site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दसैंभत्ता फिर्ताका लागि संसदीय दलको निर्णय पर्खैंदै कांग्रेस सांसद

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले कोरोना महामारीका बेला सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ताका लागि संसदीय दलबाटै निर्णय गर्नुपर्ने बताउन थालेका छन् । एक्ला-एक्लै भत्ता फिर्ता गर्नेभन्दा दलको बैठक बसेर एकमुष्ट कांग्रेसका सबै सांसदहरुको भत्ता फिर्ता गर्नुपर्नेमा उनीहरुले  जोड दिएका हुन् । दसैंभत्ता फिर्ताका लागि संसदीय दलको निर्णयको प्रतीक्षामा रहेको सांसदहरुले बताएका छन् ।

संघीय संसदका सांसदहरुहरु र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता दिइएपछि कांग्रेस सांसदहरुले त्यसको विरोध गरेका हुन् । कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले संसदीय दलको बैठकबाटै निर्णय गरेर दसैंभत्ता फिर्ता गर्नुपर्ने बताएका छन् । कांग्रेसका प्रतिनिधिसभा सांसद मीनेन्द्र रिजालले संसदीय दलकैतर्फबाट कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने निर्णय गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, “दसैं भत्ता एक-एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्वजनिक गर्नेभन्दा संसदीय दलकै तर्फबाट नेपाली कांग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं । पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔं । मैरो आग्रह र निर्णय यहीअनुरुप हुनेछ ।”

त्यस्तै, कांग्रेस सांसद प्रकाशमान सिंहले कोरोना महामारी सुरु भएपछि संसद विकास कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्न आफूहरुले जोड दिएको बताए । उनले आफूले दसैंभत्ता नलिने र पार्टीलाई संसदीय दलबाटै भत्ता फिर्ताको निर्णय गर्नका लागि आग्रह गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै, कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले पनि कोरोना महामारीका बेलामा दसैंभत्ता दिने सरकारको आलोचना गर्दै फिर्ताका लागि संसदीय दलको निर्णय पर्खिरहेको बताएका छन् ।  मानवीय संवेदनालाई आत्मसात् गर्दै कम्युनिस्ट सरकारले सांसदहरूलाई दिएको दसैं भत्ता बहिष्कार गर्न र  भत्ताबाट सङ्कलित रकम कोभिड १९ विरुद्धको अभियानमा लगाउन उनले आग्रह पनि गरेका छन् ।

“महामारीको संग्राममा नागरिक आधारभूत स्वास्थ्य सेवा पनि नपाएर, प्राथमिक उपचारको अभावमा मर्न बाध्य भएको अवस्थामा सरकार आफ्ना आसेपासेलाई दसैं भत्ता र बोनस वितरण गरिरहेको छ । यसले सरकारको मैमत्ता पारा र नागरिकप्रतिको गैरजिम्मेवार मात्र होइन सत्ता, शक्ति र सम्पत्तिको लोलुपमा चुर्लुम्म डुबेको देखिन्छ,” उनले भने, “सिटामोल नपाएर नागरिक मर्दै गर्दा सरकारी हनुमानहरु दसैं उत्सव मनाउन दाम बुझिरहेका छन् । जुन शर्मनाक त छँदै छ अमानवीय र लोकतन्त्रको मर्मविपरीत पनि छ ।” भत्ता फिर्ताका लागि कांग्रेस संसदीय दलको निर्णयको प्रतीक्षामा रहेको उनले बताए । 

सांसदहरुले दसैंभत्ता फिर्ताका लागि संसदीय दलको बैठकबाट निर्णय गर्न माग गरे पनि प्रमुख सचेतक बालकृष्ण खाँणले भने आइतबार एक्लै भत्ता फिर्ताका लागि संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले जनताले कोरोना महामारीका कारण समस्या भोगिरहेका बेला दसैंभत्ता दिने सरकारको निर्णय अनुचित  रहेको र जनउत्तरदायी नभएको भन्दै आफनो नाममा आएको रकम सरकारी कोषमै जम्मा गर्न आग्रह गरेका छन् ।

अर्का, कांग्रेस सांसद गगन थापाले दसैंभत्ता बापतको ६४ हजार ७० रुपैयाँ रकम नगद नै फिर्ता गरेका थिए । सांसदहरुले एक्लाएक्लै दसैंभत्ता फिर्ता गर्न थालेपछि अन्य सांसदहरुले भने संसदीय दलले नै निर्णय गरेर फिर्ता गर्नुपर्ने बताएका हुन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro