site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लकडाउन : दशगजामा २९८ नेपाली अलपत्र

कोभिड १९ को सङ्क्रमण रोकथामका लागि सडक अवरुद्ध :
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन अवधिभर नयाँ मानिस गाउँ प्रवेश नगरून् भन्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका १७, ढोकीका स्थानीयले रूख र ढुङ्गा राखेर अवरुद्ध गरेको सडक । तस्बिर : रासस

 


भैरहवा । स्वदेश  फर्किंदै गरेका दुई सय ९८ नेपाली  दशगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरु अलपत्र परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सङ्घीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश गराउने निर्णयसहित सबै जिल्ला प्रशासन कार्यलयमा परिपत्र गरेको भए तापनि रुपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या सिर्जना भएको जनाइएको छ । 

क्वारेन्टाइनको पर्याप्तता नहुँदा उनीहरुलाई केही समय रोक्नु परेको रुपन्देहीका प्रजिअ महादेव पन्थले बताए । उनले भने, “लकडाउन छ भन्ने थाहा पाउँदापाउँदै उहाँहरु आउनुभएछ तर आइसकेपछि व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारी हो । हामीले उहाँहरुको स्वास्थ्य जाँच गरेर, क्वारेन्टाइनको व्यवस्थापन गरेर मात्रै प्रवेशको व्यवस्था गर्दैछौँ । सङ्ख्या धेरै छ त्यसैले ढिला भएको हो ।” 
 
खुला आकाशमुनि दशगजामा बसेका नेपाली अनधिकृत रुपमा नेपाल प्रवेश नगरून् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरुको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनले भने, “आदेश आएपछि प्रवेश दिने हो । रातभरि हामी उहाँहरुकै सुरक्षाका लागि दशगजामै छौँ ।”
 
नेपाल-भारत मैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माका अनुसार तीन दिनदेखि सुनौलीमा अलपत्र परेका नेपाली मंगलबार साँझ नेपाल प्रवेश पाउने भन्दै दशगजामा आएका थिए तर दशगजामा आउँदा उनीहरुलाई फेरि रोकियो । उनले भने, “उनीहरुलाई भारतीय नगर पञ्चायतले खान–बस्‍नको व्यवस्था गरेको थियो । एक्कासि खबर पठाइएछ । अनि उनीहरु सुनौलीमा तीन दिनदेखि बस्दै आएको विद्यालय भवन छाडेर आए । यता दशगजाबाट प्रवेश दिइएन । रातभर खुला आकाशमुनि बस्‍न बाध्य छन् ।”
 
दशगजामा अलपत्र पर्ने  विभिन्न जिल्लाको रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका आठ, धादिङका दुई, बाराका एक, प्यूठानका चार, पाल्पाका १५, तनहुँका सात, बाग्लुङका चार, चितवनका १९, नवलपरासीका एक, स्याङ्जाका एकजना छन् । -रासस

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १५:१४
प्रतिक्रिया दिनुहोस्