site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Dabur Nepal

व्यक्तिको र त्यसमा पनि नेतृत्वको व्यवहारले संगठनको छवि बिग्रने वा सप्रने गर्छ । यसैले व्यक्तिको दुर्गुणका लागि सिंगो संस्थालाई दोष दिनु सायद उचित हुँदैन । यद्यपि, व्यक्तिको आचरण पनि संगठनको तालिम र दीक्षामा धेरै हदसम्म निर्भर हुन्छ । नेपाल प्रहरीका प्रसंगमा सायद यो उदाहरण सटीक होला । प्रदेश नम्बर २ मा बलात्कारका घटना गाउँमै सामसुम पार्ने ‘पञ्च’हरूलाई प्रहरीले पक्रेको समाचार सार्वजनिक भएको छ । केही साता पहिले बलात्कारको अपराधमा पनि गाउँलले मिलापत्र गर्न दबाब दिएपछि सप्तरी डाक्नेश्वरी — ७ की पीडित किशोरीले आत्महत्या गरेकी थिइन् । किशोरीको आत्महत्याको समाचार सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नहरूलाई पक्रेको थियो । यसैगरी सिरहाको विष्णुपुर — १ मा पनि बलात्कारको अपराध गाउँमै मिल्न दबाब दिनेहरूलाई प्रहरीले पक्राउ गरेको छ । विगतमा यस्ता कतिपय घटनामा स्थानीय प्रहरीसमेतको संलग्नता रहने गरेको सन्दर्भमा अहिलेको नेपाल प्रहरीले सराहनीय सक्रियता देखाएको छ । 

कर्णालीको हुम्लाबाट आएको समाचार भने निराशाजनक छ । हुम्लाको सिमकोट–७ की एक महिलालाई परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाएर केही दिन पहिले गाउँलेहरूले कुटपिट गर्नुका साथै कपाल खौरेर उनलाई मानव मलमूत्र खुवाए । गाउँलेहरूले अमानवीय अपराध गरेको थाहा पाएपछि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर पीडित महिलाको उद्धार गरेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान गरी कारबाही चलाउन प्रहरी टोली सम्बन्धित गाउँमा गयो । प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार गर्दा ती महिलामाथि गरिएको अमानवीय अत्याचारको विवरण उल्लेख गरेन । गाउँका ठालुहरू र स्थानीय प्रतिनिधिकोे दबाबमा परेर प्रहरीले गलत मुचुल्का बनाएको छ । समाचारअनुसार मुचुल्कामा स्थानीयले ‘दिसा खुवाएको’ उल्लेख गर्न नदिएको प्रहरीले बताएका छन् । महिलालाई मानव मलमूत्र खुवाउनेजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूको दबाबमा प्रहरीले गलत मुचुल्का बनाउनु पक्कै पनि निन्दनीय कार्य हो ।

विडम्बना, प्रदेश नम्बर २ मा बलात्कार पीडितहरूका पक्षमा नेपाल प्रहरीका जवान र अधिकृतले सराहनीय सक्रियता देखाए भने हुम्लामा पीडकहरूको प्रभाव वा प्रलोभनमा परेर अपराधी जोगिने गरी गलत मुचुल्का तयार गरे । हुम्लाका प्रहरीले स्थानीयले ‘दबाब’ दिएको र ‘झडप’ हुनसक्ने बताए पनि त्यसले मुचुल्काबाट मानव मलमूत्र खुवाएको अपराध लुकाउन गरिएको कुकर्मको औचित्य पुष्टि हुँदैन । मुचुल्काबाट मूल अपराध हटाउन प्रहरीलाई दबाबभन्दा लोभले बढी प्रभावित पारेको अनुमान सहजै गर्न सकिन्छ । यसरी मुचुल्कामा मूल विषय नै छुटाइएपछि मुद्दा स्वतः कमजोर हुनपुग्छ । वयस्क महिला र पुरुषबीच स्वेच्छाले भएको यौन सम्बन्ध दण्डनीय अपराध मानिन सक्तैन । त्यस्तो घटनामा पनि महिलालाई कपाल खौरेर मानव मलमूत्र खुवाएर गाउँ घुमाउनु मध्ययुगीन बर्बरता हो । यस्तो बर्बर कार्य अझै पनि नेपालका गाउँहरूमा हुनु अत्यन्त दुःखको विषय हो । त्यसमा पनि जनप्रतिनिधिहरू अपराधमा संलग्न हुने र प्रहरीले तिनलाई उन्मुक्ति दिने गरी मुद्दा कमजोर बनाउनु झन् बढी चिन्ता र आपत्तिको विषय हो । नेपाल प्रहरीले सबैतिर नागरिकको मानव अधिकारको रक्षामा समान व्यवहार गनुृपर्छ । केन्द्रले हस्तक्षेप गरेर पनि हुम्ला प्रहरीको गलत अभ्यास सच्याओस् । मुचुल्का कमजोर बनाइएकै कारण पीडित महिलाले न्याय पाइनन् वा पीडकहरूले उन्मुक्ति पाए भने यसको कलंक नेपाल प्रहरीमाथि लाग्नेछ ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro