site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिंगापुरमा कोरोना महामारीमा बच्चा जन्माउन प्रोत्साहित गर्न पैसा दिइने

सिंगापुर । कोरोना भाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिंगापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ ।

आर्थिक संघर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ । महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति रकम उपलब्ध गराइनेछ भन्‍नेबारे विस्तृत विवरण चाहिँ सार्वजनिक भएको छैन ।

बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिंगापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम दिन लागिएको हो । सिंगापुरमा संसारकै कममध्ये जन्मदर छ । जसलाई बढाउन दशकौंदेखि सरकार संघर्षरत छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोनाभाइरस महामारीलाई लिएर गरिएको लकडाउनका बेला फिलिपिन्स र इन्डोनेशियाजस्ता छिमेकी देशमा गर्भवती हुनेहरूको संख्यामा व्यापक वृद्धि हुन सक्ने बताइँदै गर्दा सिंगापुरमा त्यसको विपरीत अवस्था देखिएको छ ।

“कोभिड-१९ का कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले त्यो योजनालाई स्थगित गर्न चाहेको हामीले प्रतिक्रिया पाएका छौं,” सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले सोमबार भने ।

महामारीका बेला बच्चा पाउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराउने विषयमा पछि जानकारी गराइने उनले बताए । सिंगापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १०,००० अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ ।

सन् २०१८ मा सिंगापुरमा प्रजननदर आठ वर्षयताकै सबैभन्दा कम अर्थात् प्रतिमहिला १.१४ थियो । धेरै एसियाली मुलुकले प्रजननदरमा यस्तै समस्याको सामना गर्दै आएका छन् र कोरोना भाइरस महामारीका बेला यो समस्या झन् दयनीय हुन सक्ने बताइन्छ ।

यसै वर्षको आरम्भतिर चीनमा प्रजननदर ७० वर्षअघि चिनियाँ जनगणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून बिन्दुमा झरेको थियो । निकै आलोचित 'एक सन्तान' नीतिमा खुकुलोपन ल्याइए पनि त्यस्तो समस्या देखिएको हो ।

तर सिंगापुरका केही छिमेकी देशमा उल्टो खालको समस्या देखिएको छ ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका अनुसार फिलिपिन्समा यदि महामारी नियन्त्रणका लागि हिँडडुलमा प्रतिबन्धहरू यो वर्षको अन्त्यसम्म कायम रहे पाँच लाखदेखि २५ लाखसम्म अनिच्छित गर्भ रहनेछ ।

“यो संख्या आफैंमा एउटा महामारी हो,” फिलिपिन्सस्थित राष्ट्रसंघीय निकायका प्रवक्ता ऐमी सान्तोसले गत महिना भनेका थिए । दक्षिणपूर्वी एशियाली मुलुकमध्ये फिलिपिन्सको जनसङ्ख्या दोस्रो ठूलो अर्थात्‌ १० करोड ८४ लाख छ । - बीबीसी 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्