site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
यशराज फिल्म्स् : आधा शतकदेखि फिल्मी सपनाका व्यापारी
Sarbottam CementSarbottam Cement

बीबीसी । फिल्म अध्ययनको बाइबल मानिने जेम्स मोनाकोको पुस्तक ‘हाउ टु रिड ए फिल्म’ मा लेखकले हिन्दी फिल्मलाई भौगोलिक सिनेमा स्ट्रिपभन्दा शैलीगत फिल्म ठान्दछन् । यसलाई ‘म्युजिकल मेलोड्रामा’ को विधामा राखेका छन् ।

यो पनि होइन कि हिन्दी फिल्ममा- जसलाई हामी बलिउड भन्छौं- भावनात्मक फिल्म मात्र भावनाहरूले बनेका हुन्छन् । तर ‘संगीत प्रधान भावनात्मकता’ बलिउडको विशिष्ट विशेषता हो, सायद यसलाई कसैले अस्वीकार गर्ने छैनन् । यशराज चोपडा फिल्म निर्माताहरूबीच अग्रपंक्तिमा देखिन्छन् जसले हृदयस्पर्शी संगीत, हार्दिक भावना र ‘बहुमुखी’ किसिमका रोमान्समार्फत विश्वव्यापी मान्यतालाई मूलधारको हिन्दी सिनेमामा प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेले ।

‘यशराज फिल्म्स्’ :
जति पनि फिल्महरूमा यश चोपडा, एक निर्माता वा निर्देशकका रूपमा जोडिएका थिए, ती फिल्महरू ‘भाव पक्ष’ वा रोमान्सको केन्द्रमा छन् । निकै अघि इन्‍डिया टुडेसँग कुरा गर्दा उनले भनेका थिए- “रोमान्स कहिल्यै अन्त्य नहुने फेसन हो ।” सिनेमाको कला र शिल्पका बारेमा उनको यही सोचले यशराजको फिल्मलाई धेरै अगाडि पुर्‍याउँदै भिन्‍न किसिमको ‘शैली’ वा ‘प्रवृत्ति’ सिर्जनलाई स्थापित गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

५० को दशकमा लाहोरमा जन्मिएका यश चोपडा, आफ्ना दाइ बीआर चोपडाका साथमा यात्रा गर्दै प्रसिद्ध निर्देशक आईएस जौहरको सहायकका रूपमा आबद्ध भए । सन् १९५९ मा उनको पहिलो निर्देशित फिल्म ‘धुल के फूल’ प्रदर्शनमा आयो ।

उनले यसै फिल्मबाट जीवनको पहिलो फिल्मफेयर अवार्ड पनि प्राप्त गरे । त्यसपछि जेठा दाइ बीआर चोपडाको ब्यानर बीआर फिल्म्सका लागि ‘धर्मपुत्र’ (सन् १९६१) र ‘वक्त’ (सन् १९६५) जस्ता प्रख्यात फिल्महरूको निर्देशन गरे ।

Global Ime bank

सन् १९७० मा उनले स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे र यशराज फिल्म्स्‌को जग राखे । यशराज फिल्म्स्‌को ब्यानरबाट पहिलो फिल्मका रूपमा सन् १९७३ मा ‘दाग’ प्रदर्शनमा आयो । राजेश खन्‍ना, राखी र शर्मिला टैगोरद्वारा अभिनीत यो फिल्म तथा यसका गीत, संगीत र भावुक कथानकले फिल्मप्रेमीहरूलाई मोहित बनायो ।

त्यसपछि, सन् १९७५ मा यशराज ब्यानरको दोस्रो फिल्म ‘दिवार’ प्रदर्शनमा आयो र रातारात ‘कल्ट’ को दर्जा प्राप्त गर्‍यो । उल्लेख्य कुरा के हो भने, फिल्म ‘जंजिर’मार्फत जसरी अमिताभ बच्चन ‘एंग्री यंग म्यान’ छवि लिएर चर्चामा आएका थिए, त्यसलाई ‘दिवार’ले ७० को दशकमा ‘फिल्मी ट्रेड मार्क’ बनाइदियो ।

