काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूको उमेर हद ६० वर्ष कायम गर्ने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा विभागका कर्मचारीहरूको उमेरहद ६० वर्ष कायम गर्ने सहमति जुटेको हो ।
नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा उक्त सहमति जुटेको हो । उक्त प्रावधान लागु हुन भने अझै १ वर्ष कुर्नुपर्नेछ । समिति सभापति परशुराम मेघी गुरुङले २०७८ साउनबाट मात्रै उक्त प्रावधान लागु हुने बताए ।
उनले विशिष्ट श्रेणी एउटै तहमा ४ वर्ष र प्रथम श्रेणीको एउटै तहमा ६ वर्ष सेवा अवधि तोक्ने विषयमा पनि सहमति भएको बताए । विधेयकका अन्य प्रावधानहरूमा छलफल गर्न बिहीबार पनि समितिको बैठक बोलाइएको छ ।