पछिल्लो समय काठमाडौं उपत्यकामा अन्य जिल्लाको तुलनामा कोरोना संक्रमण बढ्दै गएको छ । चाडपर्व नजिकै छन् । भिडभाड समेत बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन नसकेको, ’कन्ट्याक ट्रेसिङ’ पनि प्रभावकारी रुपमा गर्न नसकेको, क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न नसकेको गुनासो बढ्दै छ । तर, सरकारले किन कोरोनाको प्रभावकारी नियन्त्रण गर्न नसकेकोलगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग सञ्जिता खनालले गरेको कुराकानी :
नेपालमा कोरोना संक्रमण दैनिक बढ्दो क्रममा छ, अहिले संक्रमण कुन चरणमा पुगेको छ ?
पछिल्लो समय संक्रमणको दर केही बढेको छ । कोरोना संक्रमणको विभिन्न अवस्था हुन्छन् । अहिले नेपालमा देखिएको कोरोना संक्रमण भनेको ’कल्स्टर–अफ’ स्टेज हो । जुन झुन्ड–झुन्डमा संक्रमण देखिएको छ । जस्तै, पहिला उदयपुर, नेपालगञ्ज र पर्सामा जसरी देखिएको थियो त्यसरी नै अहिले काठमाडौं उपत्यकामा देखिएको छ ।
तपाईं ’कल्स्टर–अफ स्टेज’ भन्नु हुन्छ तर विज्ञहरुले त कोरोना संक्रमण समुदायमा गयो भनिरहेका छन् नि त ?
उहाँहरुले नबुझेर भन्नुभएको हो । विज्ञानलाई पढ्नुपर्छ । मानिसहरु जनस्वास्थ्यका कुरा पढेका हुँदैनन् । अनुमानका भरमा भन्ने गर्छन् । पूर्व मेचीदेखि महाकालीसम्म सबैमा एउटै तरिकाको देखिनुलाई समुदायमा संक्रमण फैलिनु भनिन्छ ।
काठमाडौंमा ट्राभल हिस्ट्री नभएका व्यक्ति देखियो भन्दैमा समुदायमा गयो भन्न मिल्दैन । कल्स्टरभित्रको समुदायमा गयो भन्न मिल्छ । कोरोना संक्रमितको तथ्यांक हेर्दा पनि ७५३ पालिकामा ५०० वटा पालिकामा कोरोना संक्रमित देखिएकै छैनन् । अहिले पनि काठमाडौं भित्रिने सबै नाका सिल गरेर १५ देखि २० दिन परीक्षण गरेमा नियन्त्रणमा आउँछ ।
कोरोना समुदायमा पुगेको छ कि छैन भन्नलाई समुदायमा परीक्षण भएको छ त ?
अहिलेको परीक्षण भनेको ’कन्ट्याक ट्रेसिङ’ नै हो । काठमाडौंमा शिक्षित मानिसहरु बस्ने हुँदा कोही व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु तुरुन्तै कोरोना परीक्षण गर्छन् । मानौं, म कोरोना संक्रमित भए । म घरमै होम आइसोलेसनमा बस्छु । मेरो सम्पर्कमा आएका घरका पाँचजना सदस्यहरु घर बाहिर निस्किनु पर्दैन भने परीक्षण गर्नुपर्दैन ।
’कन्ट्याक ट्रेसिङ’ त हुँदै भएन भन्छन्, किन सरकारले गर्न नसकेको हो ?
काठमाडौंमा मानिसहरुले ’कन्ट्याक ट्रेसिङ’ स्वस्फुर्त गरेका छन् । एक परिवारमा ५ जना छन् भने एक जनालाई कोरोना संक्रमण देखिएमा अन्य चारजनाले आफैं परीक्षण गर्छन् । ’कन्ट्याक ट्रेसिङ’ राम्रो भएन भन्नु गलत हो । अर्को ’कन्ट्याक ट्रेसिङ’भन्दा पनि क्वारेन्टिन महत्वपूर्ण हो । यदि मानिस क्वारेन्टिनमा बसेमा यो सर्दैन । काठमाडौंमा कोरोना आफैं उत्पत्ति त भएको होइन ।
नेपालमा कोरोना भारतबाट आएका व्यक्तिहरुले विभिन्न जिल्लामा ल्याए । विभिन्न जिल्ला र भारतबाट आउने व्यक्तिले काठमाडौंमा कोरोना सारेको देखिन्छ । यदि बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा राम्रोसँग राख्न सकेको भए संक्रमणको दर बढ्ने थिएन । राम्रोसँग मास्क लगाएर र दुई मिटरको दूरी कायम गरेमा कोरोना सर्दैन । वास्तवमा महत्वपूर्ण कुरा पनि यही हो ।
हामी आईसीयू र भेन्टिलेटरको कुरा गर्न अगाडि छौं । तर एउटा मास्क लगाउने र दूरी कायम गर्न हामी जान्दैनौं ।
कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसरी काम गर्नुपर्नेमा त्यसरी गरिहेको देखिँदैन नि !
स्वास्थ्य मन्त्रालयले धेरै राम्रो काम गरेको छ । उदारणका लागि चीनमा ९१ हजार १७० कोरोना संक्रमित हुँदा चार हजार ७४६ जना कोरोनाबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमित संख्या ९० हजार ८१४ जना हुँदा मृत्यु त ५६३ मात्र छ नि । यदि स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणमा राम्रो काम नगरेको भए मृत्युको अवस्था अहिले के हुन्थ्यो ?
कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुग्न लामो समय लाग्यो । त्यो समयमा आईसीयू, भेन्टिलेटर र बेडहरु थपिएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिन सकियो । चैततिर बिरामीलाई स्वास्थ्यकर्मीहरुले छुनै मान्दैन थिए । अहिले राम्रोसँग सेवा दिइरहेका छन् । मृत्युदर हाम्रोमा कम छ । सबै अस्पतालमा आईसीयू बेड थप्नका लागि बजेट पठाइएको छ । हरेक पालिकामा पाँच–पाँच शैय्याको अस्पताल बनाउँदैछ । कति पालिकामा अस्पताल सुरु भइसकेका छन् । कोरोना संक्रमितको उपचार निःशुल्क गरिरहेको छ ।
देशैभर कोरोना परीक्षण गर्न ५६ स्थानमा पीसीआर भइरहेको छ । अहिले हामी २० देखि २२ हजार कोरोना परीक्षण गर्न सक्ने क्षमता छ । अहिले दैनिक १२ देखि १३ हजार कोरोना परीक्षण गरिरहेका छौं ।
हामीसँग कोरोना परीक्षण गर्ने क्षमता २० देखि २२ हजार छ भन्नुहुन्छ, किन गरेका छैनौं त ?
नेपाल जस्तो गरिब देशले निःशुल्क परीक्षण गरिरहेको छ । संसारको कुन देशले यसरी हाम्रोजस्तो निःशुल्कमा उपचार गर्छ ? यसरी बिरामीलाई फ्रिमा परीक्षण र उपचार गर्ने कुनै देश छ ? नेपालजस्तो गरिब देशले यसरी निःशुल्क परीक्षण र उपचार गरेको छ । एउटा बिरामीलाई आईसीयूमा राख्नुप¥यो भने सरकारले त्यो अस्पताललाई चार लाख ५० हजार दिन्छ ।
सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण बढ्यो भन्नुहुन्छ तर अहिले सिंहदरबार र बालुवाटारमा पनि कोरोना संक्रमण देखियो त्यहाँ नि के जनस्वास्थ्यको मापदण्ड पालना भएन त ?
बालुवाटार र सिंहदरबारमा पनि त मान्छे हुन्छन् नि ! मानिसले आफ्नो बानी त परिवर्तन नगर्दा संक्रमण देखियो । भाइरसले बालुवाटार र सिंहदरबारमा बस्ने त भन्दैन । कोरोनाबाट बच्ने उपाय त सबैले पालना गनैपर्छ ।
बालुवाटार कोरोनाको केन्द्र कसरी बनेको रहेछ ? सरकारले केही अनुसन्धान गर्यो ?
बालुवाटारमा कोरोना संक्रमण देखिनुका तीन कारण हुन सक्छन् । पहिलो नम्बरमा उपचार गर्न आउने चिकित्सक हुन सक्छन् । अस्पतालमा संक्रमण भएको हुन सक्छ । दोस्रो नम्बरमा बालुवाटार जाने पार्टीका कार्यकर्ता । तेस्रो नम्बरमा सेक्युरिटी गार्डबाट हुन सक्छ । थप सबैको कोरोना परीक्षणको रिपोर्ट आएपछि थाहा हुन्छ ।
कोरोनाका बिरामीले उपत्यकामा तोकिएका अस्पतालहरुका आईसीयू भरिएका छन्, सरकारको अबको योजना के छ ?
यसरी नै कोरोना संक्रमण बढ्दै गएमा बेड नपाउने अवस्था आउँछ । त्यसका कारण बच्ने उपायमै हामीले ध्यान दिनुपर्छ ।
अहिले लक्षणसहितका संक्रमित बेड नपाएर घरमै बस्न बाध्य छन् नि त ?
हामीले यस्तो अवस्था आउँछ भनेर पहिल्यै भनेका थियौं । जबसम्म जनस्वास्थ्यको मापदण्डको पालना गरिँदैन । यो रोग नियन्त्रणमा आउँदैन । धेरैलाई कोरोना उपचार गरे निको होला । आईसीयू र भेन्टिलेटर यसको उपचार हो, भन्छन् । तर यो गलत हो ।
यसको कुनै पनि उपचार छैन । बिरामीलाई लक्षणका आधारमा जस्तैः श्वासप्रश्वासमा समस्या देखिएमा अक्सिजन दिने, खाना नसकेमा स्लाइन दिने वा नाकबाट पाइप लगाएर दिने, ज्वरो आएमा पारासिटामोल दिने भनेको सपोर्ट मात्र हो । तर उपचार होइन । बिरामीको शरीरमा रहेका रोगका विरोधमा लड्ने शक्तिले जितेमा मात्र निको हुने हो ।
यसको उपचार छैन । त्यसकारण जबसम्म औषधि वा खोप बन्दैन तबसम्म रोकथामका उपायहरुमै जोड दिनुपर्छ ।
दसैं तिहार आउँदैछ, सबैजना गाउँ फर्किँदैछन् । अहिले काठमाडौं असुरक्षित त्यसपछि गाउँ असुरक्षित हुने देखियो नि, सरकारको योजना के छ ?
यो रोगले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी असर गर्छ । काठमाडौंबाट जानेले गाउँ असुरक्षित बनाउने भए । काठमाडौंमा फैलिएको कोरोनाभाइरस गाउँघरमा बसेका ज्येष्ठ नागरिकलाई सार्ने भए । म त ’हामी जहाँ छौं, त्यही बसेर चाडपर्व मनाउन अनुरोध गर्छु । चाडपर्व अर्को वर्ष पनि आउँछ नि ।
सरकारको काम भनेको जनतालाई कोरोनाको बारेमा जानकारी दिने सुसूचित गर्ने हो । सरकारले सबैलाई लठ्ठी लगाएर प्रजातान्त्रिक देशमा सम्भव छैन । सरकारको काम भनेको जनतालाई जानकारी दिने र सम्झाउने हो । यदि बिरामी भइहालेमा उपचार गरिदिने काम हो, सरकारको । सरकारले हरेक व्यक्तिको नाक र मुखमा मास्क लगाउन त सक्दैन नि !
कोरोनाका बिरामी २५ हजार पुग्नासाथ लकडाउन गर्ने भन्नुभएको थियो, अब कहिलेदेखि लकडाउन हुन्छ ?
लकडाउन हुन सक्छ । संक्रमण कुन दरमा फैलिन्छ । त्यसले पनि केही निधारर्ण गर्छ । बिरामीले बेड नपाउने, लक्षणसहितका अझ आईसीयू र भेन्टिलेटर चाहिने बिरामी बढेमा मात्र लकडाउन गर्ने अवस्था आउला । अन्य अक्सिजन चाहिने बिरामीलाई समस्या आउँदैन । घरमा बस्ने सुविधा नभएकालाई आइसोलेसनमा राख्न सकिन्छ । आइसोलेसनको क्षमता बढाउन सकिन्छ । जुन अहिले कोरोना अस्पताल तोकेर नै संक्रमितको उपचार भइरहेको छ । थप कुनै अस्पताल तोकेर राख्न सकिन्छ ।
लकडाउन हुँदा स्वरुप कस्तो हुन्छ ?
लकडाउन देशभर हुँदैन । जुन स्थानमा बढी संक्रमित छन् । ती स्थानमा हुने हो ।
नेपालमा चीन, रुस र बेलायतमा तेस्रो चरणमा पुगेका खोप ’क्लिनिकल ट्रायल’ गर्ने भनेका थियौं, तर त्यो पनि अहिले सम्म हुन सकेको छैन नि ?
खोपको क्लिनिक ट्रायल गर्दा थोरै जनसंख्यामा गरिने हो । त्यसकारण क्लिनिकल ट्रायल गर्नु र नगर्नुमा खासै फरक पर्दैन ।
विश्व बजारमा आएको कति समयमा नेपालले खोप ल्याउँछ ?
नेपालको २० प्रतिशत जनसंख्यालाई गाभीको (कोभ्याक्स ) संस्थाले नेपाललाई दिन तयार छ । हामीलाई दिने भनेर पत्र समेत पठाएको छ । हामीले २० प्रतिशत जनसंख्या कुन–कुन समूहका लागि दिने भनेर हामीले छान्नुपर्छ । हाम्रो योजना विशेष गरेर ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मीहरु (जो बढी धेरैलाई भेट्नुपर्छ) तिनीहरुलाई दिइनेछ ।
बाँकी ८० प्रतिशत सरकारले किन्ने हो । त्यसको लागि फन्डको व्यवस्था गर्दैछौं । जुन खोप अन्तर्राष्ट्रिय रुपमा सुरक्षा र प्रभावकारी हुन्छ । त्यो खोप पनि नेपालले तुरुन्तै ल्याउँछ ।
कोरोनाबाहेका अन्य बिरामीले अस्पतालमा उपचार पनि पाउन सकेको अवस्था छैन, अस्पताल पुगेकाले पनि महँगोमा शुल्क तिर्नुपरेको छ नि ?
सरकारी अस्पतालमा गएमा बढी पैसा तिर्नुपदैन । निजी अस्पताल किन जाने त ? सरकारी अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्छ भन्नु गलत हो । सरकारी अस्पतालमा पहिलाको तुलनामा अहिले कुल बिरामीको २० प्रतिशत मात्र आएका छन् ।
अझै पनि लक्षणसहितका व्यक्तिले समेत पीसीआर पाउन नै गाह्रो छ नि ?
दैनिक ११ हजार देखि १२ हजारको कोरोनाको पीसीआर परीक्षण भइरहेको छ । कसरी गाह्रो छ ? अहिले १० लाखको कोरोना परीक्षण भएको छ । जसमा डेढ लाखले पैसा तिरेर गरे होला । अन्य सबै त निःशुल्क नै परीक्षण भएको छ नि ?
काठमाडौं बचाउन सरकार के गर्दैछ ?
यदि मानिसहरुले अझै लापरबाही गरेमा कोरोना संक्रमण अझ उपत्यकामा बढ्छ । संक्रमण बढ्न भर्खर सुरु हुँदैछ । काठमाडौंको जनसंख्या ५० लाख छ । संक्रमित ३२ हजार ८७ जना पुगेका छन् । मास्क नलगाउने दूरी कायम नगर्ने तर सरकारले गरेन भन्ने ? सबैले मैले मेरो परिवार जोगाउन बच्ने उपाय अपनाए कि अपनाइएन भन्ने कुरामा ध्यान दिए संक्रमण हुनबाट जोगाउन सकिन्छ ।
सरकारले कोरोनाबाट बच्ने उपायकाबारेमा पटक–पटक जानकारी दिने कार्य गरिरहेको छ ।
अहिले हामीसँग कति आईसीयू र भेन्टिलेटर छन् त ?
आईसीयू बेड पहिला एक हजार ५५१ थियो भने थपेर अहिले दुई हजार ६०० छन् । भेन्टिलेटरको संख्या पहिला ७७० थियो भने अहिले ९०० रहेको छ । १२० भेन्टिलेटर पाइपलाइनमा छ । यसरी नै कोरोना संक्रमितको संख्या बढेमा हाम्रो आईसीयू र भेन्टिलेटरले भ्याउदैन ।
कोरोनाबाट बच्न के गर्ने त ?
कोरोना महामारीमा सबैजना मिलेर लड्नुपर्छ । कोरोनालाई अझै पनि मानिसहरुले ख्याल–ख्याल गरिरहेका छन् । कोरोना युरोपियन देशहरुमा पुनः दोस्रो लहर चलेको छ । एक सय वर्षपछि यस्तो गाह्रो परेको थिएन । जुन अहिले परेको छ । यस रोगको खोप आइदिए हुन्थ्यो । खोप नबनेसम्म मास्क, भौतिक दूरी, हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र भिडभाडमा नजाने नै यसको बच्ने प्रमुख उपाय हो ।
पीसीआर परीक्षण लागि ३ देखि ४ दिनसम्म रातभरभरिमा लाइन बस्नुपर्ने थियो, त्यसरी गरिएको पीसीआर परीक्षणको के अर्थ हुन्छ त ?
जुन टेकु अस्पतालमा परीक्षणको भिड थियो । त्यहाँ रक्सौल र भारतबाट आएर जसरी परीक्षण गरे । काठमाडौं आएको भोलिपल्ट परीक्षण गरेका थिए । जसले गर्दा कोरोना नेगेटिभ आयो भनेर ढुक्क भए । तर ५ देखि ७ दिनमा कोरोना पोजेटिभ देखिन्छ, अरुलाई सर्छ यो कुराको ख्याल गरिएन ।