
पोखरा । ६ महिने लकडाउनले यहाँका २० प्रतिशत होटेल बन्द भए । लिज (भाडा) मा लिएर सञ्चालन गरिएका होटेलहरू सबैभन्दा बढी मर्कामा परे । केही मनकारी घरधनीका कारण एकाध होटेलहरूले भने भाडामा छुट पाए, तर उनीहरूले आफ्ना कर्मचारी भने पाल्न सकेनन् ।
लकडाउनको भोलिपल्टैदेखि आर्थिक रुपमा घाटामा गएको व्यवसाय होटेल बन्यो । चैत ११ यता लेकसाइडका होटेलहरू सुनसान छन, कतिपयको सटर उही दिनबाटै बन्द भयो, धेरै पलायन भए । १ खर्ब ५ अर्ब रुपैयाँको अर्थतन्त्र धानेका पोखराका पाँचतारदेखि तारे होटेलहरूले लकडाउनमा साढे २ अर्ब रुपैयाँबराबरको नोक्सानी व्योहोर्नुपरेको तथ्यांक छ ।
झन्डै आधा वर्षको लकडाउनपछि सरकारले बुधबारदेखि सबै प्रकारका रेस्टुरेन्ट, होटेलहरू सञ्चालन गर्न दिने निर्णय सोमबार गरेको छ । ऋणात्मक स्थितिमा पुगेको पर्यटन अर्थतन्त्रलाई यसले केही राहत दिए पनि व्यवसायीहरूमा कसरी पहिलेकै अवस्थामा फर्किने चिन्ता उस्तै छ । कारण फेरि लकडाउन हुने हो कि ? यातायात खुलेर फाटफुट ग्राहक आउँदा फेरि संक्रमण फैलिने हो कि ? यातायात खुलेर मान्छेहरूको गतिविधि बढ्नासाथ व्यवसाय बढ्ने खुसी एकातर्फ छ भने फेरि लकडाउन थपे के गर्ने भन्ने चुनौती पनि उत्तिकै छ । लकडाउन सुरु भएयता धेरै होटेलहरूले व्यापक कर्मचारी कटौती गरे, उनीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने दोधारमा व्यवसायी छन् ।
पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, “भोलि यातायात पनि सञ्चालन होला, फेरि संक्रमण भए के गर्ने यो प्रश्न पनि छ । सरकारले घोषणा गरे पनि रेस्टुरेन्ट जस्तो व्यवसाय भएन, हामी पर्ख र हेरको स्थितिमै छौँ ।”
अघिल्लोपटक सरकारले साउन दोस्रो सातादेखि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालनको अनुमति दिए पनि स्थानीय प्रशासनले बीचमा दुइसाता लकडाउन गर्यो । यसले पनि व्यवसायीहरू मानसिक रुपमा तनावमा परेको उनको बुझाइ छ । अर्कातर्फ होटेलहरूमा आउने विदेशी पर्यटकको अभाव खेप्नुपर्ने हुन्छ । सरकारले यातायात र हवाईसेवा खुला गरे पनि तत्काल विदेशी पर्यटक नआउने उनले बताए ।
“अघिल्लोपटक खोल्ने निर्णय हुँदा यातायात खुलेको थिएन, यसपटक आन्तरिक हवाई सेवा र सार्वजनिक यातायात खोल्ने निर्णय गरेको छ । होटेलहरूमा भौतिक पूर्वाधार छ, अलिकति लगानी त थप्नुपर्छ । कात्तिकदेखि पदयात्रा र हिमाल आरोहण गर्ने निर्णय गरेको छ, सरकारले हिजो घोषणा गरे पनि विदेशीहरू आइहाल्छन भन्ने छैन, २४ महिनापछि उनीहरूले बल्ल योजना बनाउँछन् । अहिले आउने भनेका सबै आन्तरिक पर्यटक हुन् । त्यसका लागि सेवा-सुविधा प्रदान गर्ने पर्याप्त होटेलहरू छन । अब, तयारी गर्दै खोल्ने भन्ने योजना छ,” उनले भने ।
पोखरामा सात सयको हाराहारीमा होटेलहरू रहेको संघको तथ्यांक छ । तीमध्ये २० प्रतिशत बन्द भएको अनुमान छ । सरकारले निर्णय गरे पनि यी होटेलहरू खुल्नेमा भने आशंका छ । फागुनदेखि ओरालो लागेको होटेल व्यवसायलाई लकडाउनले नाजुक स्थितिमा पुर्याएको छ ।
“मुभमेन्ट कसरी बढ्छ, सोअनुसारको योजना अगाडि बढ्ने हो । यातायात खुल्नुचाहिँ एकतर्फ सकारात्मक पनि हो, अर्कोतर्फ संक्रमण पनि बढेको छ । मानसिक रुपमा तयार हुनुपर्छ, व्यवसायी तयारै भइसकेको स्थिति छैन,” उनले भने ।
यता, होटेल बाराहीका प्रबन्धक राजकुमार केसी भने होटेल तत्कालै सञ्चालन गर्ने कुनै सम्भावन नरहेको बताउँछन् । यो होटेलमा ११४ कर्मचारी कार्यरत थिए । लकडाउनको प्रभावले अहिले होटेलमा जम्मा सात कर्मचारी मात्रै छन् । “अहिलेकै अवस्थामा सञ्चालन हुने देखिँदैन, ग्राहक आउनुपर्यो, स्टाफ आउनुपर्यो, सबै बिदामा छन् ।”
तर, केही होटेलहरूले भने आन्तरिक पर्यटक राख्न सकिने बताउँछन् । तुलाचन भन्छन्, “तत्काल होटेल सञ्चालन गर्न नगद पनि चाहियो, कर्मचारी व्यवस्थापन गर्नुपर्छ । चैतदेखि लकडाउन भए पनि फागुनदेखि व्यवसाय ओरालो लागेको हो ।
कर्मचारीहरू पनि आफ्नो गाउँ-ठाउँमा गएका छन् । स्टाफ थुपारेर मात्र पनि भएन । जतासुकै कोरोनाको त्रास छ, मनोबल बढाउनुपर्यो । प्रोटोकल अपनाउनुपर्यो । सुरुमा नचले पनि सञ्चालन गरेपछि कम्तीमा एक-डेढ महिना धान्ने गरी नगद मौज्दात त चाहियो नि ।”
रेस्टुरेन्टमा तुलनात्मक रुपमा बढी ग्राहक आउने भए पनि खोल्ने कि नखोल्ने भन्ने निर्णय गर्न कठिन भइरहेको सञ्चालक बताउँछन् । “६ महिनादेखि बन्द गरेर राख्नुभन्दा त खोल्ने पो हो कि ? फेरि संक्रमण पनि दिनहुँ बढेको छ । के गर्ने के नगर्ने ?” पिज्जा हाउसका सञ्चालक विजय गुरुङ भन्छन् । आन्तरिक रुपमै भए पनि रेस्टुरेन्टमा ग्राहक अभाव भने नहुने तर जोखिमका कारण अलमलमा परेको उनको भनाइ छ ।
यस्तै, सरकारले आज (असोज १ गते) देखि ट्रेकिङ तथा हवाई खेलहरू पनि सुरु गर्ने घोषणा गरेको छ । तर, यसले पनि व्यवसायीमा उत्साह भने देखिएको छैन ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले यातायात खुले पनि अहिले अफसिजन भएको हुँदा पर्यटक आइहाल्छन् र यी व्यवसाय सञ्चालन भइहाल्छ भन्न नसकिने बताउँछन् । “मुख्य सिजन भनेको अगस्त हो, अप्रिल मार्च पनि सबै लकडाउनले डुबायो, यातायात खुल्दैमा प्याराग्लाइडिङ सञ्चालन हुँदैनन्, फाटफुट हुने आन्तरिक पर्यटक मात्र आउने हुन, त्यही पनि अहिले यो सिजन खास उपयुक्त मानिँदैन,” उनले भने । -फाइल तस्बिर