site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना प्रभावमा जनसाङ्ख्यिक तरङ्ग

गतवर्ष सन् २०१९ को डिसेम्बर महिनादेखि चीनको वुहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरस सङ्क्रमणजन्य रूग्णता कोविड-१९ को असरले बिस्तारै विश्वजगत च्यापिँदै र थलिँदै गएपछि 'वर्ल्डओमिटर' नामक वेबसाइट हेर्ने, पछ्याउने र त्यसमा अद्यावधिक गरिएका तथ्याङ्क उद्धृत एवं उल्लेख गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।  यो www.worldometers.info नामक साइटमा विशेषतः विश्वभरको जनसङ्ख्याको उतारचढाव हरेक मिनी वा मिली सेकेन्डमा कसरी परिवर्तन भैरहन्छ भन्ने प्रक्षेपित सूचना र तथ्याङ्क बढो रोचक र सहज ढङ्गले उपलब्ध गराइएको हुन्छ ।

यस साइटले हरेक मिनी वा मिली सेकेन्डसम्मको जनसाङ्ख्यिक उतारचढावको चित्रका साथै विश्वका धेरै मुलुकका सामान्य जनसाङ्ख्यिक चित्र पनि बढो रोचक ढङ्गले प्रस्तुत गर्ने गर्छ । विश्व जनसङ्ख्या सूचनाबाहेक यस साइटले शासन तथा अर्थतन्त्र, प्राज्ञिक समाज तथा सञ्चार माध्यम, वातावरण, खाद्य सुरक्षा, जलअवस्था, ऊर्जा तथा स्वास्थ्यसँग सम्बन्धित तत्क्षणका सूचना स्रोतसहित प्रकाशन गर्नेगर्छ । जनसाङ्ख्यिक तथा विविध क्षेत्रका सूचना तथ्याङ्कशास्त्रीय प्रक्षेपण सूत्र प्रयोग गरेर यस साइटमा प्रकाशन भएको पाइन्छ । यसलाई हाल अधिकांश सूचना प्रवाहकर्ताले आधिकारिक सूचना स्रोतका रूपमा प्रयोग गर्ने र सूचना ग्रहणकर्ताहले पनि आधिकारिक मान्ने गरेको पाइएको छ  । 

विश्व जनसङ्ख्या मानचित्रमा मूलतः जन्म, मृत्यु र बसाइँसराइँ जस्ता तीनवटा आयामिक तत्त्वहरूले असर र प्रभाव पारिरहेका हुन्छन् । यस आलेखमा जनसङ्ख्या भन्नाले मानव सङ्ख्याको अङ्क गणितीय पक्षलाई सम्बोधन गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाको विश्वव्यापी सङ्क्रमणको पाँचौं महिनासम्म आइपुग्दा यसको प्रभाव असाध्यै भयावह स्थितिमा पुगिसकेको छ । यो आलेख तयार पार्दै गर्दा (अप्रिल २४, २०२० अर्थात् बैशाख १२ गते २०७६ साँझ ७:३० बजेसम्म) चीनबाट सुरू भएको विश्व महामारीले हाल युरोपदेखि उत्तर अमेरिका हुँदै सारा जगत् नै आक्रान्त पारिसकेको छ ।  विश्वका २ सय १० वटा मुलुक र भौगोलिक इकाइका रूपमा लिइएका दुईवटा अन्तर्राष्ट्रिय पानी जहाजमा गरी जम्मा २७ लाख  ५२ हजार ६९२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ७ लाख ६१हजार ४०६ जना निको भई घर फर्किसकेका छन् । अनि १ लाख ९२ हजार २६१ जनाको मृत्युसमेत भइसकेको छ । 

कोविड-१९ झट्ट हेर्दा उपचारात्मक स्वास्थ्यको मामिलाजस्तो लाग्छ । यसभन्दा पनि यो विषय स्वास्थ्यको पूर्वाधार र सामाजिक सचेतनासँग पनि जोडिएको पक्ष हो ।  कोविड-१९ भित्रका निदान, रोकथाम र उपचारका त्रिआयामिक पक्षभन्दा पनि बढी यस विषयले सारा विश्वको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षमाथि ठूलै प्रभाव पार्ने गरी असर गरिरहेको छ । यसका लागि विश्वव्यापी जनसङ्ख्याको गतिशीलताले ठूलो भूमिका खेलिरहेको छ । यस आलेखमा जनसङ्ख्याको चलायमान स्वरूपको विविध पक्षलाई खोतल्ने प्रयास गरिएको छ ।  

Global Ime bank

आगामी वर्ष सन् २०२१ मा सम्भवतः विश्वका धेरै मुलुकहरूमा १० वर्षे तालिकाअनुसार नै जनगणना वा जनसाङ्ख्यिक बृहद् सर्वेक्षणहरू हुनेछन् । ती जनगणनामार्फत् कोरोनापश्चातका जनसाङ्ख्यिक आयामिक - जन्म, मृत्यु र बसाइँसराइँ - चित्रहरू अवश्य विश्लेषण हुने नै छन् । विस्तृत विश्लेषण जनगणनामार्फत् तथ्याङ्क सङ्कलन भएपछिका सम्पूर्ण तथ्याङ्कीय प्रक्रियाह पूरा गरेपछि अवश्य नै आउनेछन् । तर, यतिबेला यी यस्ता जनसाङ्ख्यिक आँकडा र चित्रहरू सामान्यतः पूर्व अनुमान र पूर्व प्रक्षेपण गर्नमात्रै सकिन्छ । 

१. जन्मः कोविड-१९ का कारण लगभग सिङ्गो विश्व लकडाउनमा छ । सारा गतिविधि शून्य प्रायः छन् । यतिबेला बाल्यावस्था, युवावस्थादेखि बृद्धावस्थाका अधिकांश मानिस घरभित्रै थुनिएका छन् । यस्तो बेलामा प्रजनन उमेर समूहका व्यक्तिहरू जो यौनिक क्रियाकलापमा क्रियाशील हुन्छन् उनीहरू सहवासमा रही यौनजन्य क्रियाकलापमा संलग्न हुने बढी सम्भावना रहन्छ । तिनले जनसङ्ख्या नियन्त्रणका कुनै प्राकृतिक तथा कृत्रिम उपाय अपनाएनन् भने यसैका कारण लकडाउन अवधिको ९/१० महिनामा आकस्मिक जन्मदर वृद्धि (बेबी बुम) को अवस्था आउन सक्छ । तर, दोस्रो विश्वयुद्ध पश्चातको जन्मदर वृद्धि जत्तिकै अवस्थाजस्तो भने होइन ।

तैपिन, विश्वव्यापीरूपमै जनसङ्ख्यामा स्वाभाविक दरभन्दा फरक हुने गरी वृद्धि हुनसक्ने आँकलन गर्न सकिन्छ । अहिले विश्वव्यापीरूपमै शिशु जन्मदरको अवस्था असाध्यै कमजोर बनाइएको छ । फलस्वरूप जनसङ्ख्या पिरामिडको तल्लो आधार क्षेत्र असाध्यै सानो भई कमजोर अवस्थामा पुगेको छ । 

यो उमेर समूह भनेको कुनै खास मुलुक वा समग्र विश्व निर्माणको प्रमुख जग हो । यसको सन्तुलित उत्पादन र उनीहरूमाथिको सापेक्षित लगानीले तत्तत् मुलुक वा समग्र विश्वको सामाजिक, आर्थिक तथा समृद्धिका अन्य सूचकहमा दीर्घकालीन प्रभाव पार्नसक्छ । यसर्थ कोविड-१९ को यो वैश्विक महामारी यस अर्थमा अवसर पनि बन्नसक्छ । यसका कारण सिङ्गो विश्व निर्माणका आधार पुस्ताको सन्तुलित उत्पादनका लागि विशेष अवसर सिर्जना भएको हुनसक्छ भनेर पूर्वानुमान गर्न सकिन्छ ।

२.    मृत्युः मृत्यु हरेक जैविक पक्षको एक अनिवार्य र अपरिहार्य पक्ष हो । यसर्थ पनि यसलाई जनसङ्ख्याको एक महत्त्वपूर्ण आयामका रूपमा लिइन्छ । दैनिक हुने स्वाभाविक मृत्युबाहेक कोरोना सङ्क्रमणका कारण थपिने मृत्यु सङ्ख्याका कारण विश्वव्यापी जनसङ्ख्याको खातामा यसको दरमा ठूलै असर पारिरहेको देखिन्छ ।

यसले अझ विशेष गरी जनसङ्ख्या पिरामिडको माथिल्लो तहमा रहेका ज्येष्ठ नागरिकको जनसङ्ख्याको आँकडामा कहीँ न कहीँ असर पुर्‍याइरहेकै पाउन सकिन्छ । यद्यपि कोरोनाको प्रभाव अझै पनि केही समय बाँकी नै रहने हुनाले यसको यकिन चित्र तथा आँकडा कस्तो हुँदैछ भन्ने तथ्य खुल्न बाँकी नै रहला ।

कोरोना सङ्क्रमणकै कारण मृत्यु हुने व्यक्तिहरूको जनसाङ्ख्यिक सन्तुलन त यसकै कारण हुने आकस्मिक जन्मदर वृद्धि (बेबी बुम) ले कायम राख्ला तर यसका कारण हुने मृत्युको क्षति आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिकरूपमा महङ्गो पर्न जाने विवरण विश्वभर नै सार्वजनिक भइरहेका छन् । हालको वैश्विक महामारीका कारण उत्पन्न रूग्णताले विश्व जनसङ्ख्याको अनुभवी पुस्तामा असर गरिरहेको छ । जनसङ्ख्या पिरामिडको माथिल्लो सतहमा हुने जनसङ्ख्याको कमीले पिरामिड सन्तुलनमा खासै असर गर्दैन । यद्यपि, यसले असर पार्ने क्षेत्रहरू अवश्य नै छन् ।

संसारको एक खास कालखण्डको जीवित इतिहासमाथि यसले नराम्रोसँग थिचोमिचो गरिरहेको छ । यस्ता जीवित अनुभवहरूलाई स्वस्थरूपमा लामो समयसम्म जोगाइराख्न अधिकांश मुलुकले सामाजिक सुरक्षाका उपायह अवलम्बन गरिरहेका छन् । साथै, उनीहरूमा भएको ज्ञान, सीप र क्षमतालाई पछिल्लो पुस्तामा पुस्तान्तरण र हस्तान्तरण गर्न पनि विशेष कार्यहरू गरिरहेको पाइन्छ । हुनत, विश्व मानचित्रका कतिपय मुलुकले यो पुस्तालाई महत्त्वका रूपमा सम्मान गर्ने र समृद्धिको पुँजीका रूपमा लिने नगरी राष्ट्रिय विकासको भारका रूपमा समेत लिने गरेको पनि देखिएको छ । 

३.    बसाइँसराइः जनसाङ्ख्यिक मानचित्रमा सारा विश्व एउटै एकाइका रूपमा मान्दा बसाइँसराइको प्रवाहले त्यति महत्त्व  नराख्ला तर जन्म र मृत्युजस्ता जनसाङ्ख्यिक तत्त्वहरूले धेरै नै प्रभाव र असर पारिरहेको हुन्छ । बसाइँसराइको प्रवाहले सारा विश्वको जनसङ्ख्याको गतिशीलतालाई नै असर नगरे पनि विश्वको एक कुनाबाट अर्को कुना अथवा भनौं एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने प्रवाहले राजनीतिक, सामाजिक तथा आर्थिक पक्षमा कहीँ न कहीँ ठूलै प्रभाव पारिरहेको हुन्छ ।

बसाइँसराइका मुख्य माध्यमहरू हवाइ, जल तथा सडक यातायात विश्वभर धेरैहदसम्म ठप्प छन् । यस्तो बेलामा पैदल आवागमनको अवस्था पनि बन्दाबन्दीमा हिँडडुल प्रतिबन्धका कारण पनि उत्तिकै प्रभावित छ । पफलस्वरूप, बसाइँसराइको स्रोतदेखि पारगमनस्थल हुँदै गन्तव्यसम्मको यात्रामा असर गरिरहेको छ । 

यसर्थ, बन्दाबन्दीभन्दा पहिला जे जति स्थायी वा अस्थायी वा अल्पकालीन बसाइँसराइको प्रक्रियामा रहे ती सबै ठप्प छन् । यतिबेला जन्मदर, मृत्युदर व्यवस्थापनभन्दा पनि बसाइँसराइको व्यवस्थापन नै प्रमुख चुनौतीको विषय बनेको छ । अहिले चलिरहेको कोविड-१९ को विश्वव्यापी महामारीभन्दा अगाडि सिङ्गो वैश्विक जनसङ्ख्या प्रवाहमा एकैसाथ यति व्यापक गतिशीलता आएको थिएन ।

यसभन्दा अगाडि भूराजनीतिक, आर्थिक, सामाजिक तथा विपत्तिका कारणले कुनै खास मानचित्रमा नागरिक प्रवाहबाट जनसङ्ख्याको गत्यात्मकतामा मात्रै असर गर्ने गरेको भए पनि कुनै खास प्रकोपका कारण यस्तो प्रकारको जनसाङ्ख्यिक गतिशीलता आएको यो पहिलोपटक हो । हालको वैश्विक बन्दाबन्दीको अवस्थामा भएका कारण जनसङ्ख्या प्रवानको स्थिति करिब स्थिर अवस्थामा छ । अस्थायी बसोवास भएका धेरै नागरिक आफ्नै थातथलोमा फर्केको अवस्थामा छन् । जो आफ्नै थातथलोमा फर्कन सकेका छैनन् उनीहरू पनि बिस्तारै फर्कने सुरसारमा क्रमशः रहलान् । तर, पूर्णरूपमै फर्कलान् भन्ने अनुमान गलत हुनसक्छ । 

जनसङ्ख्या प्रवाहमा विशेषगरी युवा पुस्ता वा आर्थिक क्रियाकलापमा संलग्न पुस्ता क्रियाशील रहने र जनसङ्ख्या संरचनाको मध्यभागमा रहेको आँकडा भएका कारण यसको सन्तुलन कायम राख्नु चुनौतीपूर्ण रहनसक्छ । यसर्थ पनि यो उमेर अवस्थाका पुस्ताको गत्यात्मकतालाई  नियमन गर्नुपर्ने परिस्थिति हुन्छ । 

यतिबेलाको जनसङ्ख्या प्रवाहको व्यवस्थापन सारा विश्वलाई नै चुनौतीका रूपमा खडा भइरहेको छ । मानवजातिको यस्तो अभूतपूर्व तथा चुनौतीपूर्ण प्रवाहको स्थितिलाई सिङ्गो विश्वले बुद्धिमानीपूर्वक रणनीतिक ढङ्गले व्यवस्थापन गर्न सक्यो भने यसले अवसरको ढोका खोल्न पनि सक्छ । यस्तो अवस्था खासगरी विकासशील मुलुक तथा अल्पविकसित मुलुकका लागि अवसर साबित हुनसक्छ । विश्वको कुनै खास भौगोलिक एकाइको आप्रवाहन तथा विप्रवाहनको स्थिति सँगसँगै स्थायी, अस्थायी तथा अल्पकालीन प्रवाहमा रहेका नागरिकले ज्ञान, सीप, क्षमता र पैसालाई पुँजीका रूपमा आफूसँगै प्रवाह गराइरहेका हुन्छन् जुन आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणका लागि महत्त्वपूर्ण साधन हुनसक्छन् । 

कोरोना प्रभाव र नेपालको सन्दर्भः

यसै आलेखको पूर्वार्द्धमा उल्लेख गरिए झैं कोरोना सङ्क्रमणको प्रसङ्ग चिकित्सकीय स्वास्थ्यको विषयमात्रै होइन । यसभित्र अनेक पक्षपाटाहरू छन्, चिकित्साबाहेक यसका व्यवस्थापकीय पक्षहरू पनि प्रबल विषयका रूपमा त लिइन्छ । यसभन्दा पनि पर कोविड-१९ जन्य अन्य आर्थिक, सामाजिक र राजनीतिक पक्षहरूसमेत सँगसँगै जोडिएर आउँछन् । 

अल्पविकसित मुलुकबाट विकासशील मुलुकको लहरमा अगाडि बढ्न खोजेको नेपालको कोविड-१९ सङ्क्रमणपूर्वको तयारीमा परिपक्वता र पर्याप्तता नभएको तथ्य विभिन्न माध्यमले पुष्टि गरिसकेका कारण यस विषयमा आलोचना गरिरहन जरुरी छैन । यद्यपि सङ्क्रमणको घेराले सिङ्गो विश्व र वरपरका मुलुकहरूलाई एकाएक गाँजेपछि मात्रै नेपालले बढी सतर्कता र सावधानी अपनाएको पाइन्छ ।  

स्वास्थ्य सुरक्षा सामग्री खरीदका क्रममा पटाक्षेप भएका घटनाक्रमले पनि नेपालमा सङ्क्रमणको घेरा तथा चपेटामा परिरहँदा पनि ध्यान कतै अन्यत्र मोडिएको थियो भन्ने कतैबाट पनि छिपेको छैन । हुनत, पछिल्ला दिनमा भएका प्रगति र प्रयासहरू आशाप्रद एवं सन्तोषजनक छन् । परीक्षणका दायराहरू फराकिलो पार्दै गइएको छ ।

उपचारका लागि आवश्यक पर्ने  परीक्षण उपकरण, व्यक्तिगत सुरक्षा उपकरण, उपचारका लागि आवश्यक पर्ने उपकरणहरू तथा औषधिहरूको बिस्तारै पर्याप्तता बढाउँदै लगिएको छ । सामाजिक चेतनाको स्तर र नेपाली समाजको परम्परागत अभ्यासहरू कोरोना कम सङ्क्रमणको दरमा बढ्न नदि सहयोगी सिद्ध भएका छन् । 
यससँगै प्रकोपपश्चातका व्यवस्थापकीय पक्षका बारेमा पनि थोरै चर्चा गर्न जरुरी हुनजान्छ । नेपाल सरकार, विशेषगरी सङ्घीय सरकार, मातहतका संरचनाहरूको योजनाबद्ध सोच र कार्यखाका प्रस्तुत हुनु जरुरी छ । यसका लागि सबैभन्दा पहिला त सही अनि बहुपक्षीय तथ्य, तथ्याङ्क, जानकारी, सूचना र विवरणको खाँचो हुन्छ । 

हुन त २०७८ सालको असारमा जनगणना हुँदैछ । तर, जनसाङ्ख्यिक गणनाका लागि यतिबेला यस्तो अवसर हो जुन जनसङ्ख्या प्रवाहका दृष्टिले स्थिरतामा आधारित हुनसक्छ र यतिबेला नेपालका खास जनसङ्ख्याको धेरै हिस्सा नेपालमै छ । तथ्याङ्क शास्त्रीय सिद्धान्तले प्रायः बसोबास गरेको स्थानबाट विवरण भर्ने र भराउने कुरा गर्छ ।

तर, हामी हाम्रो परिवेशका लागि नयाँ सिद्धान्त र नयाँ मान्यताको प्रयोग गर्न सक्छौँ । नेपालको जनसङ्ख्या पिरामिडको आकृति हेर्दा संरचनागत सन्तुलन गुमाएर धर्मराउने स्थितिमा गैसकेको आभास हुन्छ । यही बेला जनसङ्ख्याको मिहीन विश्लेषण गरेर कसरी सन्तुलनमा ल्याउन सकिन्छ भन्ने नयाँ आयामको खोजी पनि गर्न सकिन्छ ।

हुन त सङ्कटलाई कसरी अवसर भनौं तैपिन यस मौकामा केही काम गर्न सकिन्छ कि ? अहिले नेपालमा रहेको जनसङ्ख्याको बाहिर जाने हिस्साको अधिकांश हिस्सा कम्तीमा पनि छ महिना यहीँ बसिरहन्छ भन्ने पूर्व अनुमान गर्न सकिन्छ  । यस्तो संयोगजन्य अवसरलाई कसरी सदुपयोग गर्न सकिएला भन्ने सोच्न र कार्यमूलक योजना तर्जुमा गर्न जरुरी छ । यो आपतकालीन र सङ्कटकालीन अवस्था हो तर राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्याङ्क विभाग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, त्रिवि जनसङ्ख्या शास्त्र केन्द्रीय विभाग र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागले उत्पादनमूलक बनाउन सक्छन् ।

विद्यमान युवा पुस्ताबाटै हामी जनसाङ्ख्यिक लाभ (डेमोग्राफिक डिभिडेन्ड) को आशा गरिरहेका छौँ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि यति बेला नै धेरै कुरा शोध विश्लेषण गर्न सकिन्छ । आफूभित्र ज्ञान, सीप, पौरख र क्षमता भई मुलुकभित्रै भएका तथा वैदेशिक रोजगार तथा अध्ययनका सिलसिलामा प्रवाहन गरिरहने युवापुस्तामा अन्तर्निहित क्षमताको दोहन वा भरपूर उपयोगका लागि यही नै उपयुक्त समय हो । यस पुस्तासँग भएको र प्रवाहनका माध्यमबाट आर्जित ज्ञान, सीप, पौरख र क्षमता समाज तथा सिङ्गो मुलुकका लागि योगदान सावित हुनसक्छ । 

कोविड-१९ को विश्वव्यापी महामारीको चपेटाका कारण हामी सन्त्रासमा समय बिताइरहेका छौं तर यसलाई कसरी उत्पादनमूलक बनाउन सकिन्छ भन्नेबारे जनसङ्ख्याशास्त्री तथा तथ्याङ्कशास्त्रीका बीचमा गहन तथा कार्यकेन्द्रित छलफल भई अगाडि बढ्न सान्दर्भिक हुन्छ । 

(जनसङ्ख्या शास्त्र, दर्शनाचार्य शोधार्थी, त्रिवि) 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय