले भित्रबाहिर गर्न मिल्ने ढोका । के ढोका भन्नु ! लाउने र उघार्ने केही छैन । सधैँ ह्वाङ्गै । अन्नको गेडाधरी छैन भ्mयाल्टीमा । यता पनि रित्तै, उता पनि रित्तै । जीवन फगत रित्तो भाँडो । के खानु, के लाउनु ! यसरी पनि चल्दोरहेछ जिन्दगी !
भाउजू दृष्टिविहीन छिन् । ढोकाबाहिरै कुक्रुक्क परेर बसेकी छिन् उनी । उनको मुन्टो दुई घुँडाको बीचमा जोतिएको छ । एक टुक्रा टालोले लाज जेनतेन ढाकिएको छ । आपूm आएको जनाउ दिन म ‘ख्वाक्क’ गर्छु । उनी कम्मरमुनिको छोटो टालो तान्छिन् । यता तान्यो, उता छोटिन्छ । उता तान्यो, यता छोटिन्छ । खै, केले छोप्नुथ्यो र ! आँखा नदेखे पनि चेतनामा पर्दा लागेको छैन । दृष्टिविहीनका लागि चेतना पनि अभिशापै हुन्छ क्यारे ! थाहा पाइन्छ । लाज लाग्छ । ढाक्नु परिगो लाज ।
अलिपर बोराले बारेको ‘ट्वाइलेट’ रहेछ । भाउजू अन्त हिँड्न सक्दिनन् । छामछाम छुमछुम गर्दै सधैँ हिँडेको गोहो पहिल्याएर ‘बाहिर बस्न’ जाँदिरहिछिन् । अन्त त कता जान सक्नु ! घस्रँदाघस्रिँदै कहिले त तल्लो पाटामा पुग्दिरैछन् ।
म उनको छेउमा जान्छु । उनको जिउको पसिनाको अमिलो हरक मेरो नाकले चाल पाउँछ । घिनै लागेर आउँछ । सोध्छु, ‘भाउजू, दाजु खै त ?’ उनी मलाई चिन्दिनन् । सायद उनले मेरो बोली यसअघि सुनेकै थिइनन् ।
निकैबेर पछि बोल्छिन्, ‘को हो तपाईं काजी ?’ भाउजू मेरो परिचय माग्छिन् । म भन्छु, ‘भाउजू, म काजीसाजी केही हैन । ऊ तलको स्कुलको मास्टर हुँ ।’ उनी सोध्छिन्, ‘केलाई आउनुभाथ्यो कुन्नि ?’ म भन्छु, ‘भिउसिन दाइलाई भेट्नुथ्यो भाउजू ।’ उनी भन्छिन्, ‘खै, मेलामा जान्छु भन्थे ।’
भिउसेन दाजु कोदोबारी खन्न अर्काको मेलामा गएका रहेछन् । भिउसिन दाइलाई भेट्ने त मेरो बहाना मात्रै थियो । खासमा म उनै भाउजूलाई नै भेट्न चाहन्थेँ । उनकै मुखबाट उनको कथा सुन्न चाहन्थेँ ।
भिउसिन दाइ बिन्दास पाराका छन् । खुब गज्जब लाग्छन् उनी मलाई । उनले नुहाएको र लुगा धोएको गाउँलेलाई थाहा छैन रे । मयलले कात्ती भएको, घुँडासम्म आउने सुइटर लगाउँछन् । तल जातै बिर्सेको टाउजर । पढाइमा ‘कालो अक्षर भैँसी बराबर’ नै हो । तर उनी चीन–जापान–अमेरिका सबैतिर कुरा गर्छन्, मिल्नुनमिल्नु अर्कै कुरा । उनको कपाल र दाह्री नाटीकुटी कामरेड लेनिनसँग मिल्छ । भोट पनि उनी लेनिनकै पछुवा पार्टीलाई दिन्छन् । मतपत्रमा लगाउने स्वस्तिक छापभन्दा उनको दिमागमा लागेको छाप नमेटिने खालको छ । भट्टी पसेर निस्कँदा भिउसिन दाइ नेता बनेका हुन्छन् । हावामा हात हल्लाएर कम्निस्टको सिद्धान्त फलाक्छन् । इन्डियाका कुरा गर्छन् । रुस र चीनको कुरा गर्छन् ।
भिउसिन दाइले मने पहरीकी श्रीमती लगिदिएछन् । गाउँलेले फकाएर मने पहरीकी श्रीमती भिउसिने कार्कीकी बनाइदिएछन् । भिउसिन दाइले लगेको केही वर्षमै पूरै आँखा बन्द भएकी भाउजूको अवस्था कम्ता कारुणिक छैन । मैले भाउजूसँग उनको उमेर सोधेँ । अँ हँ, उमेर थाहा छैन रे । अन्दाज लगाएँ– सत्तरी उक्लिहोलिन् । भिउसिन दाइसँग आएको कति वर्ष भयो, त्यो पनि थाहा छैन । भिउसिन दाइ उनीभन्दा निकै कान्छा छन् । पहरीपट्टि पाँच छोराछोरी भएछन् । बच्चा पाउने उमेर घर्केपछि पोइल आएकी भाउजूका भिउसिनतिरका छोराछारी हुने कुरै भएन ।
भाउजूलाई भोक लाग्दो हो, प्यास लाग्दो हो । भिउसिन दाइ घर नभएका बेला भाउजूलाई कस्ले तुल्याएर दिँदो हो ! अलि पर घर भएका स्कुले नानीहरू उनका पक्का छिमेकी रहेछन् । पैसा हुँदा उनीहरूलाई पसलबाट बिस्कुटसिस्कुट ल्याउन लाउँछिन् रे ।
मैले सोधेँ, ‘भाउजू, तपाईंसँग बिस्कुट किन्न पैसा छ त ?’ उनले भनिन्, ‘काँ हुनु काजी पैसा !’ ‘भाउजू, बिस्कुट ल्याउन लगाएर खानुस् है । दाजुलाई म आएको कुरा भन्दिनु ।’ भाउजूको हातमा एक सय रुपियाँ राखिदिएर म हिँडँे । फर्केर हेरेँ– भाउजू हातले छामेर नोट चिन्न खोज्दै थिइन् ।
०००
म टौखेलबाट लगनखेल आउने मिनीबस चढ्छु । अगाडिकै अशक्त सिटमा एकजना दृष्टिविहीन अध्बैँसे बसेको छ । ठेलमठेल बसमा कहाँ सिट पाउनु ! उभिएरै म लगनखेलसम्म आउँछु । त्यो दृष्टिविहीन मानिस पनि बसबाट ओर्लिन्छ । म साझा बस भेट्न कुद्छु । अचम्म ! म आइपुग्दा साझा बसको अशक्त सिटमा उही दृष्टिविहीन अध्बैँसे मानिस बसिरहेको हुन्छ ।
म उसकै छेउमा बस्छु । म सोध्छु, ‘अर्को बसबाट तपाईंलाई कस्ले ल्याइदियो यसमा ?’ ऊ भन्छ, ‘म आफैं आएको हुँ ।’ मलाई सकसक लाग्छ । फेरि सोध्छु, ‘तपाईंको घर कता हो ? कता हिँड्नुभएको ? अनि घरमा कोको छन् ?’ ऊ उत्तर दिन आनाकानी गर्छ । अनुहारमा बेवास्ताभाव देखिन्छ । ठीकै हो, कतिले सोध्दा हुन्, कतिलाई जवाफ दिएर साध्ये !
झर्को माने मानोस्, म तिनै प्रश्न दोहोर्याउँछु । ऊ गाह्रो मानेर बोल्छ । गोदावरी छेउछाउ घर छ रे । घरमा श्रीमती छिन् रे । छोराछोरी छन् रे । अहिले सुनधारा हिँडेको रे । म उसलाई थप प्रश्न गर्दिनँ ।
सिटअगाडिको बारमा समातेको उसले । लौरो पनि छ । साउनको दिन छ । जतिबेला पनि पानी पर्न सक्छ । त्यसैले उसले छाता बोकेको छ । त्यसलाई सिटमै राखेको छ उसले । बरु मैले छाता बोकेको छुइनँ ।
बस रोकिन्छ सुनधारामा । ऊ छाता र लौरो बोकर ओर्लिन्छ । म पनि ओर्लन्छु र उसलाई हेरिबस्छु । ऊ आकासेपुलतिर आउँछ । म सोध्छु, ‘तपाईं पारिपट्टि जाने हो ? म लगिदिन्छु नि !’ ऊ उपेक्षाभावमा मतिर फर्कँन्छ । भन्छ, ‘पर्दैन, म आपैmँ जान्छु ।’
ऊ पुलको सिँढी चढ्न थाल्छ । म उसले थाहा नपाउने गरी पछि लाग्छु । ऊ सिँढी चढ्छ । पुल पार गर्छ र ओर्लन थाल्छ । म उसका पाइला हेर्दै पछिपछि हिँडेको छु । पुलको सिँढी ओर्लंदा पक्कै यो लड्छ होला । खुट्टा अल्झन्छन् होला । अँहँ, ऊ लड्दैन । कतै ठोक्किँदैन । पाइला पाइलामा इन्च इन्चको हिसाब गरेर हिँडेको छ ऊ । म सोच्छु, ‘हिँड्ने तरिका यो रहेछ ।’
पुल झरेर सिँढीमुनिको छिँडीमा पस्छ ऊ । म पनि सँगै जान्छु । छिँडीकै सानो पसलबाट एक बोतल पानी किन्छ । पैसा झिक्छ । म भन्छु, ‘पानीको पैसा म दिन्छु है !’ ऊ मपट्टि फर्कँन्छ । केही भन्दैन । पैसा तिरिदिन्छु म । ऊ छिँडीकै सार्वजनिक ट्वाइलेटमा पस्छ । कुनामा राखेको स्पिकर काँधमा हाल्छ । म भन्छु, ‘कता जाने हो ? म लगिदिउँला नि !’ ‘तैँले एकदिन, एकछिन बोकेर के ?’ भनेजस्तो भावमा ऊ मतिर फर्कन्छ ।
ऊ अघि ओर्लेकै पुलको सिँडी चढ्छ । चढेकै सिँढी ओर्लन्छ । म पछिपछि लागिरहेकै हुन्छु । पारि जान्छ र आप्mनो आसन जमाएर स्पिकर बजाउन थाल्छ । गीत बज्छ, ‘सालको पात ए बरै टपरी हुने, नहुने सल्लैको.......।’ म हेरिबस्छु । आउनेजाने मानिस यसो ऊतिर हेर्छन् । पाँच–दश रुपियाँ उसको भाँडोमा हालिदिएर जान्छन् । ऊ पैसा टिप्छ र खल्तीमा हाल्छ । म आप्mनो बाटो लाग्छु ।
०००
डाक्टर कमललाई मैले सोधेँ, ‘तपाईं पुरानै विश्वविद्यालयमा फर्केको हो ?’ उनले भने, ‘हो, म पुरानै विश्वविद्यालयमा फर्केको छु ।’ मन आपैmँलाई प्रश्न गर्छ– ‘विदेशमा रहेका डाक्टर कमल लामिछाने र उनीजस्तै ब्रिलिययन्ट प्रोफेसरलाई यो देशले बोलाएर काम दिनुपर्ने हैन र ?’
केही वर्ष आँखामा समस्या आउँदा मलाई कम्ता गाह्रो भएको थिएन । भिउसिन दाइकी दृष्टिविहीन श्रीमतीको त्यो हालत छ । सडकपेटीमा बसेको दृष्टिविहीन अध्बैँसे मागेरै पेट पाल्छ । संसारमा करोडौँ दृष्टिविहीन छन् । अवसर र इच्छाशक्ति भए दृष्टिविहीनहरू पनि ‘कमल लामिछाने’ बन्न सक्ने रहेछन् नि ! खाली खराब कुरा मात्रै देख्छन् भने चर्मचक्षु सग्ला भएर के गर्नु !