० ० ०
११ वर्षअघि ‘मेरो एउटा साथी छ’ बाट उत्तम न्यौपानेले चलचित्रमा साउन्ड डिजाइनरको काम सुरु गरे । तर त्यसभन्दा पहिला उनले ‘अवेकन आइज’ नामक सर्टमुभीमा काम गरिसकेका थिए । ११ वर्षको दौरानमा उनले ८० भन्दा धेरै चलचित्रमा साउन्डको काम गरिसकेका छन् । आफैंले काम गरेकामध्ये उनलाई मन परेका चलचित्र ‘बुलबुल’, ‘टलकजंग भर्सेज टुल्के’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘बिजुली मिसिन’ र ‘सफर’ हुन् । सर्ट मुभी ‘ददिया’को साउन्ड आफूलाई औधी मन परेको बताउने उत्तम बाँकीमा आफ्नै काम मन नपरेको बताउँछन् । समय र स्वतन्त्रताको अभावसँगै भ्यालु नदिने निर्देशक तथा निर्माताका कारण नेपाली चलचित्रमा साउन्डको काम कमजोर हुने उनी बताउँछन् । उनलाई केही दिनअगाडि मात्रै ‘सिनेमा अडियो सोसाइटी’ ले आफ्नो सक्रिय सदस्य (एक्टिभ मेम्बर) मा छनोट गरेको थियो । अब उनले आफ्नो नामको पछाडि सीएएस लेख्न पाउनेछन् । साउन्डमा काम गर्नेहरूका लागि यो नै सबैभन्दा ठूलो उपलब्धि हो । साउन्डमा काम गर्नेहरू सबैले सीएएस लेख्न पाउँदैन । यसका लागि ‘सिनेमा अडियो सोसाइटी’बाट अनुमति पाउनुपर्छ । ‘सिनेमा अडियो सोसाइटी’को योग्यता पूरा गर्नेले मात्रै यो उपाधि आफ्नो नामको पछाडि राख्न पाउँछन् । उनै उत्तम न्यौपानेसँग नेपाली चलचित्रको साउन्ड डिजाइनका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
० ० ०
नेपाली चलचित्रको सबभन्दा कमजोर पक्ष नै साउन्ड डिजाइन हो भनिन्छ, हो ?
मेरो व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने यो आरोपमा पूर्ण सत्यता छैन । हामीले साउन्ड डिजाइनको काम गरेका चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेका छन् । सन डान्सबाट हामीले गरेको कामको जुन प्रकारको फिड्ब्याक आयो, त्यो प्रतिक्रिया हेर्दा हामी राम्रो काम गरिरहेका छौं ।
समग्रमा नेपाली चलचित्रको कुरा गर्दा टिप्पणीमा केही हदसम्म सही पनि होला । तर यसका पछाडि कारणहरू के-के छन् भन्ने कुरा बुझ्नुपर्छ । प्रोस्ट प्रोडक्सनका लागि कति समय छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । फिल्म मेकरको सहभागिता हुँदैन साउन्ड डिजाइनको काममा । मुख्य कुरा साउन्डका लागि उपलब्ध छोटो समय नै हो ।
समग्रमा नेपाली चलचित्रको साउन्ड डिजाइन कमजोर छ भन्ने नै हो ?
यसलाई कसरी हेर्ने भन्ने हो । चलचित्र ‘बुलबुल’को काम मलाई चित्त बुझेको छ ।
तपाईंले काम गरेको चलचित्र ‘बुलबुल’ राम्रो होला । फेस्टिभलमा गएका केही चलचित्र पनि राम्रा होलान् । तर सबै चलचित्रको कुरा गर्दा राम्रो छ ?
यसका पछाडिका कारण पनि त खोज्नुपर्छ होला नि । सयमा एक/दुईवटा चलचित्र राम्रा भएभन्दैमा राम्रो काम भइरहेको छ पनि म भन्दिनँ । मेकरले आफ्नो चलचित्रको साउन्डको कामका लागि कति महत्त्व दिइरहेको छ ? दिएको छ भने काम राम्रो हुन्छ र भइरहेको पनि छ । सिनेमाको साउन्ड कमजोर भयो भने त्यो चलचित्रमा निर्देशकको दृष्टिकोण के हो भन्नेमा निर्देशक पहिले स्पष्ट हुनुपर्छ ।
चलचित्रकर्मी होस् वा समीक्षक साउन्डमै किन सधैं खोट लगाउँछन् ?
