site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
लकडाउनमा धेरैले युट्युवमा के धेरै सर्च गरे ?

बीबीसी । युट्युबका अनुसार लकडाउनका समयमा मान्छेले नयाँ शीप सिक्ने किसिमका भिडियो सबैभन्दा धेरै हेरेका छन् । यसमा ‘स्टेप बाइ स्टेप’ र यो कसरी गर्ने, भन्ने ‘हाउ टु डु’ किसिमका भिडियो अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशत लामो समय हेरिएको युट्युब प्लेटफर्मले जनाएको छ । यता ‘हाउ टु’ भन्ने शब्द चाहिँ सर्च इन्जिनमा सबैभन्दा बढी खोजिने गरेको पाइएको छ । 

त्यस्तै तौल घटाउने, कपाल रङ्ग्याउने, आफ्नै बगैँचामा सागसब्जी, फल अनि फूलहरु रोप्ने सम्बन्धी पनि मान्छेहरुको व्यापक चासो रहेको पाइएको हो जसले कतिपय देशहरुमा अनलाइन किनमेलको दर पनि बढाइदिएको छ । यसबारे बीबीसीका एसइओ विशेषज्ञ नलिना एगर्ट भन्छिन्, “यहाँ ‘यो कसरी गर्ने, त्यो कसरी गर्ने’ भन्ने जस्ता प्रश्न धेरै छन् जस्तै,  ह्यान्ड स्यानिटाइजर कसरी बनाउने, ब्रेड कसरी बनाउने, फेस मास्क कसरी बनाउने, कपाल कसरी काट्ने ।”

Argakhachi Cement Island Ad

त्यसैगरी कोभिड–१९ सुरु भए यता इन्टरनेट प्रयोगकर्ताहरुले मानव शरीर, जीव विज्ञानलगायत स्वास्थ्य सम्बन्धी जिज्ञासा र इतिहासका बारेमा समेत बढी रुची राखिरहेको पाइएको छ ।  एकपटक कोरोना लागिसकेकालाई फेरि संक्रमण हुन्छ कि हुँदैन, घरपालुवामा यसको कस्तो असर पर्छ भन्ने जस्ता प्रश्न बारम्बार सोधिएका छन् । 

यसैगरी शोक व्यक्त गर्ने कार्ड सम्बन्धी पनि अरु बेलाको भन्दा असामान्य रुपमा बढी माग देखिएको नलिना बताउँछिन् । यता हरेक शुक्रबार ‘स्कटल्यान्डमा कुन समयमा मदिरा खरिद गर्न पाइन्छ ? भन्ने प्रश्न दोहोरिने गरेको पनि उनले बताइन् ।  रेडब्रेन नामक एक इ–कमर्स प्लेटफर्मले पनि लाखौँ अनलाइन खरिदकर्ताहरुले सर्च गर्ने गरेको डाटा प्राप्त गर्ने गरेको छ । 

जसमा गत मार्च र अप्रिलमा बेलायतीहरुले ‘गार्डेनिङ’ का उपकरण, बिरुवा, बिउ, कपाल रङ्ग्याउने सामान र एक्सरसाइजका उपकरणबारे सबसे धेरै खोजी गरेको पाइएको हो । 

यसमा तौल घटाउने उपकरण किन्न खोज्नेहरुको सङ्ख्या मात्र २१ लाख बढी रहेको रेडब्रेनले बताएको छ । 

रेडब्रेनकी प्रमुख अधिकारी एलिस्टर क्याम्पबेल भनिछन्, “बाहिरबाट हेर्दा अहिले यो विश्व नै रोकिएको र मान्छेको जीवन केही समयका लागि स्थगित भएको जस्तो लाग्न सक्छ तर हाम्रो डाटाले अलगै कथा देखाइरहेको छ । जहाँ हामी सबै एकै किसिमको अनुभव गरिरहेका छौँ र उस्तै सामानहरु किनिरहेका छौँ त्यो पनि एकै समयमा ।”

यसरी लकडाउनको समयमा इन्टरनेटको प्रयोगमा देखा परेको उच्च वृद्धिलाई ऐतिहासिक मान्न सकिने जने ग्राहम कमिङ बताउँछन् जो क्लाउडफेयरका प्रमुख प्राविधिक अधिकारी हुन् ।  उनले भनेका छन्, “अवस्य पनि मान्छेको घरमा इन्टरनेट हुँदा अनलाइन गतिविधि बढ्छ तर २०२० का पहिलो तीन महिनामा हामीले इन्टरनेट प्रयोगमा एक वर्ष बराबरको वृद्धि देखेका हौँ ।” 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ०६:१०
प्रतिक्रिया दिनुहोस्