
काठमाडौं । काठमाडौंमा आज (असार २२) दिउँसो सामान्य बदली (बादल/वर्षा)को सम्भावना छ । दिउँसो वर्षाको सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“काठमाडौंमा दिउँसो ठूलो वर्षाको सम्भावना छैन । वर्षाको सम्भावना पनि कमै छ,” महाशाखाका मौसमविद् डेविड ढकालले बाह्रखरीसित भने, “कतैकतै हल्का पानी पर्न सक्छ । कतैकतै घाम लाग्न सक्छ ।”
यस दिन राति भने काठमाडौंमा ‘मध्यम’ वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “राति भने वर्षाको सम्भावना छ,” उनले भने, “राति मध्यम वर्षाको सम्भावना छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहान ६ देखि बेलुका ६ बजेको समयलाई दिउँसो भन्ने गरेको छ । बेलुका ६ पछि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई महाशाखाले रातिमा गणना गर्छ ।
देशका केही स्थानमा यस दिन राति भारी/धेरै भारी वर्षाको सम्भावना औँल्याइएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।