site stats
बाह्रखरी :: Baahrakhari
विशेष
६९ नेपाली काली तरेर आए, अझै रोकिएन नदीमा हेलिने क्रम

दार्चुला । आफ्नो देशको प्रवेशद्वारमा ताला लागेपछि नेपालीहरू महाकाली तर्दै धमाधम नेपाल प्रवेश गर्दै छन् । कामको सिलसिलामा भारतका विभिन्न स्थानमा ज्यालामजदुरी गर्दै आएका नेपालीहरू वैधानिक रूपमा झोलुंगे पुल भएर नेपाल प्रवेश गर्न नपाएपछि ज्यानको बाजी लगाएर महाकालीबाट प्रवेश गरिरहेका हुन् ।

शनिबारदेखि भारतको धारचुलामा रहेका बैतडी डिलाशैनी गाउँपालिका १, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री सोमबार पौडिँदै नेपाल पुगे । त्यसको केही छिनपछि सोही ठाउँका २२ वर्षीय धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका ३ का रमेश विष्ट महाकालीमा हेलिँदै नेपाल प्रवेश गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार राति मात्रै व्याँस क्षेत्रबाट २० जनाले महाकाली तरे, यो क्रम यत्तिकैमा रोकिएन । सयौंको संख्यामा रहेका नेपाली भारततर्फ अलपत्र परेपछि नेपाल छिर्ने एक मात्र विकल्प (महाकाली नदी) ज्यान जोखिममा राखेर धमाधम पौडिँदै नेपाल आउन थाले ।

बिहीबार बेलुकीसम्म महाकाली तर्दै ३९ जनाले प्रवेश गरेका छन् । ३० जना भने ट्युबमार्फत नेपाल पुगेका छन् । उनीहरू दिनमा भन्दा रातमा नदी पार गरिरहेका छन् । भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र कान्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरे पनि उनीहरू त्यहाँबाट भाग्दै नेपाल प्रवेश गरिरहेका छन् । अहिले भारतको धारचुलामा नौ सयभन्दा बढी नेपालीलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ ।

उमेरमा युवा जाँगर भएका अर्थात् पौडिन सक्नेले महाकाली तर्दै प्रवेश गरिरहेका छन् भने नसक्नेले भारतका क्वारेन्टाइनमा कोचिँदै रात कटाइरहेका छन् । “पौडिन सक्नेले महाकालीमा हाम फालेर दिनहुँ नेपाल गइरहेका छन्,” बझाङ कपलसेराका देवेन्द्र कामीले भने, “महाकालीमा पौडिन नसक्ने सयौँ नेपाली हामी अहिले पनि भारतले राखेको क्वारेन्टाइनमा कोचिएर बसेका छौं ।”

भारतको विभिन्न ठाउँहरूमा लामो समयदेखि मजदुरी गरिरहेका नेपालको दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, जाजरकोट, बाँके र बर्दियाका मानिसहरू दार्चुलाको नाका भएर दैनिक नेपाल भित्रिरहेका छन् । कोरोना संक्रमण रोकथामका लागि नेपाल–भारतले गरेको लकडाउनका कारण उनीहरू घर फर्किंदाबीच बाटोमै अलपत्र परेका हुन् ।

सबैजसो सवारीसाधन बन्द भएपछि पैदल हिँडेरै दार्चुलाको नाकामा पुगेका उनीहरूलाई पुलमार्फत प्रवेश नदिएसँगै कोही महाकाली नदीमा पौडेर नेपाल प्रवेश गरिरहेका छन्, भने कसैलाई भारतीय नागरिकले ट्युबमार्फत नेपाल पुर्‍याइरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ११:३६
प्रतिक्रिया दिनुहोस्