site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्ध भारत–पाकिस्तानबीच भयो, तर जित्यो चीनले !

काठमाडौं । यो महिना कट्टर दुस्मन देश भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य टकराव युद्धविराम भएर समाप्त भएको छ । यसमा दुवै पक्षले आफ्नो जित भएको दाबी गरेका छन् । तर, यो युद्धबाट अब चीनको रक्षा उद्योगले अप्रत्याशित फाइदा लिन सक्ने देखिएको छ ।

यसको सुरुवात मे ७मा भएको थियो, जब भारतले पाकिस्तानभित्रका आतंकवादी निशानामाथि हमला गर्‍यो । यो कारबाही अप्रिल २२मा भारतको कश्मीरको पहलगाममा २६ जनाको हत्याको प्रतिक्रियास्वरूप भएको थियो, मारिनेमा धेरैजना पर्यटक थिए । उक्त घटनाका लागि भारतले पाकिस्तानमा रहेका आतंकवादी समूहलाई पाकिस्तानले समर्थन गरेको आरोप लगायो, तर यसलाई पाकिस्तान स्वीकार गर्दैन ।

आतंकवादी हमलाको प्रतिक्रियास्वरूप भारतले ‘अपरेशन सिन्दूर’ सैन्य कारबाही गरेपछि दुवै देशबीच ड्रोन, मिसाइल र युद्धक विमानमार्फत प्रतिशोधात्मक सैन्य आक्रमणहरू भए । विभिन्न समाचार रिपोर्टअनुसार भारतले फ्रान्स र रुसमा बनेको विभिन्न युद्धक विमान प्रयोग गर्‍यो भने पाकिस्तानले चीनसँग संयुक्त रूपमा उत्पादन गरेका जे–१० र जे–१७ विमान प्रयोग गर्‍यो । दुवै पक्षले आफ्ना विमानले एकअर्काका सीमा नाघेको र टाढाबाट मिसाइल दागेको दाबी गरे ।

पाकिस्तानले आफ्ना युद्धक विमानले भारतको नयाँ फ्रान्सेली राफेल विमानसहित कम्तीमा ६ वटा भारतीय विमान झारेको दाबी गर्‍यो । भारतले यसमा कुनै प्रतिक्रिया दिएको छैन । भारतीय वायुसेनाका एयर मार्सल एके भारतीले गत हप्ता यसबारे भने, “युद्धमा हानि–नोक्सानी हुन्छ । हामीले हाम्रा लक्ष्य हासिल गर्‍यौँ र हाम्रा सबै पाइलट सकुशल घर फर्किएका छन् ।” उनले पाकिस्तानको विशिष्ट दाबीबारे टिप्पणी गर्न अस्वीकार गरे ।

भारतले पाकिस्तानमा आधारित प्रतिबन्धित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद आतंकवादी समूहका संरचनामा हमला गरी कम्तीमा १०० जना आतंकवादी मारिएको दाबी गर्‍यो ।

यस हवाई टकरावमा वास्तवमा के भयो भन्ने स्पष्ट विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । केही मिडिया लेखहरूमा पञ्जाब र भारत–प्रशासित कश्मीरमा त्यसैबेला विमान दुर्घटना भएको उल्लेख गरिएको छ, तर भारत सरकारले यसबारे प्रतिक्रिया दिएको छैन ।

रोयटर्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानले चीनमा निर्मित जे–१० विमानबाट भारतीय युद्धक विमानमाथि हावा–देखि–हावामा मिसाइल प्रहार गरेको हुन सक्ने दाबी गरेको छ ।

युद्धको अवस्थामा चीनका हतियार प्रणालीमा ठूलो निर्भरता देखाउँदै पाकिस्तानले विजय दाबी गर्नुलाई केही विज्ञहरूले चीनको रक्षा उद्योगका लागि सकारात्मक रूपमा हेरेका छन् भने केहीले यो दाबीसँग असहमति पनि जनाएका छन् ।

केही विश्लेषकहरूले चीनका हतियार उद्योगका लागि यसलाई ‘डिपसिक मोमेन्ट’ भनेका छन् । “हवाई युद्ध चीनको हतियार उद्योगको लागि ठूलो विज्ञापन बन्यो,” चीनको पिपुल्स लिबरेसन आर्मीका सेवानिवृत्त वरिष्ठ कर्नल झोउ बोले बीबीसीलाई भने ।

उनले भने, “यसअघि चीनसँग आफ्ना हतियार प्रणालीहरू युद्धको अवस्थामा परीक्षण गर्ने अवसर थिएन । यो हवाई द्वन्द्वको नतिजाले “चीनसँग अद्वितीय रक्षा प्रणालीहरू छन् भन्ने देखायो ।”
 
भारत–पाकिस्तान द्वन्द्वमा जे–१० विमानको प्रदर्शनको खबरपछि, यसको निर्माता कम्पनी एभिक चेन्दू एयरक्राफ्टको सेयर मूल्य गत हप्ता ४० प्रतिशतसम्म उकालो लाग्यो ।

तर, चीनका हतियार प्रणालीहरू श्रेष्ठ छन् भन्ने निचोडमा अझै पुग्न नसकिने केही विज्ञहरू बताउँछन् । लन्डनको किङ्स कलेजका प्रोफेसर वाल्टर लाड्विगले भने, “भारतीय वायुसेनाका विमानहरू विशेषगरी राफेल चीनका विमानभन्दा पछि परे कि भन्ने निश्चित गर्न बाँकी छ ।”

उनले थपे, “स्थापित सैन्य सिद्धान्तअनुसार, तपाईंले जमिनका लक्ष्यमाथि हमला गर्नुअघि सत्रुको वायु रक्षा प्रणाली दबाउनुपर्छ र वायु श्रेष्ठता हासिल गर्नुपर्छ । तर, भारतको मिसन स्पष्ट रूपमा पाकिस्तानी सैन्य प्रतिशोधलाई उत्तेजित गर्ने थिएन ।”

चीनले पनि जे–१० ले भारतीय युद्धक विमानहरू झारेको सम्बन्धमा कुनै टिप्पणी गरेको छैन । तर, जे–१० ले पश्चिमा हतियार प्रणालीलाई पराजित गरेको अप्रमाणित खबरले चीनको सामाजिक सञ्जालमा जोस र विजयोल्लास फैलाएको छ ।

भेरोनास्थित इन्टरनेसनल टिम फर द स्टडी अफ सिक्योरिटीका शोधकर्ता कार्लोटा रिनाउडोले भनिन्, “यो समयमा वास्तविकताभन्दा धारणा धेरै महत्त्वपूर्ण छ । यस दृष्टिकोणले हेर्ने हो भने वास्तविक विजेता चीन नै हो ।”

चीनका लागि पाकिस्तान एक रणनीतिक र आर्थिक सहयोगी हो । चीनले ४५० बिलियनभन्दा बढी लगानी गरेर चीन–पाकिस्तान आर्थिक करिडोरअन्तर्गत पाकिस्तानमा पूर्वाधार निर्माण गरिरहेको छ । त्यसैले कमजोर पाकिस्तान चीनको हितमा छैन ।

पाकिस्तानी सुरक्षा विश्लेषक इम्तियाज गुलले भन्छन्, “भारत–पाकिस्तानको हालको द्वन्द्वमा चीनले निर्णायक भूमिका खेलेको छ । यसले भारतीय योजनाकारहरूलाई पूर्ण आश्चर्यमा पारेको छ । उनीहरूले पाकिस्तान र चीनबीच आधुनिक युद्धमा सहकार्यको गहिराइ कल्पना गर्न सकेनन् ।”

विज्ञहरूको भनाइमा, वास्तविक युद्धको परिस्थितिमा चिनियाँ जेट विमानहरूको प्रदर्शनबारे पश्चिमी देशहरूमा गहन विश्लेषण भएको छ । किनभने यसले विश्वभरिको हतियार व्यापारमा ठूलो प्रभाव पार्न सक्छ । अमेरिका विश्वको सबैभन्दा ठूलो हतियार निर्यातक हो भने चीन चौथो स्थानमा छ ।

चीनले खासगरी म्यानमार र पाकिस्तानजस्ता विकासशील देशहरूलाई हतियार बेच्छ । विगतमा चिनियाँ हतियारहरूले खराब गुणस्तर र प्राविधिक समस्याका कारण आलोचना भोग्नुपथ्र्यो ।

सन् २०२२ मा म्यानमारी सेनाले चीन र पाकिस्तानले संयुक्त रूपमा निर्माण गरेका जेएफ–१७ लडाकु विमानहरू केही प्राविधिक खराबीका कारण उडानबाट रोक लगाएको रिपोर्ट आएको थियो ।

नाइजेरियाली सेनाले पनि चीनमा निर्मित एफ–७ लडाकु विमानहरूमा धेरै प्राविधिक समस्या आएको रिपोर्ट गरेको थियो ।

तर, अर्को महत्त्वपूर्ण कुरा भारतले पाकिस्तानसँग विमान गुमाएको यो पहिलोपटक भने होइन । सन् २०१९ मा पाकिस्तानमा आतंकवादी निशानाहरूमा भारतीय हवाई हमलापछि दुवै पक्षबीच चलेको छोटो हवाई द्वन्द्वमा रुसी मिग–२१ विमान पाकिस्तानी क्षेत्रभित्र झरेको थियो र पाइलट कैद भएका थिए । केही दिनपछि उनलाई रिहा गरिएको थियो ।

गत हप्ता भारतीय विमान झरेको रिपोर्ट सार्वजानिक भए पनि लाडविगजस्ता विज्ञहरूको भनाइमा मे १० को बिहान भारतले पाकिस्तानभित्र विभिन्न स्थानमा प्रहार गर्न सफल भएको थियो । यो तथ्यबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खासै भेउ पाएनन् । 

भारतीय सेनाको हमलामा पाकिस्तानका ११ वटा हवाई अड्डाहरूमा मिसाइल प्रहार भएको बताइएको छ । यसमा रावलपिन्डी नजिकको नूर खान हवाई अड्डा पनि थियो । यो पाकिस्तानी सेनाको मुख्यालय नजिकै पर्छ । यसले पाकिस्तानलाई आश्चर्यचकित बनायो ।

कराँचीबाट १४० किलोमिटर टाढा भोलारीमा पनि प्रहार गरिएको थियो, जुन सबैभन्दा टाढाको लक्ष्य थियो । लाडविगअनुसार यसपटक भारतीय वायुसेनाले पहिले पाकिस्तानी वायु रक्षा प्रणाली र राडार प्रणालीमाथि आक्रमण गरेपछि जमिनका लक्ष्यहरूमा ध्यान केन्द्रित गर्दै स्थापित प्रक्रिया अपनाएर काम गरेको थियो ।

पाकिस्तानले चीनबाट प्राप्त एचक्यू–९ वायु रक्षा प्रणाली प्रयोग गर्दा पनि भारतीय जेटहरूले विभिन्न प्रकारका मिसाइल, लोइटरिङ म्युनिसन र ड्रोनहरू प्रयोग गरे ।

“यी आक्रमणहरू अपेक्षाकृत सटिक र लक्षित देखिन्छन् । रनवेको बीचमा प्वालहरू परेका थिए । यदि यो द्वन्द्व लामो समयसम्म चलेको भए, पाकिस्तानी वायुसेनाले यी संरचनाहरूलाई छिटो सञ्चालनमा ल्याउन सक्थ्यो भन्न गाह्रो छ,” लाडविगले बताए । तथापि, उनले यसको विवरण नदिने निर्णयले भारतीय सेनाले न्यारेटिभ बनाउने अवसर गुमाएको बताए ।

भारतीय प्रहारको प्रतिक्रियामा पाकिस्तानले भारतका केही अग्रीम हवाई अड्डाहरूमा मिसाइल र हवाई हमला गरेको र भारतले यी आक्रमणले कुनै उपकरण वा कर्मीहरूलाई क्षति नपुगेको दाबी गर्‍यो ।

स्थिति नियन्त्रणबाट बाहिर जाँदै गरेको बुझेर अमेरिका र यसका सहयोगीहरूले हस्तक्षेप गरेर दुवै देशलाई युद्ध रोक्न दबाब दिए । तर विशेषज्ञहरूको भनाइ छ, भारतका लागि यो घटना एक खतराको घण्टी हो ।

चीनले हालैको भारत–पाकिस्तान द्वन्द्वको विवरणमा टिप्पणी नगर्न सक्छ, तर यसले आफ्ना हतियार प्रणालीहरू पश्चिमी देशहरूसँग तुलनामा छिटो अगाडि बढ्दै गरेको देखाउन चाहन्छ ।

भारतलाई के थाहा छ भने चीनले पाकिस्तानलाई आपूर्ति गरेका जेटहरू यसका पुराना मोडेल हुन् । चीनले अझै उन्नत जे–२० स्टिल्थ फाइटर जेटहरू सेनामा समावेश गरिसकेको छ, जसले राडारलाई झुक्याउन सक्छ ।

भारत र चीनको हिमालय क्षेत्रमा लामो समयदेखि सीमा विवाद छ । सन् १९६२ मा संक्षिप्त सीमा युद्ध भएको थियो । जसमा भारतले पराजय बेहोर्‍यो । साथै सन् २०२० मा लद्दाखमा पनि संक्षिप्त सीमा झडप भएको थियो ।

विज्ञहरूको भनाइमा भारतले आफ्नो स्वदेशी रक्षा उद्योगमा लगानी बढाउन र अन्तर्राष्ट्रिय खरिद गतिलो बनाउनुपर्ने आवश्यकता महसुस गरेको छ ।

अहिलेका निम्ति भारत–पाकिस्तान द्वन्द्वमा चिनियाँ विमानको सफलताको दाबीले चीनको रक्षा उद्योगले चर्चा बटुलिरहेको छ । बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्