वास्तवमा यहीँबाट यश चोपडा र उनको ब्यानरले उचाइ लिन थाल्यो । त्यसपछि यशराजको अर्को फिल्म ‘कभी कभी’ (सन् १९८०) प्रदर्शनमा आयो ।

यश चोपडाले एउटा कविको व्यक्तिगत र सामाजिक जीवनलाई पर्दामा चित्रांकित गरेका थिए । भनिरहनु पर्दैन, यस फिल्मले हिन्दी सिनेजगत्‌मा रोमान्सलाई त्यसैगरी परिभाषित गर्‍यो, जसरी कुनैबेला धर्मवीर भारतीको उपन्यास ‘गुनाहों के देवता’ले हिन्दी उपन्यासका क्षेत्रमा गरेको थियो ।

वास्तवमा यही फिल्मबाट यश चोपडा र उनका फिल्महरूले रोमान्सलाई फिल्मको केन्द्रीय विषयवस्तु बनायो । १९८१ मा उनको फिल्म ‘सिलसिला’ आयो जसमा प्रेम, पारिवारिक जिम्मेवारी, विवाहपछिको बाह्‍य सम्बन्ध र सामाजिक संस्थाका रूपमा विवाहलाई सूक्ष्म ढंगले पर्दामा देखाइएको थियो ।

नि:सन्देह आर्थिक मापदण्डमा यो फिल्म औसत रह्‌यो, तर अमिताभ, रेखाको ‘केमेस्ट्री’, भावनात्मक गीत-संगीत र प्रस्तुतिको रोचक शैलीले फिल्मलाई बेजोड बनायो । यी दुवै फिल्मका बीचमा यश चोपडाले १९७९ मा एक्सन ड्रामा फिल्म ‘काला पत्थर’ को निर्माण गरे । जुन फिल्म पनि सुपरहिट भयो । अमिताभ बच्चन, शशि कपुर, शत्रुघ्‍न सिन्हा, परविन बाबी, रेखा, नीतू सिंहजस्ता कलाकारहरू अभिनित यो फिल्म सफल फिल्मकारूपमा स्थापित भयो । 

असफल समय :
८० को दशक यश चोपडा र यशराज फिल्म्स्‌का लागि विशेष हुन सकेन । तर उनको ब्यानरको फिल्मले १९८९ मा एउटा अर्को मोड लियो । फिल्म थियो ‘चाँदनी’ । ऋषि कपुर, विनोद खन्‍ना, श्रीदेवी, वहिदा रहमानजस्ता कलाकारहरूको अभिनय र मन छुने संगीत अनि विषयवस्तुले यो फिल्मलाई सफलताको शिखरमा पुर्‍यायो ।

‘चाँदनी’ पछि यशराजको अर्को फिल्म ‘डर’ (१९९३) प्रदर्शनमा आयो । यद्यपि प्रेम कथामा बनेको यस फिल्ममा धेरै प्रसिद्ध कलाकारहरू थिए, तर एकजना नयाँ कलाकारलाई यसले हिन्दी फिल्मी जगतको सुपरस्टार बनाइदियो । ती कलाकार हुन्, शाहरूख खान ।

यसै फिल्मबाट शाहरूख खान र यशराज फिल्म्सका बीचमा एउटा अटुट नाता जोडिन पुगेको थियो ।

ग्लोबल यशराज :
सन् १९९५ मा यश चोपडाका जेठा छोरा आदित्य चोपडाले निर्देशकको रूपमा फिल्मी जगत्‌मा प्रवेश गरे । उक्त फिल्मको कथामा गैरआवासीय भारतीय युवक र युवतीको रोमान्स बुनिएको थियो । यस फिल्मले हिन्दी सिनेमामा सफलताको सबै रेकर्ड तोडेको थियो । यशराज फिल्म्स्‌को ब्रान्‍डलाई विश्वव्यापी बनाएको थियो । यो रेकर्ड तोड्ने फिल्म थियो ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ ।

यस फिल्मको लोकप्रियता यतिसम्म रह्‌यो कि यो फिल्म मुम्बईको मराठा मन्दिरको सिनेमा हलमा एक हजार साताभन्दा बढी समयसम्म प्रदर्शनमा रह्‍यो । ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ ले एकातिर हिन्दी सिनेमा उद्योगलाई नयाँ ‘वैश्‍विक’ मार्ग पनि देखायो ।

पहिले यशराज फिल्म्स्‌को क्षेत्र फिल्म निर्माणमा मात्रै सीमित थियो । पछि बिस्तारै स्टुडियो, संगीत उद्योग, वितरणजस्ता क्षेत्रमा यसको दायरा बढ्दै गयो । यद्यपि यश चोपडा निर्माता र निर्देशकका रूपमा आफ्नो जीवनकालभरि सक्रिय भए पनि आदित्य चोपडाले आफ्नो सक्रियता र विवेकले यशराज फिल्मसलाई बहुपक्षीय रूपमा विस्तारित गर्दै लगे ।

सन् २००० पछि, यो ब्यानरले ठूलो संख्यामा फिल्महरू निर्माण गर्न थाल्यो । आजका धेरै प्रसिद्ध निर्देशकहरू र कलाकारहरू यस ब्यानरअन्तर्गत फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।

निर्देशकहरूको सूचीमा शाद अली, कुणाल कोहली, विजय कृष्ण आचार्य, सिद्धार्थ आनन्दजस्ताको नाम लिन सकिन्छ । त्यस्तै रणवीर कपूर, अनुष्का शर्मा, परिणति चोपडा, अर्जुन कपुर आदि कलाकारहरूको सूची पनि यहाँ उल्लेखनीय छ ।

सांस्कृतिक वर्चस्व :
आर्थिक सफलतालाई हेर्ने हो भने यशराज फिल्म्सको ब्यानरका फिल्महरूले आफै सफलताको नयाँ रेकर्डहरू सिर्जना गर्दै आएको छ । आफ्नै पछिल्लो रेकर्डलाई उछिन्दै अर्को रेकर्ड स्थापित गरेको छ ।

यश चोपडाको जीवनी लेख्‍ने रसल ड्वायरले उनीबारे लेखेका छन्- उनको (यश चोपडा) नामले नै एउटा विशेष शैलीको प्रतिनिधित्व गर्छ, जुन फिल्म निर्माणमा मात्र सीमित छैन । यसले भारतको संस्कृतिलाई पनि प्रभाव पार्छ ।

उनको नाम रोमान्स, ग्ल्यामर र सौन्दर्यको पर्यायवाची भएको छ । यस सन्दर्भमा उनले ‘यश चोपडा वेडिङ’ र ‘यश चोपडा परिधान’ जस्ता लोकप्रिय प्रवृत्तिलाई पनि उल्लेख गरिएको छ । यशराज फिल्म्स्‌ले यसको प्रभाव विस्तार गर्दै गएको छ ।

यद्यपि यही प्रभावका कारण, कैयन् पटक यशराज फिल्म्स्‌को कार्यशैली, फिल्महरूको वितरण विधिबारे बहस भइरहेको छ । आलोचकहरूको एउटा समूहले कर्पोरेट उद्योगको ‘कर्पोरेटकरण’लाई एकाधिकारवादी रणनीतिका रूपमा पनि हेर्दै आएको छ । 

हालै सुशांतसिंह राजपूतको निधनपछि उठेको ‘नेपोटिज्म’ बहसमा यशराज फिल्म्सको नाम पनि मुछियो । तथापि अनगिन्ती विमर्श, आलोचना-समालोचना झेल्दै पनि यतिबेला यशराज फिल्म्सले ५० वर्ष पूरा गरेको छ ।
(सुन्दरम आनन्द/बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC