site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आत्मीय सम्बन्ध
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

‘तँलाई रमेशले प्रायः हेरिरहेको देख्छु । अनेक बहाना बनाएर तेरो क्याबिनतिर गइरहन्छ ।’ लन्च खाँदै गर्दा रीताले सुनाई । ‘नचाहिने कुरा ! मलाई यस्तो कुरा गरेको मन पर्दैन भन्ने जान्दाजान्दै पनि किन मसँग यस्तो कुरा गर्छेस् ?’ खाँदै गरेको खाजालाई टेबलमै छोडेर उठिदिन्छु म । 

‘खोई; सबैले त्यही भन्छन् अफिसमा ! नपत्याए आफैँ विचार गर् न !’ थप्दै भन्छे रीता । 

उसले भनेको एक-दुई दिन त त्यो कुरालाई दिमागमा आउनै दिइनँ । त्यसपछि चाहँदा नचाहँदै पनि मेरो ध्यान रमेशमा जान थाल्यो । अकस्मात् दिमागमा कुनै कुरा घुसाई दिइसकेपछि त्यसलाई फ्याँक्न कहाँ सजिलो हुँदो रहेछ र ? अब गम्न थालेँ म; रीताले मलाई त्यसो किन भनी भनेर । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

रमेश मेरो क्याबिनमा आउँथ्यो । सकेसम्म मसँग बढी समय बस्न चाहेको छनक् दिन्थ्यो । छोटो कुरा छ भने पनि भूमिका बाँधेर त्यसलाई लामो पाथ्र्यो । उसको यस्तो व्यवहारबाट ऊ मसँग अनेक बहाना गरेर बढी समय बिताउन चाहन्थ्यो भन्ने मैले बुझिसकेकी थिएँ । झन् हाँसोउठ्दो कुरो त के थियो भने, मेरो क्याबिनबाट बाहिरिएपछि पनि फर्केर एकपटक मलाई हेरेकै हुन्थ्यो ! 

उसको यो क्रम सुरु भएको एक सातासम्म त मलाई कस्तो-कस्तो लागिरह्यो । त्यसपछि भने यसलाई सामान्य रूपमै लिन थालेँ । भोलि अफिस पुगेपछि क्याबिनमा बोलाएर राम्ररी सम्झाउनुपर्ला भन्ने मलाई लाग्यो ।

Royal Enfield Island Ad

भोलिपल्ट चाँडै अफिस पुगेँ । रमेशलाई सम्झाउने बहानामै घरबाट अलि छिटै अफिसतिर हिँडेकी थिएँ । म क्याबिनमा बसेर रमेशको आउने प्रतीक्षा गर्न थालेँ । केही बेरमै ऊ क्याबिनमा प्रवेश गर्यो । उसले हातमा एउटा फाइल समातेको थियो ।

‘गुड मर्निङ ! के छ; आज अलिक चेन्ज देखिरहेको छु नि !’ नसुहाउँदो हासो हास्यो रमेश ।

मुखमा जोतिन आएको ‘गुड मर्निङ’को रुखो सम्बोधनले टाउको भित्रका स्नायूहरू तात्तिन थालेको आभाष हुन्छ मलाई । ट्वाल्ल हेरिरहने गुच्चाजस्ता आँखा र असुहाउँदिलो हासो पोतिएको उसका अनुहार, समेटिएर मेरासामु मडारिन पुग्छ । 

खिसिक्क हाँसेर सम्हालिने कोसिस गरेँ । । तर खै, मलाई एक्कासि के हुन्छ के ! ‘प्लिज ! इट्स टू मच, रमेश ! हामी यहाँ सँगै काम गर्न थालेको तीन-चार वर्ष भयो । तिमी काममा इमानदार र मिहिनेती छौ । सबैले तिमीलाई राम्रो मान्छन् अफिसमा । 

तर अनेक बहाना निकालेर घरिघरि मेरो क्याबिनमा आउने र फर्कीफर्की मलाई हेर्ने तिम्रो बानीले रियल्ली डिस्टर्ब भएको छ मलाई । तिम्रो दिमागमा के चलिरहेको छ आई डन्ट नो, तर मलाई यस्तो चिप काम गरेको मन पर्दैन । सो प्लिज, अबदेखि चाँहि यस्तो बिहेब तिमीबाट रिपिट नहोस् ।’ सासै नरोकी एकैपटकमा मनका सारा उद्वेग पोखिदिन्छु म । रमेश चुपचाप सुनिरह्यो मेरा कुरा अनि क्याबिनबाट निस्कियो । मनै हलुङ्गो भएको अनुभूति भयो मलाई !

त्यो दिनपछि रमेश मेरो वरिपरि देखिन छाड्यो । मलाई आनन्दको अनुभव भयो । साता दिनदेखिको असहज परिस्थिति विस्तारै सामान्य हुँदै थियो । कतै लुकेर पो हेरिरहेको छ कि मलाई, बेलाबेलामा यताउती हेर्थें पनि म । तर उसलाई कतै देख्दिनथेँ । मैले जे गरेँ ठीक गरेँ जस्तो लाग्यो । एउटा निरर्थक वास्तविकताबाट मुक्ति पाएकामा खुसी थिएँ म । 

घर र अफिस गरेर दिन बितिरहेका थिए । एकदिन आमा बिरामी परेर अस्पताल भर्ना गर्नुपर्ने भयो । पाठेघरको खराबीले गर्दा अप्रेसन गरेर तत्काल त्यसलाई फ्याँक्ने सल्लाह डाक्टरले दिएका थिए । त्यसका लागि रगतको बन्दोबस्त पनि तुरुन्तै गर्नुपर्ने भयो । फेरि नेपाल बन्द पनि त्यसैदिन परेकाले तत्काल रगत खोज्न निकै सकस् भयो । पछि मैले फेसबुक वालमा पोस्ट गरेँ, ‘कसैले यो गु्रपको रगत दिन इच्छुक भए यो फोन नम्बरमा कन्ट्याक्ट गर्नुहोला !’ 

अस्पतालमा म आमाको बेड भएको क्याबिन बाहिर टोलाइरहेकी थिएँ । अचानक रमेश मेरासामु देखापर्यो । एक त आफूलाई तनावले घेरेको अवस्था; त्यसमाथि रमेशलाई अगाडि देख्दा रन्का छुट्नु स्वाभाविक थियो । यद्यपि रिस उठे पनि केही नभनी चुप लागेर बसिरहेँ । 

‘कस्तो छ आमालाई अहिले ?’ रमेशले सोध्यो । 

‘अलिक च्यापेको छ । डाक्टरले चाँडो अप्रेसन गरे राम्रो हुन्छ भनेको छ । तर आज नेपाल बन्द भएकाले रगत जुटाउन सकिएन ।’ म भुइँतिर हेर्दै जवाफ दिन्छु । 

‘आमा र मेरो रगत एउटै ग्रुपको रहेछ । त्यसैले म यहाँ आएको हुँ । एकछिनमा मेरो भाइ पनि आउँदै छ । हामी दाजुभाइले अहिले दिन मिल्ने भए दिँदै गर्छौं । थप चाहिए पछि खोजौँला !’ यसो भन्दै रमेश नर्स भएतिर जान्छ ।

०००

बितेका दुई वर्षमा धेरै कुरामा परिवर्तन भए । देशको राजनीतिदेखि मेरो जीवनमा समेत ठूलै उथुलपुथुल आयो । रमेश र म दिनमा आठ-आठ घण्टासम्म एउटै अफिसमा सँगै काम गर्थ्यौं । झट्ट हेर्दा जीउडालमा त्यति राम्रो पनि थिएन ऊ । सबैलाई सहयोग गर्ने भावनाले परिपूर्ण उसको स्वभाव त आमा बिरामी हुँदाताका उसको तन्मयताबाट जानिसकेको थिएँ । यस्तो व्यक्तिसँग पछिपछि जति सङ्गत गर्दै गएँ, उसको मप्रतिको सकारात्मक व्यवहारहरू पनि थप बुझ्दै गएँ । यसरी नजानिँदो तरिकाले उसको नजिक पो हुन पुगेँ । 

अफिस बिदा छुट्टी भएको एक दिन उसलाई नदेख्दा पनि मन एकतमासले छट्पटिरहने भयो ! उसको न्यास्रो मेटाउन भोलिपल्ट आधा घण्टाअगाडि नै अफिस पुग्थेँ । धेरै कर्मचारी आइपुगेका हुँदैन थिए । ऊ बस्ने कुर्सीदेखि उसका औँलाहरूले छुने किबोर्डसमेतलाई अरूले नदेख्ने गरी छुन्थेँ । एक दिन उसँग बिछोड हुनुपर्दाको पललाई तिनै कुर्सी र किबोर्डसँग साट्थें । उसको क्याबिनमा भएका प्रत्येक निर्जीव वस्तुहरूले ऊ त्यहाँ भएको आभाष दिन्थ्यो । 

हरेक प्रेममा शारीरिक निकटता हुनैपर्छ भन्ने मलाई लाग्दैन । कतिपय सम्बन्ध यस्ता पनि हुन्छन् जहाँ शरीरको सम्बन्ध आवश्यक नै पर्दैन । मात्र एक-अर्काको उपस्थिति पर्याप्त हुन्छ । रमेशको र मेरो सम्बन्ध पनि त्यस्तै हुन पुग्यो । हामी आ-आफ्ना क्याबिनबाट एक-अर्कालाई हेर्दै रमाउँथ्यौँ । लन्च टाइममा सँगै बसेर खाजा खाएर पनि आनन्दित हुन्थ्यौँ । 

उसलाई मेरा हरेक चाहना थाहा थियो । मलाई पनि उसका प्रत्येक कुरा थाहा थियो । हामीबीच लुकाउनुपर्ने त्यस्तो कुनै कुरा केही पनि बाँकी थिएन । 

जिन्दगीको मोडमा भेटिएका मान्छेमध्ये कहिलेकाहीँ कसैसँग यसरी भेट हुन्छ कि ती अभिन्न अंग बन्न पुग्छन् । रमेश पनि विस्तारै मेरा निम्ति त्यस्तै अंग बन्न पुगिसकेको थियो । पहिले मलाई ठ्याम्मै मन नपर्ने उसका गुच्चाजस्ता आँखाहरूलाई हेरिरहन चाहन्थेँ अहिले ! उसको उपस्थिति मात्रले पनि शीतलता प्रदान गथ्र्यो । क्यान्टिनमा सँगै खाजा खाँदा कहिलेकाहीँ उसका औंलाहरू मेरो हातमा स्पर्श हुँदा मात्रै पनि यस्तो अनुभव गर्थेंं कि मानौं म सिमलको भुवा हुँ र उडिरहेकी छु ! 

रमेशसँगको सम्बन्धले मलाई सुखद अनुभूति हुन थालेको थियो । भाग्न चाहन्न थिएँ अब त्यो मिठासपूर्ण जीवनको वास्तविकताबाट । बरू सपना झैं लाग्ने खुसीहरूलाई समेटेर आत्मतृप्तिको अनुभव गर्न चाहन्थेँ । 

अब अगाडि हुन्छ के त ?

दिनहरू बित्दै थिए । जबजब आफूलाई ऐनाअगाडि पाउँथेँ; मभित्रको ‘म’ फुत्त अगाडि आएर प्रश्न गर्न थाल्थ्यो, ‘तैंले अहिले जे गरिराखेकी छेस् के त्यो सही हो त ? के समाजले त्यसलाई पचाउन सक्ला ?’ यस्ता थुप्रै प्रश्नहरू एकएक गरेर तेर्सिन थाल्थे मेरासामु । यस्तो सोच्दा ऐंठन भएर सपनाबाट अचानक ब्युँझेपछिझैं पसिनाले निथ्रुक्क भिज्थेँ । मुटुमा कम्पन र टाउकोमा चक्कर एकैपटक लागेर ओछ्यानको सहारा लिन पुग्थेँ । 

भविष्य के हुन्छ कसले देखेको छ र ? मैले अहिले जे गर्दै छु आफ्नो नजरमा त्यो सही हो वा गलत, त्यो मलाई थाहा छैन । भोलि आइपर्ने सभ्भावित अपमान र तिरस्कारयुक्त प्रतिक्रियाहरू सामना गर्न आफूलाई बलियो पार्दै जान थालेँ म । अरू उपाय पनि त थिएन ! आइपर्ने हरेक परिस्थितिसँग लाप्पा खेल्न तयार भएर बस्न थालेँ भित्रभित्रै । सधैं अरूका निम्ति मात्र कति बाँच्नु ? अबका दिनहरू आफ्नै लागि बाँच्न चाहन्थेँ । यो मेरो पहिलो र चोखो प्रेमको आवेगलाई अरूहरूले मन पराएनन् भन्दैमा किन सेलाउन दिउँ ?

मलाई यति मात्र थाहा छ, म जे गरिरहेकी छु इमानदार भएर गरेकी छु । म गर्वका साथ भन्नसक्छु, यो मेरो आत्मीय प्रेम हो । यसमा कुनै किसिमको प्राप्ति वा स्वार्थ लुकेको छैन । समाजका अगाडि म गलत हुन सकुँली । तर वास्तविकता के हो भन्ने कुरा या त भगवानलाई थाहा छ या म स्वयंलाई । फरक कति मात्रै हो भने, म एकैपटक दुई पुरुषसँग प्रगाढ प्रेम गर्छु । 
पहिलो मेरो श्रीमान् र अर्को रमेश । 

मेरो विषयमा थाहा पाउनेहरूको मनमा शंका उत्पन्न हुन सक्छ । पारिवारभित्रका समस्या, सम्पत्तिको अभाव, शारीरिक सुखबाट वञ्चनाजस्ता सम्भावनाका आशंकामा मेरो भूमिका धूमिल पार्ने प्रयास पनि हुन सक्छ । त्यसो त इज्जत-प्रतिष्ठा, मानसम्मान, सम्पत्तिदेखि शारीरिक सुख, मायाजस्ता यावत् कुराहरूमा मेरा श्रीमान्‌बाट म सन्तुष्ट छु । अघिल्लो जुनीमा कुनै पुण्य काम गरेकी हुनाले नै यस्ता असल र सज्जन श्रीमान् पाएकी हुँ भन्ने लाग्छ मलाई । मेरो आज जुन उन्नति र प्रगति छ; त्यो सबै मैले मेरा श्रीमानकै कारण पाएकी हुँ । जेजस्तो निर्णय लिन पनि स्वतन्त्र छु म । कारण हो, मेरा श्रीमानको मप्रतिको पूर्ण विश्वास । 

यति सबै हुँदा-हुँदै पनि आफूलाई रित्तिएको पाउँथे म । सबैथोक हुँदा-हुँदै पनि मेरो जीवन निस्सार बन्दै गएको आभास हुन्थ्यो मलाई । श्रीमान्‌को छातीमा टाउको राखेर निदाउँदा पनि त्यो निद्रा खल्लो लाग्थ्यो ! एउटा सज्जन र सम्पन्न श्रीमान् पाउँदा मलाई सबैले तँजस्तो भाग्यमानी श्रीमती अरू को होला र ? भनि रहँदा, अनुहारमा खुसीका रेखाहरू त देखिन्थे तर मनमा त्यो खुसीको सञ्चार भएको पाउँन्नथेँ । 

रमेशको आगमनपछि भने त्यस्तो खुसीको अनुभव सँगालेकी थिएँ मैले । मेरा हरेक पल अब मोहक अनि म आफैं पनि आनन्दमा मग्न हुन थालेकी थिएँ । श्रीमान्सँग मेरो कुनै किसिमको समस्या थिएन । उनीबाट सबै कुराको प्राप्ति मलाई भएको थियो । उनिसँगको मेरो यौन जीवन पनि सन्तुष्टिपूर्ण थियो । तर पनि मलाई किन किन श्रीमान्‌को मायालु अँगालोभन्दा रमेशको हल्का स्पर्श नै बढी महत्त्वको लाग्न थालेको थियो । 

श्रीमान्‌ले मलाई दिएको माया र रमेशको मप्रतिको व्यवहारलाई मैले तुलना गर्न थालेँ । विल्कुल फरक धारमा उभिएका थिए उनीहरू दुवै । गुम्दै गएको आफ्नो अस्तित्वलाई मैले रमेशको आँखाभित्र खोज्न थालेकी थिएँ । सबै कुरा भएर पनि उजाड जीवन बाँचेकी मलाई रमेशको आगमन हरियाली आएजस्तो भएको थियो । 

म श्रीमान्‌को अगाडि त हुन्थेँ तर सयौं कोस टाढा पाउँथे आफूलाई उनीबाट । सुन्दर भविष्य निर्माणका लागि कामप्रतिको उनको आशक्ति र सबैभन्दा अगाडि पुग्ने महत्त्वकांक्षा थियो मेरो श्रीमान्‌को । के श्रीमती अनि आफ्नो घरपरिवार सुन्दर भविष्य भित्रै पर्दैनन् र ? मैले श्रीमान्सँग जोडेर निर्माण गर्न खोजेको मेरो सुन्दर संसारको जग नबन्दै भत्कन लागेको थियो । मैले कैयौं रात ननिदाईकनै बिताउनुपथ्र्यो । कैयौँ रातका बेहिसाब हिसाब श्रीमान्‌बाट पाउँदिनँ भन्ने बुझिसकेकी थिएँ । काम गरिरहँदा, ‘तिमी थाक्यौ होली के सहयोग गरिदिउँ’ भनिदेऊन्, अँध्यारो अनुहार छ, के भयो तिमीलाई आज भनेर सोधिदिऊन्, मेरो मनभित्रका अटसमटस भावनालाई बुझिदिऊन् । यस्तैयस्तै तर्कना चल्थ्यो मनमा । तर त्यो मैले कहिल्यै पाइनँ । 

म श्रीमान्‌को आँखामा प्रेमको परिभाषा खोजिरहेँ । निस्सार प्रेम ! के मूल्य मेरो साथ र प्रेमको ? रमेश आउनुपूर्व, रित्तो मस्तिष्कमा एउटै कुरा चल्थ्यो, अहिले मसँग जे छ; त्यो नै सबैथोक हो मेरो । म मात्र नभएर सबैको जीवन यसरी नै सम्झौतामा बगिरहेको छ भन्ने लाग्थ्यो । तर रमेशको आगमनपछि भने कसैको साथले पनि यति आनन्द मिल्दोरहेछ भनेर बुझ्न थालेँ । उसँग म जति नजिक हुँदै गएँ, उति सम्मोहित हुँदै गएँ र उसप्रतिको मेरो रहर पनि तीव्र हुँदै गयो । कहिलेकाहीँ उसको फोन अथवा म्यासेज नआउँदा पनि ढुक्क मन फुलेर आउँथ्यो ।

मैले फेर्ने सासको स्थितिबाटै रमेशले मेरो अवस्थाबारे चाल पाउँथ्यो । ऊ मेरा आँखाबाटै मेरा मनका कुरा पढ्न सक्थ्यो । हरेक सूक्ष्म कुराहरूको विचार गथ्र्यो । मेरा प्रत्येक सुख-दुःखका कुराहरू आफ्नै झैँ गरेर सुन्थ्यो । उसँग आफ्ना मनका कुराहरू पोखिरहँदा उसका ती सुन्दर आँखाहरूमा मप्रतिको माया प्रस्ट रूपमा पढिरहेको हुन्थें । एक किसिमले यान्त्रीकरणमा अभ्यस्त भइसकेको मेरो जीवनमा उसले गति प्रदान गरिदिएको थियो । 

मभित्र कैयौँ अभिलाषाहरूले जन्म लिन थाले । सबैभन्दा ठूलो कुरा त, एक्लै रमाउन थालेकी थिएँ म । त्यसका लागि रमेश नै सामु हुनुपर्छ भन्ने थिएन । ऊसँग बिताएका पलहरू, मप्रति उसको पर्वाह र मसँग जिस्किएका क्षणहरूलाई सम्झिँदा मात्र पनि मलाई काफी हुन्थ्यो । जुन व्यवहार मैले आफ्नो श्रीमान्‌बाट कहिल्यै पाइनँ, श्रीमान्‌बाट पाउन खोजेको जुन साथ र बिताउन चाहेको समय थियो, त्यो रमेशबाट पाएकी थिएँ । रित्तो मन लिएर, आफैंलाई सान्त्वना दिँदै कति बाँचु अब पनि !

यो माया प्रेम भन्ने कुरा नै अचम्मको हुँदो रहेछ । आफ्नो श्रीमान् र प्रेमी दुवैलाई धेरै प्रेम गर्छु । यी दुईबिना मेरो अस्तित्व नै छैन कि भन्ने लाग्न थालिसकेको छ अब मलाई । समाजले के सोच्छ मलाई त्यसको कुनै पर्वाह छैन । कसलाई पो भन्न छाडेको छ र यो समाजले । समाजकै कारण रमेशलाई त्याग्नु भनेको आफैंलाई अन्याय गरेसरह हुँदैन र ? काँतर भएर निष्क्रिय र उदास जीवन बाँच्न चाहन्नँ अब । गलत पनि के नै गरेको छु र मैले ? आफ्नो घर परिवारप्रति गर्नुपर्ने कर्तव्य अनि मायामा कुनै आँच आउन दिएकी छैन । श्रीमान्‌लाई हरेक हिसाबले खुसी राखेकी नै छु । बच्चा-बच्चीहरूप्रति गर्नुपर्ने कर्तव्यबाट पनि पछि हटेकी छैन ।

मात्र केही समय आफ्नो निजी जीवन बाँच्न खोज्दा समाजले बाधा खडा गर्छ भने त्यससँग जुध्न म तयार छु । मैले गर्ने माया प्रेम तथा सम्मानमा कुनै कमी आउन दिने छैन, दुवै जनालाई । यो सास रहन्जेल निःस्वार्थ माया गर्ने छु दुवैलाई ।

आजको दिनसम्म आइपुग्दा रमेशले पनि त्यत्तिकै माया गर्छ जति म गर्छु । र मलाई जहाँसम्म लाग्छ, मेरो श्रीमान्‌ले पनि मलाई बुझ्नुहुनेछ । यदि रमेश र मेरो सम्बन्धबारे थाहा पाउनुभएको खण्डमा उहाँबाट के कस्तो प्रतिक्रिया आउँछ त्यो समयले नै बताउनेछ । र उहाँका हरेक निर्णयलाई सहर्ष स्वीकार गर्नेछु । 

हो, म दुई पुरूषलाई औधी माया गर्छु । भोलिका दिनमा श्रीमान् र रमेश मेरो साथमा हुन वा नहुन पनि सक्छन् तर उनीहरूको माया आजीवन मेरो अंगअंगमा सल्बलाई रहनेछ । मायामा पाउनु मात्रै ठूलो कुरो होइन । नपाएर पनि धेरै कुरा पाएसरह हुन्छन् । रमेशको पनि आफ्नो परिवार छ । म भनेर उसले आफ्नो सुन्दर परिवारलाई बर्बाद गर्न पनि हुँदैन । मात्र आफ्नो खुसीका लागि भन्दै मैले मेरो सिँगो परिवारलाई पनि त त्याग्न सक्दिनँ ! तर जहिलेसम्म उसको साथ र माया पाउँछु त्यो नै ठूलो हुनेछ मलाई । त्यसपछिको एक्लोपन र रित्तोपनलाई रमेशसँग बिताएका मीठा पलहरूको लेपले शीतल बनाइराख्नेछु । 

भविष्यमा रमेशमा मप्रति कस्तो व्यवहार रहला, त्यो त समयले बताउला, तर उसको मायाले बिहानीको मीठो हावा बनेर सधैं मलाई बेरिरहनेछ । भगवानसँग पनि यही माग्छु चितामा यो शरीर नडढुन्जेलसम्म ऊप्रतिको माया र सम्मानमा कुनै कमी नआओस् । 

मेरो सारहीन जीवनमा आएर जुन खुसी उसले दिएको छ, त्यसको आजीवन ऋणी रहनेछु । अनि भगवान्सँग यही प्रार्थना गर्छु कि उसको पारिवारिक जीवनमा पनि कुनै अड्चन नआओस् । उसको त्यो भावुक अनि प्रेमिल आँखाहरूमा खुसीका चमक अझै छाओस् । 

पूर्णिमाको रातमा देखिएको उज्यालो जुनजस्तै सफा मन लिएर आशामा नभै विश्वासमा बाच्ँन चाहन्छु म । रित्तो मन लिएर बाँच्नुको अनुभव राम्रोसँग लिइसकेकी छु मैले । तर त्यही रित्तोपनलाई अब उप्रान्त स्वीकार्न सक्दिनँ । आजको दिनसम्म आइपुग्दा, छातीमा हात राखेर सबैका अगाडि भन्न सक्छु, मैले कुनै गल्ती गरेकी छैन । कसैलाई माया गरेकै भरमा मेरो चरित्रमाथि कसैले औंला ठड्याउँछन् भने त्यसमा मेरो भन्नु केही छैन ।
asendai90@yahoo.com

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro