सन् २०१२ तिर हुनुपर्छ, म कान्तिपुर टेलिभिजनको लोकप्रिय टक सो ‘फायर साइड’ यु ट्युबमा हेरिरहेको थिएँ । त्यसमा आएका पाहुनालाई सोधिएको पहिलो प्रश्न र त्यसको उत्तरले मलाई छक्क पा¥यो । ‘यो संसार अँध्यारो कहिलेदेखि भयो तपाईंलाई ?’ कार्यक्रमका प्रस्तोता भुषण दाहालले पाहुनालाई सोधेका थिए ।
प्रश्न गह्रौं मात्र होइन, बहुउत्तरको अपेक्षा राख्ने खालको थियो । उत्तरले एकसाथ स्टुडियोमा उपस्थित व्यक्तिको समग्र जीवन बोल्नेवाला थियो । यसअघि मैले नाम नसुनेका ती व्यक्ति शारीरिक रुपमा दृष्टिविहिन छन् भन्ने कुरा पहिलो झलकबाटै मैले थाहा पाएँ । तर उनी किन स्टुडियोमा निम्त्याइए र किन उनलाई यति गहन प्रश्न सोधियो भन्ने जिज्ञासाले सुरुमै मेरो ध्यान खिच्यो ।
‘यो संसार मेरालागि कहिल्यै अँध्यारो भएन । न पहिले, न अहिले ।ज्ञानको उज्यालोको कुरा गर्नु हुन्छ भने १२ वर्षसम्म म अँध्यारोमा थिएँ । त्यसयता मलाई कहिल्यै अँध्यारोको महसुस भएको छैन ।’
मैले निकै ध्यान दिएर त्यो अन्तरवार्ता हेरेँ । आत्मविश्वाससहितका उनका हरेक उत्तर र निश्छलभावले म उनीबाट प्रभावित भएँ । विकास र अपाङ्गता विषयमा विद्यावारिधि गरेका उनी कमल लामिछाने रहेछन् । जन्मजात आँखाको ज्योति गुमाएका नेपाली युवा जापानको महत्वपर्ण संस्था जाइकाका अनुसन्धान अधिकृत रहेछन् । त्यो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् भन्ने कुरा पनि थाहा भयो । मैले हेरेको पहिलो अन्तरवार्तामै कमलले आफ्नो उच्च बौद्धिकताको नमूना देखाइदिए । चितवन जिल्ला, त्यो पनि आफ्नै छिमेकी गाउँका यी प्रतिष्ठित व्यक्तिसँग परिचय बढाउन ढिला गर्नुहुन्न भन्ने ठानेँ मैले ।
तुरुन्तै मैले जापानमा व्यवसाय गरी बस्ने मित्र महेश श्रेष्ठलाई फोन गरेर कमल लामिछानेका विषयमा थप जानकारी लिएँ । श्रेष्ठले उनका विषयमा थप उत्सुकता जगाइदिए । अन्ततः सम्पर्क नम्बर लिएर कुराकानी गरेपछि परिचयको एक अध्याय पूरा भयो ।
त्यसयता भने हामी नियमित सम्पर्कमा छौं । समयसमयमा भेट पनि हुन्छ । बेलाबखतमा सामाजिक सञ्जालका माध्यमबाट पनि सम्पर्कमा रहन्छौं । यही भेटले म गैरआवासीय नेपाली सङ्घको अध्यक्ष हुँदा त्यतिबेला सुरु गरिएको सामूहिक लगानीको कम्पनीमा उनले हाम्रो टिमलाई विश्वास गरेर लगानी गरे । उनी जस्ता अरु साथीहरुको विश्वासका कारण उक्त कम्पनीले केही जलविद्युत् आयोजनाहरुमा लगानी गर्दै आएको छ ।
सन् २०१८ को अक्टोबर महिनामा गैरआवासीय नेपाली सङ्घले काठमाडौंमा पहिलो पटक विज्ञ सम्मेलनको आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको उद्घाटन सत्रमा प्रमुख वक्ता (कि–नोट स्पिकर) रुपमा बोल्नका लागि धेरै विद्वान् साथीहरुले चाहना राख्नु स्वाभाविक थियो । कसलाई कि नोट स्पिकरका रुपमा बोल्न दिने भन्ने बिषयमा निर्णय गर्न नसकेर हामी द्विविधामा थियौं । जसै उनको नाम ‘कि नोट स्पिकर’का रुपमा प्रस्ताव भएर आयो, सबै साथीहरुले निःसन्देह त्यसलाई समर्थन गरे । प्रधानमन्त्रीसहित महत्वपूर्ण सरकारी नीति निर्माता उपस्थित उक्त कार्यक्रममा कमलले जम्मा १० मिनेट बोले । तर उनले बोलेका प्रत्येक वाक्यमा देशका लागि स्पष्ट सन्देशसहित महत्वपूर्ण कुरा उल्लेख थिए ।
यसरी सन् २०१२ मा टेलिभिजन अन्तरवार्तामार्फत् चिनिएका कमल लामिछाने सन् २०१८ सम्म आइपुग्दा मेरालागि विशेष बन्दै गए । त्यो बेलासम्म मलाई लागेको थियो, उनलाई मैले चिनिसकेँ । अब उनी मेरालागि गाउँले भाइ त थिए नै, त्यसभन्दा माथि उनी देश र समाजकालागि एक आदर्श व्यक्ति बनिसकेका थिए ।
कसैसँग परिचय हुनु उसलाई सम्पूर्णरुपले चिन्नु होइन रहेछ । एउटा मानिस चिन्न पटकपटकको भेटमा पनि सम्भव छैन । यो कुराको बोध मलाई कमल लामिछानेको आत्मकथा ‘अन्तरदृष्टि’ पढेपछि अझ स्पष्ट भयो । योबीचमा मैले दुई पटक अन्तरदृष्टि पढेँ । पहिलो पटक मैले चिनेको र नजिक भइसकेका एक विद्वान् व्यक्तिले के लेखे भन्ने कौतुहलका कारण पढेँ । पढिसकेपछि महसुस भयो, मैले पूर्णरुपमा कमललाई चिन्न सकेको रहेनछु । उनलाई समग्र चिन्न उनीसँग सङ्गत मात्र गरेर पुग्दैन, यो पुस्तकलाई पटकपटक पढ्नैपर्छ । जतिजति पुस्तक पढ्दै गएँ, मलाई नयाँनयाँ कुरा बोध हुँदै गयो । जसलाई मैले नलेखी रहन सकिनँ । मलाई थाहा छैन, यसलाई पुस्तकको समीक्षा भनांै कि एक लेखकभित्र रहेको अर्को मान्छेको अन्वेषण ?
०००
मैले बुझेअनुसार असल पुस्तक दुईथरिका हुन्छन् । पहिलो, असल पुस्तकले पाठकलाई पुस्तकप्रति सम्मान जगाउँछ । दोस्रोथरिको पुस्तकले भने लेखक स्वयम्लाई सम्मानित गराउँछ । ‘अन्तरदृष्टि’ पुस्तक पहिलो पटक पढ्दा आखाँको ज्योति गुमाएका एक युवाको सङ्घर्षको कथा मात्र वर्णन गर्न खोजिए जस्तो लाग्छ । पाठ अघि बढ्दै जाँदा यो आत्मप्रशंसातिर लम्कन खोजेजस्तो महसुस पनि हुन जान्छ । कतै–कतै परिवारभित्रका सदस्यका विषयमा नै निन्दा गरेको हो कि भन्ने पर्छ । मैले दोहो¥याएर यो पुस्तक पढ्नुको कारण पनि यही थियो । असल आत्मकथा त्यही हो, जसले निर्मतापूर्वक सत्य ओकल्छ तर त्यसमा आफ्नो प्रसंसा र परनिन्दाबाट बच्ने प्रयास गर्छ ।
‘अन्तरदृष्टि’ यी दुवै जोखिम छिचोल्दै अघि बढ्छ र नेपाली समाजको मात्र होइन, मानव स्वभावको एकखालको चरित्र प्रस्तुत गर्छ । पुस्तकभित्र शारीरिक रुपमा ठगिएको एक मानिसको मनोविज्ञान चित्रण गरिएको छ । उनीहरुप्रति समाजको दृष्टिकोण पनि छ । कयौं वर्षदेखि जरो गाडेको भाग्यवाद र त्यसले समाजलाई पारेको घाउ पनि यो पुस्तकले देखाएको छ । पुस्तक पढ्दै जाँदा आममानिसले जानेर–नजानेर शारीरिक रुपले अशक्त त्यस्ता मानिसहरुप्रति कस्तो व्यवहार गरिरहेको छ, चलचित्रको दृष्य जस्तै देखिँदै जान्छ । पुस्तकभित्रको म पात्र कमल, सुरुमा एउटा निरीह शान्त नायक जस्तो र पछि विद्रोही बन्दै जान्छन् । आफ्नै भोगाइबाट सिक्दै त्यसको जबाफ फर्काउँदै जान्छन् । यसमा दुःख छ, चोट छ, प्रहार छ, अपमान छ, हाम्रो समाजको सोचाइको बनोट, अशक्त मात्र होइन, आममानिसले भोग्नुपर्ने विवशता छ । पुस्तक पढ्दै जाँदा पाठकले लेखकलाई बिर्संदै जान्छन् र पाठक आफैं त्यो पात्र हो कि भन्ने भान पैदा हुन्छ ।
‘अन्तरदृष्टि’ निकै साहस गरेर लेखिएको पुस्तक हो । पुस्तकमा नितान्त व्यक्तिगत अनुभवलाई साधारण बनाउँदै सार्वजनिक कथा भन्ने साधन बनाइएको छ । त्यसमा पारिवारिक झगडाहरु छन् ।नाता सम्बन्धका पेचिला स्वार्थहरु छन् । सबैले यस्ता कुराहरु सार्वजनिक गर्ने हिम्मत गर्न सक्दैनन ! कमलले यो हिम्मत गरेका छन् । परिवारको एक सदस्यले आफ्नै बृहत् परिवारका बारेमा गरेको तिखो टिप्पणीले पाठकलाई कतैकतै छक्क पार्छ र यतिसम्म नलेखिदिएको भए हुन्थ्यो भन्ने भावना पनि उब्जाउँछ । कतै परिवारहरुले बुझ्न नचाहेको बालमनोविज्ञान वा बुझेर बुझ पचाएका घटनाहरुले छक्क पारिदिन्छ । यी कुराहरु पढिरहँदा एक सार्वजनिक व्यक्तिले आफ्नै परिवारका विषयमा यस्ता कुरा कसरी सार्वजनिक गर्न सक्छ ? के भोलि मैले आफ्नो आत्मकथा लेखेँ भने यस्ता कुरा लेख्न सकुँला ?
पहिलो पटक पुस्तक पढ्नेबित्तिकै मैले उनलाई परिवारका विषयमा लेखिएका यस्ता बुँदाहरुका विषयमा सोधेको थिएँ । त्यो बेला उनले भनेका थिए, ‘म अहिले अन्याय र विसङ्गतिका विषयमा जनजागरण गराउने अभियानमा प्रवचन गर्दै हिँड्छु । आफ्नै घरमा, म आफैंले भोगेको अन्यायलाई यदि मैले उजागर गरिनँ भने म आफैंसँग इमानदार हुन सकिनँ । म आफू लेखक सधैं इमानदार होस् भन्ने चाहन्छु, अनि मैले लेखेको पुस्तकबाट पनि पाठकले त्यही अपेक्षा गर्छन होइन र ?’ उनीसँग यस विषयमा कुरा हुँदा यस्तो लाग्यो, पुस्तकका विषयमा यस्ता प्रश्न आउँछन् भनेर उनी सायद तयारी अवस्थामा थिए । केही अन्तरवार्ताहरुमा पनि यस किसिमका कुरा उनले भनिसकेका रहेछन् । यसको अर्थ उनी यी कुरा लुकाउन चाहँदैनथे र यस्ता प्रश्नका लागि तयार थिए ।
मैले धेरैअघि बालकृष्ण समको आत्मकथात्मक पुस्तक ‘मेरो कविताको आराधना’ पढेको थिएँ । त्यो पुस्तकमा समले आफ्ना परिवारभित्रका विसङ्गतिलाई सजिलै लेखेका छन् । विशेषगरेर आफ्ना हजुरबुबा डम्बर शमशेरले परिवारमा गरेका ज्यादतिका बारेमा उल्लेख गरेका छन् । अन्तरदृष्टिले त्यसको झल्को दिएको झैं मलाई लाग्यो ।
पुस्तकमा १२ वर्षसम्म निरक्षर र अबोध कमलको बाल्यपरिवेश पढेर दया लाग्छ । १२ वर्षपछि प्रवेशिका परीक्षा दिँदासम्म भोगेका घटनाहरुले उत्साह बढाउँछ । प्रवेशिका परीक्षामा बिनागल्ती फेल हुनुपर्दा हाम्रो परीक्षा प्रणालीप्रति उदेकभाव उत्पन्न हुन्छ । काठमाडौंका सङ्घर्षका दिनमा पनि पत्रकारका रुपमा अघि बढ्न चाहने उत्कट अभिलाषाले मनलाई हुरुक्क बनाउँछ । जापानमा पाएको छात्रवृत्ति, एउटा नेपालीले त्यहाँ पाएको सफलता र विद्यावारिधिसम्मको अध्ययनले हरेक व्यक्तिलाई प्रेरणा दिन्छ । जापानी युवतीसँगको प्रेम र त्यसलाई विवाहमा परिणत गर्न खोज्दा जापानी अभिभावकले गर्ने व्यवहारले विकसित देखिने देशका नागरिकभित्रको अविकसित तथा सङ्कुचित मानसिकता बुझ्न सकिन्छ ।
पुस्तक पढ्दा कहीँकतै रोकिनु पर्दैन । पुस्तकभरि कमलको विद्वत्ता झल्कन्छ । उनी आफूले पढेका, सुनेका धेरैजसो ठूला लेखक, राजनीतिज्ञ, वैज्ञानिक र अध्ययनअनुसन्धानको ज्ञान बाँडेका छन् । विदेशमा बस्ने हरेक नेपाली झैं उनले नेपालमा भएका कमीकमजोरी महसुस गरेका छन् । हरफहरफमा देशप्रेम छछल्किएको देख्न पाइन्छ । नेपाली भएर जन्मिएका उनी नेपाली भएर मर्ने चाहना राख्छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ केनेडीको भनाइ सम्झँदै कमल भन्छन्, ‘देशले तिमीलाई के दिन सक्छ भन्दा पनि तिमीले देशलाई के दिन सक्छौ भनेर सोच ।’ क्षमताका विषयमा पनि कमलको सोचाइ आममानिसलाई झक्झक्याउने किसिमका छन् । यसका लागि उनले प्रसिद्धवैज्ञानिक आइन्स्टाइनको भनाइलाई सापट लिँदै भनेका छन्, ‘एउटा माछालाई रुख चढ्ने क्षमताका आधारमा मूल्याङकन गरियो भने उसले जीवनभर आफूलाई नालायक ठान्न पुग्छ ।’
यी सबै पढिरहँदा सामान्य भन्दा सामान्य मानिसलाई पनि जीवनमा केही गर्नैपर्छ भन्ने भावना प्रवल भएर आउँछ । पुस्तकले सबै अँध्यारो पक्षको कुरा गर्छ र बारम्बार बाहिर झलमल्ल घाम लागेको वर्णन गरिरहन्छ । यसअघि पत्रपत्रिकामा लेखिरहने कमलको कलम तिखारिएको छ । अझ भनौं बौद्धिक छ । उनी व्यावसायिक लेखक होइनन्, तर उनको कलमले व्यावसायिक लेखकको झलक दिइरहन्छ ।
०००
‘अन्तरदृष्टि‘ पुस्तक सामान्य आत्मकथा मात्र होइन । यो एउटै पुस्तकले आफ्नो कथा भन्दाभन्दै आमनेपाली जनता र नेताको चरित्र पनि देखाउन भ्याएको छ । उनले चाहेको भए यसलाई लुकाउन सक्थे । यो एउटै पुस्तकले बौद्धिक उचाइ र सफलताको कथा पनि भनेको छ । यसो गर्दा उनलाई सफलतालाई अतिरञ्जित गर्न खोजको आरोप पनि लाग्न सक्छ । यही पुस्तकभित्र उनले विकलाङ्गहरुका लागि शिक्षा कति महत्वपूर्ण छ भन्ने चिन्तन पनि प्रस्तुत गरेका छन् । उनको अध्ययनको दायरा फराकिलो छ भन्ने उदाहरण पछिल्लो च्याप्टरहरुमा उनले प्रस्तुत गरेका छन् । पुस्तक पढ्दै जाँदा अपाङ्ग भनिएका कमल सपाङ्ग र सपाङ्ग भनिएका आममानिस अपाङ्ग जस्ता प्रतीत हुन्छन् ।
अझ कतिपय ठाउँमा लेखपढ गरेका उच्च तहका व्यक्तिलाई समेतउनले बौद्धिक निरक्षरको आरोप लगाएका छन् । यो भनाइ तिखो अवश्य सुनिन्छ तर असत्य लाग्दैन ।
पुस्तक पढिसक्दा नेपाल मात्र होइन, एकदमै विकसित देश पनि अपाङ्गमैत्री हुन नसकेको भान हुन्छ । उनको कथा देशका लागि मात्र होइन, विदेशी पाठकहरुका लागि पनि आकर्षक छ भन्ने लाग्छ । यसलाई विभिन्न भाषामा अनुवाद गर्ने हो भने ती देशका पाठकहरुले पनि धरै कुरा यसबाट प्राप्त गर्न सक्ने अनुभव गरेको छु ।
००००
मलाई थाहा छैन, यो समीक्षा भयो कि भएन ! तर एकजना पाठकका नाताले पुस्तक पढ्दा धेरै नयाँ कुराको मैले अनुभव गरेँ । यो पुस्तक नपढेको भए मैले चिनेको कमललाई यसरी चिन्न सक्ने रहेनछु । कमलका लागि १२ वर्षको उमेरसम्म अँध्यारो थियो होला तर उनको जीवनमा बलेको शिक्षाको उज्यालोले धेरै मानिसका लागि दीर्घकालसम्म ज्योतिको काम अवश्य गर्नेछ ।