site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिला खोजेर फुर्माइसी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दसैंको सम्झना भनेकै अधिकांशतः बाल्यकालकै स्मृतिमा हुन्छ । उमेर पुगिसकेपछि त्यो सामान्य भइदिन्छ ।

मेरो बाल्यकाल सर्लाहीको हरिवनमा बित्यो । बाल्यकाल र किशोरकालको रमाइलो पनि त्यही समयमा भोगियो पनि । त्यसबेलाका कतिपय कुरा अहिले पनि स्मृतिमा छन् ।

गाउँमा हाम्रो दसैंको तयारी दुई महिना अगाडिदेखि नै हुन्थ्यो ! कसरी भने, साउनको अन्तिम वा भदौको पहिलो सातातिर खेतबारीका मकै भाँचिन्थ्यो । अनि मकै भाँचिसकेपछि सिला खोज्‍ने काम हुन्थ्यो । छुटेका मकैहरू खोज्‍नलाई हामी तन्मयताका साथ लाग्थ्यौँ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सिला किनभने, दसैंमा बा-आमाले दिने लुगाफाटो त आफ्नो ठाउँमा छँदै छ । त्यसबाहेक आफ्नो फुर्माइस गर्न चाहिने केही पैसाको जोहो हामी त्यही सिला खोजेर त्यहाँ भेटिएका मकैबाट गर्थ्यौं । आफूले खोजेको सिला-मकैमा अलिअलि त घरकै पनि मिसाइन्थ्यो ।

र, त्यो बेचेर दसैंका समयमा आफ्नो मनलाग्दी गरिन्थ्यो । मनलाग्दी के त भने, मिठाई खाने, गुच्चा किन्‍ने, गुच्चा खेल्दा सानोतिनो बाजी राख्‍ने । यी-यस्ता काममा त्यो पैसा खर्च गरिन्थ्यो ।

Royal Enfield Island Ad

अर्को कुरो, नयाँ लुगा र जुत्ता नलगाई दसैं त हामीलाई आउँदै आउँदैनथ्यो । त्यसैले भदौदेखि नै आफूलाई चाहिएको लुगाका लागि घरमा फुर्माइस गरिन्थ्यो ।

हाम्रो बसाइचाहिँ काठमाडौं र सर्लाहीमा बराबरजसो हुन्थ्यो । मेरो आमा सर्लाहीमै बस्नुहुन्थ्यो । त्यसैले पनि म सर्लाही बसेँ । दाजु काठमाडौं बस्नुहुन्थ्यो । बुबा पनि कहिले काठमाडौं कहिले सर्लाही बस्नुहुन्थ्यो । त्यो बेलामा चाहिँ आफ्नो फर्माइस पठाइन्थ्यो, चिठी लेखेर । किनभने त्यसबेला मानिस त्यति काठमाडौं जाँदैनथे । टेलिफोनको सम्भावना थिएन । त्यसैले हुलाकबाट दाजु र बुबालाई चिठी लेखेर पठाइन्थ्यो, ‘मलाई यसपालिको दसैंमा यो-यो लुगाहरू ल्याइदिनुस्’ भनेर ।

दसैंकै बेला आमालाई फकाएर बजारमा चलेको मधेसतिरको जखमले खसीको झैँ लर्कने कानजस्तो कलर भएको एउटा सर्ट सिलाइन्थ्यो । दसैंका लागि दाजु र बुबा गाउँ पुग्‍नुहुन्थ्यो । तर रमाइलो के हुन्थ्यो भने, बुबा र दाजुहरूको प्रतीक्षाभन्दा पनि प्रतीक्षा उताबाट किनेर ल्याइने लुगाको हुन्थ्यो । मेरो केटाकेटीको दसैं यसैगरी बितेको हो । 

त्यसबेला दुर्गाको मूर्ति थापेर पूजा गर्ने चलन हरिवनमा चलिसकेको थिएन । त्यहाँ त पिङ र रोटेपिङको चलन थियो । पिङ हाल्नलाई मोटो डोरी चाहिन्थ्यो । त्यसैले उमेर पुगेका गाउँका केटाहरू खर काट्नलाई हिँड्थे । यसरी खर खोज्‍न पनि सामूहिक रूपमा हिँड्ने चलन थियो ।

तिनले खर खोजेर ल्याउँथे र एउटाको घरमा त्यसको डुङ्गुर लगाउँथे, अनि खर भिजाउँथे । बिहान-दिउँसो तिनीहरू आफ्नो-आफ्नो खेती किसानीमा लाग्थे । बेलुका भएपछि उनीहरू सबै खर राखेको ठाउँमा जम्मा हुन्थे र दुई-चार घण्टा डोरी बाट्नमा बिताउँथे । तिनले मोटा-मोटा डोरी बाँट्थे, पिङका लागि । यसरी गाउँमा दुई-चार ठाउँमा पिङ हालिन्थ्यो ।

मलाई सम्झना छ, काठको रोटेपिङ बनाएको । किनभने काठको रोटेपिङ बनाएपछि त्यो दुई-चार वर्षलाई चल्थ्यो । पिङको बीचका खामालाई जस्ताको त्यस्तै राख्‍ने गर्थे । बाँकी भने दसैं सकिएपछि झिक्थे र अर्को वर्ष फेरि लगाउँथे ।

दसैंमा खसी-बोका काटिनु त सामान्य भयो । प्रायः हरेक घरमा खसी-बोका काटिन्थ्यो । कहिलेकाहीँ दसैंका लागि भनेरै पाँच-छ महिनादेखि खसी-बोका घरमै पालेर राखिन्थ्यो । कहिलेकाहीँ त दुई वर्षका पुराना खसी पनि हुन्थे ।

दसैंका खसी खुइल्याउन खरानी पानी तताइन्थ्यो, ठूलो भाँडामा । खसी-बोका मार हान्‍ने मानिसले गाउँको एउटा छेउबाट सुरु गरेर अर्को छेउसम्मै मार हानेर सिध्याउँथे । तिनले खसी मार हानेबापत के पाउँथे, मलाई थाहा छैन ।

यसरी खसी वा बोका मार हान्दा केराका थामहरू तल राखिन्थ्यो । त्यहाँ हुने पूजाका विधि त भइहाल्थ्यो । तर हाम्रो आकर्षण भने अर्कै हुन्थ्यो । त्यो के भने, कि त काट्ने बेलाको खसी-बोकाको डोरी समाउने, कि त रक्ती थाप्‍न एउटा भाँडा लिएर टुक्रुक्क बस्‍ने ।

दसैंमा टीका र पैसाको आकर्षण त छँदै छ । तर हामी भने सिला खोजेरै दसैंका लागि फुर्माइसी खर्चको व्यवस्था गर्थ्यौं ।
हामी दसैंका बेलामा त मकैको सिला खोज्थ्यौँ नै । अरू बेला पनि सिला खोज्थ्यौँ । जस्तो तोरीको सिजनमा तोरीको सिला, धानको सिजनमा धानको सिला ।

खासगरी धानको बेलामा सिला खोज्‍नु खतरा हुन्थ्यो । के भने, मुसाले धान जति जम्मै माटोमुनि दुलोमा राखेको हुने । हामी दुलो खोज्दै जान्थ्यौं । तर खतरा के हुन्थ्यो भने सर्प पनि त्यस्तै दुलामा हुन्थे । त्यसैले एकदमै डरलाग्दो र जोखिमपूर्ण सिला खोजाइ हुन्थ्यो, धानको ।

तर मुसाको दुलामा सिला पाउँदा कहिलेकाहीँ राम्रै धानका बाला भेटिन्थ्यो । यसरी अनेक गरेर सिलामा भेटिएका मकै, धान, तोरी पसलमा गएर बेच्थ्यौं र फुर्माइसी खर्च चलाउँथ्यौँ । 

सर्लाहीको हरिवन, चुरेमा अडेस लगाएर फाँटतिर खुट्टा पसारेर बसेको ठूलो बजार हो । लालबन्दी, नवलपुर, नयाँरोड त पछि विस्तार भएका हुन । हरिवन त केन्द्र नै हो, राजमार्गको ।

यो त्यत्तिकै शिक्षित ठाउँ पनि हो । मलाई सम्झना छ, म हरिवन बस्दा, त्यहाँ एक सय प्रति गोरखापत्र बिक्री हुन्थ्यो । जबकि सदरमुकाम मलंगवामा २५ प्रति मात्रै गोरखापत्र जान्थ्यो !

(कवि/गीतकार दिनेश अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro