
किभ (युक्रेन) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको जानकारी दिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको बताए । रुसी आक्रमणपछि युक्रेनभरि हवाई साइरन बजेको थियो । राजधानी किभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो ।
युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइलमध्ये धेरैलाई नष्ट गरेका थिए । किभमा कम्तीमा २६ नागरिक घाइते भएका छन् ।
किभस्थित पोल्यान्डको दूतावासमा समेत क्षति पुगेको छ । कर्मचारीहरू सुरक्षित छन् ।
रुसले आफ्नो उद्देश्य शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको जनाएको छ । आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने रुसले जनाएको छ ।
त्यसै दिन युक्रेन र रुसबीच बन्दी साटासाट पनि गरिएको छ । त्यो कार्य अघिल्लो वार्ताको निरन्तरता हो । रासस/एएफपी