site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्र बलियो हुने बेलामा गलत दिशामा जाँदै त छैनौं !
Sarbottam CementSarbottam Cement

नेपाल उद्योग वाणिज्य महासंघको चुनावसहितको वार्षिकसाधारणसभा यसैसाता काठमाडौंमा हुँदैछ । ११ देखि १३ गतेसम्म तय गरिएको साधारणसभाको मिति तय गरिएको हो । अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्य चयन गर्नेछ । विशेषगरी अहिले वर्तमान उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेद्वारी दिएका छन् । 

तर, महासंघलाई सशक्त बनाउन, हालको परिस्थितिको सामना गर्न सहमतिका आधारमा वरिष्ठ उपाध्यक्ष छानिनुपर्छ भन्ने कुरा पनि जोडतोडले उठेको छ ।  विशेषगरी पूर्वअध्यक्षहरुले सहमतिलाई जोड दिँदै आएका छन् । सहमतिका लागि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले दुवै उमेदवारसँग पटक पटक छलफल गरेका छन्, तर निकास भने निस्किसकेको छैन । 

यसै विषयमा सुरुवातदेखि सहमतिका लागि उमेदवारसँग छलफल गर्दै आएका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठसँग महासंघको निर्वाचनमा केन्द्रित गरेर बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको दिन नजिकिँदै छ । निर्वाचन पनि हुने भएकाले उमेदवारहरुको दौडधुप चलिरहेको छ । देशभरका उद्योगी व्यवसायी सहभागी हुने भएकाले यो साधारणसभाले के कुरालाई जोड दिनुपर्ने देख्नुहुन्छ ?

मंसिरको ११, १२ र १३ गते साधारणसभा हुँदैछ । ११ गते उद्घाटन, जिल्ला जिल्लाबाट आउने उद्योगी व्यवसायीबीच १२ गते छलफल र १३ गते चुनाव हुन्छ । चुनावीवर्ष समेत भएको हुनाले साधारणसभा चुनावमा बढी केन्द्रित छ । चुनाव हुने भएकाले पदाधिकारी, कार्यसमिति सदस्यमा उठ्नुभएका साथीहरु बढी त्यसैमा केन्द्रित हुनुभएको छ, त्यो स्वाभाविक पनि हो । 

Global Ime bank

मुलुकमा अहिलेको परिस्थितिबारे लामो व्याख्या गरिरहनुपर्ने नै छैन, परिस्थितिबारे सबै जानकार छौं । कोभिड १९ ले विश्वसहित नेपालको आर्थिक, सामाजिक क्षेत्रमा ठूलो असर पारेको छ । 

यसले आर्थिक क्षेत्रमा ठूलो असर परेको छ । उद्योग, व्यापार, व्यवसाय सबै क्षेत्रमा गम्भीर असर पारेको छ । अझै पनि कुनै उद्योगहरु बन्द नै छन्, कतिपय आंशिक रुपमा मात्रै चलेका छन् । सेवा क्षेत्रका सबै होटेलहरु बन्द नै छन् । यसैको असरका कारण उद्यमी, व्यवसायीले समयमै साँवा, ब्याज पनि तिर्न सकिरहेका छैनन् । 

यो अवस्थामा सरकारले आर्थिक क्षेत्रको उत्थानका लागि के के गर्नुपर्छ भन्ने विषयमा सुझावहरु दिनुपर्दछ । आर्थिक क्षेत्रको उत्थानका लागि सरकारलाई दबाब दिने वा सहकार्य गर्ने भन्ने विषय अति महत्वपूर्ण छ, अहिलेको समय । सरकारले सहयोग नगरेको होइन । बैंकको ब्याज तिर्नेदेखि अन्य विषयमा पनि सरकारले सहयोग गरेको छ तर जुन प्रकारले स्टिमुलस प्याकेज दिनु पर्दथ्यो, त्यो दिन सकिरहेको छैन । 

अहिलेको अति महत्वपूर्ण समयमा महासंघको चुनाव हुँदैछ । हरेक वार्षिक साधारणसभामा एजेन्डाहरु पहिले नै तय हुन्थ्यो । 

अध्यक्षले नै निजी क्षेत्रको तर्फबाट कुराहरु राख्नुहुन्छ । त्यसपछि अर्थ, उद्योग, वाणिज्य, उर्जामन्त्री, गभर्नरलगायत सरकारी अधिकारीसँग देशभरबाट आएका उद्योगी व्यवसायीसँग समूहगत्रुपमा छलफल गरेर एउटा प्रतिवेदन नै सरकारलाई बुझाउने चलन थियो । तर, अहिले कोरोनाको कारणले त्यसरी पहिले जस्तै छलफल गर्ने परिस्थिति छैन । अर्को चुनावी वर्ष पनि भएको हुनाले अधिकांश साथीहरुको ध्यान चुनावमा नै गएको देखिन्छ । 

अहिलेको जस्तो परिस्थितिमा महासंघको साधारणसभा हुन गइरहेको छ, यस्तो बेलामा चुनावी वर्ष भए पनि आर्थिक विषयसँग गम्भीर रुपमा छलफल गर्नुपर्ने त हो नि, होइन र ?

छलफल हुनुपर्ने हो, तर योपटक कोरोनाले परिस्थिति अर्कै पारिदियो । भौतिक दूरी कायम गर्नुपर्ने, धेरैजना एकैपटक सहभागी हुन नसक्ने परिस्थिति बनेको छ । यद्यपी महासंघ अध्यक्षले निजी क्षेत्रको एजेन्डाको रुपमा पक्कै पनि राख्नुहुन्छ होला । तर, चुनाव नहुने वर्ष देशभरबाट आउने उद्यमी व्यवसायीको सल्लाह, सुझावका विषयमा पनि छलफल हुन्थ्यो । चुनाव नभएको वर्षमा समूहगत रुपमा छलफल, अन्तरक्रिया हुन्थ्यो तर चुनावी वर्ष यस्तो छलफल कम नै हुन्छ । 

चुनावमा जित्न, भोट माग्न सबै लाग्नुहुन्छ । पुर्वदेखि पश्चिमसम्म दुबै पक्षको प्रचारप्रसार भइरहेको छ । प्रचारप्रसारमा बढी व्यस्तता भएको कारणले जुन अनुपातमा छलफलका विषयमा अन्य वर्षमा जस्तो ध्यान दिनुपर्ने हो, त्यो दिन सकिरहेको अवस्था छैन ।

केन्द्रीय सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म दुइवटा प्यानल नै बनेको छ । अहिलेको परिस्थितिमा सहमतिको आधारमा अगाडि बढ्नुपर्छ भनेर पूर्वअध्यक्षहरुले पहल पनि गर्नुभएको थियो । सहमतिको पहल कहाँसम्म पुगेको छ ? 

अहिलेको असाधारण अवस्थामा चुनाव हुनुहुँदैन । आर्थिक क्षेत्रमा धेरै ठूलो असर परिसकेको छ । यस्तो बेलामा सारा उद्योगी, व्यवसायीको उत्थानका लागि उद्योगी व्यवसायी सबैको एउटै आवाज हुनुपर्छ, एकताबद्ध हुनुपर्छ । निजी क्षेत्र एक भएपछि मात्रै हामी बलियो हुन्छौं । 

बलियो भएपछि हामीले आफ्ना सुझावहरु कार्यान्वयन गर्न सरकारलाई दबाब दिन थप बल मिल्छ । सरकारलाई हाम्रो कुरा सुन्न बाध्यता पनि हुन्छ । 

त्यसैले यो बेलामा चुनाव भयो भने गु्रपिजम हुन्छ । सम्पूर्ण निजी क्षेत्रको छाता संगठन महासंघलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ । 

व्यक्तिभन्दा पनि महासंघलाई सर्वोपरी राख्नुपर्दछ । महासंघ बलियो भयो भने मात्रै आफ्ना कुराहरु सरकार अगाडि प्रस्तुत गर्न सक्छ । अहिलेको बेलामा यसको आवश्यकता सबैले महसुस गरिहेका छन् । यस्तो बेलामा चुनाव हुनुहुँदैन भनेर ६–७ महिना अगाडि नै सबै पूर्वअध्यक्षहरु बसेर छलफल गरेका थियौं । 

हामी पूर्वअध्यक्षहरु भनेको गार्जेनजस्तो हो । महासंघका पदाधिकारी, कार्यसमितिलाई हस्तक्षेप गर्ने भन्ने हुँदैन । 

कमी कमजोरी भएका कुराहरु उठाउने र सुझाव दिने मात्रै हो । त्यो पूर्वअध्यक्षहरुको कर्तव्य पनि हो । महासंघलाई अझ बढी बलियो र सशक्त ढंगले अगाडि बढाउन, निजी क्षेत्रको माग, एजेन्डा सरकारसामु बलियो रुपमा प्रस्तुत गर्न, अहिलेको अवस्थामा सर्वसम्मत रुपमा सहमतिको आवश्यकता भएकाले सहमतीको पहल गरेका हौं । 

त्यो पूर्वअध्यक्षहरुको भेलाले सहमतिका लागि उमेदवारहरुसँग कुरा गर्न मलाई र पूर्वअध्यक्ष महेशलाल प्रधानलाई जिम्मेवारी दियो । त्यसपछि वरिष्ठ उपाध्यक्षका दुबै उमेदवार चन्द्र ढकाल र किशोर प्रधानसँग छुट्टाछुट्टै पटक पटक छलफल गरँे । दुबैजनालाई एकै ठाउँमा राखेर आपसमा सहमति गरेर आउनु भनेर उहाँहरुबीच पनि छलफल गराएँ । तर, केही निर्णय गर्नु भएन । 

सुरुको बेलामा दुबै जनाले अहिलेको अवस्थामा चुनावमा जान हुँदैन भन्नुभएको थियो । 

त्यसपछि तिहारपछि दुबै जनालाई पूर्वअध्यक्षहरुको उपथितिमा राखेर छलफल गर्ने भनेका छौं । त्योभन्दा अगाडि मैले दुबै जनासँग एक्ला एक्लै भेटेर सहमतिको लागि आग्रह गरेँ । दुबैजना महासंघका लागि चाहिने व्यक्ति हो । चुनावमा गयो भने एकको हार निश्चित छ । त्यसैले सहमति गरौं भनेको हो । सुरुमा चन्द्र ढकालजीसँग कुरा गरेँ, त्यसपछि किशोर प्रधानजीसँग कुरा गरेँ ।

को पहिला र को पछि हुने भन्ने मात्रै हो, सहमति गर्नुहोस्, तपाईँहरु दुबैजना महासंघलाई आवश्यक व्यक्ति हो भनेर भनेँ ।

सहमतिले दुबैजनाको जित हुन्छ पनि भनेँ । तर, दुबैजनाले आ आफूले जित्ने निश्चित भएको कुरा भन्नुभयो । त्यसपछि मैले के सहसुस गरेको छु भने सहमतिको सम्भावना ज्यादै न्यून छ । 

चुनावका लागि दुबैजना प्रचारप्रसारका लागि देशब्यापी रुपमा हिँड्नुभयो । तर, दुःख लाग्दो कुरा त के भने एकले अर्कोलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नसुहाउँदो तहमा गएर आरोप लगाउने कुराहरु पनि भए । त्यो पटक्कै राम्रो भएन । 

दुबै जनाले आ–आफूले जित्ने भनेपछि अब सहमतिको सम्भावना रहेन है ?

हामी पूर्वअध्यक्षहरु बसेर दुबैजनालाई बोलाएर अन्तिम प्रयास गर्न त बाँकी नै छ । तर, मैले हालसम्मको छलफलको कुराहरु बुझ्दा दुबैजनाले एकले अर्कोलाई छोड्न तयार देखिनुभएन ।

एकातर्फ पूर्वअध्यक्षहरु सहमतिको प्रयास गरिरहने अर्कोतर्फ केही पूर्वअध्यक्षहरु नै एकले अर्को उमेदवार बोक्दै हिँडिरहेको पनि देखिन्छ, यस्तो बेलामा कसरी सहमति होला र ?

अहिलेसम्मको पूर्वअध्यक्षहरुको बैठकमा जतिजना उपस्थित हुनुभयो, हामी सबैको प्रयास सहमतिकै लागि छ । हामी अन्तिम समयसम्म सहमतिका लागि प्रयास गर्छौं ।  अर्को कुरा सहमति पनि गराउनुपर्छ भन्ने अर्कोतर्फ एकले अर्कोलाई लिएर हिँडेको अवस्था पनि हो । चन्द्र ढकालजीलाई पनि पूर्वअध्यक्षहरु लागि रहेका छन्, किशोर प्रधानजीलाई जिताउन पनि पूर्वअध्यक्षहरु लागि रहेका छन् । 

तर, पूर्वअध्यक्षको हैसियतले भन्दा पनि व्यक्तिगत सम्बन्धका कारण त्यसरी हिँड्नु भएको हो भन्ने मलाई लाग्छ । 

पूर्वअध्यक्ष कुशकुमार जोशी किशोर प्रधानको जेठान नै हुनुभयो । त्यो हिसाबले उहाँ लाग्नुभएको छ । तर, पूर्वअध्यक्षहरु सहमतिका आधारमा जानुपर्छ भन्ने कुरामा एक मत हुनुहुन्छ । 

अन्तिम प्रयास अझै गर्छौ भन्नुभयो । यदि सहमति हुन सकेन भने महासंघ थप कमजोर बन्छ भनेर केही उद्योगी व्यवसायी नै भनिरहनु भएको छ, तपाईँलाई कस्तो लाग्छ ?

प्रजातान्तिक परिपाटीमा चुनाव हुनु नराम्रो त होइन । तर, आज मुलुक जुन परिस्थितिमा छ, त्यो परिस्थितिले सहमतिलाई जोड दिएको छ ।  कुन व्यक्ति आएको खण्डमा निजी क्षेत्रको समस्या समाधानको लागि पहल गर्न सक्छ, समस्या समाधानका लागि सक्षम व्यक्ति को हो भनेर उद्योगी व्यवसायीले नै छान्छन् । 
चुनाव भयो भने एकजना व्यक्ति जितेर आउँछन्, एकजना हार्छन् । जो व्यक्ति जितेर आए पनि चुनावको ‘ह्याङओभर’ भने सकैले पनि राख्नुहुँदैन । 

चुनाव आ–आफ्नो पक्षमा पार्न प्रचारप्रसार गर्ने कुरा नराम्रो होइन । बोल्दा आरोप–प्रत्यारोप पनि भयो होला तर चुनावको नतिजापछि भने चुनावको ह्याङओभर राखिराख्नु हुँदैन ।  हाम्रो अगाडि धेरै चुनौती र समस्या छन् । यी चुनौती र समस्या समाधान गर्न उद्योग वाणिज्य महासंघलाई बलियो बनाउनुपर्छ । महासंघलाई बलियो बनाउन हामी सबै एक हुनुपर्छ भन्ने मनोभावना जो जितेर आए पनि राख्नुपर्छ । 

अर्को, अहिले जो व्यक्ति वरिष्ठ उपाध्यक्षमा जित्नुहुन्छ, पछि उहाँ स्वतः अध्यक्ष हुने हो ।  उहाँ अध्यक्ष भएपछि अहिलेको चुनावका बेलामा गरिएका कुराहरुलाई मनमा राखेर बस्नुहुँदैन । सबैलाई समेटेर अगाडि बढ्न सक्नुपर्छ ।  निजी क्षेत्रको कुनै पनि समस्या समाधानका लागि सरकारसँग प्रभावकारी ढंगले प्रस्तुत हुने भनेको महासंघ नै हो भन्ने हेक्का राख्नुपर्छ, महासंघलाई बलियो बनाउनेतर्फ नै लाग्नुपर्छ । 

जो निर्वाचित भए पनि सोही भावनाअनुसार अगाडि बढ्न सक्नुपर्छ ।  पछि जो अध्यक्ष बन्नुहुन्छ, सबैलाई समेटेर लैजानुपर्छ, कुनै पूर्वाग्रह राख्नुहुँदैन । पुर्वाग्रह राखियो भने महासंघलाई झन् कमजोर बनाउँछ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement