site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मिस वर्ल्डको ताजनजिक नेपाल पुगिसक्यो
Sarbottam CementSarbottam Cement

मिस नेपाल-२०२० कोरोनाको कहरकै बीच हुने भएको छ । यसअघि नै काठमाडौंबाहिर आठवटा सहरमा अडिसन लिएपछि कोरोनाका कारण थाती रहेको काठमाडौं अडिसन सम्पन्न गर्दै आयोजक हिडन ट्रेजरले प्रतियोगिताको फाइनल मिति पनि तय गरिसकेको छ । यसअघि हिडन ट्रेजरको आग्रहमा नेपाल आएकी मिस वर्ल्ड अध्यक्ष र मिस वर्ल्ड-२०१९ ले नेपाल भ्रमण गर्दै मिस वर्ल्ड-२०२० नेपालमा गर्नेबारे छलफल चलाएका थिए । सरकारसँग पहिलो चरणमा यसबारे छलफल पनि भएको थियो । तर, कोरोनाका कारण उक्त ठूलो प्रतियोगिता नेपालमा गर्ने कि नगर्ने छलफल चलिरहेकै बेला सुरु भएको कोरोना संक्रमणको त्रासले प्रक्रिया थप अगाडि बढ्न सकेन । उक्त प्रतियोगिता आउँदा वर्षमा नेपालमा हुने सम्भवना छ कि सधैंभरिका लागि सम्भावना टरेको हो ? मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व, उपलब्धि र टाइटल अवार्ड भित्र्याउने सम्भावना र मिस नेपाल-२०२० को सेरोफेरोमा रहेर मिस नेपाल आयोजक हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

० ० ० 

कोरोनाका कारण अडिसन लिँदालिँदै बीचमै रोकिएको मिस नेपाल प्रतियोगिता कहाँ पुग्यो ?
आठवटा सहरमा लकडाउन गरिसकेपछि कोरोनाका कारण रोकिएको मिस नेपाल प्रतियोगितालाई हामीले पुनः अगाडि बढाएका छौं । यही नोभेम्बर १ मा काठमाडौं अडिसन सम्पन्न गरेका छौं । २१ जना प्रतिस्पर्धी छनोट गरिसकेका छौं । यो वर्ष २१ जना प्रतियोगी हुनुहुनेछ । उहाँहरुलाई अभिमुखीकरण तालिम दिइसकेका छौं । कोरोनाका कारण सामाजिक दूरी कायम गरेर आवश्यक कामहरु गरिरहेका छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको फाइनलको मिति पनि तय भइसकेको छ । डिसेम्बर ५ मा फाइनल हुनेछ । प्राक्टिकलबाहेक लिडरसिप, सकारात्मक सोच, महिला सशक्तीकरणका तालिमहरु भर्चुअल रुपमा भइरहेका छन् ।

मिस नेपाल प्रतियोगिताको दुई साता अगाडिबाट पार्क भिलेज होटेलमा रेसिडेन्सियल ट्रेनिङ दिनेछौं । त्यहाँ जानुभन्दा अगाडि ट्रेनर तथा प्रतियोगी सबैको पीसीआर टेस्ट गर्नेछौं । यो वर्ष छुट्टै वातावरणमा मिस नेपाल प्रतियोगिता हुने भएको छ । कान्तिपुर टेलिभिजन, युट्युब तथा फेसबुकबाट लाइभ टेलिकास्ट हुनेछ । शनिबारको दिन पारेका छौं, सबैले घरमै बसेर हेर्नसक्नु हुनेछ ।

Global Ime bank

फाइनल प्रतियोगिता भर्चुअल हुने हो ? 
कार्यक्रम स्टेजमा फिजिकल नै हुन्छ । तर, अडियन्स भने हुनु हुने छैन । स्वास्थ्य सुरक्षाका कारण दर्शक राखेर फाइनल प्रतियोगिता हुने छैन । प्रतिस्पर्धी र निर्णायकलाई पनि सामाजिक दूरी कायम गरेर बस्ने व्यवस्था मिलाउनेछौं ।  

प्रतिस्पर्धीका लागि प्रयोगात्मक तालिमहरु कम गरिएको र फाइनल पनि दर्शकको उपस्थितिविना गर्दा पब्लिसिटी र प्रतियोगीले निखारिने मौका तुलनात्मक रुपमा कम पाउने भए ?
बीचबीचमा भइरहेका गतिविधिहरु सञ्चारमाध्यममा आउँछन् । मंगलबारबाट पब्लिक च्वाइस अवार्डका लागि बायोडाटासहित तस्बिरहरु सामाजिक सञ्जालमा रिलिज गर्दै छौं । उनीहरु स्वयंले आफ्ना लागि टेलिभिजन, अनलाइन तथा पर्सनल सामाजिक सञ्जालहरुबाट भोट अपिल गर्नेछन् । पब्लिक च्वाइसका लागि हुने अपिलले पनि प्रतियोगिताको पब्लिसिटी हुन्छ ।

बाँकी रह्‍यो प्रतिस्पर्धीको इनह्यान्सको कुरा । तालिमहरु लिइरहनुभएको छ । रेसिडेन्सियल तालिममा पनि उहाँहरुले धेरै कुरा सिक्नु हुनेछ । भर्चुअल रुपमा पनि धेरै तालिम लिइरहनुभएको छ । कोरोनाका कारण आमजनताबीच जान भने सम्भव भएन । त्यति मात्रै हो, बाँकी सबै अघिल्ला वर्षहरुका प्रतियोगिता जस्तै नै हो । 

कोरोनाले आयोजकलाई आर्थिक तथा प्राविधिक रुपमा केही समस्या झेल्नुपर्ने अवस्था छ ?
आयोजकलाई आर्थिक रुपमा चाहिँ धेरै समस्या छ । पहिलो कुरा त पब्लिकमा टिकट सेल हुन्थ्यो, त्यहाँबाट आउने रकम स्वत: कम हुने भयो । स्पोन्सर पनि यो वर्ष कमै हुन्छ । १५ दिनको रेसिडेन्सियल ट्रेनिङ आयोजना गर्दा त्यहाँ थप खर्च बढ्ने छ । तर, हिडन ट्रेजरले यति लामो समयदेखि जस्तोसुकै अवस्थामा पनि मिस नेपाल प्रतियोगिता गर्दै आएको हुँदा त्यो इमेज बचाउन र त्यसलाई निरन्तरता दिन पनि कुनै कम्प्रमाइज नगरी कार्यक्रम गर्छौं । टाइटलको गुणस्तर खस्किन दिँदैनौं ।  

आम जनतामा जान नसक्ने वर्तमान अवस्थामा पहिलाकै अवस्थामा प्रतियोगिलाई आवश्यक तालिम प्रदान गर्दै अब्बल बनाउन कतिको सम्भव छ ? 
सकिन्छ । भर्चुअल माध्यमबाट तालिमहरु भइरहेका छन् । होटेलमा प्रवेश गरिसकेपछि फिजिकल रुपमा पनि तालिम हुने भएकाले सम्भव छ । यसअघि हामी रेसिडेन्सियल ट्रेनिङमा राखेको तीनदिनमा ग्रान्ड फिनाले हुन्थ्यो, यो वर्ष १५ दिन राख्दै छौं । प्रतिस्पर्धीलाई थप आत्मविश्वासी र सशक्त बनाउनकै लागि यो गरिँदै छ । तालिममा कुनै कम्प्रमाइज गर्दैनौं । फाइनलका लागि स्टेजदेखि अन्य सबै कुरामा कोरोनाको प्रभाव परेको झल्को दिने छैनौं । मात्रै फिजिकल रुपमा फाइनल हुने छैन र पब्लिकसँग हुने क्रियाकलापहरु कम गरेका हौं ।  

विजेताले पाउने अवसरमा उनीहरुले केही सम्झौता गर्नुपर्ने हो ?
त्यस्तो हुँदैन । चारवटा टाइटलमा विजेता छनोट हुन्छ । त्यसमा दुई लाख ५० हजारका दरले सबैले प्राइज मनी पाउनुहुनेछ । यसमा कुनै सम्झौता हुनेछैन । अघिल्ला वर्षहरुमा भन्दा यो रकम बढेकै छ । उहाँहरुले पाउने माइलेजमा कमी आउँछ भन्‍ने लाग्दैन । पुराना मिस नेपाल तथा रनिङ मिस नेपालहरुले भर्चुअल कार्यक्रमहरु धेरै गरिरहनुभएको छ ।

अनुष्का श्रेष्ठ नै रोटरीको गुडबिल एम्बेस्डर भएर पाठेघरको क्यान्सर हुन रोक्न काम गरिरहनुभएको छ । अरु विजेताहरु पनि अगाडि बढिरहनुभएको छ । समयअनुसार सबैले आ-आफ्नो ठाउँमा राम्रो काम गरिरहनुभएको छ । 

कतिले हिडन ट्रेजरले मिस नेपाल होइन ‘मिस नेवा:’ नाम राखे पनि हुन्छ भन्‍ने टिप्पणी गर्छन् नि ?
यसको जवाफ त म तपाईंसँग खोज्छु । तपाईंलाई त्यस्तो लाग्छ । आजकाल सामाजिक सञ्जालमा जसले जे लेखिदिए पनि हुन्छ । तर, वास्तविकता त्योभन्दा धेरै टाढा छ । अहिले पनि हामीले धनगढीदेखि बिर्तामोडसम्म आठवटा सहरमा गएर अडिसन लिएका थियौं । त्यहाँका प्रतिस्पर्धीलाई काठमाडौंसम्म आएर अडिसन दिन समस्या हुन्छ भनेर पूर्वदेखि पश्चिमसम्म गएर अडिसन लिएका छौं । जसमा चौधरी पनि हुनुहुन्छ । ब्राह्‍मण, क्षेत्री र चौधरी पनि हुनुहुन्छ । तराई, पहाड, मधेस पूर्वदेखि पश्चिम सबैतिरको प्रतिस्पर्धीलाई हामीले स्वागत गरिरहेका छौं । 

कुरा आयो कसले जित्छ भन्‍ने, कसले जित्छ भन्‍ने न मलाई थाहा हुन्छ न तपाईंलाई । हिडन ट्रेजरलाई पनि थाहा हुँदैन । किन भने ११ जना निर्णायक जो हिडन ट्रेजरबाहिरको व्यक्ति राखेका हुन्छौं । उहाँहरु आफ्नो निर्णय लिन स्वतन्त्र हुनुहुन्छ । उहाँहरुले दिने नम्बरका आधारमा विनर छनोट हुने हो । त्यसमा हाम्रो कुनै हात हुँदैन । कुन जात, समुदाय र क्षेत्रका व्यक्तिले जित्छ भन्‍ने थाहा हुँदैन ।

कहिले जेनिसा मोक्तानले जितेको छ, कहिले लिम्बू, चाण्डक र खतिवडाले जितेको छ । पहिलो मिस नेपाल नै रुबी राणा हुनुभयो । 

हिडन ट्रेजरले मिस नेपालका नाममा महिलालाई ‘सो पिस’ का रुपमा बढावा दिने कार्य गर्‍यो भन्दै ०६२/६३ को राजनीतिक आन्दोलनपछि केही वर्ष केही राजनीतिज्ञहरुले विरोध गरे (भलै त्यो अहिले मथ्थर भइरहेको छ ।) यसलाई हिडन ट्रेजरले कसरी समीक्षा गरिरहेहको छ ?
सकेसम्म विवादरहित कार्यक्रम गर्न सकौं भन्‍ने हाम्रो उद्देश्य हो । आयोजकको विरोध गर्ने, कार्यक्रम स्थलमा आयोजक, निर्णायक तथा प्रतिस्पर्धीलाई जान अवरोध गर्ने र नाराबाजी गर्ने काम पनि भयो । राजनीतिक व्यक्तिहरुका यस्ता विरोधका कार्यक्रमहरुको सामना गरेर पनि हामीले यो प्रतियोगितालाई आजका दिनसम्म निरन्तरता दिँदै आयौं । र, आजसम्म यो प्रतियोगिता जारी छ किनभने हामी गलत थिएनौं । हामीले नेपाली चेलीहरुलाई राम्रो प्लेटफर्म उपलब्ध गराएका हौं । भोलिका दिनमा समाजमा महिलाको सशक्तीकरण गर, समाज बदल्न भूमिका खेल र आफ्नो व्यक्तित्व पनि विकास गर भनेर प्लेटफर्म सिर्जना गरेका हौं ।

सबैले देखिरहनु भएकै छ, आज प्रमाणित भयो हामी गलत थिएनौं । किनकि तिनै राजनीतिक व्यक्तिले आफ्ना सन्तानलाई मिस नेपालमा आफ्ना सन्तानलाई पठाइरहनुभएको छ । आफ्नो छोरीलाई मिस नेपाल प्रतियोगितामा गएर समाजमा आफ्नो छुट्टै छवि बनाऊ भनिरहनुभएको छ । हिजो र आजको अवस्था फरक छ । हाम्रा प्रतियोगिहरुको पृष्ठभूमि खोज्यो भने मेरो बुबाले, आमाले, दाजु र दिदीले इन्करेज गरेर पठाएको पाइन्छ । यो भनेको हाम्रा लागि खुसीको कुरा हो । पछिल्लो समय विरोध खतिवडाले आफ्नी छोरी श्रृंखलालाई पठाउनुभयो । बाहिर भनिनेजस्तो हुने भए उहाँहरुले किन आफ्नो सन्तानलाई पठाउनुहुन्थ्यो होला र ?

मिस वर्ल्डमा नेपालको उपस्थितिलाई लिएर हिडन ट्रेजरको समीक्षा ? 
सन् २०१८ र २०१९ मा लागातार नेपालले मिस वर्ल्डमा ब्युटी विथ द पर्पस टाइटल जित्यो । यो बेस्ट अवार्ड हो । श्रृंखला र अनुष्काले मल्टिमिडिया अवार्ड पनि जित्नुभयो । मिस वर्ल्डमा नेपालको बलियो उपस्थिति जनाइसक्नुभयो । त्योभन्दा २०१३ मा इशानी श्रेष्ठले पनि ब्युटी विथ द पर्पस अवार्ड जितिसक्नुभएको थियो । अब त्यो दिन पनि धेरै टाढा छैन, एक दिन मिस नेपालले मिस वर्ल्डको टाइटल जितेर ल्याउनेछन् । 

त्यो दिन कहिले आउँला ?
कहिलेसम्म भनेर मिति तोक्न त सकिएन । तर, पछिल्ला वर्षमा हाम्रा प्रतिस्पर्धीको बलियो उपस्थिति हेर्दा नेपालले मिस वर्ल्ड जित्ने दिन धेरै टाढा छैन । लागातार दुई वर्ष नेपालले ब्युटी विथ द पर्पस र मल्टिमिडिया अवार्ड जितेको छ । टप १० र टप ६ मा आइसकेका छौं भने त हामी टाइटलसँग नजिक आइसकेका छौं भन्‍ने कुराको प्रमाण पनि हो । यसकारण पनि त्यो दिन धेरै टाढा छैन भन्न हिचकिचाउनु पर्दैन ।

नेपालाई मिस वर्ल्ड आयोजक संस्थाले चिनिसकेको छ । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले र मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आइसकेका छन् । नेपाल आएर अनुष्का र श्रृंखलाको प्रोजेक्ट भ्रमणमा हिँडेर दूरदराजका गाउँ पुगेका छन् । उहाँहरुले हामीले गरेको काम हेरेर तारिफ गरेर जानुभएको छ । यसले मिस वर्ल्डमा हाम्रो उपस्थिति थप बलियो बनाएको छ । 

मिस वर्ल्ड २०२० नेपालमा आयोजना गर्ने विषयमा चलिरहेको छलफल कोभिड-१९ का कारण त्यो बीचमै अलपत्र पर्‍यो । अवस्था सहज बनेपछि अब त्यो सम्भावना छ कि छैन ?
कोरोनाका कारण पर धकेलिएको मात्रै हो । सम्भावना टरेको होइन । उहाँ (जुलिया मोर्ले)को इच्छा त २०२० मै मिस वर्ल्ड नेपालमा गरौं भन्‍ने थियो । हामी पनि तयार थियौं । नेपाल सरकारबाट पनि यसका लागि ग्रिन सिग्नल आएको हो । तर कोरोनाका कारण त्यो पर धकेलियो । हामी आशा गर्न सक्छौं चाँडै मिस वर्ल्ड नेपालमा हुनेछ । 

अन्तिममा, धेरै मिस नेपालहरु अन्ततः चलचित्रमा आउने तर अपेक्षित सफलता पाउन सकिरहनुभएको छैन । हिडन ट्रेजरले यसलाई कसरी लिइरहेको छ ?
जितेको एक वर्ष त उहाँहरु हिडन ट्रेजरसँगै रहनुपर्छ, अरु कुनै गतिविधि गर्न पाउनुहुन्न । त्यसपछि उहाँहरुको व्यक्तिगत जीवन हो, जुनसुकै पेसा तथा व्यवसाय अँगाल्न सक्नुहुन्छ । व्यापार, व्यवसाय, मोडलिङ, चलचित्र जता पनि जानसक्नुहुन्छ । सफलता भनेको त व्यक्तिले गर्ने कामको नतिजा हो । हरेक व्यक्ति सफल हुने प्रयास गर्ने हो । त्यसमा कोही सफल हुन्छन्, कोही असफल हुन्छन्, यो कुरा तपाईंमा पनि र ममा पनि लागु हुन्छ । कोही सिनेमा त कोही मोडलिङ, कोही व्यापार त कोही सामाजिक कार्यमा संलग्न हुनुहुन्छ । कसैले सुरुमै सफलता पाउनु भएको छ भने केहीलाई समय लागेको छ । तर जति पनि मिस नेपालहरुले काम गरिरहनु भएको छ । उहाँहरुले गरेको कामलाई हामीले कम आक्नु हुँदैन । एउटा मिस नेपालले हजारौं, लाखौं महिलाहरुलाई सही मार्गनिर्देश गर्नसक्नुहुन्छ ।

अनुष्काले अहिले पाठेघरको क्यान्सरबाट महिलालाई बचाउने अभियानमा संलग्न भएर आगामी पाँच वर्ष काम गर्ने वचन दिनुभएको छ । उहाँ संलग्न भएकै बेला अपेक्षित लक्ष्य प्राप्त भयो भने यो सानो सफलता हो र ? कसैले महिला सशक्तीकरण त केहीले बालबालिकाको क्षेत्रमा काम गरिरहनुभएको छ । केही सञ्चारमाध्यममा हुनुहुन्छ । जो जता रहे पनि आ-आफ्नो ठाउँबाट राम्रो काम गरिरहनुभएको छ । अहिलेसम्म जति पनि मिस नेपाल हुनुभएको छ, उहाँहरुले राम्रो छवि बनाउनुभएको छ । समाजमा रोलमोडलका रुपमा अगाडि बढिरहेको देख्दा आयोजकका नाताले खुसी छौं हामी । 

तस्बिर : दिवाकरराज राजकर्णिकारको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC