site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोग्नेको गर्लफ्रेन्ड 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

यश घिमिरे 

राधाले आज सपिङ मलमा प्रत्यक्ष देखी, सञ्जय एउटी केटीसँग त्यहीँभित्रको क्याफेमा मुखामुख हुँदै कफी पिउँदै गरेको । एक–दुईजनाले “भाउजू ! दाइको आजकल अफिसकै एउटीसँग लसपस छ है” नभनेका होइनन् । यस्ता कुराले मनमा केही चिसो पसे पनि “ह्या होइन होला ! कोही मिल्ने साथी पनि त हुनसक्छ नि” भनेर हाँसेरै टारीदिएकी थिई । तर आज भने खुदै आफ्नै आँखाले देखी– दुवैजना एकापसमा झुक्दै, आँखा जुधाउँदै र ओठमा मुस्कानसहित स्वाद लिँदै कफी पिउँदै गरेको ! 

त्यहीँमाथि टेबलमा क्यास्ट्रो ब्रान्डको सामानसहितको झोला देख्नेबित्तिकै शान्त स्वभावकी राधामा पनि रिसको ज्वालामुखी फुट्यो– “गिफ्ट किनिदिएको होला नि नकचरीलाई...” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बिजुली चम्केसरी यो विचारले भित्रैसम्म हल्लायो राधालाई ! गएर गिफ्टको झोलालाई च्यातचुत बनाउँदै त्यो केटीको जगल्टा उखेल्ने मन भयो । खाइरहेको तातो कफी लोग्नेको टाउकोबाटै खन्याइदिन मनलाग्यो ! 

“होस्, तमासा के बनाउनु ? अहिलेसम्म सहनु सहेँ, अब खबर लिन्छु । घर त आऊ...”, उसले मनमनै सोची । छोराका लागि हेर्दै गरेको टिसर्ट पनि त्यतिकै छाडेर मलबाट बाहिरिई । 

Royal Enfield Island Ad

“ट्याक्सी ! घट्टेकुलो जाने हो ?”

“हुन्छ बस्नुस् ।” ड्राइभरले पछाडिको लक खोलिदिँदै भन्यो, “पाँच सय रुपैयाँ लाग्छ ।” 

अरूबेला भा’भए तीन सय भनेर बार्गेनिङ गर्ने राधालाई आज केही भन्न मन लागेन । चुपचाप बसी । मनभित्र तर्कनाको आँधीबेरी चल्दै छ भन्ने त उसको अत्यधिक रातो अनुहारले बोल्दै थियो । 

तर्कनाको हुँडरीमा हेलिँदै गर्दा कतिखेर ट्याक्सीले घट्टेकुलो पुर्यायो, थाहै पाइन । भाडा तिरेर यन्त्रवत् कोठाको बेडमा सारी पनि नखोली डङ्रङ पल्टिई । 

सिनेमाका दृश्यझैं सञ्जयसँग चिसिँदै गएका दिनहरू उसको मानसपटलमा फन्फनी घुम्न थाल्यो ।

०००

“होइन ! के ल्याङ्फ्याङ कपडा लगाएकी ? अल्ली म्याचेबल त लगाउनु नि ! पल्लो घरकी समाको ड्रेसअप सेन्सको त ख्याल गर्नु नि ।”

“तिमी त दुइटा छोरा पाउनासाथै बूढीमान्छे जस्ती देखियौ ! अनुहारमा चार्मिङ नै छैन ! अगाडिको रमिला भाउजूलाई हेर त, दुई बच्चाको ममी भएर पनि ‘अनम्यारिड’ जस्ती देखिनुहुन्छ । टिप्स लिने गर वहाँसँगै ।”

ब्रेकफास्ट तयार भा’छैन अझै ! कति बजे पुग्नु अफिस ? हाउ स्लो यू आर ! सरिता माइजूसँग सिक, कसरी फटाफट् मामालाई तयार हुन मद्दत पुर्याउनुहुन्छ भनेर ! आई बिकेम लेट अलवेज !”

“एउटा जाबो सारी लगाउन पनि कति बेर लगाकी हो ? शर्मिला दिदीले टिसर्ट, प्यान्टमा ठाँट्टिएर हिँड्दा तिम्रोचाहिँ घण्टौं सारी मिलाउँदैमा जाने !”


“गार्डन किन त्यति फोहोर ? यो डगीलाई किन ननुहाई दे’को ? रमेशको बूढीले पनि कुकुरको स्याहार गरेकी नै छिन् त । नसक्ने भए क्यानल हाउस फिर्ता गर....।”

“बाबुहरूको स्कुलबाट फोन आ’को थियो आज, कुन्नी के फङ्सन छ रे । म अफिसको कामले भ्याउँदिन । तिमी जानू ।”

“राधा ! एक कप कफी बनाएर ल्याऊ न ।”
“राधा ! मेरो मोजा खोई ?”
“राधा ! जुत्तामा पालिस लगाइदेऊ है, बाबुहरूकोमा लगाउँदाखेरी ।”
“राधा ! बच्चाहरूको कपडामा आइरन लगाइदिँदा मेरो सर्ट–प्यान्टमा पनि लगाइदेऊ है । म हिँडे जिम गर्न ।”

“राधा ! बाबुहरूको होमवर्क हेरिदेऊ त । मलाई अफिसकै कामको ओभरलोड छ । आई एम टायर्ड टू ।”

“राधा ! निम्तोमा तिमी जाऊ है, म बिजी छु । भ्याउँदिनँ ।”

“राधा ! हाउ कोल्ड यू आर अन बेड । किनेर ल्याएको सेक्स डलजस्तो ! यु ह्याभ जिरो सेक्स अपिल ।” 

राधा ! राधा ! राधा ! 

मानौं, राधाको ज्यान फलामको हो । हात चारवटा छ । मुख सिलाइएको छ । मस्तिष्क रोबोटको हालिएको छ । स्वाभिमानमा भोटेताल्चा मारिएको छ । अनि भागका लागि इच्छा, आराम, आमोद–प्रमोद भन्ने विषय बनेको नै छैन !

“सञ्जय ! म नपढेकी गँवार नारी थिइनँ । साह्रै कुरूप पनि त थिइनँ । तिमी नै मरिहत्ते गरेर माग्न आ’का थियौ । बाबा–आमाको विरोधका बाबजुद मैले तिमीलाई रोजेँ । बाबाले भन्नुहुन्थ्यो– ‘लागेको बानी छुट्न गाह्रो हुन्छ लोग्नेमान्छेलाई । धनी, पढेलेखेको, हेन्ड्सम भएर के गर्नु ? अलि धेरै केटी खेलाउँदै हिँड्छ रे त्यो मान्छे । बिहेपछि पनि त्यस्तै रहिरह्यो भने जीवन नर्क हुन्छ छोरी ! मैले भनेको मान । सोझो सज्जन केटो पनि पाइन्छन् । यो केटालाई चाहिँ ‘नो’ भन्देऊ ।’

तर तिम्रो चेहरा देख्नेबित्तिकै मलाई के भयो भयो ! पहिलो भेटमै माया लागेर आयो । अनि बिग्रेकै बानी रहेछ भनेपनि सुधार्छु भन्ने लाग्यो । मैले ढिपी कसेँ । मेरो जिद्दीका अगाडि उहाँहरू हार्नुभयो र तिमीलाई स्वीकार्नु भयो । बाबा–आमाले तिमीलाई मानसम्मान दिनुभएकै थियो । ज्वाइँ मान्नुभएकै थियो । तिम्रै जागिरका लागि मैले आफ्नो हुँदोखाँदोको जागिर छाडेर यही घर व्यवहार र दुई बच्चाको रेखदेख सर्लक्क धानेँ । आखिर के पुगेन सञ्जय तिमीलाई ? ममा के कुराको कमी भयो र तिमीलाई त्यो नखरमाउलीको माया चाहियो ? अनि त्यस्तो गिफ्ट आजसम्म मलाई कहिल्यै दिएको सम्झना छ तिमीलाई ? तिमीलाई त न मेरो जन्मदिन याद रहन्छ, न त हाम्रो वेडिङ एनिभर्सरी नै !”

ओछ्यानमा ढल्किएर यस्तै तर्कना मनमा खेलाउँदा खेलाउँदै कतिखेर आँशुको ढिक्का कानभित्र पसिसकेछ, उसले थाहै पाइनँ । 

०००

सम्झिन्नँ भने पनि बारबार राधालाई त्यही क्यास्ट्रोको झोला याद आइरह्यो । मन्द मुस्कानसहितका ओठहरू र ती चार आँखाको चम्किलो भाका झल्झली नाचिरह्यो ।

“नकचरी आइमाई ! एउटी नारी भएर पनि नारीकै घर खोस्न तम्सिने ! पक्कै थाहा छ त, बच्चाको बाउ हो, विवाहित हो भन्ने ! ४५ वर्षकाले म कुमार केटो हुँ भनेर फँसाएन होला त ! खान पल्केकी हरामी केटी ! खुब चेपारो पार्दै धुत्छे होली नि मेरो लोग्नेलाई...” 

रिसको पारो पुनः ट्याक्सीमै हुँदाको बेला जसरी माथि उक्लियो– “त्यहीँ गएर जगल्ट्याउनुपर्ने रहेछ नखर्माउलीलाई ! बेक्कारमा हिँडेछु ।” 

राधालाई क्याफेमा केही नगरी यत्तिकै हिँडेकामा थकथकी लाग्न थाल्यो । 

“हुन त आफ्नै सिक्का खोटो भएपछि अरूलाई नि के दोष दिनु र ?” लामो निःश्वास छोड्दै गर्दा अर्को तर्कना मनमा खेल्यो– “सञ्जयको बारेमा बाबा सही हुनुहुन्थ्यो । म गलत रहिँछु । बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले नि बाङ्गाको बाङ्गै भनेको यस्तैलाई होला !”

मन बेस्मारी बेचैन भयो । छाती गह्रौं भएजस्तो, सास फेर्न गाह्रो भएजस्तो भयो । छट्पटी बढेर ओछ्यानको छेउमा बसिरहन सकिन । उठेर कोठाभित्रै टहलिन थाली । अचानक, भित्तामा झुन्डिएको ठूलो काठको फ्रेम भएको ऐनामा राधाको नजर पर्यो । छरपस्ट भएको कपाल, आँशुले लत्पताएको गाजल, बिनामेकअप फङ्ग उडेको सपाट चेहरा ! आफ्नै रूपरङ्ग देखेर खिन्न बनायो राधालाई । 

“उफ्फ ! बच्चाको हेरचाह, नाता कुटुम्ब, घरव्यवहार अनि लोग्नेको जागिर भन्दैमा मैले १५ वर्ष आफैंलाई बिर्सेछु ! हरेक श्रीमान्लाई आफ्नो श्रीमती अलि शृङ्गारपटार गरेर चिटिक्क परेर बसोस् भन्ने चाहना हुन्छ होला । साथीभाइका अगाडि लिएर हिँड्दा ‘वाह !’ सुनियोस् भन्ने चाहना हुन्छ होला । जतिसुकै व्यस्त भए पनि एक घण्टा बिहान छिटो उठेर आफैंलाई हल्का सिँगार्न समय निकाले पनि त हुन्थ्यो होला ! म पनि उस्तै हो ! लोग्नेलाई मात्र के दोष दिनु । त्यो केटीले आफूलाई कस्तो सजाएकी ! कपाल त्यस्तै सिल्की, अनुहारमा मेकअप त्यस्तै खुलेको, हरियो सारी कस्तो सुहाएको ! सञ्जयलाई पक्कै त्यही शृङ्गारले नजिक खिँचेको हुनुपर्छ । मैले यो चिज दिन्थेँ भने पक्कै ऊ मसँग चिस्सिने थिएन ।”

अकस्मात् आएको यो विचारले राधाको मनको ज्वारभाटालाई एक्कासि शान्त बनाइदियो ! उसले फेसवासले अनुहार धोइपखाली गरेर दराजबाट हरियो सारी र त्यसलाई सुहाउँदो ब्लाउज निकाली । अनि ड्रेसिङ टेबलअगाडि बसेर मेकअप गर्न थाली ।

“वाउ ! मामु, यू लुक्स सो ब्युटिफुल । हजुर कतै निस्किन लाग्नुभएको हो र ?” भर्खर स्कुलबाट आइपुगेको १२ वर्षको रोहनले विस्मयकारी नजरले हेर्दै भन्यो । 

आठ वर्षको कान्छो छोरो पनि मामुको बदलिएको स्वरूपलाई उस्तै गरी नियाल्दै थियो !

“तिमीहरू आइपुग्यौ ? ल, फटाफट ड्रेस खोलेर हात–मुख धोएर ज्ञानी भएर बस्ने । म खाजा रेडी गर्छु, हस् !”

राधाले आफ्नो अनुहार एकपल्ट घोरिएर ऐनामा हेरी । कुनै पनि कोणबाट लोग्नेको गर्लफ्रेन्डभन्दा कम सुन्दर लागेन । हरियो सारी अझै खुलेको देखी । अनि मुसुक्क हाँसी । हृदयको कतै कुनामा आत्मविश्वास जाग्यो । अनि बच्चाहरूलाई खाजा बनाउन व्यस्त भई ।

०००

“राधा ! यो डगीलाई पानी त राख्दिनु नि । हेर, विचरोको कपमा एक थोपा पानी छैन...”, झमक्क साँझमा घर आइपुगेको सञ्जय गार्डेनबाटै करायो– “दिनभर केही काम छैन, तैपनि यत्ति एउटा ककुरको स्याहार गरेको पाउँदिनँ ! थाहा छ ? कति हालेर किनेको हो यो जर्मन सेफर्ड ? पूरा २२ हजार ! हेर्न सक्दिनँ भनेको भए ल्याउने नै थिइनँ ।”

उसले कुकुरको टाउको र गर्धनमा सुमसुम्यायो । ‘हग’ गर्यो । कुकुरले पनि पुच्छर हल्लाउँदै ऊप्रति कृतज्ञता प्रकट गर्यो ।

बच्चाहरूलाई होमवर्क गराएर भर्खर खाना बनाउन भान्सामा छिरेकी राधा सञ्जय कराएको सुनेर जगमा पानी बोकेर हतारहतार बाहिर निस्की । उसलाई पूर्ण विश्वास थियो ‘आज मलाई देख्नासाथ लोग्नेको आँखा विस्मयले भरिनेछ । एकटक लगाएर हेर्नेछ अनि पछाडिबाट अङ्गालो मारेर कानमा सुस्तरी भन्नेछ– “वाह ! मेरी श्रीमतीजी ! हाउ ब्युटीफुल यू आर !” 

जगबाट पानी खन्याउँदै गर्दा लोग्नेबाट प्रशंसाका शब्द कतिखेर सुनुजस्तो भएको राधालाई– “लु ! के पारा हो आज तिम्रो ? कसलाई देखाउन यतिबेला सजिएर बसेकी ? टोलका केटाहरूलाई !” भन्ने रुखो आवाजले टाउकोबाट चिसोपानी खन्याएजस्तै बनायो । मर्ममा शाब्दिक तातो झीर रोपियो ! अनपेक्षित पीडाले रन्थन्याएर ऊ जडवत् त्यहीँ उभिइरही । लोग्नेभने उसलाई हेर्दै नहेरी भित्र पस्यो ।

राधाको मनमा सानोतिनो भूकम्प नै गयो । अनि मनमनै भनी– “नाउ ! आईएम स्योर । आई एम इन रङ ह्यान्ड ! म गलत थिएँ । बाबा, हजुर सही हुनुहुन्थ्यो । अबभने मैले जीवनकै ठूलो यो भुललाई सुधार गर्नुपर्छ र गर्छु पनि ।”

राधाको अनुहारमा दृढनिश्चयको एउटा भाव झल्कियो ।

०००

टेबलमाथि राखेको फाइल पल्टाउदै सञ्जयले थोरै आश्चर्यमिश्रित भावमा सोध्यो– “यो के हो ?”
“तिम्रो र मेरो १५ वर्षको यात्रा टुङ्ग्याउने निर्णय । डिभोर्स पेपर । आई वान्ट योर साइन ।” राधाले बच्चाको कपडा पट्याउँदै दराजमा थन्क्याउँदै ऊतिर हेर्दै नहेरी शुष्क स्वरमा जवाफ दिई ।

सायद जवाफ अपेक्षित भएर होला, ऊ खासै केही बोलेन । राधाको पारपाचुके गर्ने निर्णयले वास्तवमा भित्रभित्रै खुसी पनि भयो, तर भावलाई बाहिर प्रकट हुन दिएन । यतिबेलै गर्लफ्रेन्डको चेहरा सम्झियो– भर्खरकी छे, राम्री छे, मोर्डन छे । बोल्न, हाँस्न, खान जानेकी छे । गीत उस्तै मीठो गुनगुनाउँछे । डान्स उस्तै राम्रो गर्छे । उसलाई अपनाउँदा जीवन अहिलेजस्तो बोरियतसँग कट्ने छैन, यही सोच्दै ऊ ढुक्क भयो । 

(प्रिय पाठक ! हरेक कुराको सादृश्य वर्णन गर्दा कथा लामो हुन गएर तपार्इंलाई दिक्क लाग्नसक्ने हुनाले अबको घट्नालाई थोरै ‘फास्ट फर्वार्ड मुड’मा दौडाएँ है । अँ, अनि उनीहरू विधिवत रूपमा अलग भए । छोराहरू आमासँगै बस्ने अदालती फैसला रह्यो । यता सञ्जय स्वतन्त्र भएको मात्र के थियो, गर्लफ्रेन्डले लात हानी ! एउटा धनी एनआरएनसँग अमेरिका भास्सिई ! स्वास्नी र गर्लफ्रेन्ड दुवै गुमेपछि भने उसको दिनचर्या अस्तव्यस्त हुनथाल्यो । न खानको ठेगान न घर आउनको ठेगान । इस्टमित्र साथीभाइहरू यसै–यसै तर्किएर किनारा लाग्न थाले । अरूको त कुरै भएन, समयमा खान नपाएपछि उसको त्यै बफादार जर्मन सेफर्ड कुकुर पनि कतै गायब भयो । घर भुत–बङ्गलाजस्तो भयो । अनि आफू जोगीजस्तो !)

०००

दुई वर्षपछि...,
एक दिन अकस्मात भूगोलपार्कमा राधा र सञ्जय आमुन्ने–सामुन्ने भए । एकछिन त दुवैजनाले हेराहेर मात्रै गरे । बोली फुट्न हम्मेहम्मे प¥यो । के बोल्ने नबोल्नेको दोसाँधमा सञ्जयकै बोली फुट्यो– “सन्चै छ्यौ राधा ?” 

झुस्स बढेको दाह्री, खुज्मुजिएको सर्ट, मुर्झाएको अनुहार देखेर राधालाई नमीठो लाग्यो । विचरा ! त्यस्तो आगोजस्तो भर्भराउँदो मान्छे यस्तो भएर हिँड्दै छ भनेर कताकता माया पनि लाग्यो । छातीको देब्रेकुना चस्किएको भान भयो ! 

मलिन स्वरमा उसले भनी– “अँ, सन्चै छु । के रूप बनाएर हिँड्नुभएको यस्तो ? बिहे गर्नुभएको छैन अझै ?” 

ऊ केही बोलेन । पर क्षितिजतिर नियाली रह्यो । मनमा अतीतको छाया परेर होला आँखाको कुनो रसायो । रसाएको आँखा देखेर राधाले अनुमान गरिहाली, ‘पक्कै त्यो केटीले धोका दिई’ ।

“तिमीले बिहे गर्यौं ? छोराहरूलाई कस्तो छ ? मलाई कत्तिको याद गर्छन् ?” योभन्दा बढी सोध्न सकेन उसले । गला अवरुद्ध भएर आयो ।

“फेरि के बिहे गर्नु र, सञ्जय ! एकपल्टकोले नै जीवभर भारी पुग्ने गरेर चोट दिएको छ ! मेरो अबको जिन्दगी भनेकै तिनै दुई छोराहरू हुन् ।”

राधाको अनुहारमा पीडामिश्रित उदासी छायो । पार्कको हरियो धुपीको पात औंलामा खेलाउँदै भनी– “बरू तिमीलाई छोराहरूको याद आउँदैन सायद ! रोहनले मिस त बेस्सरी गर्छ तर अलि बुझ्ने भइसक्या’ छ, त्यति पिरोल्दैन । कान्छो अझै सानै छ, जतिखेर नि बाबा कहिले आउनुहुन्छ भनेर हैरान बनाउँछ । तिमीले आफ्नो फोन नम्बर चेन्ज गरेछौ । फेसबुक पनि डिएक्टिभ गरेछौ । कसरी तिमीसँग कन्ट्याक्ट् गराइदिनु मैले ? एकपल्ट भेटाउन लिएर आएको पनि थिएँ । घरमा ताला झुन्डिएको देखेँ, त्यत्तिकै फर्कियौं ।”

अब भने सञ्जयको संयमको बाँध टुट्ने तर्खर गर्दै थियो । त्यहीँ डाँको छाडेर रुँदै राधाको पाउ समाएर माफी माग्ने मन भयो । तर डिभोर्स दिइसकेको स्वास्नीसँग कुन मुखले माफी माग्नु ? गह्रौं मन बनाउँदै चौरबाट उठ्यो अनि बिस्तारै भन्यो– “ल राधा आफ्नो र छोराहरूको ख्याल राख है । उनीहरूलाई तिमीजस्तै ज्ञानी र असल मान्छे बनाउनू ।”

(हाल : भरतपुर १२, चितवन)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro