site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्‍चन
SkywellSkywell

छ्याप्प..., छ्याप्प...
बाटुलो कचौराजस्तो बनाएको हातभरिको पानीले टाढैबाट अनुहारमा हिर्काउँदा आँखाका चेपचेपसम्म बिझाउन पुग्थ्यो, अनि ब्युँझाउन पुग्थ्यो मलाई । म सधैं यसैगरी ब्युँझिन्थें ।

निद्रामा लठ्ठ परेका आँखा मिच्दै अनि खुट्टालाई लतार्दै-लतार्दै म थाहै नपाई घरभन्दा केही परको कलधारोमा पुग्थेँ । एउटा हातले कललाई सकेको बलले अँचेट्दै र अर्को हातलाई कचौरा बनाउँदै थाप्थेँ । साबुनका फिँजजस्तै गजल्ल परेका पानीका फोहराले म मेरो अनुहारमा हिर्काउँथेँ- एकपटक, दुईपटक । अनि निधारदेखिको पानीलाई हातले सोहोर्दै चिउँडोसम्म पुर्‍याउँथें । चियाको पातबाट बिहानीपख भुइँमा शीत झरेझैँ म पनि पानीलाई भुइँमा झारिदिन्थेँ, तप्तप् ।

घामको रक्तिम झुल्को मेरो अनुहारमा टिलिक्क टल्किन्थ्यो । म निधारमाथि दाहिने हातलाई अड्याएर कञ्‍चनजंघाबाट उदाउँदै गरेको घामलाई हेर्थेँ । म सोच्थेँ, घाम कति राम्रो छ है, ठ्याक्कै मजस्तै !

KFC Island Ad
NIC Asia

बुबा भन्नुहुन्थ्यो- म राम्री छु, असाध्यै राम्री । बिहानीपखको घामभन्दा पनि राम्री । घामको किरणभन्दा राम्री । घरछेउको चिया बगानभन्दा राम्री । घाम उदाउने कञ्‍चनजंघाभन्दा पनि राम्री । त्यसैले मेरो नाम पनि कञ्‍चन राखिदिनुभएको रे ! 
एकदिन स्कुल जाँदै गर्दा बुबाको साइकलको पछाडिको क्यारीमा दुवै खुट्टा एकातिर फर्काउँदै अनि खुट्टा हल्लाउँदै मैले सोधेँ- ‘‘बुबा, कञ्‍चन भनेको के हो ?’’

बुबा साइकललाई उकालोमा उकाल्न स्वाँस्वाँ गर्दै घरि उठ्दै र घरि बस्दै जोडले पैडललाई खुट्टाले नचाउँदै हुनुहुन्थ्यो । उकालो धेरै नै भएकाले उहाँ साइकलबाट फुत्त ओर्लिनुहुन्थ्यो अनि सकेको बलले मलाई साइकलको क्यारीमै राखेर लामो सास फेर्दै उकालोमा साइकल डोर्‍याउनुहुन्थ्यो ।

Royal Enfield Island Ad

म सोच्थेँ, बुबा नभएको भए म अनाथ हुने थिएँ । खै कसरी जिउने थिएँ ? कहिले साइकलको ह्‍यान्डिल समातेर त कहिले मेरो हात समातेर बुबाले मलाई डोर्‍याउन छाड्नुभएन । सायद, जस्तै परिस्थितिमा पनि बुबाको हात रहिरहनेछ अनि म हिडिँरहनेछु, बुबासँगै ।

‘‘बुबा कञ्‍चन भनेको के हो ?’’ पुनः मेरो प्रश्‍न सम्झाउँदै पछाडिबाट मैले बुबाको पेटमा बिस्तारै चिमोटेँ । बुबा थोरै चल्मलाउनुभयो अनि पछाडि फर्केर मलाई भन्नुभयो- ‘‘एकछिन ज्ञानी भएर बस, यो उकालो कटेपछि भन्छु ।’’

मनमनै सोचेँ, कञ्‍चन भनेको गोरी होला । हिउँले लत्पतिएकी कञ्‍चनजंघा पनि मजस्तै गोरी छन् । या त हुनसक्छ, कञ्‍चन भनेको चिसो होला । हिउँजस्तै, हाम्रो घरबाट ठ्याक्कै देखिने कञ्‍चनजंघाजस्तै । फेरि यो पनि हुनसक्छ, कञ्‍चन भनेको ज्ञानी, थपक्क नचलेर बस्न सक्ने होस् ।

उकालो सकिनेबित्तिकै मैले बुबाको कमिजलाई बिस्तारै तानें । उहाँले लामो सास फेर्दै भन्नुभयो- ‘‘कञ्‍चन भनेको सफा, स्वच्छ अनि निर्मल ।’’

‘‘कञ्‍चनजंघाजस्तै ?’’ मैले सोधेँ ।

‘‘हैन, कञ्‍चनजंघाबाट सुरु हुने तमोर नदीजस्तै । कञ्‍चनजंघामा त जसको पनि आँखा लाग्छ । मेरी छोरीलाई कसैको आँखा नलागोस् ।’’

बुबाको साइकलको क्यारीमा बस्दाबस्दै तीनजुरे डाँडामा लपक्क फुलेर हुर्किएका लालीगुराँसजस्तै म पनि हुर्किएँ । लालीगुराँसजस्तै मेरा गालाहरू पनि सुर्खी भए । ऐनामा हेरिरहन मन लाग्‍ने भयो । आफूलाई नियालिरहन मन लाग्ने भयो । आफ्नो अनुहार त जसलाई पनि संसारकै राम्रो लाग्छ । 

बुबा भन्नुहुन्थ्यो- उहाँ संसारभरि त डुल्नुभएको छैन रे, तर आरुखर्क अनि म्याङ्गलुङ्ग बजारभरि सबैभन्दा राम्रो अनुहार मेरो छ रे !

आठ कक्षाबाट बुबाले मलाई साइकलमा स्कुल पुर्‍याउन छाड्नुभयो । अब म ठूली भएँ रे ! ठूली हुन आठ कक्षा पुग्न पर्छ । म तीन कक्षामा पढ्ने घरनजिककी पुतलीलाई भन्थे । पुतली तीन कक्षामा पढ्ने भए पनि ऊ मेरो साथीजस्तै थिई । ऊ मलाई कञ्‍चन भनेर बोलाउँथी । म उसलाई पुतली । मलाई कसैले मेरो नाम लिएर बोलाएको औधी मन पर्छ, चाहे मभन्दा सानो नै किन नहोस् । आफ्नो नाम कसलाई मन पर्दैन होला ? 

बुबा भन्नुहुन्थ्यो- मान्छे आफ्नो नामजस्तै हुन्छ । नाममा मान्छेको अस्तित्व लुकेको हुन्छ । पुतली, पुतलीजस्तै सानी छे, फुरुरु उडेझैँ दौडिन्छे, कहिले यता कहिले उता । त्यसैले त उसको नाम पुतली छ ।

साँच्ची म राम्री भएर मेरो नाम कञ्‍चन भएको हो अथवा मेरो नाम कञ्‍चन भएर म राम्री भएकी हो ? के होला है ? कक्षामा साथीहरू पनि सोध्छन्, तिमी यति गोरी कसरी भएकी ? मलाई के थाहा, सायद म बिहान उठ्नासाथ पानीले दुईपटक छ्याप्प पार्दै मुख धुन्छु । मेरा साथीहरू मुख नधोएरै कक्षामा आउँछन् । नत्र म मात्रै राम्री कसरी भएँ ?

फेरि एउटी साथीको नाम अप्सरा पनि छ, तर ऊ राम्री छैन । अप्सरा त कञ्‍चनभन्दा राम्री हुन पर्ने, अप्सराभन्दा त बरु सानी पुतली नै कति राम्री !

पुतली सानी भए पनि मान्छे सुरी छ । स्कुल जाने आउने बेला बाटोमा स्यालले कुखुरा हेरेर र्‍याल काढेझैँ मुखियाको छोरो हामीलाई एकतमासले हेरिरहन्छ । कहिलेकहीँ पछिपछि पनि लाग्छ । मुखियाको छोरो भनेर कसैको बोल्ने हिम्मत हुँदैन । 
तर अनौठै भयो । एकदिन पुतलीले त्यसलाई नमज्जाले हकारी अनि अब आइन्दा पछिपछि लागेमा घरमा कुरा लगाइदिने धम्की दिई । पुतलीको कुराले त्यो छट्टु स्याल कत्ति विचलित देखिएन । अर्को दिन पनि ऊ त्यसैगरी हाम्रो पछिपछि लाग्यो । हामी उसले नभेट्टाओस् भनेर छिटोछिटो कुद्‍न थाल्यौं । ऊ पनि हाम्रो पछि त्यही रफ्तारमा कुद्‍न थाल्यो ।

हामी चमेली रुखको चौतारी पछाडि लुक्यौं । ऊ हामीलाई झम्टिन आँटेझैँ त्यही बाटो आयो । हामी सकेसम्म सास थामेर त्यही चमेली रुखपछाडि लुकिरह्‍यौं । धन्‍न उसले हामीलाई देखेन । हस्याङ-फस्याङ गर्दै ऊ तल ओरालो झर्‍यो । पारिको घुम्तीमा छलिनेबित्तिकै हामी कच्चीबाटो छोडेर बारीका कान्ला-कान्ला हातमा चप्पल समातेर दौडियौँ ।

घरको आँगनमा पुग्‍ना साथ एक अर्काको मुखामुख गर्दै परालको सानो थुम्कोमा थुचुक्क बस्यौँ । ‘‘साँच्ची त्यो कपटीले हामीलाई आज भेट्याएको भए पिट्थ्यो होला है ।’’ मैले स्याँस्याँ गर्दै पुतलीसँग भनेँ । 

‘‘खुब, म हुँदाहुँदै तिमीलाई कसैले छुन सक्दैन बुझ्यौ ?’’ पुतलीले आफ्ना सानासाना हातलाई जोडले मुठ्ठी कसेर भनी । मैले पुतलीलाई हेर्दै मनमनै सोचेँ- ‘‘धन्‍न मेरो एउटा भए पनि मिल्ने साथी छ । तिमी नभएको भए म के गर्थेँ होला है पुतली ?’’

घर पुगेर बुबालाई आजको घटना बेलिबिस्तार लगाएँ । बुबाले भन्नुभयो- ‘‘त्यो मुखियाको छोराले सबैलाई दुःख दिएको छ । उसलाई हेर्दै नहेर्नू, बोलाए पनि नसुनेझैँ गर्नू, केही हुँदैन ।’’

म अझै पनि डराएको देखेर बुबाले मेरो हात समाउनुभयो अनि आफ्नो काखमा राख्दै मेरो गालामा बिस्तारै म्वाइँ खानुभयो र मुसुक्क हाँसेर भन्नुभयो- ‘‘सुर्ता नगर, म मुखियासँग कुरा गरौँला ।’’

हामीले सोच्यौँ, मुखियाको छोराले अब हामीलाई दुःख दिने छैन । अब पुतली र म गफ गर्दैगर्दै स्कुल जान अनि हात समाउँदै खुरुखुरु स्कुलबाट घर फर्किन पाउने छौँ ।

तर अर्को दिन ऊ चमेली रुखको पछाडि हामीलाई ढुकेर बसेको रहेछ । भोको सिंह अगाडि परेझैँँ ऊ हाम्रो अगाडि आइपुग्यो अनि बडो कुरा लगाउने भन्दै हामीलाई झम्टिन खोज्यो । डरले पुतली र मेरो हात छुट्टियो । दुवैजना अलग अलग दिशातिर तितरबितर भयौँ । म तल ओरालो लागें । पुतली आएकै बाटो हस्याङ्गफस्याङ्ग गर्दै उकालो दौडिई । मुखियाको छोरो पुतलीलाई छोडेर मतिर सोझियो ।

भयातुर म आँखै नहेरी दौडिन थालें । जति दौडिए पनि लोग्नेमान्छेलाई कसरी जित्न सक्नु ? उसले मलाई च्याप्प समायो अनि जुरुक्क उचालेर भिरको घाँसमा पछार्‍यो ।

‘‘ऐया बुबा’’, म जोडले चिच्याएँ । वरपर कोही पनि थिएन । पुतली पनि थिइन । कमसेकम ऊ हुन्थी त मलाई यो दुष्टको पञ्‍जाबाट बचाउने थिई । पछाडि भिरेको स्कुलको झोला उसले जबर्जस्ती खोसेर बाटोमुनि मिल्काइदियो अनि घाँटीको टाई बलपूर्वक तान्‍न थाल्यो । जाबो कुरा लगाइदिँदैमा यस्तो गर्नुपर्ने के थियो र ?

म बेसहारा, त्यही भिरमा चिच्याइरहेँ, लडिरहेँ, कराइरहेँ । मेरा आँखा चिम्म थिए । ओंठ सुकेर कलेँटी परेका थिए, मुख सुकेर प्याकप्याक भएको थियो । पाखुरामा अनि घाँटीमा कोतरिएको दाग बिस्तारै चहराउन लाग्दै थियो । एकपटक जोडले भुइँको घाँसलाई अठ्याएँ अनि सकेको बलले चिच्याएँ- ‘‘बुबा, म यहाँ छु बुबा ।’’

कसैले मुखियाको छोरालाई पछाडिबाट जोडले अचेट्यो अनि घाँटीमा समाउँदै अलि पर लगेर थेचारिदियो । मुखियाको छोरो लड्खडाउँदै उठ्न खोज्यो । तर मैले देखेँ, अपरिचित मान्छेले उसको पेटमा एक लात्ती बजार्‍यो । ऊ फेरि रन्थनिँदै त्यही भुइँमा ढल्न पुग्यो ।

ती अपरिचित मान्छे हतारहतार मेरो छेउमा आए अनि मलाई बिस्तारै उठाउँदै भने- ‘‘तिमी ठीक त छौ नि ?’’ म जोडले रुन थालेँ- आरुखर्क थर्किने गरी, संसारै थर्किने गरी । म रोएको मेरो बुबाले पनि सुन्नुभयो होला । अब उहाँ मलाई लिन पक्कै आउनुहुन्छ । यो दुष्ट पापी मुखियाको छोरालाई मेरो बुबाले पिटीपिटी रुवाइदिनुहुन्छ । उहाँकी प्यारी कञ्‍चनको यो हालत मेरा बुबालाई कदापि सह्य हुँदैन ।

‘‘मेरा बुबालाई बोलाइदिनू ।’’ मैले रुँदै ती व्यक्तिसामु याचना गरेँ ।

ती मान्छेले मेरा कपडा मिलाइदिँदै भने- ‘‘नानीको घर कहाँ हो ?’’ मैले सुँक्कसुँक्क गर्दै भनेँ- ‘‘तल आरुखर्क ।’’ 

ती मान्छे मेरा अगाडि थुचुक्क बसे अनि मायालु आवाजमा मलाई हेर्दै भने- ‘‘नरोऊ, तिमीलाई केही भएको छैन । आऊ म तिमीलाई घरसम्म छोडिदिन्छु ।’’ पारिबाट दौडिँदै दौडिँदै पुतली आइरहेकी थिई । पुतलीलाई देख्नासाथ म खुसीले चिच्याएँ- 
‘‘मेरो साथी आउँदै छ । म उसैसँग जान्छु ।’’

‘‘तिम्रो नाम के हो नि ?’’ उनले मलाई सोधे ।

‘‘कञ्‍चन’’ मैले मधुरो आवाजमा जवाफ दिएँ ।

‘‘आहा ! जस्तो नाम उस्तै मान्छे ।’’ उनले मतिर हेर्दै भने ।

‘‘मेरो नाम अमृत हो । तिमीलाई कसैले केही गर्‍यो भने मनमनै मेरो नाम लिनू है, म आइपुग्छु ।’’ म खुसीले फुरुङ्‍ग भएँ अनि ‘हवस्’ भन्दै टाउको हल्लाएँ । उनले मेरो टाउको मुसार्दै भुइँमा उत्तानो परेर लडिरहेको मुखियाको छोरालाई हेर्दै भने- ‘‘तिमी जाऊ । अबदेखि यसले तिमीलाई कहिल्यै सताउने छैन ।’’ 

मलाई त्यस दिन थाहा भयो, संसारमा मुखियाका छोरा र अमृत दुवै रहेछन् । रक्षक र भक्षकहरू दुवै रहेछन् ।

म बाटोमुनि फ्याँकिएको मेरो झोला टिप्‍न गएँ । पुतली मेरो छेउमा आइपुगी अनि मलाई जोडले अङ्कमाल गर्दै रुन थाली । 

‘‘नरोऊ पुतली, मलाई केही भएको छैन ।’’ मैले उसलाई सुम्सुम्याउँदै भनें । 

‘‘तिम्रो जिउभरि घाउ भएछन् अनि कपडा पनि च्यातिएछन् ।’’ उसले सुक्सुकाउँदै भनी । म उतिर फर्कदै भनेँ- ‘‘अनुहारमा घाउ भएको छ कि छैन हेर त ।’’ पुतलीले आँसुले टम्म भरिएका आँखाले मेरो अनुहारमा नियाल्दै भनी- ‘‘छैन ।’’ लामो सास फेरेर हामी तलतिर लाग्यौँ ।

‘‘आज अमृत नआएको भए त्यो पापीले केके गर्ने थियो !’’ मेरो स्याँस्याँ अझै पनि रोकिएको थिएन । ‘‘को अमृत ?’’ पुतलीले पछाडि फर्कदै मलाई सोधी । 

‘‘त्यही मान्छे, जसले मलाई त्यो दुष्टबाट बचायो । केही पर्‍यो भने मनमनै सम्झनू भनेका छन् । उनी आइपुग्छन् रे ।’’ 

म पछाडि फर्किएँ । झिसमिसे साँझ परेको थियो । एक हुल झ्याउँकिरीहरू बिरानो मुलुकको गीत बोकेर चमेली रुखवरिपरि उडिरहेका थिए । भर्खरै कोलाहल र चीत्कारले गुञ्जायमान माथिको कान्लो सुनसान थियो । त्यहाँ न त अमृत थिए, न त भुइँमा पल्टिरहेको मुखियाको छोरो । 

मुखियाको छोरालाई पुलिसले समातेर लगेछन् । बुबाबाट थाहा पाएँ, अब पुलिसले उसलाई पाता फर्किने गरी पिट्छन् रे ! अब ऊ यो गाउँमा कहिल्यै फर्कदैन रे ! अब हामीबिना कुनै संकोच स्कुल जान र आउन सक्छौँ  रे ! मैले पुतललीलाई यो कुरा सुनाए, पुतली पनि खुसीले फुरुङ्ग भई । 

त्यो घटनाको केही दिनपछिको कुरा ! स्कुलबाट फर्कदा पुतली मौन थिई । मैले उसलाई मायालु आवाजमा सोधेँ- ‘‘के भयो पुतली ? तिमीलाई सञ्चो छैन, हो ?’’ 

पुतलीले आजकल अनौठो सपना देख्छे रे ! ऊ सपनामा अस्पतालको बेडमा छट्पटिइरहेकी हुन्छे । उसलाई आफै थाहा हुँदैन, के भयो, ऊ किन र कसरी त्यहाँ आइपुगी ? ऊ अँध्यारो सपना देख्छे आजभोलि । सपनामै अनेकथरि बर्बराउँछे । पुतलीको निधार छामें । भर्खरै मकै भुटेको हाँडीजस्तै उसको निधार रापिएको थियो । 

केही दिनपछि पुतली स्कुल पनि आउन छोडी । बुबा भन्नुहुन्थ्यो- पुतलीलाई बोक्सीले टोकेको छ रे ! उसको अनुहारमा बोक्सीले टोकेका दागहरू छन् रे ! मैले मनमनै सोचेँ- के हो बोक्सी भनेको ? त्यति सानी पुतलीलाई कसरी र किन टोकी उसले ? पुतलीले कसको के बिगार गरिदिन सक्छे र ? बिचरी पुतली । बोक्सी सल्किन्छ भनेर बुबाले मलाई भेट्न जान पनि दिनु भएन । 