पर्दामा जे देखिन्छ त्यही लेख्ने त हो । समीक्षकको केही दोष छैन । उसले जे देख्छ त्यही लेखिरहेको छ । म मलाई मेरो स्टुडियोमा आएको फिल्मको साउन्डका लागि तीन महिना समय माग्छु । त्यो पनि पाइएन भने एक महिना माग्छु । तर काम गर्दै जाँदा मेकरले भन्न थाल्छन्- यति तारिकामा फलानो देशमा फिल्म पठाउनुपर्यो । यस्तो अवस्थामा चलचित्रलाई टेक्निकल आँखाले हेर्ने कि क्रिएटिभ आँखाले ? स्टोरी टेलिङलाई अझ राम्रो बनाउने साउन्ड डिजाइनको कामलाई समय चाहिँदैन । जसरी हुन्छ चलचित्र सक्नैपर्छ भन्ने मात्रै छ । समय कति चाहिन्छ भन्ने नै सोचिँदैन । अनि कसरी राम्रो हुन्छ साउन्डको काम । तपाईंको यो प्रश्नमा मेरो सर्त छ ।
चलचित्रको ६० प्रतिशत साउन्ड हो भने यसमै किन हेलचेक्रयाइँ ?
यो प्रश्न तपाईंले निर्माता र निर्देशकलाई सोध्नुपर्छ ।
तर काम तपाईंहरूले काम गर्ने भएपछि राम्रो भए पनि नराम्रो भए पनि त्यसको जसअपजस त तपाईंहरूले नै लिने हो नि !
फेरि उही कुरा आउँछ, साउन्डका लागि निर्माता तथा निर्देशकहरूले कति समय दिइरहेका छन् । एक साता लाग्ने काम एकदिनमा गर भनेर भन्यो भने त्यसको नतिजा कस्तो आउँछ ? अहिले भइरहेको त्यही हो नेपाली चलचित्रमा ।
समय पाएको अवस्थामा राम्रो काम गर्न सकिन्छ ?
सकिन्छ ।
हलिउड र बलिउडमा साउन्ड डिजाइनर स्क्रिप्ट लेखनदेखि नै आबद्ध हुन्छन् । त्यो अनुभव तपाईंहरूले कहिले गर्न पाउने ?
थाहा छैन । यो प्रश्न पनि निर्देशक र निर्माताहरूलाई नै सोध्नुपर्छ । त्यो अवसर म खोजिरहेको छु । सत्य कुरा म तपाईंलाई भन्दै छु- २० जना मेकर आउँदा एकजना मेकर मात्रै त्यस्तो भेटिन्छ, जसले चलचित्र निर्माणको सुरुवातदेखि साउन्ड डिजाइनरलाई आबद्ध गराउँछन् ।
विभूषण बस्नेतको ‘ददिया’मा मैले यो मौका पाएको थिएँ । विनोद पौडेलको फिल्म ‘बुलबुल’मा यो अवसर पाएको थिएँ । सिङ्गो चलचित्र तयार भएपछि साउन्डका लागि लिएर आउने चलन छ ।
यसको अर्थ हाम्रो निर्देशक तथा निर्माताहरू चलचित्रमा साउन्डको महत्त्व अथवा भनौं चलचित्र मेकिङको प्रोसेसलाई बुझ्दैनन् भन्ने हो ?
त्यसरी पनि नभनौं । सयमा तीनजनाले साउन्डको महत्त्व बुझ्ने मेकर हुनुहुन्छ । अब यसलाई बुझ्नुहुन्छ भन्ने कि बुझ्नु हुन्न भन्ने ? मेरो अनुभवअनुसार नबुझेको होइन । तर, यत्तिको भए काम चल्छ भन्ने बुझाइ छ । दर्शकले सुने भने भइगयो नि भन्ने चलन छ । उहाँहरूलाई पनि आफ्नो चलचित्र राम्रो बनाऔं भन्ने त हुन्छ होला । ४५/५० दिन सुटिङ गर्न समय हुने निर्देशक निर्माताले साउन्डलाई ६० दिन दियौं भन्ने चेतना कहिले आउँछ ? ७-१५ दिन साउन्डलाई दिने अनि तुलनाचाहिँ हलिउड र बलिउडको चलचित्रसँग गर्ने ? फिल्मको पोस्ट प्रोडक्सन सकिएको छैन । ट्रायल भएर क्युसी भइसकेपछि कति परिवर्तन पनि गर्न सकिन्छ । तर त्यो पनि नगरी चलचित्र रिलिज गर्नुपर्छ । यस्तो अवस्थामा साउन्ड आर्टिस्टले चलचित्र सक्ने कि क्रिएटिभ पक्ष हेर्ने भन्ने हुन्छ । साउन्डको चेतना भएर पनि नजरअन्दाज गरिरहेको भन्छु म ।
नेपालमा साउन्ड डिजाइनरको अभाव हो कि, साउन्डको महत्त्वलाई बुझ्ने मेकरको अभाव हो ?
एक अर्थमा यो पनि हो । साउन्ड डिजाइनरको अभाव पनि छ । हामी त नयाँ साउन्ड डिजाइनरहरूलाई स्वागत गरिरहेका छौं । थोरै साउन्ड डिजाइनर पनि कम हो तर यो भन्दा पनि मेकर साउन्डलाई भ्यालुचाहिँ दिनुपर्यो । सयौं संख्या साउन्ड डिजाइनर आए पनि यसैगरी काम हुन्छ होला जस्तो लाग्छ ।
भ्यालु बुझिदिनुपर्यो भन्नुको अर्थ त निर्देशक/निर्माताले साउन्ड बुझ्दैनन् भन्ने नै त हो नि हैन ?
हो । आवश्यक समय त दिनुपर्छ । रिलिजको पाँच दिनअगाडि ल्याएर जबरजस्ती यही दिन चाहियो भन्नु भएन ।
आजसम्म कहिले साउन्डको स्क्रिप्ट लेख्नुभएको छ ?
साउन्डबिनाको चलचित्र आउनु भनेकै स्क्रिप्ट तयार पारेर काम गर्नु हो । पेपेरमै स्क्रिप्टको खाकामा तयार पार्नुभएको छ भन्न खोज्नुभएको हो भने त्यो पनि गर्न सकिन्छ ।
तर, चलचित्र निर्माणको प्रक्रिया सुरु गर्दा नै निर्देशक तथा निर्माताले मेरा लागि साउन्ड पनि त्यति कै महत्त्वपूर्ण हो । मैले यो डिपार्टमेन्टलाई पनि सहभागी गराउनुपर्छ भन्ने बुझेर यहाँ साउन्डमा काम हुँदैन । यहाँनेर साउन्डका लागि अलि च्लालेन्ज हुनसक्छ भनेर भनियो भने साउन्ड डिपार्टले त्यहाँ राम्रो इनपुट दिनसक्छ । यो चान्स त हामीले पाएकै छैन । चलचित्र खिचिसकेर ब्ल्यान्क पिक्चर आएर ल साउन्ड राख भनेर दिइन्छ । के राख्ने कसो राख्ने थाहा छैन । निर्देशक पनि सँगै बस्दैन ।
तपाईं कुनै चलचित्रको सुटिङ स्पटमा गएर हेर्नुस् चलचित्रको कथा के छ, खिच्न खोजेको के हो ? कहाँ कुन समयमा कुन क्यामेराले खिच्दै छ ? उसका क्रू मेम्बर के भन्दै छन् । केही मतलब छैन, साउन्ड सधैं डोमिनेटेड नै छ नेपालमा ।
सिङ साउन्ड र फोलीको काम पूर्ण रुपमा कहिले सुरु गर्ने, यी कुराहरू विश्लेषण गर्दा हामी कहाँ छौं ?
सिङ साउन्ड र फोलीको काम पनि नभएको त होइन भइरहेको छ । तर कम छ । मुख्य पक्ष चलचित्र ल्याएर दिएपछि आवाज भर्ने काम मात्रै साउन्ड भनेर बुझिदिनु भएन । साउन्ड स्टोरी न्यारेटिभको अंग हो । स्टोरी टेलिङमा मैले कुनै साउन्ड राखेँ भने मैले जवाफ दिनसक्नुपर्छ ।
म एउटा अनुभव सुनाउँछु चलचित्र ‘बुलबुल’को पात्र रणकलाको मोबाइलमा एउटै रिङटोन बजिरहन्छ । सुरुदेखि अन्तिमसम्म क्लर्कको साउन्ड छ । त्यसले कथा भनेको छ । यसमा निर्देशक विनोद पौडेल र म दुवै स्पष्ट थियौं । यी साउन्डले कथा भन्नुपर्छ भन्नेमा हामी स्पष्ट थियौं । चलचित्र हेर्दा त्यो देखिन्छ ।
नेपालमा कुल बजेटको २-३ प्रतिशत मात्रै खर्च गरेको पाइन्छ । हलिउड बलिउडमा २० प्रतिशतसम्म छुट्टयाइन्छ । बजेट र समयको सीमितताभित्र आफ्नो क्षमता खुम्च्याएर बस्नुपर्दा कतै हामीसँग भएको साउन्डको जनशक्ति पलायन हुने खतरा त छैन ?
त्यो अवसर मलाई नआएको होइन तर जाउँ भन्नेचाहिँ लागेन । तर काम गर्ने क्रममा कहिलेकाहीं फ्रस्टेडचाहिँ भइन्छ । तर जान मन छैन । अलिअलि काम गर्दै गरेको, सिक्दै गरेको मान्छे नै पलायन भयो भने कसले गर्छ । हामी सबै नयाँलाई वेलकम गरिरहेका छौं ।
बाहिरको कुरा गर्दा साउन्डमा करिअर सुरक्षित छ । समयको सीमिततका छैन । पर्याप्त समय पाइन्छ काम गर्न । मेकहरूसँगै बसेर आउटपुट दिन्छन् । चलचित्र सुरु हुँदा देखि नै साउन्ड डिपार्टलाई आबद्ध गराइन्छ । स्क्रिप्ट लेखेर काम गर्न पाइन्छ । यहाँ करिब एउटै मान्छेले सबै काम गर्नुपर्ने अवस्था छ । तर साउन्डभित्रै विभिन्न डिपार्टमेन्ट छन् । साउन्ड एडिटर, साउन्ड रि-स्टोरेज, साउन्ड डिजाइनर, मिक्स सुपरभाइजरलगायत थुप्रै डिपार्टमेन्ट साउन्डभित्रै छन् ।
यहाँ यस्तो भएन यसो गरौं न भन्दा आफ्नो कमजोरी स्वीकार गर्ने संस्कार छैन । यसले मलाई सुझाव दिने भन्ने छ । त्यसैले हामी खुम्चिएर काम गर्नुपर्नेछ । र'अ फाइल हलमा लगाएका नराम्रा अनुभव छन् । अन्तिम एक साता गधाजस्तो भएर काम गर्नुपर्छ । यहाँ बसेर यो गर्छु र गर्दिनँ भन्ने अवस्था छैन । तर सन् २०१९ मेरा लागि ठूलो लेसन दिने वर्ष बन्यो ।
के लेसन पाउनु भयो ?
को मान्छेसँग काम गर्ने, कोसँग काम नगर्ने । बीचमा प्रेसर आयो भने त्यति बेलै त्यो चलचित्र छोड्दिने अधिकार राखेर मात्रै काम गर्नुपर्ने रहेछ अन्यथा चलचित्र बिग्रिन्छ भन्ने ज्ञान भयो । मेकरलाई फिल्मको मतलब नभए पनि मेरो प्रोफेसनल करिअरमा त त्यसले असर गर्छ । बरु थोरै काम गर्ने तर राम्रो काम गर्ने निष्कर्षमा पुगेको छु । बरु डकुमेन्ट्रीमा काम गर्ने, त्यसमा समयसीमा अलि बढी हुन्छ ।
नेपालबाहिरका कथानक चलचित्रमा पनि मैले काम गरेको छु । ती चलचित्रको काममा पनि डेडलाइन हुन्छ । तर पर्याप्त समय हुन्छ । निर्देशक साउन्डमा क्लियर हुन्छ । त्यहाँ यति उच्च व्यायवसायिकता हुन्छ । कुनै समस्या आए त्यसको समाधान तत्काल खोजिन्छ ।
तर केही मेकर नेपालमा पनि हुनुहुन्छ जो लौन फाइल पठाउनुपर्यो भन्दै दबाब दिनुहुन्न । जस्तै : रामबाबु गुरुङ, विनोद पौडेल, दिनेश राउत, विभूषण बस्नेत ।
फिचर फिल्मभन्दा सर्टफिल्मका मेकरहरू साउडलाई बढी भ्यालु दिन्छन् हो ?
हो । सर्टफिल्मभन्दा पनि इनडिपेन्डेन्ट मेकरहरूले साउन्डको काममा आफैं बसेर इनपुट पनि दिनुहुन्छ र हामीलाई क्रिएभिटीका लागि फ्रिडम पनि दिनुहुन्छ ।
अहिले संसार हातमा छ । वर्ल्ड सिनेमा मोबाइलमा छ । त्यहाँबाट पनि त धेरै कुरा सिक्न पाइन्छ । तर, खोइ हामीले ध्यान दिएको ।
पहिलो चलचित्र जति अभाव, असहजता र असहयोगका बाबजुद सफल बनाएका मेकरहरूका दोस्रो/तेस्रो चलचित्र किन झन् साँघुरो भएर आए । जबकि उनीहरूसँग पर्याप्त पैसा हुन्छ । समय हुन्छ । बजारमा ब्रान्ड हुन्छ । यो प्रश्न कृपया हाम्रा निर्देशक निर्माताहरूलाई सोधिदिनुस् न । अभावमा बनाएका चलचित्र राम्रा अनि सहज अवस्थामा बनाएका चलचित्र किन नराम्रा ?