site stats
बाह्रखरी :: Baahrakhari
देश
यी प्रदेशमा आज ‘धेरै भारी’ वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशभर आज (असार २२) आंशिकदेखि साधारणतया बदली (बादल/वर्षा)को पूर्वानुमान गरिएको छ । केही स्थानमा ‘धेरै भारी’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन दिउँसो कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

“बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस दिन राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी/धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् डेविड ढकालले धेरै वर्षाको सम्भावना दिउँसोभन्दा राति बढी रहेको जानकारी दिए । अरू केही मौसमविद्ले पनि आज बेलुका/राति पश्चिम नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०६:१४
प्रतिक्रिया दिनुहोस्