मलाई विश्वास थियो, पुतली शूरी छ, ऊ चाँडै सञ्चो हुन्छे अनि पहिलेकै अवस्थामा फर्किन्छे । उसका अनुहारका दागहरू क्रमशः हराउँदै जान्छन् । सानी, राम्री अनि ज्ञानी पुतली ! पुतली बिनाको स्कुल मलाई स्कुलजस्तो लागेन । स्कुलबाट साँझपख फर्कंदा म चमेली रुखको फेदीमा बस्थेँ अनि पुतलीलाई सम्झिँदै गीत गाउँथेँ । 

पहेँली र पातली
कति राम्री बाटुली
रातो रिबन बाटेकी
मेरी सानी पुतली ।।

एकदिन स्कुल पुग्नै आँटेकी थिएँ । स्कुलको गेट केही मिटर मात्र पर थियो । पछाडि झोला भिरेकी थिएँ । कपाल चुल्ठो पारेर बाटेकी थिएँ । आँखामा थोरै गाजल लगाएकी थिएँ । कानमा बुबाले म्याङ्गलुङ्ग बजारबाट ल्याइदिनुभएको चाइनिज झुम्का लगाएकी थिएँ । नाकमा एकखुट्टे नथिया । 

मलाई देखेर कक्षाका सबै केटीहरू डाहा गर्छन् । अझ अप्सरा त मेरो कानको झुम्का खोसौँला झैँ गर्छे । मलाई अप्सरा अलिकता पनि मन पर्दैन । म राम्री छु, गोरी छु, ऊ छैन, यसमा मेरो के दोष ? मैले त खै उसलाई आजसम्म केही पनि भनेकी छैन क्यारे ! फेरि किन यति बिघ्‍न रिस गर्छे मेरो ! 

स्कुलको गेटभित्र छिर्नै आँटेकी थिएँ, एक्कासि कसैले मेरो बाटो रोक्यो । म झसङ्ग भएँ । मुखियाको छोरो हातमा हर्के दाइको पसलमा पाइने कोकाकोलाको बोतल बोकेर मेरो अगाडि ठिङ्ग उभिएको थियो । बुबाले कैयौँपटक मलाई हर्के दाइको पसलमा लगेर नजिकैको बेन्चमा बसाली कोकाकोला पिलाएको सम्झिएँ ।

मुखियाको छोरोले एकतमाससँग मलाई घुर्दै हर्‍यो अनि भन्यो- ‘‘मलाई जेल पठाउने तैं जाँठी हैनस् । खुब राम्री सोचेकी छस्, खुब घमण्ड छ तँलाई ? आजसम्म कान्लोमा कतिलाई सुताएँ, कतिलाई पछारेँ, कसैले केही भनेको थिएन । तेरो थुतुनो धेरै चल्ने रैछ ।’’

मुखियाको छोरोलाई पुलिसले समातेको दुई साता नहुँदै छोडिदिएछ । बुबा त भन्नुहुन्थ्यो, अब यो आरुखर्कमा कहिल्यै आउँदैन । अब मैले र पुतलीले यसको सास्ती खेप्नु पर्दैन । 

यसले हातमा समातेको यो कोकाकोला, के साँच्चिकै कोकाकोला होला त ? कि मैले बिहानीमा अनुहार छ्याप्प पार्ने कलथारोको पानीमा रङ मिसाइएको होला ? आजकाल रेडियोमा महिलाहरूमाथि तेजाब छर्ने अपराध बढेको छ भन्ने सुनेकी थिएँ । कतै यो पापीले मेरो अनुहार विरूप गर्ने पाप त चिताएन ? हे भगवान्, अब म के गरूँ ? 

जब उसले त्यो बोत्तलको तरल ममाथि खन्याउन आफ्ना हातलाई जोडले पछाडि धकेलेथ्यो, मैले आफ्ना दुबै हातले पूरै अनुहारलाई ढाकेँ अनि आँखा चिम्म गर्दै सुरुमा बुबालाई सम्झिएँ, त्यसपछि अमृतलाई । अमृतले मनमनै सम्झनू म आउँछु भनेका थिए । बिन्ती अमृत आज पनि मलाई यो दुष्टको नजरबाट बचाउन आइदेऊ । बिन्ती !

तरलको छ्याप्प आवाज सुनियो, कतै पोखियो, के मेरा हातमा ? कि मेरो अनुहारमा ? कहाँ ? तेजाब भएको भए त पक्कै पोल्ने थियो, तर किन पोलेन मलाई ? किन जलिनँ म ? कि यसले पनि बुबाको जडीबुटीजस्तै केही समयपछि असर देखाउने हो ? 

जोडले चिम्लिएका आँखा बिस्तारै उघारेँ । एकैछिन वरपर सबैतिर कालो देखियो, अँधेरी रातजस्तै, पातले वनजस्तै, निस्पट्ट कालो, मैलो अनि धमिलो । 

अगाडि अमृत उभिएका थिए । तेजाबको फोहोरा मेरो अनुहारमा पर्नुअघि नै उनले हातले रोकिदिएका थिए । तर पनि उनको हात भने जलेको थिएन । मुखियाको छोरो त्यहाँबाट सुइँकुच्चा ठोकिसकेको थियो ।

मैले बिस्तारै दुवै हातले आफ्नो अनुहार सुम्सुम्याएँ अनि लामो सास फेरेँ । अमृतले मतिर फर्कदै भने- ‘‘तिमी ठीक त छौ नि ?’’ मैले बिस्तारै आफ्नो टाउको हल्लाएँ ।

अमृतले हातमा सेतो पञ्‍जा भिरेका थिए । मनमनै सोचें, धन्न पञ्‍जा रैछ र पोलेन, नत्र अमृतको हात पूरै जल्ने रहेछ । अमृतले मायालु आवाजमा मलाई भने- ‘‘तिमी चिन्ता नगर, म छु ।’’ म खुसी हुँदै स्कुलको गेटतिर सोझिएँ ।

०००

मेडम उठ्नुस् त, हिस्ट्री लिने बेला भयो । कति सुत्नुभएको, नर्सको आवाजले म झसङ्‍ग भएँ । बिस्तारै उठेर बेडको छेउमा टुक्रुक्क बसेँ अनि दाहिने हातले आँखामात्र छोइने गरी बिस्तारै आँखाको चेँपमा कन्याएँ । नर्सले मलाई हेर्दै मुख बिगारी अनि यताउता कसैलाई खोजेझैँ चिच्याई- ‘‘पेसेन्टको कोही आफन्ती हुनुहुन्छ ?’’ बाहिरबाट हस्याङ्गफस्याङ्ग गर्दै आमा आउनुभयो ।  

‘‘तपाई उहाँको को ?’’ नर्सले सोधी ।
‘‘म आमा ।’’ उहाँले बिस्तारै जवाफ दिनुभयो ।
‘‘नाम ?’’
‘‘हजुर, मेरो नाम चमेली ।’’
‘‘तपाईंको होइन, पेसेन्टको नाम भन्नुस् ।’’
‘‘कञ्‍चन ।’’
‘‘पूरा नाम ?’’
‘‘कञ्‍चन शाह ।’’
‘‘घर ?’’
‘‘रौतहट ।’’
‘‘उमेर ?’’
‘‘२५ ।’’
‘‘बुबाको नाम ?’’

‘‘यसको बुबा हुनुहुन्न । भएको भए आज यस्तो हुने थिएन होला ।’’ आमाले धोतीको सप्कोले आफ्नो आँसु पुछ्दै भन्नुभयो । 
मेरो कानमा लत्रिरहेको झुम्कालाई हेर्दै नर्स बोली- ‘‘यस्ता कुराहरू लगाउन हुँदैन । इन्फेक्सन हुन्छ, के हुन्छ, कस्तो नबुझेको ।’’ नर्स अप्सराले आमालाई हेर्दै फेरि भनी- ‘‘तुरुन्तै फुकालिदिनुस् । अब झुम्का लगाउनुको अर्थ छैन ।’’

अघिदेखि पिसाब च्यापेको च्याप्यै थियो । रोकेर राखेकी थिएँ, कसैलाई भन्न पनि सकेकी थिइनँ । बिस्तारै मुख उघारेँ अनि सानो आवाजमा भनेँ- ‘‘नर्स, बाथरुम कता छ ?’’ नर्स अप्सरा केही बोलिन । हातको खुला रजिस्टरलाई ठ्याप्प बन्द गरी अनि कोठाबाट बाहिर निस्किई । आमा मेरो नजिकैको खाटको डिलमा थुचुक्क बस्नुभयो ।

‘‘नाम मात्रै अप्सरा हो । यो नर्सको व्यवहार हेर्दा त बोक्सीजस्ती छे ।’’ अर्को छेउको खाटको बिरामीले भनिन् । 

उनी शरीर जलेको उपचार गर्दै थिइन् । मर्दामर्दै बाँचेकी थिइन् अरे ! बेलाबेला सुक्सुकाउँदै आमासँग गुनासो गर्थिन्- ‘‘छोरीको जीवन मोटरसाइकल भन्दा सस्तो रहेछ । बिहे भएको सात वर्षसम्म पनि घरकालाई दाइजो नल्याएको रिस । मर्न पनि लेखेको रहेनछ दिदी । यस्तो भएर बाँच्नुभन्दा त मर्नु नै ठीक ।’’

बाहिर नर्स अप्सराको आवाज सुनियो । ऊ आफ्ना स्टाफलाई अह्राउँदै थिई- ‘‘भित्र पेसेन्टलाई बाथरुम लिएर जाऊ त ।’’

‘‘कुन वार्डको पेसेन्ट सिस्टर ?’’ ती स्टाफले सोधिन् । 

‘‘अगाडिको, कञ्‍चनजंघा वार्ड ।’’ नर्स अप्सराको तीखो बोली सुनियो । 

ती स्टाफले मेरो दाहिने हात समाएर डोर्‍याउँदै डोर्‍याउँदै बाथरुमसम्म लिएर गइन् । बाथरुमको भित्तामा एउटा सानो अनि मैलो ऐना थियो, तर मेरो अनुहारभन्दा सफा थियो । मेरो अनुहार चारैतिर पट्टीले बाँधिएको थियो । दुईवटा आँखा हेर्न खुला छाडिएको थियो । एउटा नाक सास फेर्नका निम्ति बाँधिएको थिएन अनि मुख अमिलो सुप पिउन ढाकिएको थिएन । 
डाक्टरले अनुहार नचलाउनू दुख्छ भनेका थिए । मैले मेरो दाहिने गाला बिस्तारै मेरो दाहिने हातले छोएँ अनि ऐनातिर हेरें । मनमनै सोचेँ- ‘‘साँच्ची मेरो नाम कञ्‍चन किन भएको होला है ?’’

साँझपख कोठामा डाक्टर आइपुगे । मेरो नजिकै आएर मलाई हेर्दै सोधे- ‘‘तिमी ठीक त छौ नि ?’’ मैले बिस्तारै आफ्नो टाउको हल्लाएँ । उनले हातमा सेतो पञ्‍जा लगाएर मेरो अनुहारतिर हात बढाए । म एकदमै हड्बडाएर डरले थरथर काँप्‍न थालेँ । उनले मायालु आवाजमा मलाई हेर्दै भने- ‘‘तिमी चिन्ता नगर, म छु नि ।’’

नर्स अप्सरा कोठाभित्र छिर्नेबित्तिकै कोठाको झ्याल बन्द गर्दै भनी- ‘‘झ्याल नखोल्नू भनेकी हैन ? हेर्नुस् त कीरा छिरेछ । यसले झनै इन्फेक्सन हुन्छ ।’’ मेरो पाखुरामा अघिदेखि एकतमासले बसिरहेको त्यो कीरालाई हेर्दै मैले जवाफ दिएँ- ‘‘यो कीरा होइन, पुतली हो । यो पनि मजस्तै बिरामी छे ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro