site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओहोदामा छु भन्दैमा जे पनि बोल्ने छुट छ ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणले देशै आन्दोलित भयो । तर, उनका हत्यारालाई कारबाही भएन । त्यसयता यस्ता थुप्रै घटना भए । पछिल्लो समय सम्झना कामीमाथि यस्तै घटना भयो । पटकपटक उस्तै प्रकृतिका घटना हुँदा पनि सरकार मूकदर्शक बनेको चौतर्फी टिप्पणी भइरहेको छ । अपराधी कारबाहीको दायरामा आउलान् र आपराधिक मानसिकता भएका व्यक्तिको मनोबल कमजोर भएर यस्ता घटना कम होलान् भन्‍ने अपेक्षा गरिरहेका बेला गृहमन्त्रीले नै यस्ता घटना सामान्य हुन्, अरु देशमा भन्दा हाम्रो देशमा यस्ता घटना कम छन् भन्‍ने अभिव्यक्ति दिएपछि नायिका ऋचा शर्माले उक्त अभिव्यक्तिको चर्को आलोचना गरिन् । उनले आफूलाई छोरी जन्मिएला कि भन्‍ने डर लाग्‍न थालेको समेत बताइन् । छोरी जन्मिए अपराधीको आँखा लाग्ला कि भन्‍ने डर र छोरा भए संस्कारबाट विचलित होला कि भन्‍ने भयले सताउन थालेको बताइन् । उनले आफूलाई प्रतिबिम्ब बनाएर समग्र नेपाली समाजको मनोदशा चित्रण गरिन् । उनै नायिका ऋचा शर्मासँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

० ० ०
पछिल्लो समय सामाजिक मुद्दा विशेषगरी बलात्कारका घटनाविरुद्ध बोलिरहनुभएको छ । बोल्नैपर्ने अवस्था आएको हो ? 
बोल्नुपर्ने अवस्था आएको हो । सबैले बोल्नुपर्ने समय आइसकेको हो । 

जिम्मेवार व्यक्तिहरूबाटै बलात्कारका घटनालाई समेत सामान्य भन्‍ने अभिव्यक्ति आउनुको कारण के होला ? 
यसको कारण त जसले यस्तो अभिव्यक्ति दिइरहेको छ, उसैलाई सोध्नुपर्ला । तर, उच्च ओहोदामा भएका व्यक्तिबाट हामीलाई यस्तो अपेक्षा हुँदैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

संक्रमणकालीन अवस्थामा यस्ता घटना हुन्छन् भन्‍नु आपराधिक मानसिकतलाई प्रश्रय दिनु हो भन्दाभन्दै पनि पटकपटक यस्तै कुरा राजनीतिक व्यक्तिहरूबाटै आइरहेको छ । यस्ता अभिव्यक्तिलाई निरुत्साहित गर्न के गर्न सकिएला ?
यस्ता अभिव्यक्तिलाई निरुत्साहित गर्न हामीले नै आवाज उठाउनुपर्छ । सबै एकीकृत भएर गलतलाई गतल भन्‍न सक्नुपर्छ । जोबाट हामी अपेक्षा राख्छौं उहाँहरूले नै गलत काम गर्नु हुन्छ वा अभिव्यक्ति दिनुहुन्छ भने हामीले बोल्नुपर्छ । तपाईंले जे बोलिरहनुरहनुभएको छ त्यो गलत हो भन्‍ने कुरा उहाँहरूसम्म पुर्याउन सक्नुपर्छ । ओहोदामा छु भन्दैमा जे पनि बोल्ने छुट त छैन । 

उहाँहरूले बोल्दा महिला डराएर बस्नुपर्ने अवस्था सिर्जना भयो । नराम्रो काम गर्ने व्यक्तिहरूलाई यस्ता अभिव्यक्तिले झन् उत्साह प्रदान गर्छ भन्‍ने सत्यलाई कसैले पनि भुल्नु हुन्न । बलात्कारीलाई फाँसीका कुराहरू आइरहेका छन् । तर, नेपालमा मौलिक अधिकारका कुराहरू छन् । त्यसैले संविधानले सायद रोक्छ होला । तर, यस्ता अपराधीलाई कस्तो सजाय हुनुपर्छ भन्‍ने कुरामा सबै क्षेत्रका व्यक्तिहरूबीच बहस हुनु आवश्यक छ । 

Royal Enfield Island Ad

केही कलाकारहरू यस्ता घटना र अभिव्यक्तिविरुद्ध सामाजिक सन्‍जालमार्फत आफ्नो धारणा राख्दै आउनुभएको छ । संगठित रुपमा राजनीतिक तथा प्रशासनिक निकायलाई घच्घच्याउँदा अझ प्रभावकारी हुन्थ्यो कि ?
पक्कै पनि हो । तर, धेरैले मैले बोलिसकेपछिको अवस्था के हुन्छ भन्‍ने सोच्नुहुन्छ । तर, म नबोल्दापछिको अवस्था के हो भनेर म सोच्छु । पक्कै पनि मेरो आवाज वा खबरदारी मात्रै पर्याप्त छैन । कि उज्ज्वलविक्रम थापा जस्तै जिन्दगीभर एउटै कुरामा लाग्‍न सक्नुपर्यो । होइन भने सबै संगठित रुपमा आउनुपर्यो । मैले बोलेको कुराले के भयो ? एकदुई दिन फेसबुक, इन्स्टाग्राम तातियो होला । तेस्रो दिनबाट त सेलाएर गयो । अबको केही दिनपछि फेरि हामीले अर्को बलात्कारको घटना सुन्नुपर्छ । 

सामाजिक विषयमा केही कलाकारहरू कमै जानकारी राख्‍ने र यसबारे मौन बस्‍ने प्रवृत्ति छ । नराम्रोलाई नराम्रो भन्‍न पनि हिचकिचाउने र दबाब दिन नसक्नु भनेको दायित्व बोध नहुनु हैन र ?
हामी कलारकारलाई दबाब पनि हुन्छ । बलात्कारको घटना हुन्छ अनि हामीलाई कतिले भन्नुहुन्छ यो घटनामा तपाईंको धारणा के हो ? किन बोल्नुहुन्न ? सबै कुरामा बोल्नुपर्छ भन्‍ने छैन । आफूले विश्वास गर्ने कारणहरूमा मात्रै बोल्ने हो । एसिड आक्रमण, बलात्कार, सार्वजनिक सवारीसाधनमा हुने यौन हिंसाका घटनामा मैले बोलिरहेको हो । सबै कुरामा बोल्नुपर्छ भन्‍ने छैन । तर, दर्शक स्रोताले हामीबाट बोलिदियोस् भन्‍ने अपेक्षा गर्नु हुँदोरहेछ । तर, त्यो सबै सम्भव हुँदैन ।

सबैमा बोलिरहनु पर्दैन । बाह्रखरीले लेखेको समाचार मैले सेयर गर्नु भनेको त्यो समाचारले उठान गरेको विषयमा मेरो सहमति छ भन्‍ने हो । आफ्नै विचार राख्नुपर्छ भन्‍ने छैन । यद्यपि कुनै कुराको लडाइँ हो भने एकजना मात्रै होइन संगठित रुपमै संघर्ष गर्नुपर्छ र, निष्कर्षमा नपुग्दासम्म त्यसलाई निरन्तरता दिनुपर्छ । 

कति अभियन्ता तथा अधिकारकर्मीहरू यस्ता घटना हुन नदिन अभियान चलाइरहनुभएको छ । कतिले सामाजिक सन्‍जाल तथा अन्य कार्यक्रममार्फत आवाज मुखरित गरिरहनुभएको छ । तर, पनि बलात्कार जस्ता जघन्य अपराधका श्रृंखला रोकिएको छैन । कारण के हुन सक्छ ?
शिक्षा, जनचेतना पनि एउटा कारण होला । तर, यसबाहेक मानसिक अवस्था नै मुख्य कारण हो भन्‍ने मेरो बुझाइ छ । कुनै युवतीले स्कर्ट लगाएका कारण युवकले बलात्कार गर्यो । युवतीले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेका कारण युवकले एसिड आक्रमण गर्छ । तर, यसबाहेक पनि बलात्कारका घटना घटिरहेका छन्, जस्तै बुबाले छोरीलाई बलात्कार गरिरहेको छ । ५ वर्षको बच्चालाई काठमाडौंमै बलात्कार भइरहेको छ । यस्ता घटनालाई के भन्‍ने ? यो बिरामी मानसिकता हो ।

अहिले प्रायः जति पनि एसिड आक्रमण, बलात्कार र जिउँदै जलाइएका घटनाहरू छन् युवा नै यसमा संलग्न हुनुहुन्छ । कारण सेक्सलाई ट्याबुका रुपमा नेपालमा लिइएको छ । दुईजना व्यक्तिको सहमतिमा हुने सेक्सको सन्दर्भमा कुरा गर्दा दुईजना केटाकेटीलाई होटेलमा जाने छुट छैन । हाम्रो अहिलेको समाज पश्चिममा जस्तो स्वतन्त्र पनि छैन र पहिलाको जस्तो ज्यादै संकुचित पनि छैन । ताकी कलिलै उमेरमा विवाह गर्ने समाज होस् । संक्रमणको अवस्थामा छौं हामी । एजुकेसन र करिअर प्राथमिकतामा छ । विवाह ढिलो हुन्छ । युवा वर्गमा पलाइरहेको यौनइच्छा जुन चाहेरभन्दा पनि प्राकृतिकै माग हो । तर, पोर्न ब्यान्ड छ । सेक्स लिगलाइज छैन (भलै मैले सेक्सलाई लिगलाइज गर्नुपर्छ भनेको होइन ।) यस्ता धेरै कुरा छन् जसले आफ्नो फ्रस्टेसन र डिप्रेसन तथा कुण्ठित इच्छाहरू बाहिर पोखिँदा त्यसले कतै बलात्कारको रुप त कतै एसिड आक्रमणको रुप लिइरहेको हुन्छ । यो अचनाक हुने कुरा होइन । यो विस्तारै हुने कुरा हो । यसका पछाडि सामाजिक कुरा पनि हुन्छ र चेतनाको अभाव पनि हुन्छ । 

आपराधिक घटना कम गर्न कानुन कार्यान्वयन गर्ने निकायमा इच्छा शक्ति नभएको हो कि राजनीतिक हस्तक्षेप यसको मूल कारण हो ?
यी दुवै हुन पनि सक्छ र नहुन पनि सक्छ । त्यसैले यसमा म सहमति जनाउँदिनँ । किन भने धेरै घटनामा कारबाही पनि भएको छ । त्यसैले यसलाई इच्छाशक्ति नभएको पनि नभनौं । तर, बलात्कार र एसिड आक्रमणको घटनामा मिलापत्र गराउने काम गरिनै हुँदैन । यस्ता धेरै घटना सम्बन्धित निकायसम्म नै पुग्दैनन् । स्थानीयस्तरमै निश्चित रकम दिएर मिलाइन्छ । बच्चा जन्मियो भने विचार गरौंला होइन भने यति पैसामा कुरा मिलाऔं भनेर एक-दुई लाख रुपैयाँ दिएर मिलापत्र गराइन्छ । यस्ता घटना कति छन् कति जो हामीसँग आइपुग्दैन ।

बलात्कारसम्बन्धी घटनामा दोषीलाई कारबाहीबाट उन्मुक्ति दिने र मिलापत्र गराउने काम कदापि गर्नु भएन । किनकि न्याय सर्वोपरी हुनैपर्छ ।

मान्छेको शरीरलाई भन्दा पनि आत्मालाई यस्ता घटनाले छियाछिया बनाउँछ । पीडितलाई पुनर्स्थापना पनि गराउनुपर्छ । चाहे त्यो सरकारी निकायले होस् अथवा गैरसरकारी निकायले होस् । ताकि उसले फेरि फर्किएर आम नागरिकले झैं सामान्य जीवन बाँच्‍न सकोस् ।

महिला हिंसाका कुराहरू विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्छ । ताकि सानै उमेरदेखि गुड टच के हो र ब्याड टच के हो जानकारी होस् ।

प्रायः ८० प्रतिशत आपराधिक घटना नजिककै मान्छेबाट भइरहेको हुन्छ । बिनासहमति कसैले कसैलाई नराम्रो तरिकाले छुन्छ या त्यस्तै हर्कत गर्छ भने त्यसको प्रतिवाद कसरी गर्ने विद्यालय तहदेखि नै जानकारी दिनुपर्छ । यो अहिलेको आवश्यकता हो । महिला हिंसाविरुद्धका कानुनहरू संशोधन गरेर अझ कडा बनाउँदै लैजानुपर्छ । देशका हरेक कुनाकाप्चामा महिला जुनसुकै समय निर्वाध हिँड्न सक्ने अवस्था बनाउनुपर्छ । 

तपाईं चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति । चलचित्र मनोरञ्जनको साधन मात्रै होइन यसलाई समाज परिवर्तनको माध्यम पनि बनाउन सकिँदैन ?
एकदम सही कुरा गर्नुभयो । व्यापारिक हिसाबले हेर्ने हो भने चलचित्र मनोरञ्जन हो । तर, इन्टरटेन इङ्‍गेजिङ र म्यासेज दुवै भएको पनि त हुनसक्छ । हँसाएर र रुवाएर पनि सन्देश दिन सकिन्छ ।

नेटफ्लिक्स, अमेजन प्राइमको एक्सेस हामीमा छ । कोभिड-१९ को समयमा हामीले वर्ल्ड सिनेमा हेर्यौं । यस्ता सिनेमा हामीले हेर्यौं जो हाम्रो मन मस्तिष्कमा बसिरहेका छन् । त्यसबारे हामी कुरा गर्न र बोल्न बाध्य भयौं ।

समाज रुपान्तरणका लागि चलचित्रले ठूलो भूमिका खेल्छ भन्‍नेमा दुईमत छैन । चलचित्र समाजको ऐना हो । तर यो पाटोमा लाग्‍न फिल्म मेकरहरू लागि पर्नुपर्छ । विशेषगरी निर्माताहरू । अहिलेसम्म हामीले जति चलचित्र बनाइरहेका छौं, प्रायः सबै व्यावसायिक मात्रै छन् । चलचित्र हेर्यो, हाँस्यो सिनेमा हलबाट निस्किएपछि सकियो । तर, हलबाट निस्किएपछि त्यसको असर दिमागमा रहिरहनुपर्यो । त्यस्तो सिनेमा हुनुपर्यो जहाँ कन्टेन्ट हिरो होस् । हाम्रै समाज वरिपरिका कथा हुनसक्छन् ।

हाम्रा मेकरहरूले माया-प्रेमभन्दा माथि उठेर खासै चलचित्र बनाउन सकेनन् भनिन्छ, हो ? 
नसकेको पनि म भन्दिनँ । केही मेकर हुनुहुन्छ जसले निरन्तर समाज रुपान्तरणका लागि भूमिका खेल्नेदेखि लिएर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुग्ने फिल्म बनाइरहनुभएको छ । जस्तै मीन भामको कालो पोथी, दीपक रौनियारको सेतो सूर्य, नरेशकुमार केसीको डाइङ क्यान्डल, विनोद पौडेलको बुलबुल, छिरिङ रितारको उमा या निश्‍चल बस्नेतको टलकजङ भर्सेस टुल्के किन नहोस् यी चलचित्रहरूले नयाँ विषय उठान गरिरहेका छन् । 

माया प्रेमका कुरा पनि रुचाउनुहुन्छ त्यसैले त्यस्ता चलचित्र बनाइरहनुभएको । तर, माया प्रेमका कुरा पनि त फरक तरिकाले उठाउन सकिन्छ । हाम्रै समाजमा एकल महिलाका कथा छन् । एकल महिलालाई समाजले पुनर्स्थापित गर्न सक्छ भन्‍ने कथाहरू हुनसक्छन् । यस्ता कुराहरू किन नउठाको ? मेरो प्रश्न छ । 
बलिउडमै लञ्च बक्स जस्तो सिनेमा बनेको छ । मायाँ पिरतीकै कुरा उठाएको त्यो चलचित्रले बलिउडका लागि कति विदेशी बजारको ढोका खोलिदियो ? यस्ता चलचित्रको चाहिँ कमी छ ।
सबैले आफ्नै तरिकाले कथा भन्‍ने हो । सबैले एकैखाले कथा भन्नुभन्दा पनि फरकफरक कथा भन्नु चलचित्र उद्योगका लागि राम्रो पनि हो । तर, कमर्सियल र आर्टिस्टिक मुभीबीचको ग्यापचाहिँ बढी भएजस्तो लाग्छ । जस्तै- बुलबुलपछि अर्को त्यस्तै सिनेमा आएन जसबारे चर्चा गर्न सकियोस् । यस्ता चलचित्र निरन्तर बन्नुपर्छ । 

नेपालमा आफूलाई स्क्रिप्टका वर्षमा दर्जनौं अफर आउँदा समाजको यो अथवा यस्तै घटनामा केन्द्रित रहेर यस्तो खालको चलचित्र बनाउन भन्‍ने प्रस्ताव कलाकारले राख्न सक्दैनन् ?
राख्छौं । मेरो हकमा कुरा गर्दा म त राखिरहेको हुन्छु । मलाई यस्ता चलचित्र गर्न मन पनि छ । म आफैं प्रोडक्सनमा आइसकेको भएर पनि यो लोभ मलाई लाग्छ । क्यारेक्टर रोलका लागि कलाकारहरू एकदम लोभी हुन्छन्, स्वाभाविक रुपमा म पनि छु । हामीलाई पनि कति हिन्दी, अंग्रेजी, कोरियन, नाइजेरियन चलचित्र हेर्दा ओहो यस्तो रोल गर्न पाए हुन्थ्यो भन्‍ने लाग्छ ।

धेरै पर जानै पर्दैन छपाक र पद्‍मावत् हेरेर हामीले पनि यस्ता कथाहरू गर्न पाए हुन्थ्यो । हामीले पनि मोर्डन सीताको रोल गर्न पाए हुन्थ्यो, मोर्डन वा त्यहीबेलाको मुनाको रोल गर्न पाए हुन्थ्यो भन्‍ने लाग्छ । जसमा मनोरञ्जन, कमर्सियल भ्यालु र म्यासेज पनि छ । तर, बनाउने कसले त ?
 
मनोरञ्जन, कर्मियल भ्यालू र सन्देश तीनै पक्ष समानान्तर रुपमा हुने चलचित्र बनाउन निर्माताहरू किन आउनुहुन्न ?
किन त्यो त म भन्न सक्दिनँ । म जति पनि पछिल्लो पुस्ताका मेकर जो सिनेमा पढेर आउनुभएको छ, जोसँग हामी सँग काम गर्न खोजिरहेका छौं । उहाँहरूसँग आउट स्ट्यान्डिङ स्क्रिप्टहरू छन् तर कसले लगानी गर्ने ? त्यसलाई विश्वास गर्ने मान्छे छैन । त्यही भएर अहिले सानो बजेटका इन्डिपेन्डेन्ट मुभीहरू बन्नु जरुरी छ । जसले कन्टेन्टलाई हिरो बनाउनु पर्‍यो । 
तस्बिर : ऋचाको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro