
गाजा । हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नका निम्ति युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अरू प्यालेस्टाइनी पक्षसँगको परामर्शपछि गरिएको हो ।
त्यसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रस्तावित अमेरिका भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका निम्ति पहल गर्न आग्रह गरेका छन् ।
हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लिखित सर्तलाई सकारात्मक रूपमा लिइएको र वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
हमासमा आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्ताप्रति समर्थन जनाएको छ । इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट निश्चितता आवश्यक भएकामा उसले जोड दिइएको छ ।
हमासको घोषणाबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक संकेतका रूपमा लिँदै द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको थियो । त्यस दिन हमासले इजरायली क्षेत्रमा हमला गरेको थियो ।
युद्धविरामका निम्ति यसअघि पनि दुईपटक अस्थायी सहमति भएको थियो । त्यति बेला इजरायली बन्धक र प्यालेस्टाइनी कैदीलाई मुक्त गरिएको थियो ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले हाल गाजामा रहेका सबै इजरायली बन्धकलाई सुरक्षित घर फर्काउने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले गाजाका सर्वसाधारणको सुरक्षाका निम्ति आफू गम्भीर रहेको धारणा व्यक्त गरेका छन् । रासस/एएफपी